विचार

श्रीलंकाली पूर्वराष्ट्रपति किन फर्के ?

विमानस्थल कर्मचारी तथा सुरक्षा अधिकारीले देश छाडेर भागेका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षे शनिबार सबेरै फर्केको पुष्टि गरेका छन्। यो कदमले संकटग्रस्त मुलुकमा पुनः तनाव बढ्न सक्ने देखिएको छ।

फलामे डण्डी चलाएर कुनैबेला श्रीलंकामा शासन गरेका राजापाक्षे जुलाइ १३ मा माल्दिभ्स पुगेपछि ‘लो प्रोफइल’ मा रहेका थिए। ठूलो वित्तीय संकटको भूमरीमा परेको देशलाई सही हिसाबले नेतृत्व दिन नसकेकाको पृष्ठभूमिमा राष्ट्रपतिको सरकारी निवासमा प्रदर्शनकारीहरू प्रवेश गरेर नियन्त्रणमा लिएपछि राजापाक्षेले देश छाडेका थिए। चरम राजनीतिक तथा आर्थिक संकटबीच देश छाडेर पछिल्ला केही साता एसियाका ३ देशमा उनी किन गए र अहिले पुनः किन फर्के भन्ने विषयमा उनले प्रष्ट कारण खुलाएका छैनन्।

केही अभियन्ताहरूले उनलाई आपराधिक आरोप लगाउनुपर्ने माग गरिरहेका छन् तर उनका सहयोगीहरू नै सत्तामा रहेकाले यो अभियोग अगाडि बढ्नेमा शंका छ। यसैगरी उनको देश फिर्ताको विरोधमा प्रदर्शनहरू हुने वा नहुने भन्नेमा अझै प्रष्ट भैसकेको छैन।

केही दिन माल्दिभ्स, त्यसपछि सिंगापुर र थाइल्यान्डमा बसेका राजापाक्षेले तत्कालीन परिस्थितिमा देश छाडे पनि अन्ततः देश फर्कने अपेक्षा गरेको समालोचक ठान्छन्। अगस्ट २३ मा रोयटर्समा प्रकाशित समाचारका अनुसार उनलाई विदेशमा विलासी जीवन बिताउन कठिन भैरहेको थियो। निजी जेट विमान, बस्नका लागि प्रेसिडेन्सियल सुइट तथा सुरक्षाकर्मीको खर्चका लागि हजारौँ अमेरिकी डलर आवश्यक थियो।  

श्रीलंकामा कुनैबेला पृथकवादीहरूविरुद्ध युद्ध जितेका राजापाक्षेलाई ‘योद्धा राजा (वारिएर किंग)’ मानिन्थ्यो। तर उनको यो पहिचान पूरै बदलिएको छ र उनी अहिले अत्यन्त अलोकप्रिय भएका छन्। श्रीलंकाली मानव अधिकार आयोगका पूर्वआयुक्त तथा कानुन व्यवसायी अम्बिका सदकुनानाथन राजनीतिक पतनले राजापाक्षेको अहंवाद (इगो) लाई ठूलो वज्रपात परेको ठान्छिन्।

‘उनलाई स्थायी वा अस्थायी बासस्थान पाउन कठिन थियो। उनले सोचेभन्दा यो झन कठिन बनेको थियो’– उनी भन्छिन्। ‘यी तिनै राजनेता थिए जसलाई कुनैबेला देवताको जस्तो मान थियो र उनलाई कुनै कुराका लागि जिम्मेवार ठानिने थिएन’– उनी थप्छिन्।  

९० मिनेटको हवाई यात्रामार्फत कोलोम्बोबाट राजापाक्षे सबैभन्दा पहिला माल्दिभ्स पुगेका थिए। उनलाई सुरुमा माल्दिभ्समा अवतरण गर्न अस्वीकार गरिएको थियो। तर तत्कालीन राष्ट्रपति तथा हालका सभामुख मोहम्मद नासिदको विशेष पहलमा उनलाई माल्दिभ्स अवतरण गर्ने अनुमति दिइएको उच्च सुरक्षा अधिकारी बताउँछन्। माल्दिभ्समा ठूलो संख्यामा रहेका श्रीलंकालीहरूले विरोधस्वरूप प्रदर्शनसमेत गरेका थिए।  

‘प्रिय माल्दिभ्सका साथीहरू, अपराधीलाई सुरक्षा नदिन आफ्नो सरकारलाई अनुरोध गर्नुहोस्,’ लेखिएको प्लेकार्डसहित सडकमा प्रदर्शन भएको थियो। माल्दिभ्समा झण्डै ४८ घण्टा बिताएका राजापाक्षे त्यसपछि साउदी एयरलायन्स हँुदै सिंगापुर पुगेका थिए। जुलाइ १४ मा सिंगापुरका परराष्ट्रमन्त्रीले निजी भ्रमणको सिलसिलामा श्रीलंकाका पूर्वराष्ट्रपतिलाई सिंगापुर प्रवेश अनुमति दिइएको बताएका थिए।

‘उनले शरण मागेका थिएनन् न त शरणका लागि अनुमति दिइएको थियो’– सिंगापुरको परराष्ट्र मन्त्रालयले त्यतिबेला भनेको थियो। धेरै समाचार माध्यमहरूले उनी साउदी अरेबिया जाने आकलन गरेका थिए तर त्यसो हुन सकेन। यसको प्रष्ट कारण खुलेको छैन तर कतिपयले कोभिड–१९ का कारण मृत्यु भएका मुस्लिमहरूलाई परम्पराअनुसार अन्तिम दाहसंस्कार गर्न नदिइएको कारण राजापाक्षेसँग मुस्लिम समुदाय आक्रोशित बनेको तर्क गरेका छन्।

