विचार

अनुकारी व्यक्तिको नियति

पदावधि सकिनुअगाडिदेखि नै तत्कालीन राष्ट्रपति रामवरण यादवको बोलीवचन केही फेरिन थालिसकेको थियो। सबैलाई साथ लिएर संविधान जारी गर्न उचित हुने उनको आग्रहलाई आफ्नै मातृदल नेपाली कांग्रेसले वास्ता गरेन। सत्तासाझेदार दल नेकपा (एमाले) अध्यक्षले ठाडै 'सुई लगाउनेलाई संविधानका कुरा के थाहा' भन्दै राष्ट्राध्यक्षको अनुरोधलाई हावामा उडाइदिए। माओवादीका सर्वेसर्वा एवं तत्कालीन राष्ट्रपतिबीचको परस्पर दूराग्रह त सार्वजनिक जानकारीमै थियो।अन्ततः भुइँचालोले मध्यपहाड थला परेको एवं राजनीतिक द्वन्द्वमा तराई मधेशमा आगो बलिरहेको अवस्थामा संविधान जारी गर्न महामहिम यादव बाध्य भए। विवादित दस्तावेजलाई राष्ट्राध्यक्षले पटकपटक ढोगेको दृश्य टेलिभिजनको पर्दामा भने ढोगी नै देखिएको थियो। सकसमा जारी गरिएको शीघ्रपथ (फास्टट्रैक) निर्मित संविधानलाई आडम्बरको परिसीमा नाघेर नमन गर्न न त आवश्क थियो, न उपयुक्त नै ंदेखिएको थियो। आडम्बर शायद अलंकारिक पद एवं भूमिकासँग जोडएिरै आउने रहेछ।

आत्मग्लानि नै नभए पनि भूल भने भयंकर भएको आत्मबोध निवर्तमान राष्ट्रपतिमा सुस्तरी आउन थालेको देखिन्छ। इतिहासमा गल्ती सच्याउने दोस्रो मौका भने थोरै पात्रले मात्र पाउँछन्। उनी त्यस्तो भाग्यमानी व्यक्ति हुनसक्ने सम्भावना अहिले नगण्यप्रायः छ। त्यसैले सार्वजनिक मञ्चबाट सफाइ दिँदैं हिँड्नु आजभोलि उनको दिनचर्या भएको छ। केही दिनपछि त्यस्तो अवसर पनि खासै पाइने छैन। बलेको आगो ताप्न अभ्यस्त उनका आसेपासेले समेत विस्तारै साथ छोड्दै जानेछन्। एक्लिनुअगावै आफ्ना कुरा इतिहासको अदालतमा दर्ज गराउने मौका भने उनीसँग अझै छ। भनिएका कुरालाई पठनीय भाषामा प्रस्तुत गर्नसक्ने अदृश्य लेखकहरूको जमात नेपालमा पनि बढ्दै गएको छ।

इतिहासको अदालतमा आआफ्नो बयान दर्ज गराउनेहरूमध्ये कतिपय त महामहिम यादवकै समयका साक्षी हुन। दुई प्रधानसेनापतिहरूको संस्मरण द्वन्द्व बजारमा छताछुल्ल भइसकेको छ। अवकाश प्राप्त महारथि रूक्मांगद कटवालको वृत्तान्तलाई अप्रामहारथि छत्रमानसिंह गुरुङले कतिपय कुरामा भ्रामक रहेको आक्षेप लगाइसकेका छन्। कायममुकायम प्रधान सेनापतिको नियुक्तिपत्र पाएर पनि षड्यन्त्रमूलक ढंगले पदभार ग्रहण गर्नबाट वञ्चित अप्रारथि कुलबहादुर खड्का पनि जनताकै छोरा हुन्। उनको पक्ष अझै सार्वजनिक हुन बाँकी नै छ।

