अन्य

खुल्यो सुदूर पस्ने 'नयाँ ढोका'

कालिकास्थान (अछाम)- बाँकेको कोहलपुरबाट बर्दिया, कैलाली, डडेल्धुरा, डोटी हुँदै ४ सय ६० किलोमिटरको पट्यार लाग्दो यात्रा। त्यसपछि बल्ल अछाम सदरमुकाम मंगलसेन। सुदूरपश्चिम छिर्न एक मात्र नाका कर्णाली चिसापानीबाहेक अर्को थिएन। 
सडक केही नजिक आए पनि थङथिलो पार्ने लामो यात्राकै कारण सुदूरपश्चिमबासी सहज अनुभूति गर्न सकिरहेका थिएनन्। अब भने उनीहरूले केही राहत महसुस गरेका छन्। मध्यपहाडी लोकमार्ग राजमार्गअन्तर्गत दैलेखको साई खोला र अछामको कालिकास्थान, टोड्केसाल जोड्ने पक्की पुल सञ्चालनमा आएको छ। पुल निर्माणसँगै सुदूरका पहाडी जिल्लामा विकास भिœयाउन सजिलो त भएको छ नै, बाटो नै झन्डै आधा घटेको छ। 
अब कोहलपुरदेखि सुर्खेत, दैलेख हुँदै मंगलसेन पुग्न २ सय ४० किलोमिटर मात्रै यात्रा गरे पुग्छ। 
मध्यपहाडी लोकमार्गका इन्जिनियरका अनुसार नयाँ पुल सञ्चालनमा आएसँगै कोहलपुरबाट मंगलसेन पुग्न सुदूरका पहाडी जिल्लाबासीलाई अब २ सय २० किलोमिटर छोटो हुनेछ। 
     पुल शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालन गरिएको छ। दैलेख र अछामका किशोरीहरूले एक समारोहबीच संयुक्त पूजा गरेपछि पुल खुला गरियो। यससँगै अछाम, बझाङ, बाजुरा, डोटी राजधानीसँग जोडिन २ सय २० किमि नजिक आइपुगेका छन्। 
'कर्णालीमा पुल नहुँदा सुदूरका पहाडी जिल्ला टापुजस्तै थिए,' अछामका पूर्वसांसद रामबहादुर विष्टले भने, 'लोकमार्गले पुल बनाइदिएपछि यहाँका पहाडी जिल्लाको भविष्य खुल्यो, यसलाई यस क्षेत्रको विकासको महŒवपूर्ण ढोका मानिएको छ।' उनका अनुसार पहिले कोहलपुर पुग्न निकै घुमाउरो र लामो सडक छिचोल्नुपर्ने बाध्यता थियो। 
  तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भए पनि विभिन्न कारणले थप दुई वर्ष बढी लागेको मध्यपहाडी लोकमार्गका इन्जिनियर शेखर योगीले बताए। उनका अनुसार यो पुल बनाउन सपना निर्माणसेवा, हेटौंडाले १८ करोड रुपैयाँमा ठेक्का लिएको थियो। 'सुदूर जोड्न कर्णाली नदीमाथि बनेको यो दोस्रो ठूलो पुल हो,' योगीले भने, 'पुल सञ्चालनमा आएसँगै सुदूरका पहाडी जिल्लाको विकासको ढोका खुल्यो।
यसअघि वैकल्पिक सडक र पुल नहुँदा यात्रा लम्बिनुका साथै भाडा पनि महँगो थियो। महँगो ढुवानी भाडा तिरेर आपूर्ति गर्नुपर्ने हुँदा यी जिल्लामा दैनिक उपभोग्य वस्तुको मूल्य पनि उत्तिकै चर्को। छोटो बाटो खुलेसँगै सामग्री सस्तिनेमा स्थानीय आशावादी छन्। त्यसैले नै स्थानीय बासिन्दा राजधानीसँग नजिकिने नयाँ ढोका खुलेकोमा एकअर्कालाई खुसी साटिरहेका छन्। बधाई बाँडिरहेका छन् । 'सुदूरका ४ पहाडी जिल्लाका लागि यो पुल कोसेढुंगा भएको छ,' मध्यपहाडी लोगमार्गअन्तर्गत मंगलसेन–ठाँटीकाँध सडकखण्डका इन्जिनियर तुलाराम शर्माले भने, 'अब कोहलपुर पुग्न आधै बाटो छोटो भो।' नवनिर्मित पुल २ सय मिटर लामो छ। पुलको एक भाग ट्रस्ट जोडेर बनाइएको छ भने पाँच भाग ढलान गरिएको छ। 
अछामी हर्षित
कर्णाली नदीमाथि पुल बनेर विनायक हुँदै मंगलसेन गाडी पुग्ने भएपछि अछामबासी हर्षित छन्। त्यही उत्साहमा उनीहरूले उक्त पुलबाट पहिलोचोटि अछाम प्रवेश गरेका गाडीलाई भव्य स्वागत गरे। पुल उद्घाटनका दिन बिहीबार जिल्लाका टाढाटाढाका बासिन्दा पनि त्यहाँ पुगेका थिए। उनीहरू फुरुंग हुँदै पुलमाथि घरी यता त घरी उता गरिरहन्थे। 
कालिकास्थान–२ टोड्केसाल अछामका युवा नरेन्द्र विष्ट उद्घाटनका बेला पुलबाट गाडी नै आउने खबरले बिहानैदेखि खुसी थिए। आफ्नो ठाउँमा विकासको ढोका खुलेको भन्दै सबैमाझ खुसी बाँड्नै भ्याइनभ्याइ थियो उनलाई। 
यसअघि उक्त ठाउँमा फेरी थियो। तर, त्यो पनि बर्खामा रोकेर राख्नुपर्ने, अघिपछि पनि प्राय बिग्रने भएकाले स्थानीयलाई चरम दुःख थियो। 'यहाँबाट बाटो छोटो हुने भएकाले अछामबाट आउनेहरू फेरी तर्ने क्रममा धेरै दुःख पाउँथे,' विष्टले भने, 'अब त्यस्तो दिन गयो, अब पुलबाटै सरर्र जान पाइने भो।' 
 

प्रकाशित: ४ असार २०७३ ०१:४२ शनिबार

खुल्यो सुदूर पस्ने ढोका