विचार

दमित आक्रोशको भुंग्रो

सुरक्षा निकाय हावी हुने प्रायशः देशमा नामुद पत्रकारहरूलाई निरन्तर निगरानीमा राख्ने गरिन्छ। मामूली टिप्पणीकार एवं अखबारको स्तम्भकारलाई समेत सुरक्षा चुनौती ठहराएर उत्तिकै सम्मान दिने थोरै मुलुकहरूमध्ये नेपाल पनि एक हो। जनकपुर विमानस्थलमा ओर्लिनासाथ तीन भिन्दाभिन्दै सरकारी संयन्त्रका युवा उस्ताउस्तै प्रश्न सोध्छनु। र, तीमध्ये एक बर्दीधारी व्यक्तिद्वारा दिइएको उत्तर सादा कागजको पानामा टिपेको जस्तो पनि गर्छन्।


प्रश्नहरू सामान्य जिज्ञाशाजस्ता छन्। कहाँसम्म पुग्ने हो? भ्रमणको उद्देश्य के हो? कार्यक्रम गोप्य हो कि खुल्ला? आयोजक को हो? बस्ने व्यवस्था कहाँ छ? फर्किने कहिले हो? विचरा नोकरी गरेका हुन्, तलब पाउन आफ्नो काम गर्दैछन्। बानी परेकालाई जवाफ दिन गाह्रो लाग्दैन। सरकारी कर्मचारीले बाटोमा उभिएर सवाल गर्नु अशोभनीय जस्तो देखिए पनि केरकार नै होइन। पहिलो पटक यस्तो गाईजात्रा देखिरहेका स्थानीय अधिकारकर्मी रियाजभाइ भने जंगिन्छन्– के ताल हो यो? प्रश्नकर्ता सुरक्षाकर्मी शालीनतापूर्वक आफ्ना जिम्मेवारीका बाध्यता बताउँछन्। पूर्वराजदूत विजयकान्त कर्ण पनि एकछिन झोकिन्छन्। यस्तो बेमतलवको काममा राष्ट्रिय स्रोतको दुरूपयोगको कुरा चल्छ। तराई–मधेसको अवस्था सहज छैन भन्ने निर्क्योलमा पुग्न भने धेरैबेर लाग्दैन। सुरक्षा निकायहरू मानसिक दबाबमा छन्। जुनसुकै बेला जे पनि हुन सक्ने मनस्थिति सर्वत्र व्याप्त छ।

आगमन पटांगिनीबाहिर फलामको अस्थिपञ्जरजस्तो देखिने नयाँ टर्मिनल भवनको ढाँचा जस्ताको त्यस्तै छ। विमानस्थलबाट राजमार्गसम्म पुग्ने बाटो अझै पनि अस्तव्यस्त छँदैछ। मत्स्यविकास केन्द्रको कुनैबेलाको भव्य भवन उजाड देखिन थालेको वर्षौं भयो। पढाइ र राजनीति दुवैमा अब्बल रहने गरेको राराव क्याम्पस अचेल सुनसान देखिन्छ। सन् १९९० पछि ओरालो लाग्न थालेको जनकपुरको अवस्था हेरेर अवसाद हुन्छ। त्यसमा झन् अहिले असफल मधेस आन्दोलनको सन्ताप थपिएको छ।

जनकपुरका बैठक कोठाहरूमा प्रायशः सोधिने प्रश्न एकै प्रकृतिका हुन्छन्। अचानक नाका खोलिए। आमहड्ताल फिर्ता भयो। यस पटक उधारोमा सम्झौता नगर्ने ढिपीमा बसेका संयुक्त मधेसी मोर्चाका नेताहरू रातारात गले। तिनका मागदाबीहरूको भने सुनुवाइ पनि भएको छैन। सम्बोधन त धेरै परको कुरा भयो। होइन, यो के अचम्म भयो? अब के हुन्छ? अन्योल र अस्पस्टता हटाउने प्रयत्नसमेत मोर्चाका नेताहरूले गरिरहेका छैनन्। तिनको स्वीकार्यता क्रमिकरूपमा घट्दै गइरहेको छ।

