जङ्कफुडको उद्गमस्थल पश्चिमा मुलुकहरुमा बालबालिकाको ओबेसिटी (अनावश्यक मोटोपन)लाई आजकल महामारीका रूपमा लिन थालिएको छ किनभने जङ्कफुडको अधिक सेवन र कम शारीरिक श्रमकै कारण १८ प्रतिशत अमेरिकी बच्चाहरु मात्र होइन २४ प्रतिशत बेलायती, ३० प्रतिशत चाइनिज र ५९ प्रतिशत वयस्क क्यानेडियनहरु मोटोपनको शिकार बन्ने गरेको तथ्यांक छ। र, यो संख्या दुई दशकमा मात्र दोब्बरले वृद्धि भएको छ। जंकफुडकै कारण नागरिकको स्वास्थ्य धरापमा पर्दै गएपछि आजकल ती मुलुकहरुमा यसको विज्ञापनलाई कडाई गर्न थालिएको छ। बच्चाहरुलाई लक्षित गरी गरिने विज्ञापनमा रोक लगाउन थालिएको छ। गत ९ मार्च २०१५ मा 'ब्रिटिस हर्ट फाउन्डेसन' ले जङ्कफुडको विज्ञापनमा पूर्णतया रोक लगाउन अन्तर्राष्ट्रिय समुदायसमक्ष अपिल नै गरेको छ।
तर हाम्रो अवस्था भने बेग्लै छ। एकातर्फ हामीकहाँ बहुराष्ट्रिय कम्पनीहरुद्वारा उत्पादित जंकफुडको धूमधामले विज्ञापन गर्न सञ्चार माध्यमहरुमा कलिला नानीहरुलाई नै प्रयोग गरिन्छ। जसको अनुगमन गर्ने जिम्मेवारी लिएका सरकारी अधिकारीहरु कानुन नै बनिनसकेको भनेर तर्कन्छन्। अर्कोतर्फ परम्परागत खानपान भन्दा जंकफुड र फास्टफुडको उपभोगलाई सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने प्रवृत्ति बढ्दो छ। परिणाम के हँुदैछ भने पोषणको कमीले ४१ प्रतिशत बच्चा पुड्का, २९ प्रतिशत कम तौल भएका र ११ प्रतिशत बच्चा वेस्टेड (अति दुब्ला) भएको नेपाल जस्तो मुलुकको सहरी क्षेत्रमा पछिल्लो समय ३३ प्रतिशतसम्म मानिसमा अनावश्यक मोटोपन देखिएको तथ्यांक एक अध्ययनले देखाएको छ। जुन निकै चुनौतीपूर्ण अवस्था हो। किनभने एकातर्फ गर्भवती र सुत्केरी महिला तथा बालबालिकालाई कुपोषणबाट बचाउन सरकारले हरेक वर्ष करोडौँ रुपियाँ खर्च गरेर सुक्ष्म पौष्टिक तत्व (माइक्रोन्युटि्रन्ट) वितरण गर्छ। अर्कोतर्फ अधिक क्यालोरीयुक्त जङ्कफुड र फास्टफुडको अत्यधिक उपभोगले अर्काथरी जनता अनावश्यक मोटोपनको शिकार हुदै अस्वस्थ बन्दै छन्। यसरी एउटा भ्वाङ टाल्दै जाने तर अर्को झन् ठूलो भ्वाङ पर्दै जाने स्थितिले पोषणको क्षेत्रमा राज्यको लगानी बालुवामा पानी हालेसरह हुने अवस्था सिर्जना हँुदैछ।
जङ्कफुड र फास्टफुडको बारेका आमउपभोक्ताले जान्नैपर्ने यथार्थ के हो भने यिनीहरुमा भिटामिन, मिनरल, प्रोटिन, फाइबर आदि जस्ता महत्वपूर्ण प्राकृतिक पौष्टिक तत्व निकै कम हुन्छ। अनि सुगर, फ्याट, साल्ट जस्ता जैविक स्रोतको मात्रा ज्यादा राखिएको हुन्छ। वास्तवमा प्राकृतिक खाद्यवस्तुलाई प्रशोधन गरी कृत्रिम सुगन्ध, स्वाद, रंग तथा प्रिजरभेटिभहरु राखी वासनादार, स्वादिलो र हेर्दा आकर्षक बनाएर बजारमा ल्याइएका खाद्य वस्तु नै जङ्कफुड हुन्। बजारमा उपलब्ध कृत्रिम फ्लेवरका विभिन्न पेय पदार्थ (कोक, फेन्टा फ्रुटी, रियोलगायतका क्यान जुसहरु) देखि मैदाद्वारा निर्मित चाउचाउ, चिप्स, बिस्कुट, ब्रेड, नुडल्स, वर्गर, पिज्जा तथा क्यान्डी र आइसक्रिम आदि पनि जंकफुडकै विभिन्न रूप हुन्। स्वाभाविकरूपमा जंकफुड खाँदा वा पिउँदा स्वादिला र तत्कालका लागि ताजगीपूर्ण लाग्छन् तर त्यही स्वादिलोपन (सुगर, साल्ट र फ्याट) को नियमित सेवनबाट प्राप्त हुने अधिक क्यालोरी शरीरमा सञ्चित हँुदै जाँदा अनावश्यक मोटोपन निम्त्याउँछ। परिणाम कलिलो उमेरदेखि नै उच्च रक्तचाप, मधुमेह, मुटुरोग, हृदय घात, मष्तिष्कघात, पक्षघात, तथा अपांगतालगायत समस्या देखिन्छन्।
विचारणीय कुरा के छ भने हाम्रै खेतबारीमा उत्पादन हुने कोदो, फापर, मकै, गहुँ, जौ, उवा, भटमास, चना आदि हुन् या सखरखण्ड, तरुल, आलस, तिल, च्याउ आदि सबै पौष्टिकताले भरिपूर्ण खाद्यान्न हुन्। यीमध्ये अधिकांश त औषधीय गुणले भरिपूर्ण हुन्छन्। भटमासमा क्यान्सरका कोषहरु नियन्त्रण गर्न सक्ने तत्व विद्यमान हुन्छ। चीनमा गरिएको अध्ययनअनुसार भटमासबाट बन्ने परिकार बढी सेवन गर्ने महिलामा स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ। त्यसैगरी तरुलमा पाइने पोटासियमले रक्तचाप नियन्त्रणमा सहयोग गर्छ भने यसमा पाइने 'डायसजेनिन' स्टेरोइड सापोनिनले महिनावारी बन्द भएका महिलामा हर्मोनको विकल्पमा काम गर्छ। फापरको पिठो नियमित खाने गरे रगतमा बढ्दो चिनी, इन्सुलिन र कोलेस्टेरोल न्यूनीकरण हुन्छ। सिलाम र आलसले दम, जोर्नीको दुखाई र अल्सरबाट बच्न मद्दत गर्छ। तर यस्ता प्राकृतिक आहार सेवन गर्नुको सट्टा हामी जंक फुड र फास्टफुड खाएर आफैँलाई अल्पायुमै समाप्त गरिरहेका छौँ।
प्रकाशित: १३ मंसिर २०७२ २१:०४ आइतबार