विचार

क्रमभंग राजनीतिविरुद्ध नरम शक्ति

नेपालका वामपन्थी नेताहरू ‘सफ्ट पावर’ लाई सजिलै परास्त गर्न र त्यो शक्तिलाई आफ्नो अजेन्डामा हिँडाउन सकेकोमा गर्व गर्छन्। हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ नाइले उग्र वामपन्थी शक्तिको विजयलाई चुनौती दिन ‘सफ्ट पावर’ (नरम शक्ति) को नयाँ अवधारणा ल्याएका छन्। जुन राष्ट्रले सफ्ट पावरलाई जगेर्ना गर्न सक्दैन, त्यो राष्ट्र ढिलो चाँडो संकटमा फस्छ भन्ने उनको मान्यता छ। भारतीय पूर्वसांसद शशी थरुर भारतको अस्तित्व यही सफ्ट पावरमा टिकेको जिकिर गदै बेलायतीले करिव २०० वर्ष शासन गर्दा पनि भारतीय परम्परा, धर्म, रीति, रिवाज, मूल्य, मान्यतामा परिवर्तन गर्न सकेनन् र त्यही शक्ति नै आज भारतको सफ्ट पावर हो जसले भारतको पहिचान अक्षुण्ण रहेको जिकिर गर्छन्। नेपालमा भने वामपन्थी अजेन्डाअनुसार जति ठूलो क्रमभंग गर्न सक्यो त्यति ठूलो लोकतन्त्रवादी बन्ने प्रतिस्पर्धा चलेको छ।  

क्रमभंग र सफ्ट पावर ध्रुवीय अन्तरका लक्ष्य हुन्। बिपी कोइरालाले एकल शक्ति र बलको भरमा सुरु गरेको आन्दोलन क्रमभंगता थिएन मात्र शासकीय सोच, मूल्य र मान्यता प्रजातान्त्रिक बनाउने थियो। सन्तुलित शासकीय सोचका हिमायती बिपीले अपवित्र गठबन्धनलाई सर्वथा अस्वीकार गरिराखे। २०३६ सालको जनमत संग्रहको परिणाम बिपीले कुनै राजनीतिक दबाब र प्रभावको कारणले स्वीकारेको नभई नेपालको राजनीति उग्र वामपन्थमा जानबाट रोक्ने उनको दूरदृष्टिमा थियो।

तत्पश्चात बिपीकालीन नेपाली राजनीति सफ्ट पावर विरोधी बन्दै गयो। २०४६÷२०४७ मा नेपाली कांग्रेसले यसको विजारोपण गर्‍यो। प्रजातान्त्रिक आन्दोलन कांग्रेस एक्लै पनि गर्न सक्ने सामथ्र्य राख्थ्यो तर पनि तत्कालीन नेताहरूले वामपन्थीलाई वैधानिकता प्रदान गरे। कांग्रेसले तत्कालीन राजतन्त्रसँग मेलमिलाप गर्न सक्ने विकल्प रोजेन। बरु वैचारिकरूपमा ध्रुवीय दूरीमा रहेका वामपन्थीसँग सहकार्य गर्ने विकल्प रोज्यो।  

यसबाट नेपाली वामपन्थी आन्दोलनले राष्ट्रिय मान्यता त प्राप्त गर्‍यो नै, साथसाथै अन्तर्राष्ट्रिय चिनारी पनि। सात सालदेखि हालसम्मका सम्पूर्ण आन्दोलनले वामपन्थीको विस्तार र फैलावटलाई ऊर्वर भूमि प्रदान गरेरको छ। क्रमभंगताको यात्रा निरन्तर जारी छ। १२ बूँदे सम्झौता हुँदै संविधान निर्माण, निर्वाचन र सरकार गठनसम्म आउँदा क्रमभंगता नै मूल नीतिमा पररणत भएको कुरा नेपाली राजनीतिमा छाएका आधुनिक सतरंजका खेलाडीले हेक्का राखेका छैनन्।  