सडकको उत्साह र उमंग भने घटेको अनुभूति हुँदैन। युवाऊर्जा यथावत् छ। उमेर खाएकाहरूले समेत आश मारेका छैनन्। आमहड्ताल सकियो त के भयो? अरू बाटा अझै बाँकी छन्। आत्तिनुपर्ने कुरा केही छैन। गुमाउने कुरा केही नरहेकालाई निरन्तर संघर्षबाट कसले पो विचलित गर्न सक्छ र! यस्ता गुढ कुरा कुनै कलेजका प्राध्यापकले नभएर विद्युतीय रिक्सा चालकले गर्छन्। जनकपुरको हावा र पानीमा केही त छ, जसले चारैतिर फैलिएको घोरनिराशाका बीच पनि आस्थाबाट विचलित हुन दिँदैन। राजधानीको वैभवले निरीह बनाउँछ। मधेसको निस्सहायपनमा समेत जिगीषा यथावत् छ। समयको कुरो हो, जित्नु त छँदैछ। यस्तो दृढ विश्वाश भएको जमातलाई धेरै दिनसम्म दबाएर राख्न गाह्रो हुनेछ। समय आइसकेको विचार र तयार भइसकेका जनतालाई तत्काललाई दमन गरे पनि निरस्त गर्न सकिँदैन।

मुर्दाशान्ति

सात सालभन्दा अगाडि नै बीपी कोइरालाले नेपाल खाडलका बुद्धिजीवीहरूको छिद्रान्वेषी चरित्रलाई अकर्मण्यता छोप्ने आवरणका रूपमा अर्थ्याएका थिए। गणेशमान त आखिर सिंह न थिए, सोझै गर्जेर हाकाहाकी काठमाडौँका जनतालाई भेडा भनिदिन्थे! आलोचना वा अवहेलना आवेशात्मक प्रतिक्रिया हुन्। आफ्नो समयका सर्वोत्कृष्ट सोच एवं उच्चतम चेतना भएका बीपी एवं जीएमसमेत मानवीय असंयम तथा स्वाभाविक उत्तेजनाबाट सर्वथा मुक्त थिए भन्न मिल्दैन। तर, राजधानीमा सत्ताको उलटपलट भए पनि क्रान्तिको सुरूवात सामान्यतया मोफसलबाटै हुने गर्छ। त्यसका पछाडि राजनीतिक, प्रशासनिक, समाजिक एवं आर्थिक कारण छन्।

एकातिर सत्ताको गणेश परिक्रमा गरेर महादेवको बर पाइने सम्भावना वढी, अकोतिर कोपभाजनमा परे खाइपाइ आएको समेत गुमाउने डर केन्द्र वरिपरि रहेको व्यक्तिमा सधैँभरि हुन्छ। राजाको अगाडि र घोडाको पछाडि जहिले पनि सचेत रही रहनुपर्ने आहान त्यसै चलेको होइन। अत्यन्त विपरीत परिस्थितिमा समेत राजधानीका जनता सामान्यतया सडकमा ओर्लिंदैनन्। विजय जुलुस र जो जिते पनि त्यसको हर्षोल्लासमा दीपावली गर्न भने सबैभन्दा अगाडि हुन्छन्। भुइँचालोपछिको निरन्तर अस्तव्यस्ततामा समेत लामो कालसम्म चुप लागेर बसिरहनु राजधानीवरिपरिका बासिन्दाको सहनशीलतामात्र नभएर निरीहताको पनि प्रमाण हो। सिमानामा गरिएको नाकाकस्सीको निहुँमा अत्यावश्यक वस्तुको हाहाकार हुँदासमेत जिम्मेवारी लिएर बसेको आफ्नो सरकारलाई केही नभनेर छिमेकीलाई गाली गर्दै रमाउने चरित्रलाई उत्कठ राष्ट्रवादको साटो अन्धो सरकारवाद पनि भन्न मिल्छ। जेहोस, जस्तो होस्, हाम्रो सरकार, राम्रो सरकार। राणाशासन १०४ वर्ष र शाही पञ्चायत निष्कंटक ३० वर्ष त्यसै टिकेको होइन। एकातिर भाग्यवादको अफिम र अर्कोतिर राष्ट्रवादको रक्सीको लत एकैसाथ लगाइदिएपछि जनता जे पनि सहन्छन्।

