विचार

गीता मनोचिकित्सा

गीता अर्थात् श्रीमद्भगवद्गीता विश्व प्रसिद्ध ग्रन्थ हो। महाभारतको मुटु हो। मानव जीवनको दर्पण हो। वेद र उपनिषद्को सार हो। ज्ञान, कर्म र भक्तिको अनुपम संगम हो। ज्ञानको महासागर हो। वास्तवमा गीता मनोविज्ञान हो। गीता विश्वको पहिलो मनोचिकित्सा (साइकोथेरापी) पनि हो। सरल शब्दमा भन्ने हो भने वाचितद्वारा मानसिक समस्याहरू हटाउने विद्या नै साइकोथेरापी हो।  

गीता भन्दा शक्तिशाली मनोविज्ञान यस संसारमा अहिलेसम्म सिर्जना भएको छैन। भनिन्छ, गीतामा जे जे कुरा छ, त्यो सर्वत्र छ। तर गीतामा जे छैन, त्यो कहीँ कतै छैन। त्यसैले गीता संसारकै उत्कृष्ट ग्रन्थ मानिन्छ। संस्कृत भाषामा रचना गरिएको श्रीभगवद्गीताको हालसम्म करिब १०० भाषामा अनुवाद भइसकेको छ।

आजभन्दा करिब पाँच हजार वर्ष पहिला भारतको कुरुक्षेत्रमा भएको महाभारत युद्धमा श्रीकृष्णले अर्जुनलाई विचलित नभई साहसका साथ आफ्नो कर्तव्य पूरा गर्न व्यक्त गरेका वाणीहरूको संग्रह श्रीभगवद्गीता हो। सात सय छन्दोबद्ध श्लोक रहेको गीतामा १८ अध्याय, ५७४ श्रीकृष्णका दिव्य वाणी समावेश छन् भने अर्जुनले श्रीकृष्णलाई सोधेका ८४ प्रश्न र सञ्जयका ४२ जिज्ञासा अनि धृतराष्ट्रले सञ्जयलाई गरेको एक प्रश्न समावेश छ।  

महाभारत युद्धका बेलामा अर्जुनले आप्mना वन्धुबान्धवमाथि हतियार नउठाउने बताएपछि उनका सारथि बनेका श्रीकृष्णले उदास, हतास र किंकर्तव्यविमुढ अर्जुनको नकारात्मक मनलाई सकारात्मक बनाउन दिएको ज्ञान गीतमा लिपिबद्ध छ। साइकोथेरापीले गर्ने पनि यही हो। यस दृष्टिमा गीता विश्वको पहिलो साइकोथेरापी किताब हो।  

गीतामा मानवीय आशक्तिका कारण उत्पन्न हुने मोह र भ्रम मुक्तिको ज्ञान पाएपछि हुने मोहभंग र स्पष्टतालाई सरल मनोवैज्ञानिक ढंगले उल्लेख गरिएको छ। गीताका उपदेशहरू मानव जीवनको आध्यात्मिक पक्षमा मात्र नभई शारीरिक, मानसिक, सामाजिक र भावनात्मक पक्षमा समेत उत्तिकै सान्दर्भिक र सार्थक छन्।

गीताले स्पष्ट गराउँछ कर्तव्यदेखि भाग्नु कायरता हो र डटेर त्यसको सामना गर्नु वीरता हो। श्रेष्ठ धनुर्धर अर्जुन महाभारत युद्धक्षेत्रमा उभिएका छन्। उनी एक क्षत्रीय हुन्, योद्धा हुन्। युद्ध गर्नु उनको कर्तव्य हो तर उनी आफ्नो कर्तव्यबाट भाग्न चाहन्छन्। झुटो तर्क दिन्छन्। कहिले पाप र पुण्यको, कहिले स्वर्ग र नर्कको, कहिले संन्यासको कुरा गर्छन्। उनी मानसिक उल्झनमा छन्। उनलाई न ज्ञान प्राप्त गर्ने इच्छा छ न उनमा कर्तव्य बोध नै छ। उनी किंकर्तव्यविमुढ छन्, हायलकायल छन्। उनले के गर्ने के नगर्ने निर्णय गर्न सकेका छैनन्।  

अर्जुनको मात्र होइन, हामी सबैको जीवन पनि ठीक यस्तै छ। तपार्इँ, म, हामी, उद्योगी, व्यापारी, चिकित्सक, इन्जिनियर, प्रबन्धक, नेता, अभिनेता, लेखक, पत्रकार, शिक्षक, विद्यार्थी, सैनिक, प्रहरी, कर्मचारी तथा मजदूर, हरेक महिला÷पुरुष अर्जुनझैँ आआफ्नो युद्धक्षेत्रमा थिए, छन्। बेलाबेलामा आआफ्नो युद्धभूमिमा अर्जुनझैँ हुने गर्छन्। जसले गीता मनोविज्ञान बुझ्छ, धनुष उठाइ डटेर चुनौतीको सामना गर्छ। उसले ढिलो÷चाँडो अवश्य नै जित्छ। तर चुनौतीको अगाडि धनुष राख्नेले निश्चितरूपमा हार्छ। गीताले भयवाद र पलायनवादलाई ठाडै अस्वीकार गर्छ। र, भन्छ, वर्तमानको यथार्थलाई स्वीकार गर र डटेर त्यसको सामना गर। यसको कुनै विकल्प छैन।  