कांग्रेस वाम शक्तिलाई लोकतान्त्रिक धारमा रूपान्तरण गरेको र वाम शक्तिको अजेन्डालाई नेतृत्व प्रदान गरी संविधान जारी गरेकोमा गौरव गर्छ तर विपरित भएको छ, वाम शक्तिले नेपाली कांग्रेसलाई उपयोग गर्दै आफ्नो उपस्थिति र सामथ्र्यलाई मजबुत गर्दै लगेको छ। यसपालिको स्थानीय तहको चुनावमा वाम शक्तिको संयुक्त मत र कांग्रेसको मत तुलना गर्दा ३ः१ को अनुपातले फरक छ, कदाचित कुनै अमुक वामपन्थी दलको एकल मत भने कांग्रेसको बढी होला। अर्थात, सफ्ट पावरलाई प्रयोगमा लिँदै वामपन्थीले शक्ति र सामथ्र्य आर्जन गरेको विषय कांग्रेसलाई शायद चुनौती होइन। होस् पनि कसरी र? कांग्रेसले सिद्धान्तको राजनीति छाडेर ‘कांग्रेस–कम्युनिस्ट भाइ–भाइ ः सत्तामा सँगै रजाइँ’ को नीति लिएको करिव दुई दशक भैसक्यो।  

कांग्रेस यसरी चुक्दै जानेमा उसमा आएको सैद्धान्तिक विचलन र उसले विरासतमा आर्जन गरेको तर क्रमशः क्षयीकरण हुँदै गएको सफ्ट पावर प्रमुख कारक हुन्। वामपन्थीको अजेन्डा कार्यान्वयनमा आफ्नो जीत ठान्ने मनोविज्ञान र वामपन्थी राजनीतिको केन्द्र बन्दै गएको पत्तो नपाउने हुस्सुपन। उदाहरणका लागि– वालिग मताधिकारलाई १८ वर्षमा झार्दा कांग्रेसलाई कति लाभ पुग्यो होला? निजामती सेवामा संघ संगठन खोल्न दिएर कांग्रेसलाई कति सघाउ पुगेको होला? तराईको आफ्नो भोट ब्यांकलाई संस्थागतरूपमा क्षत विक्षत पारेर तराईको अपनत्व डगमग पारेर वामपन्थलाई साथ दिने के स्वार्थ होला? २०६३ जेठ ४ गतेको कथित ‘नेपाली म्याग्नाकार्टा’ ले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरी वामपन्थी तरङ्गमा तरंगित र ऐक्यबद्ध भएर राम्रो भोट ब्यांक गुमाउँदा कसलाई फाइदा पुगेको होला?  

नेपालको जिओपी अर्थात ग्रान्ड वल्र्ड पार्टीको हैसियतमा नेपाली कांग्रेसले यी र यस्तै प्रश्नको उत्तर नेपाली जनतालाई दिनुपर्छ। अब त झन चुनावपूर्व वा पश्चात गरिने अपवित्र गठबन्धन र÷वा तालमेलले निष्ठावान मतदाताले आफ्नो निष्ठा विपरित भोट हाल्न बाध्य पार्ने निर्णयले आघात पुगेको मतदाताको मनोविज्ञानको मूल्य पनि चुकाउनुपर्छ। सत्ता राजनीतिमा मात्र स्वार्थ देखेर आफ्नो पहिचान गुमाउन लागेको कांग्रेसलाई सच्चा तारणहारको मार्गदर्शन आवश्यक छ।  

विडम्वना वामपन्थीको अतिवादलाई एक्लै रोक्न सक्ने तागत कांग्रेसले गुमायो। केपी ओलीले २–२ पटक संसद् विघटन गर्दा एउटा वामपन्थले अर्को वामपन्थलाई ठेगान लगाउन फेरि सफ्ट पावरकै सहारा लिनुपर्‍यो। पुरस्कारस्वरूप नेपाली कांग्रेसले सत्ताको बागडोर पायो तर वामपन्थले शेरबहादुरको काँधमा बन्दूक राखेर फेरि हेरफेरको राजनीति गर्‍यो। यस प्रकारको हेरफेरको राजनीतिको हिस्सेदार भइ सोको सूत्रधार बन्नुको जिम्मेवारी पनि कांग्रेसले लिनुपर्छ।  