महामहिम यादवले भने जे/जसो गरे, किन गरे? व्याख्या रूचिकर हुनका साथै नेपालको संकुचित राष्ट्रवादको गहिराई बु‰न सहयोगी पनि ठहरिन सक्छ। यसैबीच महामहिम यादवको छवि मौखिक कथाहरूमार्फत् पहाडमा अकृतज्ञ पात्र एवं तराई मधेसतिर अवसरवादी राजनीतिकर्मीका रूपमा स्थापित हुने क्रममा छ। उनलेआफ्नो पक्ष पनि पाठकहरूसामु पस्किनु त्यसैले पनि जरूरी हुन गएको छ।

पुनर्निर्मित सम्झना

तत्कालीन शाही पार्श्ववर्ती विवेक शाहले नारायणहिटी हत्याकाण्डपछि उनले देखेको दरवार पुस्तकाकारमा पाठकलाई पनि देखाए। त्यसपछि सेवानिवृत भएपछि आआफ्नो पक्ष इतिहासमा तत्कालै अंकित गराउने रहर व्यापक हुँदै गएको हो। संस्मरणहरू इतिहासका सन्दर्भ सामग्री हुन्। वेलायतका राजनीतिज्ञ विन्सटन चर्चिलले घोषणा गरेका थिए– इतिहास मप्रति उदारचित हुनेछ किनभने त्यो म आफैँले लेख्नेवाला छु। नभन्दै चर्चिलले लेखेको इतिहासले साहित्यिक कृतिका रूपमा नोवेल पुरस्कार पायो।

इतिहास सामान्यतया तथ्य, तर्क र कल्पनाशीलताको उपज हुन्छ। तथ्यहरू ओइलाउन सक्छन्। कहिलेकाहीँ कुहिन्छन् पनि। समयक्रमको तापले सुकाउने त छँदैछ। कुनैबेला 'तथ्य' ठहराइएको राजा महेन्›ले सैनिक 'कु' गरेर राष्ट्र जोगाए भन्ने भाष्य अब कसैले पत्याउँदैन। बिपी कोइराला 'अराष्ट्रिय तत्व' हुने गर्थे। अब एमालेका स्टालिनवादीहरूबाहेक मण्डले–मसाले जति जम्मैका लागि पनि उनी 'आदर्श राष्ट्रवादी' हुन। कथा भने जनस्मृतिमा रहिरहन्छ। उत्पादित तथ्यको प्रयोअवधि (सेलवाइडेट) समाप्त भएपछि बल्ल सत्यको परीक्षा सुरू हुन्छ। र, त्यहाँ भने महामहिम यादवको नाउँ व्यक्तिमात्र नभएर प्रवृत्तिका रूपमा अंकित हुने सम्भावना बढÞ्दै गएको छ। धेरै कालसम्म महापञ्च वेदानन्द झाको नाम एकथरी मधेसीहरूको परिचायक चरित्र भएर स्थापित थियो। कालान्तरमा त्यो ठाउँ महामहिम यादवले ओगट्ने सम्भावना छ।

तत्कालीन नेकाका महामन्त्री यादव पहिलो एवं दोस्रो मधेस वि›ोहको विरोधमा थिए भन्ने कुरा जगजाहेर छ। त्यो उनको राजनीतिक छनोट थियो। त्यसमा प्रश्न उठाउन उपयुक्त हुँदैन। उपेन्› यादवको जातीय प्राथमिकताले गर्दा उनी राष्ट्रपति निर्वाचित हुन सफल भए। त्यो पनि अस्वाभाविक होइन। वर्गीय ऐक्यबद्धताभन्दा जातीय आत्मीयता हिन्दु समाजको धरातलीय यथार्थ हो। हजारौं वर्षदेखि चलिआएको चलन एक दुई राजनीतिक आन्दोलनले तोडÞ्न सक्दैन। मधेस वि›ोहका सबभन्दा ठूलो विरोधी त्यस राजनीतिक जागरणबाट सबभन्दा धेरै लाभान्वित हुन पुग्नु संयोग थियो। र, आकस्मिकताको विश्लेषण भलै गर्न सकिएला, व्याख्या सम्भव छैन। उनका त्यसपछिका व्यवहारका लागि भने उनी स्वयं जिम्मेवार छन्।

