विचार

इस्टरल्याडको दुःख र वातावरण

दाताराम कार्की 

जारेड डाइमन्डको निबन्ध “एडप्टिप फेलियर इन इस्टर इन्ड” इस्टरल्याड टापुमा बस्ने मानिसको सभ्यता र विनासको वास्तविक कथा हो। यो निबन्ध छोटो भए पनि प्रभावकारी छ। कथाले वातावरण र मानिसको सम्बन्धलाई व्याख्या मात्र गर्दैन वातावरणप्रतिको बुझाइलाई परिवर्तन गर्न सक्छ। वर्तमान समयमा बदलिँदो वातावरण विश्वको चुनौती बनेको अवस्थामा यो सार्थक छ। आजको दिनमा विश्व वातावरणसम्बन्धी मूलभूत समस्या रहेको अवस्थामा मानव सभ्यता कसरी लोप हुन्छ भन्ने कथाले देखाउँछ। विश्वले वातावरण र मानविय सम्बन्धसम्बन्धी अध्ययन, खोज र अनि भविष्यमा हुन सक्ने खतराबारे थप छलफल तथा अनुसन्धान गर्नको लागि यो निबन्ध कोशेढुङ्गा हो। यो इस्टरल्याडको एउटा दुखान्त कथा र वास्तविकता हो तर यसकोे सन्देश विश्वलाई थियो।

इस्टरल्याड प्रशान्त महासागरमा रहेको टापु हो। यो टापु अरू सभ्यता भन्दा अलग भए पनि सभ्यताको चरम विकास भएको प्रमाणहरू भेटिएका दाबी छन्। यो टापुमा बस्ने मानिसले विकास गरेको सभ्यता र संस्कृति उच्च र विकसित थियो। यहाँका मानिस विकसित भए पनि उनीहरूले विकास र वातावरणलाई सँगसँगै लैजान सकेनन्। वातावरणप्रति अनुत्तरदायी भूमिकाका कारण उनीहरूको सभ्यता र विकास सँगै जान सकेन। आखिर उनीहरूको पतन भयो। इस्टरको सभ्यताबाट सिक्ने कुरा यही हो। वातावरण एउटा संसारको समष्टिगत रूप हो। यसको सम्बन्ध दोहोरो र पारस्परिक छ ।। जसरी इस्टरबासीले आफूसँग भएका प्राकृतिक स्रोत/साधनको संरक्षण नगरी उपभोगमात्र गरे, आउने पुस्ताको भविष्य हेरेनन्। जसको परिणाम सम्पूर्ण सभ्यताको अन्त्य भयो। आजको पृथ्वीको अवस्था र बदलिँदो वातावरणले यही अवस्थाको जनाउ घण्टी दिँदै गरेको अवस्था छ। पृथ्वीले पनि त्यो अवस्था भोग्नु नपरोस्। पृथ्वीमा आउने जोखिम र खतराको संकेत हो।

आज श्रीलंकाको कथा हाम्रो जस्तो देशका लागि अर्को उदाहरण बन्न सक्छ। आज हाम्रो देशको अवस्था अवलोकन गर्ने हो भने यसको नजिक पुगेको अवस्था छ। भ्रष्ट शासन र आर्थिक अनुशासन नहुँदा देश असफल हुन्छ। यहाँ राजनीति भ्रष्टाचारमा लिप्त छ। कुरीति, बेथिति अनि बेरुजुजस्ता कुराले देशलाई जर्जर बनाइसकेको छ। नेपालको अवस्था श्रीलंकाको भन्दा टाढा छैन। श्रीलंकाको अवस्थाले हामीलाई सिक्ने, सच्चिने अनि सचेत हुने अवसर दिएको छ जसमा हाम्रो सरकार र सम्बन्धित निकायहरूले गम्भीर भएर सोच्नुपर्छ।

राजनीतिक वृतमा जो देशको सत्तामा बस्दै आएका छन् उनीहरू दोषी पक्कै हुन र जनताको बुझाइ पनि त्योभन्दा फरक हुने छैन। सबै कुरा अनुभव गर्न सम्भव छैन, अरूको देखेर पनि सिक्नुपर्छ। इस्टरल्याडको अनुभवबाट हामीले वातावरणको महत्व बुझ्न सक्नुपर्छ। हामी कसरी लोप हुन्छौँ र वातावरणले कस्तो डरलाग्दो र भयाबह अवस्था ल्याउँछ भन्ने कुरा इस्टरल्याडबाट सिक्नुमा समस्त मानवको भलाइ छ। यसरी नै श्रीलंकाको आर्थिक अवस्था, राजनीतिक विचलन तथा शासन व्यवस्थाको अवस्थाबाट भविष्यमा आउने संकटको समाधान खोज्नुपर्छ।

