अन्य

पानी पर्दा रातभर जागै

धनकुटा- पानी पर्न थालेपछि महाभारत–२ डडुवा टोलीका पूर्णप्रसाद राईको निद्रा पर्दैन। २०७२ वैशाख १२ मा गएको भुइँचालो र त्यसपछि पटक–पटक गएको अनुकम्पले तर्सिएका राईलाई घरमुनि गइरहने पहिरोले मन पिरोल्छ। हिउँद–बर्खा पहिरो जाने भएकाले कतिबेला मरिने हो भन्ने त्रास भएकाले रातभर जागै बस्नुपरेको राईले सुनाए। 
यो वर्ष ६ पटक कोसी राजमार्ग अवरुद्ध गराइसकेको गर्जुवाखोलाको शिरमा गएको पहिरोले गाउँ जोखिममा रहेको सुनेर त्यहाँ पुगेका पत्रकारसँग स्थानीय देवश्वरी राईले भनिन्, ‘घरमा श्रीमान् छैनन्। हामी महिला र केटाकेटी मात्रै छौं। पहिरोको डरले घरको गारोसमेत नलगाइ बसेका छौं। पहिरो आउँछ भनेर डर लाग्छ। यो ठाउँ छाडेर जाउँ भनेपनि सम्पत्ति छैन। त्यसैले मनमा डर पालेर बसेका छौं।'
पहिरोकै डरले १ वर्षपहिले पूर्णप्रसाद राई पुरानो घर छाडेर अलि सुरक्षित ठाउँमा घर बनाएर सरे। तीर्थ राई सिरानटोलमा जग्गा किनेर सरे। टीका राई र लर्के राई घरबारी छोडेर परिवारसहित धरानमा मजदुरी गरेर बसेका छन्। यसरी नै पहिरो जाने हो भने अरू परिवारले पनि बसाइँ नसरी सुख नपाउने पूर्णप्रसादले बताए।  
गर्जुवा खोलाको शिर डडुवामा विगत २०४३ सालदेखि पहिरो गइरहेको छ। पहिले सानो थियो वास्ता गरिएन। महाभारत पर्वत शृंखलामा पर्ने डडुवामा चलायमान रूपमा पहिरो गइरहन्छ, जसका कारण स्थानीय त्रसित छन्। स्थानीयका अनुसार केही वर्षअघिसम्म खोलाको अलि मास्तिरको शिरवाट पहिरो खस्थ्यो। अहिले त्यो क्रम बिस्तारै सरेर बस्ती रहेको ठाउँमा आइसकेको छ। 
पहिरोको जोखिममा परेका बस्तीको मुख्य पेसा पशुपालन र कृषि हो। त्यहाँ मकै, कोदो, दाल अदुवा, सुन्ताला र गोलभंेडा खेती गरेर जीविकोपार्जन गर्दै आएका छन्। अन्य ठाउँमा सरेर जान विकल्प नभएकाले पहिरोको जोखिममा बस्नु उनीको बाध्यता हो। 
यो गाउँ पहिरोको जोखिममा परेकाले इस्टर्न रिजनल रोड मेन्टिनेन्स (इरोम)ले २०४५ सालमा गर्जुवा खोलाको शिरमा वृक्षरोपण गर्न गाउँलेलाई अम्बा, तेजपात, बाँस, अम्लिसो, नास्पाती र आँपका बिरुवा दिएको थियो। खोलाको २ किनारमा तारजालीसहित ढुंगाको वाल लगाएको थियो। इरोम प्रोजेटले दिएको बिरुवाको संरक्षण भएन। तारजाली पहिरोले बगाएर लग्यो। त्यसैले पहिरोको जोखिम बढेर गएको स्थानीय तीर्थ राईले बताए।
गर्जुवा खोलाको शिर डडुवामा जति पहिरोको जोखिम छ, उत्तिकै जोखिम खोरको तीरमा रहेको बस्ती र कोसी राजमार्गमा पनि छ। पानी परेको बेला कालो माटोको लेदोसहित बाढी स्थानीय बासिन्दाको घरमा छिर्ने गर्छ। गर्जुवा खोला तीरमा राजमार्ग आसपास आसपासमा एक दर्जनभन्दा बढी घरहरू छन्। बर्खाको सिजनमा पहिरोको डर, त्रासले रात–दिन काट्नुपरेको स्थानीय जीवन राईले बताए। 
त्यसो त गर्जुवा खोलामा आउने बाढीले यो वर्ष मात्रै ६ पटक कोसी राजमार्ग अवरुद्ध गराएको छ। कतिबेला बाढी आउँछ टुंगो हुँदैन। त्यसैले बालुवा पन्छाएर सडक खुलाउन सडक हेरालु र एस्काभेटर तयारी अवस्थामा राखेको डिभिजन सडक कार्यालय धनकुटाकी सुपरभाइजर अमृता राईले बताइन्। 


 

प्रकाशित: ४ असार २०७३ ०७:३१ शनिबार

पानी पर्दा रातभर जागै