साउदी अरेबिया सदस्य रहेको मुस्लिम देशहरूको संस्था– अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी) ले एक विज्ञप्ती निकालेर श्रीलंकाको विरोध गरेको थियो। विरोध भएपछि राजापाक्षेले मृतक मुस्लिमहरूलाई दुर्गम स्थानमा लगेर गाड्न अनुमति दिएका थिए तर आफन्तजनको उपस्थिति र अन्तिम संस्कार विधि अवलम्बन गर्न पाउने अनुमित दिइएको थिएन। राजापाक्षेले सिगांपुरबाटै आफ्नो पदबाट राजीनामा दिएका थिए।  

तर उनीविरुद्ध मानवता विरोधी तथा मानव अधिकार हननका गंभीर अभियोग लाग्ने संभावना बढेको थियो। यही क्रममा जुलाइ २३ मा अन्तर्राष्ट्रिय सत्य निरूपण तथा न्याय परियोजना (आइटिजेपी) का वकिलहरूले राजापाक्षेलाई तत्काल गिरफ्तार गर्न सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा निवेदन दिएका थिए। सन् २०११ को संयुक्त राष्ट्र संघीय एक प्रतिवेदनका अनुसार गृहयुद्धका बेला श्रीलंकाली सैनिकले सर्वसाधारणको हत्या, बलात्कार गरेको थियो। गृहयुद्धका बेला ४० हजार सर्वसाधारणको मृत्यु भएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ।  

अगस्त ११ मा निजी विमानमार्फत राजापाक्षे थाइल्यान्ड पुगेका थिए। कूटनीतिक राहदानी भएकाले भिसाबिना नै कुनै पनि देशमा ९० दिनसम्म प्रवेश गर्न पाउने सुविधा उनीसँग थियो। थाइल्यान्डका अधिकारीले पनि उनले राजनीतिक शरण नमागेको बताएका थिए। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओचाले मानवताका आधारमा पूर्वराष्ट्रपतिलाई थाइल्यान्डमा अनुमति दिइएको बताएका थिए।

‘अस्थायीरूपमा केही दिन बस्ने र अन्य कसैलाई नभेट्ने तथा बैठकहरू नगर्ने सर्तमा हामीले उनलाई अनुमति दिएको हो’– अगस्त १० मा प्रधानमन्त्र प्रयुतले सञ्चारमाध्यमलाई भनेका थिए। उता, श्रीलंकामा उनका समर्थकले वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेलाई राजापाक्षेलाई श्रीलंका फर्कन सहयोग गर्न दबाब दिइरहेका थिए। संसद्मा बहुमत रहेको दलका नेतासमेत रहेका तथा राजापाक्षेका भाइ बसिल राजापाक्षेले अगस्ट १९ मा पूर्वराष्ट्रपतिलाई देश फर्कँदा सुरक्षा दिन अनुरोध गरेका थिए।  

अब के हुन्छ ?

औपचारिक अनुमोदन नभए तापनि आर्थिक स्थिरताका लागि श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २.९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग पाउने लगभग निश्चित भएको छ। यो सहयोगअन्तर्गत खाद्यवस्तु, इन्धन तथा औषधीको उपलब्धता सुनिश्चित गर्ने, सरकारी राजस्व तथा वैदेशिक मुद्रा संचिति वृद्धि गर्ने श्रीलंका सरकारको तयारी छ।

जुलाइ २१ मा रनिल विक्रमसिंघेले राष्ट्रपति पदको सपथ गरेयता प्रदर्शनकारीलाई जबर्जस्ती हटाइएको र कतिपयले कैदसमेत गरिएको आरोप अधिकारकर्मी तथा विपक्षी दलका नेताले बताएका छन्।  

‘एउटा सन्त्रासको वातावरण छ। आगामी दिनमा विरोध प्रदर्शनहरू हुने÷नहुनेमा प्रष्टता छैन। तर सर्वसाधारणको जीवन यापन अझै कष्टपूर्ण छ, मानव अधिकार विषयका वकिल सत्कुनानाथन भन्छन्। लाखौँ श्रीलंकालीहरूले खाद्यपदार्थ तथा इन्धनको जोहो गर्न सकस भैरहेको वर्तमान अवस्थामा देश फिर्ता भएका पूर्वराष्ट्रपति विलाशी जीवन यापन गर्ने शैलीले संकट झन् बढ्न सक्ने देखिएको छ। ‘यही कारणले मानिस सडकमा आएका थिए। यही पाखण्डताको विरोधमा उनीहरू आक्रोशित बनेका थिए’– सत्कुनानाथन थप्छन्।  

अन्तर्राष्ट्रिय सत्य निरूपण तथा न्याय परियोजना (आइटिजेपी) का एक अधिकारीका अनुसार युद्ध अपराधको अभियोगमा राजापाक्षेविरुद्ध अनुसन्धान हुने संभावना अत्यन्त कम छ।  

‘राजनीतिक वृत्तबाट उनको संरक्षण हुनेछ। उनले देश छाडे पनि उनका समर्थनमा रहेका निकाय र व्यक्तिहरू जहाँका त्यहीँ छन्’– ती अधिकारी भन्छन्। तर दण्डहीनता अन्त गर्न नागरिक समाजले उनका विरुद्ध अभियोग दर्ता गर्न सक्ने उनको सुझाव छ। ‘दण्डहीनता स्वीकार्य विषय होइन। गोतापाक्षेको केसमा पनि कानुन भन्दा कोही हुँदैन भन्ने प्रमाणित हुन जरुरी छ’– आइटिजेपीका ती अधिकारी भन्छन्।(सिएनएन)

प्रकाशित: १९ भाद्र २०७९ ००:४३ आइतबार