जसरी इस्टरल्याडले वातावरण र मानव सभ्यताको सम्बन्ध देखाएको छ, यसरी नै श्रीलंकाको आर्थिक अवस्थाले पनि शासन प्रणाली र भ्रष्ट शासनले देशको विनासको संकेत गर्छ। अहिलेको श्रीलंकाले पनि राजनीतिमा भ्रष्टाचार, मनपरीतन्त्र अनि परिवारवादको कसरी अन्त्य हुन्छ र देशलाई कसरी बर्बादीमा लैजान्छ भन्ने राम्रो उदाहरण पाइन्छ। देश त सबैको साझा हो। सबैको बराबरी हक लाग्छ। देशमा कोही पनि सानो ठूलो  हुँदैन। समाजको एक पक्षले देशको राजनीतिक नेतृत्व समालेको हुन्छ। जनताले देश चलाउने सार्वभौम अधिकार दिएका हुन्छन्। आफ्नो परिवारलाई मात्र भलो गर्ने, देश र जनताका समस्याप्रति बेवस्ता गर्दा आज श्रीलंका जस्तो देश पनि असामान्य अवस्थामा पुगेको छ। जसको परिणाम निर्दोष जनताले भोग्नु पर्ने हुन्छ। जनताले राजाका रूपमा शासकलाई विश्वास गरे। तर उनीहरूले जनतालाई बेवास्ता गर्दै आफ्ना कुरामात्र सोच्ने हुँदा देश बर्बाद बनाए। आज उनीहरू आफ्नो इतिहासदेखिको घरमा बस्न नसक्ने भएका छन। आखिर पैसा, शक्ति अनि परिवारवादले गर्दा देश बिरानो भयो।

नेपालको राजनीतिक, आर्थिक अवस्थादेखि लिएर देशको आयात र निर्यातको अवस्था सबै कुरा समान देखिन्छन्। यस्तो अवस्थामा परिणाम पनि त्योभन्दा फरक हुने देखिँदैन। जसरी त्यहाँका शासनधारीहरूको भागाभागको अवस्था भयो र त्यो कुराले उनीहरूले देशको धन कसरी उडाए, जनतालाई कसरी ठगे भन्ने कुरा प्रमाणित हुन्छ। यही कुरा नेपालको राजनीतिमा देखिनेछ अनि सबै जनाको अवस्था त्यो भन्दा पनि कठिन हुने अनुमान गर्न सकिन्छ।

देश सबैको हो। सबैको समान हक छ। हामीले देशलाई बचाउनुपर्छ। श्रीलंकाको अवस्थामा पुग्न दिनु  हुँदैन तर त्यो कुरा सामान्य जनताको हातमा छैन जो कार्यकारी पदहरूमा बसेका छन् उनीहरूले त्यसका लागि पाइला चाल्नुपर्छ। अब त्यो जिम्मा सरकार र राजनीतिक दलको हो। उनीहरूको सकारात्मक सुरुवातमा जनताले साथ दिनेछन्। देशको अवस्था राम्रो हुनेछ अनि निर्दोष नेपालीले दुःख पाउने छैनन्।

यो अवसर र सच्चिने समय दुवै हो। जसरी इस्टरबाट वातावरणप्रति सिक्नुपर्ने कुरा छन् त्यसरी नै श्रीलंकाको आर्थिक अवस्थाबाट सिक्नुपर्छ। हाम्रोे देश जुन श्रीलंकासँग आर्थिक हिसाबमा समानता छ, जसरी राजनीतिमा भ्रष्टचार, परिवारवाद र मनपरितन्त्र असफल भयो, आज नेपालको अवस्था पनि यही हालतमा पुगेको छ। चरम परिवारवाद, भ्रष्टाचार र शोषण अबको अवस्थामा टिक्न सक्दैन भन्ने चेतावनीलाई महसुस गर्नुपर्छ। नेपालमा पनि त्यो आवाजको सुरुवात भएको देखिन्छ।

कोटेश्वर बहुमखी क्याम्पसमा अध्यापनरत

प्रकाशित: २४ कार्तिक २०७९ २३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App