विचार

ब्रिजकोर्सको औचित्य

यस वर्षको एसएलसीमा सम्मिलित ६ लाखभन्दा बढी परीक्षार्थी अहिले बेरोजगार जस्तै छन्। एक शिक्षण संस्थाबाट विद्यालय तहको शिक्षा पूरा गरी अर्को तहमा प्रवेश गर्न खुट्टा उचालेका यिनीहरुमा आगामी शिक्षा र शिक्षण संस्थाबारे कौतुहलता हुनु स्वाभाविकै हो। तसर्थ दश वर्षभन्दा बढी समय विद्यालयको निश्चित दायराको अनुशासनबाट भरखरै बाहिर आएका अल्लारे उमेर १५–१६ वर्षका विद्यार्थीको गतिविधिलाई सकारात्मक दिशातर्फ उन्मुख गराउनुपर्ने हुन्छ।यस उमेरका बालबालिका स्वभावैले चञ्चले र अपरिपक्व हुन्छन् नै। मनोवैज्ञानिकहरुको भनाइअनुसार यस उमेरलाई 'स्ट्रोमी एन्ड स्टे्रस' भनिन्छ। जसअनुसार छिटै रिसाउने, कुनै कुरामा चाँडै विश्वास गरेर निर्णय लिने तथा आफूले चाहेको कुरा तत्काल पूरा नभएमा उत्तेजनामा आउने एवं परिणामको ख्यालै नगरी काम गर्ने गर्छन्। आफ्नो चाहना अनि साथीभाइको संगत र लहैलहैमा लागेर नकारात्मक काम गर्नसमेत पछि नपर्ने चरित्र हो यो उमेरेको। स्वभावैले उनीहरु आफ्नो चाहना पूरा गर्न/गराउन अनेक तिकडम र जिद्धी गर्न पछि पर्दैनन्। एसएलसीको नतिजा नआउन्जेल करिब अढाई महिना परीक्षार्थीको समयको यथोचित व्यवस्थापन गर्न अभिभावक र पूर्व विद्यालयको चिन्ता र चासोको विषय बन्नुपर्छ।

काठमाडौंलगायत् देशका विभिन्न सहरी क्षेत्रमा धमाधम खोलिएका ब्रिजकोर्सको कानुनी हैसियत अन्योलमा छ। सञ्चालकहरु पढाउने विषयको कोर्स, पढाइ शुल्क तथा संस्थाको स्थायित्वबारे विवादरहित छैनन्। छोराछोरीलाई महँगो ब्रिजकोर्स पढाउनु भनेको सामाजिक प्रतिष्ठाको विषय बन्न थालेको छ।। ब्रिजकोर्स आवश्यकता हो कि फेसन खुट्याउन सर्वसाधारणलाई कठिन भएको छ। साथीभाइका अगाडि ब्रिजकोर्स नपढेमा विद्यार्थी स्वयंले हीनताबोध महसुस गर्ने मानसिकता विकास भएको देखिन्छ। जसलाई कदापि सकारात्मक मान्न सकिन्न। विद्यार्थीको सहज पहुँच सुनिश्चित गर्दै स्तरीय पठनपाठन गर्न ब्रिजकोर्सको नियमन र व्यवस्थापन समयमै हुनुपर्छ। अतः सरकारले समयमा नै निर्मम अन्ुगमन/निरीक्षण गरी ब्रिजकोर्सलाई कानुनी दायरामा ल्याउन हिच्किचाउनुहुंदैन।

अचेल विद्यार्थीको वर्तमान र भविष्यको शिक्षालाई जोड्न ब्रिजकोर्स नामका कार्यक्रम विभिन्न शैक्षिक संस्थाले सञ्चालन गरेको विज्ञापन सञ्चारमाध्यममा बग्रेल्ती देख्न र सुन्न पाइन्छ। फुर्सदको समयलाई उपयोग गर्ने यस्ता कोर्सलाई सकारात्मक नै मान्न सकिन्छ। चाउचाउ र पत्रिका व्यापारको बजार विस्तार गर्ने शैलीमा सहरका चोकचोकमा घुम्ती स्टल राखेर ब्रिजकोर्स भर्ना अभियान सञ्चालनले कोर्सको स्तरीयताबारे शंका उब्जनु स्वाभाविकै हो। अहिले ब्रिजकोर्स कोचिङ र ट्युसनको पर्यायका रूपमा सीमित लगानी गरेर कमाउ धन्दाको माध्यम बनेको आरोप खण्डन गर्ने भरपर्दो आधार र हिम्मत छैन सञ्चालकहरुसँग। तसर्थ ब्रिजकोर्स सञ्चालनका लागि आवश्यक मानवीय तथा भौतिक साधानस्रोत पर्याप्त छ कि छैन्? सञ्चालक र सम्बन्धित निकाय तथा अभिभावक चनाखो हुनुपर्छ। ब्रिजकोर्सका विषयवस्तु विद्यार्थीको भावी अध्ययनलाई टेवा पुग्नेखालका छन् त? सरोकार पक्ष प्रत्यक्ष अनुगमन र अवलोकनबाट ढुक्क हुनुपर्छ।

ब्रिजकोर्सको उद्देश्य फुर्सदको समयमा विद्यार्थीलाई अलमल्याउनुमात्र नभएर उनीहरुमा भएको अन्तरनिहित प्रतिभाको आविष्कार गरेर उच्च शिक्षाको विषय छनोटका लागि मार्गदर्शन प्रदान गर्नु पनि हो। अभिभावकले पनि छोराछोरीलाई यो र त्यो बन्नुपर्छ भनेर अध्ययनको विषय छनोटमा दबाब दिनु कतिपय अवस्थामा घातक हुन सक्छ। अरुको दबाबको विषयमा पढ्दा बिचैमा पढाइ छाडेर वल्लो घाट न पल्लो तिर भएर उद्देश्यबिहीन जिन्दगी जिउन विवश भएका उदाहरण पनि समाजमा बग्रेल्ती पाइन्छ। किनकि पढ्ने छोराछोरीले हो, अभिभावकले होइन। प्रख्यात खेलाडी, कलाकार, संगीतकार तथा राजनीतिज्ञले विश्वमा आफ्नो भविष्यमात्र सुनिश्चित गरेका छैनन्, कतिपयले आफ्नो संस्कार, संस्कृति र समग्र देशलाई नै विश्वमा चिनाउन सफल भएको हाम्रासामु कैयौं उदाहरण छन्। कुनै पनि विषय ठूलो/सानो हुंदैन। छोराछोरीले चाहेको विषय र विधामा अध्ययनको वातावरण बनाएर विशेषज्ञता हासिल गर्ने अवसर प्रदान गर्नु बुद्धिमानी हुन्छ। अतः विद्यार्थीलाई उच्च शिक्षा करले नभई रहरले पढ्ने सहज वातावरणको व्यवस्थापन गर्नु सरोकार पक्षको दूरदर्शिता हुन्छ। अन्यथा हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनुबाहेक केही हुने छैन अभिभावकसँग। किनकि त्यतिबेलासम्म छोराछोरीको बहुमूल्य समय घर्किसकेको हुनेछ। विद्यार्थीको पृष्ठभूमिका आधारमा भावी जीवनको तयारीका निम्ति उनीहरुको योग्यता, क्षमता तथा बजारको माग विश्लेषण गरी सही सल्लाह, सुझाव र सो अनुकूलको तयारी गर्नु/गराउनु ब्रिजकोर्सको औचित्य हो।

प्रकाशित: १८ वैशाख २०७३ २१:४९ शनिबार