जननिर्वाचित एवं वैधानिक सरकारको निर्णयद्वारा पदमुक्त प्रधान सेनापतिलाई झण्डै आधारातमा आफँैले हस्ताक्षर गरेको पत्र जारी गरेर पुनर्स्थापित गर्नु संवैधानिक राष्ट्र प्रमुखको भूमिका सुहाउँदो काम थिएन भन्ने निर्णयमा पुग्न राजनीतिशास्त्रको ज्ञाता हुनुपर्दैन। उनको त्यो अप्रत्याशित कदमले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद एवं संवैधानिक मूल्य तथा मान्यता सुदृढ भयो वा कमजोर? उत्तरबारे जति नै मतभिन्नता भए पनि प्रश्न त निरन्तर जीवन्त रहिरहनेछ। विवेचन प्रयोगका लागि एकछिन कल्पना गरौं, उनको ठाँउमा गिरिजाप्रसाद कोइराला राष्ट्रपति भइदिएका भए के हुन्थ्यो? अरू जेसुकै भए पनि मधेसी मूलको राष्ट्राध्यक्ष बदनाम हुनबाट पक्कै जोगिने थिए।

राष्ट्रवादी बन्ने धूनले महामहिमलाई त्यसपछि पनि छोडेन। माओवादी मधेसवादी गठबन्धन सरकारका विरोधीहरूको अखडा नै एकताका शीतलनिवास बन्न पुगेको थियो। सन् २०१२ को अन्ततिर त उनले आफू अलंकारिक राष्ट्राध्यक्षमात्र नभएको घोषणा नै गरे। अन्तरिम संविधानको रक्षा गर्नु उनको पहिलोकर्तव्य भएको जनाउ दिए। र, आवश्यक परे जस्तोसुकै कडा कदम उठाउन सक्ने चेतावनीसमेत दिन भ्याए। अन्ततः 'जस्तोसुकै कडा कदम' भनेको त अन्तरिम संविधानको मूल मर्म (न्यायोचित समावेशिता, जनसंख्या आधारित प्रतिनिधित्व एवं पहिचान र सामर्थ्यअनुसारको संघीयता) नै उल्लंघन गरिएको, प्रचण्ड तर फगत गणितीय बहुमतमाआधारित, विवादास्पद दस्तावेजलाई ओल्टाइपल्टाई नमन गर्नु पो रहेछ।

मधेसवादीहरूको सम्मानजनक उपस्थिति रहेको पहिलो संविधान सभा बाँचुन्जेल महामहिम यादव बाघजस्तो गर्जिने गर्थे। दोस्रो संविधान सभाको गठनपश्चात उनको बोली बिरालोका म्याउ म्याउमा परिणत भइसकेको थियो। लगभग सोही हविगत सुरेन्› चौधरी, विजय गच्छदार एवं विमलेन्› निधी जस्ता राजनीतिक हस्तीहरूको पनि भयो। एमालेमा पहिचान र सम्मानको त्यस्तो कुनै समस्या छैन। एमाले मूलतः पहाडी पुरोहितहरूको दल भएकाले जनजाति एवं मधेसी राजनीतिकर्मीहरू क्रमशः दोयम एवं तृतीय दर्जा स्वीकार गरेरै त्यस पार्टीमा टिकेका हुन्छन्। जातीय सोपानतन्त्रबेगरको बाहुनवादी पार्टीको कल्पना पनि गर्न सकिँदैन। नेकाको जातिवादी रूपान्तरण अपेक्षाकृत नयाँ परिघटना हो। र, महामहिम यादवको 'सबभन्दा पहिले हामी नेपाली'जस्तो घिरघिरे (हैक्निड) घोषणाले नेकाका मधेसीहरूलाई आश्वस्त गर्नुको साटो आतंकित तुल्याएको थियो। शायद त्यसैले होला, मधेसीहरूको बाहुल्य रहने भनिएको प्रस्तावित प्रदेश दुईलाई नेकामा प्रतिनिधित्व गर्ने पात्रहरू पहाडी मूलका छन्। तीमध्ये एक पाका प्रतिनिधिको त छवि नै 'मधेस विरोधी' राजनीतिकर्मीको छ।