गोर्खाली विजेता राजा पृथ्वीले तखतकिल्ला घोषणा गरेकै दिनदेखि प्रशाशनिकरूपमा नेपाल खाडललाई निरन्तर अनुगमनमा राख्न थालिएको हो। काठमाडौँका भित्ताहरूको कान हुन्छ। त्यसैले यहाँ कतै सुनाउनुपर्ने कुरामात्र बोल्नुपर्छ भन्ने मान्यता सन् १९९० पछि केही कमजोर भए पनि पूर्णतः समाप्त भइसकेको छैन। त्यसैले कुनै पनि परिवर्तनको जोखिम उठाउने जमात राजधानीमा जहिले पनि सानो रहने गरेको छ। काठमाडौँ अब रैथाने नभएर आगन्तुकहरूको सहर भइसकेको छ। सहरिया आप्रवासीहरूमा द्वैधचरित्र हुन्छ। ती परिवर्तन त चाहन्छन्, तर त्यो अरू कसैले गरिदेओस् भन्ने आशमा आफूचाहिँ जीवनवृत्तिबाट एकैछिनका लागि पनि अलग्गिन तयार हुँदैनन्। आगन्तुकहरू तमासे एवं सप्ताहन्तका क्रान्तिकारी हुने भएकाले नै तिनलाई अन्ना हजारे त मन पर्छ, मत भने जात–धर्म र थातथलो हेरेर खसाल्छन्। काठमाडौँको चेतनशील जमातले 'कि दाइ–गाई, कि भाइ–गाई' प्रवृत्ति त्यसै देखाएको होइन।

राजनीतिक सुसुप्तताका लागि सहरहरूमा बढÞ्दै गएको उपभोक्ता संस्कृति पनि कम जिम्मेवार छैन। राजा होस् वा रंक, चाहनाहरूको तुलनामा स्रोतको उपलब्धता सबैलाई कम नै लाग्ने गर्छ। तृष्णालाई पछ्याउने वृत्ताकार दौडमा बेतोडसँग कुदिरहेकाहरूमा सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थलाई एकछिनका लागि भए पनि पन्छाउने हिम्मत सामान्यतया हुँदैन। सरकार स्वचालित एवं बजार अनियन्त्रित भएपछि जनता पनि नागरिकको साटो कर्मकुशल यन्त्रमानव हुन लालायित हुनु स्वभाविक हो।

पहाडतिर राजनीतिक उदासीनता बढ्ने कारण अर्को पनि छ। माओवादीहरूले व्यापक जनअसन्तुष्टिलाई सशस्त्र संघर्षको नियन्त्रित विष्फोटमार्फत् निस्तेज गरिदिएपछि जसले जे गरे पनि नेपालमा केही हुनेवाला छैन भन्ने निराशा फैलाउनेहरूको बोलवाला पुनः बढ्न थालेको हो। हुन पनि सशस्त्र द्वन्द्वको अग्रपंक्तिमा रहेका दलितहरूले माओवादीको सत्तारोहणबाट केही पाएनन्। राज्य विप्लवलाई जन्माउने, हुर्काउने र जोगाएर उत्कर्षसम्म पुर्यामउने मगरहरू थिए। नेतृत्वले आत्मसमर्पण गरेर क्रान्तिको विसर्जन गरिदिएपछि ती जहाँका त्यहीँ छन्। आजीविकामै अल्भि्कएका विपन्नसँग त उसै पनि लामो कालसम्म संघर्ष गरिरहने ऊर्जा नै हुँदैन।

पञ्चायतकालमा बहुदलवादीहरू स्मसानघाटको मुर्दाशान्तिको खुब कुरा काट्ने गर्थे। ती अहिले सत्तामा पुगेका छन्। र शान्ति, स्थिरता एवं समृद्धिका कुरा पूर्वकालका पञ्चहरूभन्दा पनि तीन हात मागि उफ्रेर गर्ने गर्छन्। नेपालको जस्तो अन्तर्निहित असमानता एवं एकलजातीय बर्चस्व कायम रहेको राज्यमा न्यायसंगत समाज निर्माणका लागि निरन्तर संघर्षको विकल्प न हिजो थियो, न त आज छ। प्रक्रियागत प्रजातन्त्र सही बाटो त हो, तर लक्ष समुन्नत एवं न्यायसंगत समाज निर्माण हुनुपर्छ।