राजनीतिक पार्टी दर्ता गरी निर्वाचनमा भाग लिँदैमा लोकतन्त्रप्रतिको पूर्ण समर्पण मान्न नसकिने कुरा अफ्रिकी र ल्याटिन अमेरिकी देशका अनुभवले प्रमाणित गरेको तथ्य ‘हाउ डेमोक्रेसी डाइ’ भन्ने पुस्तकमा डेनियल जिब्लाट र स्टेभेन लेभित्स्कीले सविस्तार वर्णन गरेकै छन्। कहिले समाजवादी केन्द्र त कहिले कम्युनिस्ट केन्द्र गठनमार्फत सफ्ट पावरलाई परास्त पार्न नेपालका वामपन्थ उद्यत छन् भन्ने कुरा बुझ्न राजनीतिशास्त्रमा विद्यावारिधि हासिल गर्नु पर्दैन।  

केही प्रभावशाली कांग्रसी नेता आजकल निधारमा रातो टीका र मुस्किलले बाँकी रहेको कपालमा कुनै पनि बेला झर्नेगरी सिउरेको फूल भिरेर संसद्मा धर्म निरपेक्षताबारे राम्रै प्रवचन दिँदै मतदाताको मन जित्ने असफल प्रयत्न गरेको देखिन्छ।  

कामरेडी नेता पनि देखावटी नै सही, परम्परावादी बन्ने प्रतिस्पर्धामा कम छैनन्। केही कट्टर वामपन्थी नेता सफेद दौरा सुरुवालमा आफ्नो कालो विगत सफाइ गर्न खोजेका देखिन्छ। कोही पशुपतिमा सुनको जलाहरि लगाउने त कोही मन्दिरमा आरती गान, श्रीरामको जन्मभूमि नेपाल नै हो भन्नेदेखि प्रधानमन्त्रीको बहालीपश्चात बालुवाटार निवासमा स्वस्ति शान्ति सहित बलि पूजासम्म गरेकै हुन् तर यी सबै भोटको राजनीतिका लागि देखावटी आडम्बर मात्र हो भन्ने कुरा संसद्मा बोली नफेरेसम्म प्रमाणित भइराख्छ।  

सफ्ट पावर धेरै कमजोर बनिसक्यो अब रातो टीका र सेतो दौरा सुरुवालले मात्र सच्चिनेवाला छैन। पहिला त विगतको कमजोरी सच्याउनुपर्छ। जसको प्रवेश विन्दु सफ्ट पावरको सबलीकरण हो। जोसेफ नाइ कामरेडलाई सफ्ट पावरको प्रतिनिधि मान्ने पक्षमा छैनन्। वामपन्थ नबुझ्ने शब्द जालमा भुलाउँछ। युद्धको महिमा अपरम्पार, आफ्नैलाई अवसर बारम्बारको नीतिलाई मूल मन्त्र बनाउँछ। मिलेसम्म शास्त्र नमिले शस्त्रको रणनीति गुरुमन्त्र बनाउँछ। अनि कसरी सफ्ट पावरको हिमायती बन्न सक्छ?  

गल्ती बेलायतीले पनि गरे। सच्च्याए पनि। सच्च्याउने थलो बेलायतीको पनि संसद् नै थियो। हाम्रो पनि संसद् नै हो। सफ्ट पावरले क्रमभंगीय शक्तिलाई परास्त गर्न सर्वप्रथम त मौलिक भएकोमा गर्व गर्न सक्नुपर्छ। वामपन्थ मौलिक होइन, आयातीत हो।

नेपालका सफ्ट पावर र छिमेकीले डिएनए परिवर्तन गदा गल्ती भयो। नेपाल वामपन्थी शक्ति उत्पादन गर्ने कारखाना बन्यो। कोही संविधानभित्र छन् त कोही कोही संविधान बाहिर। गल्ती छिमेकी र सफ्ट पावरका बाह्य हिमायतीले पनि गरे। अहिलेको नेपालको रन्थमोलको नैतिक जिम्मेवारी उनले पनि लिनुपर्छ। चुनौती सत्तामा को आउँछ र को बाहिरिन्छ भन्नेमा होइन, चुनौती वामपन्थ र लोकतन्त्र सँगै हिँड्न सक्तैनन्, वामपन्थीको जीत लोकतन्त्रको हार हो भने सफ्ट पावरको प्रभाव लोकतन्त्रको जीत हो। सत्ताभित्रका वामपन्थीलाई वाल्मीकि बनाउने तागत नेपाली कांग्रेसले राखोस्।

(पूर्वसांसद एवं पूर्वसचिव)

प्रकाशित: १९ श्रावण २०७९ ००:४७ बिहीबार

नेपालका वामपन्थी नेताहरू