महामहिम यादवको सबभन्दा कमजोर आकलन के भइदियो भने सामुदायिक भिन्नतालाई उपेक्षा गर्दै गयो भने कालान्तरमा त्यो स्वतः लोप भएर जानेछ। यथार्थ भने त्यसभन्दा धेरै कठोर छ। अमेरिका र युरोपतिर नश्लवाद रंगभेदका रूपमा छ। जापान, कोरिया एवं चीन जस्ता पूर्वी एशियाका देशहरू मूलवासी श्रेष्ठताको नश्लवादबाट उम्किन सकेका छैनन्। पाकिस्तानमा गैरइस्लाम धर्म तथा श्रीलंकामा सिंहालाबाहेक भाषाभाषीसँग गरिने विभेद पनि नश्लवादकै विभिन्न प्रारूप हुन्। नेपालको नश्लवाद मधेसीलाई नकार्ने सामान्य व्यवहारमा प्रकट हुन्छ। यो प्रवृत्ति केही व्यक्तिको चारीत्रिक कमजोरीमात्र नभएर नेपाल राज्यको संस्थापकीय मान्यता भएर स्थापित छ। महामहिम यादवले त्यति कुरा समय छँदै ठम्याउन सकेका भए नेपालीयताको परिभाषाले गति पाइसकेको हुन्थ्यो। उनमा देखिएको एकात्मकता मोहले गर्दा उनको विरासत त विवादित भयो नै, राष्ट्रियता मजवुत बनाउन सक्ने एउटा ऐतिहासिक अवसर पनि त्यत्तिकै खेर गयो।

कथ्यको सत्य

लोककथाहरूमा स्थान एवं तिथिमिति स्पष्ट हँुदैनन्। मूल कुरा सर्वकालिक एवं सबैका लागि उपयोगी पाठ हुने भएकाले कहाँ र कहिले जस्ता प्रश्न मौखिक परम्परामा महत्वपूर्ण मानिँदैनन्। यो कथा पनि त्यस्तै हो। कुनैबेला एकादेशको कुनै गाउँमा भीषण आगलागी भएर सब कुरो समाप्त भयो। संयोगले एउटा बिरालोको बच्चा भने जोगिएको थियो। केही दिनपछि त्यतातिरबाट जान लागे कि बघिनीले त्यो बिरालोको बच्चालाई देखिछन्। जातीय ऐक्यबद्धता जनावरमा पनि हुँदोरहेछ। पाठो भेट्टाएकी भए बघिनीले के गर्थिन् भन्ने कुरा अनुमान मात्र गर्न सकिन्छ। बिरालोको टुहुरो बच्चाले भने बघिनीको दूध र डमरूसँग हुर्किने मौका पायो।

डमरूसँग खेलेकाले होला, बिरालो पनि दहाड लगाउने अभ्यास गर्दै थियो। यस्तैमा जंगलमा एक दिन एक्लो छावा देखा पर्योल। त्यो हात्तीको बच्चोलाई पछ्याउने डमरूको हुलमा बिरालोसावक पनि थियो। बघिनीले हाँस्दै आफ्नो पोष्यपुत्रलाई सम्झाइन्। बघिनीको दूध खाएरमात्र पुग्दैन। छावाको शिकार खेल्न डमरू भएरै जन्मिनुपर्छ। कथा त्यति हो। सुन्नेलाई सुनको माला आदिइत्यादि।