मधेसको आश

सीतापुर, कल्याणपुरका सुखदेव राम– ६७, निर्वाहक्षेत्रका सामान्य उद्यमी हुन्। नेपालको धेरैजसो अर्थतन्त्र उनैजस्ता आफै सेवक र आफै मालिक रहने श्रमिकहरूको सृजनशीलताले धानेको छ। लहानको मधेसी सहिद स्मारक छेउमै उनी जुत्ता, छाता मर्मत गरेर जीवन निर्वाह गर्छन्। उनको एकमात्र छोरो र दुई छोरीज्वाइँ कतारमा काम गर्छन्। जेठो ज्वाइँ सउदी अरबमा छन्। उनलाई कसैसँग कुनै गुनासो छैन। हातखुट्टा चलेसम्म काम गर्ने हो। त्यसपछि त जे हुन्छ, हुन्छ। भगवान श्रीकृष्णको फलको आश नगरी गरिने कर्मको निर्देशलाई उनले दिनहुँ गीता पाठ गर्नेभन्दा धेरै राम्रोसँग बुझेका छन्। लहान फर्किनुअघि धनकुटा र उदयपुरमा सेवा पुर्याशइसकेका सुखदेव एकताका माओवादीनजिक थिए। सत्तामा पुगेपछि माओवादीले सर्वहारालाई धोका दिएको निर्णयमा पुगेर उनी मधेसवादी भए। मधेसी राजनीतिकर्मी पनि मन्त्री बन्न हानाथाप गर्न थालेदेखि उनी राजनीतिबाट विरक्तिएका छन्। तर, मधेसका दाबीहरू जायज रहेको कुरामा अडिग छन्। असमान अस्त्रले समान अधिकार हासिल गर्न नसकिने उनको विश्वास पनि नहल्लिने किसिमकै छ। एकातिर लाठी, अर्कोतिर गोली गठ्ठा, त्यो पनि असीमित! उनी सशस्त्र मधेस संघर्षका समर्थक छन्। माओवादी बन्दुकको बलले गर्दामात्र सत्ता छेउछाउ पुगेकोमा विश्वस्त छन्।

सुखदेवको निर्वाह उद्यमभन्दा अलिकतिमात्रै पर फलफूलका ठेलाहरू छन्। आमहड्ताल फिर्ता भएकाले त्यतातिर खुसियाली छ। लामो दूरीका बस चल्न थालेपछि व्यापार बढ्ने छ। मधेस आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्यालउनैपर्ने अठोट तिनमा पनि छ। जति नै कमाइ भए पनि प्रहरी देख्नासाथ भाग्नुपर्ने नियतिबाट मुक्ति स्वायत्तताबेगर सम्भव छैन भन्ने कुरा तिनलाई कसैले सिकाएको होइन। 'हामी जनावर हो र हजुर त्यति कुरा पनि नबुझ्नलाई?' प्रश्नकर्तालाई उल्टै हकार्छन्।

थारू कल्याणकारी सभाको प्रशिक्षण कार्यक्रममा उत्सवको वातावरण छ। सहभागीमा पुरूषभन्दा महिला उपस्थिति बढी देखिन्छ। यस किसिमका अनुष्ठानहरूमा पुरूष सभागृहभन्दा पनि पान पसलतिर भेटिन्छन्। तर, महिलाले नै आन्दोलनको आवश्यकता आत्मसात गरिसकेपछि पुरूषको हिचकिचाहटले केही गर्न सक्दैन। लोकतान्त्रिक मधेसी मोर्चाले जेसुकै निर्णय गरिसकेको भए पनि मधेस अझै आन्दोलनकै मनस्थितिमा छ। एकथरि अब गोइत, पासवान एवं राउतको बाटो समातेर स्वतन्त्रताका लागि संघर्ष गर्नुपर्ने नीतिको विकल्प देख्दैनन्। संख्यात्मकरूपमा यो जमात सानो भए पनि तिनको प्रतिबद्धता अन्य आन्दोलनकर्मीभन्दा सशक्त छ। पहिलो र दोस्रो मधेस विद्रोहको धङधङी बोकेकाहरू परम्परागत विरोधको शैलीबाट उम्किन सक्ने अवस्थामा छैनन्।

दोयम भूमिकामै सन्तुष्ट रहनुपर्छ भन्ने माले–मण्डले–मसाले मनोवृत्ति पनि मधेसमा सोचिएजति कमजोर छैन। सुस्तरी ती पनि सल्बलाउन थालिसकेका छन्। सत्ताको साथ पाउने भएकाले तिनको प्रभाव अझ बढ्न सक्छ। मधेसी अधिकारको कुरा भने चर्को गर्ने, तर निर्णायक घडीमा दलाधिपतिका सामु लम्पसार पर्ने सन् १९९० पछिको कांग्रेसी प्रवृत्ति त व्यापक नै छ। त्यस्ता सबै बाध्यताका बीच सबैभन्दा महŒवपूर्ण कुरा के हो भने, मधेसका सामान्यजन अब असमान अवस्था स्वीकार गर्न तयार छैनन्। सधैँ झैँ मधेसको संघर्षको सफलताको प्रतिफल पहाडका शोषित, पीडित, वञ्चित एवं वहिष्कृतले पनि समानरूपमा पाउनेछन्। त्यसैले मधेसले जित्यो भने देश जित्नेछ। र, मधेसको हार सबैको हार ठहरिने जोखिम कायम छ।

प्रकाशित: २८ माघ २०७२ २२:१० बिहीबार