गीता संसारको पहिलो मेगा मोटिभेसनल बुक पनि हो। गीता भन्दा शक्तिशाली उत्प्रेरक किताब (मोटिभेसनल बुक) अहिलेसम्म कहीँ कतै रचना भएको छैन। वास्तवमा गीता मोटिभेसनको आगो हो। जसले हरेक मानिसलाई आफ्नो धर्म पूरा गर्न जगाउँछ, सुर्राउँछ, तताउँछ। संसारमा जति पनि सेल्पहेल्प र मोटिभेसनलका किताबहरू छन्, ती किताबहरूमा जे जे कुरा छन्। ती सबै कुरा गीतामा छन्। गीतामा जे जे छैनन्, संसारका कुनै मोटिभेसनल किताबमा छैनन्।  

गीता भन्छ, मानिसको शरीर कामको उपज हो। काम, क्रोध, लोभ तथा मोह आदि मानवीय भावना हुन्। यी भावना प्रकट हुँदा गुण र अवगुण दुवैरूपमा प्रकट हुन सक्छन्। नैतिकरूपले काम (सेक्स) को प्रयोग गर्दा रमाइलो हुन्छ, सन्तान र सुख दुवै मिल्छ। तर यसको अनैतिक प्रयोग गर्दा इज्जत जान सक्दछ, स्वास्थ्य बिग्रन सक्छ, जेलनेल पनि हुन सक्छ।  

कृष्णले गीतामा यस्ता मनोवृत्तिहरूप्रति संयम अपनाउन आग्रह गरेका छन् र योगविधिबाट काममाथि विजय प्राप्त गर्न सकिने बाटो देखाएका छन्। जसले यी वृत्तिहरूमाथि विजय प्राप्त गर्छन्। ती योगी हुन्छन्। जसले नैतिकतवरले यिनको प्रयोग गर्छन्। ती गृहस्थ हुन्छन्। र, जसले जथाभावी प्रयोग गर्छन्। ती पापी हुन्छन्। गीताको यो यौन मनोविज्ञान हिन्दुहरूमा मात्र होइन, हरेक मानव जातिमा लागु हुन्छ।

श्रीमद्भगवतगीता हिन्दुहरूको धार्मिक ग्रन्थ हो भन्ने मूर्ख हुन्। गीता आफैँले कहीँ त्यस्तो भनेको छैन न त गीताका प्रथम व्याख्यकार शंकराचार्यले नै त्यसो भनेका छन्। गीता सबैको साझा ग्रन्थ हो, हिन्दु, बौद्ध, मुस्लिम, सिख तथा इसाई आदि सबैले गीता पढ्न सक्छन् र जीवनको यात्रामा असल बाटो पहिल्याउन सक्छन्।  

गीता राजनीतिक मनोविज्ञान पनि हो। गीतामा भावनात्मकरूपमा समर्थ, इमान्दार, ज्ञानवान र चरित्रवान् राजनीति फर्मुला पनि उल्लेख छ। माक्र्सवादको सुँघारटाइ गर्ने नेपालका कम्युनिस्टहरूले तथा पढ्दै नपढ्ने काँग्रेसीहरूले ज्ञानको महासागर श्रीमद्भगवत्गीता पढेर यसका भनाइलाई आफ्नो जीवनमा रूपान्तरित गरेका भए हामी नेपाली विश्वका सबैभन्दा सचेत, जागरुक तथा विकसित नागरिक हुने थियौँ। त्यो किनभने गीता मनोविज्ञान बुझ्ने मानिस न बेइमान हुन सक्छ न विश्वासघाती नै। यस्ता मानिसले आफ्नो नाफा÷नोक्सानका लागि काम गर्दैन र आफनो कर्मलाई आफ्नो धर्म मानेर शतप्रतिशत त्यसको पालना गर्छन्। जीत÷हारसँग न अति उत्साहित हुन्छन् न त अति दुरुत्साहित। चुनाव जिते पनि अहंकार गर्दैनन्, मदोन्मत्त हुँदैनन्। सिर्फ असल काम गर्छन्। आफ्नो कर्तव्य इमान्दारीसाथ पूरा गर्छन्। चुनाव हारे पनि असल काम गर्न छाड्दैनन्। कर्तब्य, इमानदारिता तथा निष्पक्षता गीताले दिने राजनीतिक धर्म हो।

अन्तमा,

सञ्जयलाई धृतराष्ट्रले गरेको प्रश्नबाट शुभारम्भ भएको गीता कृष्ण र अर्जुनको वार्तालाप दिव्यदृष्टिले प्रत्यक्ष देखेका सञ्जयको यस वाक्यांशबाट समाप्त हुन्छ ः इत्र योगेश्वरः कृष्णो यत्र पार्थो धनुधर्रः। तत्र श्रीर्विजयो भतिधु्र्रवा नीतिर्मतिर्मम।।७८।। अर्थात् जहाँ योगेश्वर कृष्ण र परमधनुर्धारी अर्जुन छन्, निश्चितरूपमा नै त्यहाँ ऐश्वर्य, विजय, अलौकिक शक्ति तथा नैतिकता रहन्छ भन्ने मेरो अटल विचार छ।  

सञ्जय सामान्य व्यक्ति थिएनन्। उनी निकै बुद्धिमान व्यक्ति थिए। त्यसैले गीताप्रति उनको धारणालाई शतप्रतिशत विश्वास गर्न सकिन्छ। उहिले पनि र अहिले पनि मानिसलाई चाहिएको ऐश्वर्य, विजय, अलौकिक शक्ति तथा नैतिकता नै हो। त्यसैले जीवनलाई सफल बनाउन हरेक मानिसले गीता पढ्नैपर्छ। गीता पढेर यसले देखाएको बाटोमा हिँड्ने हो भने जीवनको दौडमा जीत निश्चित छ।  

प्रकाशित: १० आश्विन २०७९ ००:४० सोमबार

गीता