पद ओगट्न देखावटीरूपमा जो पनि स्वतन्त्र छ तर नश्लवादी सोचमा राज्य सञ्चालनका मुख्य जिम्मेवारीहरू सही जात र कुलमा जन्मिएकाले मात्र पाउँछन्। कोइरालासँग साँधसिमाना जोडिएको घर एवं खाँट्टी बाहुन क्षत्रीको संगतमात्रले कुनै यादव वा महासेठ संवैधानिकरूपमै ंनिर्दिष्ट गरिएको खसआर्य जातीय समूहको सदस्य बन्न सक्दैन। यो यथार्थ हो। तथ्यको पहाडले समेत यस सत्यलाई छोप्न सक्दैन। त्यसो भए गर्ने के? प्रश्न जटिल लागे पनि के गरेर पुग्दैन भने कुरामा पहिले प्रष्ट हुन जरूरी छ। हामी सबै पहिला नेपाली त हौँ तर हामीमध्ये नै केही नेपाली भएर जन्मन्छन् र जस्तोसुकै राष्ट्रघाती काम गरे पनि रहि नै रहन्छन्। केहीको जिन्दगी भने पलपलमा नेपाली भएको प्रमाण पेश गर्दैमा बित्छ। योअवस्था चिरकालसम्म रहिरहन सक्दैन।

राज्य पुनर्संरचना राजनीतिक 'सर्टह्यान्ड' हो, संक्षिप्ताभिव्यक्ति भन्न मिल्ने कार्ययोजनाको प्रारूप। समृद्धि वा विकास पछ्याउन राज्यकै पुनर्संरचना गरिराख्नुपर्दैन। विकेन्›ीकरण र असल शासन सुनिश्चितमात्र गर्न सके पनि बहुसंख्यकजनता रमाउँछन्। एक शताब्दीभन्दा बढी राणाले शासन गरे। सैनिक शाहीतन्त्र पञ्चायत 'व्यवस्था' भएर तीन दशकसम्म चल्यो। चलाउनेमात्र हो भने त खसआर्य वर्चस्व सुनिश्चित गर्ने संविधान पनि केही दिन चल्न नसक्ने होइन। प्रश्न केमात्र हो भने खसआर्य दलका मधेसी, जनजाति एवं दलित सधैँभर बिरालो हुनमै सन्तोष गरिरहन सक्नेछन्? त्यस्तो निष्कर्ष भ्रामक ठहरिन सक्छ। तेस्रो मधेस वि›ोह षड्यन्त्रमूलक ढंगले असफल तुल्याइएकाले तराई मधेसमा रोषको राप अत्याधिक छ। त्यसलाई सम्बोधन नगरी राष्ट्रियता निर्माण सम्भव छैन।

खसआर्य जस्तो हुन चाहने अनुकारी व्यक्तिहरू (मिमिकमेन) असान्दर्भिक नै त कहिले पनि हुने छैनन्। नेपालको भविष्य भने फरकपन नकार्नेहरू नभएर त्यसमा गौरव गर्नसक्नेहरूले बनाउनेछन्। निवर्तमान राष्ट्रपतिले गणतन्त्र संस्थागत गरे, लोकतान्त्रिक मूल्य एवं मान्यताको अभ्यास भने गर्न सकेनन्। पाठ उनका असफलताहरूबाट सिक्नुपर्छ। र, मधेस टुक्रिन सक्ने धेरै चिन्ता लिनुपर्दैन। मधेसबेगरको देशको कल्पना शायद नेपालका नश्लवादी खसआर्यले पनि गरिसकेका छैनन्। अन्ततः तिनले आफ्नै हित सुनिश्चित गर्नलाई भए पनि राष्ट्रियताको पुनर्परिभाषा गर्नअगाडि आउनेछन्।

प्रकाशित: २३ वैशाख २०७३ २१:२३ बिहीबार