बलात्कार यौन सुखका लागि गरिँदैन । यसबाट बलात्कारीले कहिल्यै यौन सन्तुष्टि प्राप्त गर्न पनि सक्दैन। तर पनि अपराध गर्छ र अपराधको सम्पूर्ण दोष पीडितलाई दिन्छ। कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैन।
आठ वर्षअघि भएको बलात्कारको घटनालाई लिएर आज सडकदेखि सदनसम्म बहस चर्किरहेको छ। किन सुस्मिता रेग्मीले त्यति बेला कुरो लुकाइन्? अहिले आएर त्यो घटनालाई ताजा बनाइनुको अभिप्राय के हुन सक्छ?
एकातिर यस्ता खालका विविध प्रश्नहरू उठिरहेका छन् भने अर्कातिर घटना जति नै पुरानो भए पनि पीडितले न्याय पाउनैपर्छ भन्नेहरूको जमात खडा भएको छ। यो समस्या सुस्मिता रेग्मीको मात्र होइन। विश्वव्यापी रूपमा देखा परेको समस्या हो। विश्वका ३५ प्रतिशत महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको यौन उत्पीडन भोग्नु परेको तथ्य अध्ययनले देखाउँछ।
हिजोको दिनमा यसलाई पुरुषले महिलामाथि गरिने अत्याचारका रूपमा हेरिन्थ्यो भने आज आएर यसले अझै विस्तारित रूप धारण गरेको छ मानव समाजमा। अर्थात् पुरुष पनि यो समस्याबाट मुक्त छैनन्। नेपालको सन्दर्भमा भन्नुपर्दा सन् २०२०/०२१ मा प्रहरी कार्यालयमा २ हजार ५ सय ३४ वटा बलात्कार घटनाको उजुरी दर्ता भएको प्रहरी विभागले जनाएको छ।
त्यस्तै ७ सय ३५ वटा उजुरी बलात्कारको प्रयास सम्बन्धमा परेको छ। यो त भए न्यायका लागि खुलेर उजुरी दिन हिम्मत जुटाएका पीडित व्यक्तिहरूको सङ्ख्या। सुस्मिताजस्ता कयौँ पीडितले न्यायका लागि आवाज उठाउन नसकेको आजको अवस्थाले प्रस्ट पारेको छ। किनकि सुस्मिताको घटना बाहिरिएपश्चात् दबिएर बसेका आवाजहरू चारैतिरबाट उठ्न थालेका छन्, न्याय पाउने आशामा।
किन दिन प्रतिदिन यो समस्या झन्झन् बढ्दै गइरहेको छ ? बलात्कारको जड के हो ? यसलाई कसरी रोक्न सकिन्छ भन्नेतर्फ ध्यान जानु आजको आवश्यकता हो। अपराध गरेपछि दण्ड सजायको भागी हुनुपर्छ, त्यो स्वाभाविक हो। तर समाजमा यस्ता खालका अपराध नै हुन नदिनका लागि त्यसको कारण पत्ता लगाई त्यसमा काम गर्न सकेमा पक्कै पनि रोकथाम गर्न सकिन्छ। त्यसैले अपराधीको मानसिकता बुझ्नु आवश्यक छ।
कस्तो हुन्छ अपराधीको मानसिकता ?
हामी पीडितको पीडाको कुरा उठाउँछौँ। दण्ड–सजायका बारेमा बहस चलाउँछौँ, तर एउटा व्यक्ति बलात्कारी कसरी बन्छ, उसको मानसिक स्थिति कस्तो हुन्छ, यस विषयमा ध्यान जान सकेको छैन। अध्ययनअनुसार बलात्कार यौन सुखका लागि गरिँदैन।
यसबाट बलात्कारीले कहिल्यै यौन सन्तुष्टि प्राप्त गर्न पनि सक्दैन। तर पनि अपराध गर्छ र अपराधको सम्पूर्ण दोष पीडितलाई दिन्छ। कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैन। “पीडितकै कारणले अपराध गर्न उक्साएको हो। उसले लगाएको कपडा ठीक थिएन। मेरो कुरामा किन नो भनेको।” जस्ता तर्क हुन्छन् उनीहरूका।
मधुमिता पाण्डे तथा स्यामुयल डि. स्मिथिम्यान (सन् १९७६) का अनुसार यिनीहरू अरू मानिसजस्तै हेर्दा, बोल्दा सामान्य देखिन्छन्। तर सोच्ने शैली भने फरक हुन्छ। अर्थात् मानसिकता फरक हुन्छ। के कारण यस्तो मानसिकता निर्माण हुन्छ भन्ने विषयमा यहाँ विमर्श गरेको छु।
कारक तत्वहरू
१. पारिवारिक वातावरण
एउटा व्यक्ति असल वा खराब हुनुमा परिवारको महत्वपूर्ण भूमिका रहन्छ। उसले जे सिक्छ, परिवारबाटै सिक्छ। झैझगडा, कुटपिट तथा तनावपूर्ण पारिवारिक माहोलमा बाल्यकाल बिताएको व्यक्ति खुसी रहन सक्दैन। उसले माया, प्रेम, सम्मान भन्ने कुरा जानेकै हुँदैन। जे गर्छ आफ्नो इच्छा पूर्तिका लागि गर्छ। आफ्नो अवचेतन मन दुःखले भरिएकाले अरूलाई दुःख दिन प्रेरित गर्छ।
२. मानसिक समस्या
जसरी शरीरमा समस्या आउँछ, मनमा पनि समस्या आउँछ। कुनै समस्याको कारण मानिसले आफैलाई हानी पुर्याउँछ भने कुनै समस्यामा अरूलाई हानी पुर्याउने हुन्छ। समस्याग्रस्त व्यक्तिले आफ्नो इमोसनलाई नियन्त्रण गर्न नसक्दा यस्ता अपराध हुने गर्दछन्। विशेषगरी साइकोप्याथहरूबाट यस्ता अपराध हुने गर्छन्।
३. यौन असन्तुष्टि
आफ्नो सेक्स पार्टनरसँगको यौन असन्तुष्टिका कारणले पनि यस्तो अवसरको खोजीमा हुन्छ मान्छे।
४. अश्लील कुरातिर आकर्षित
आजभोलि गुगलमा सबै चिज पाइन्छ। चाहिनेभन्दा नचाहिने चिजप्रतिको झुकाव धेरै छ मानिसहरूमा। यौन यस्तो चीज हो, जसको एक झलकले नै मानिसलाई उत्तेजित पार्छ। त्यसबाट अश्लील मुभी हेर्ने, त्यही सम्बन्धी कुरा गर्ने गर्नाले दिमागमा त्यही मात्र विचार आउन थाल्छ। विचारले भावना उत्पन्न गराउँछ। भावनाले क्रियाकलाप गर्न प्रेरित गर्छ।
५. बदलाको भावना
जीवनमा कुनै न कुनै कुरामा कसैसँग मनमुटाव हुन सक्छ। त्यस विषयलाई लिएर बदलाको भावना बोकेर बस्ने बानी हुन्छ कसैको। मनभित्र जरा गाडेर बसेको बदलाको भावनाले अवसर पाउँदा बलात्कारजस्तो अपराध गर्न प्रेरित गर्छ।
पीडितमा देखिने मनोवैज्ञानिक असर
इच्छा विपरीत जबर्जस्ती गरिएको यौन कार्य हो बलात्कार। इच्छा विपरीत गरिएका हरेक कार्यले मानव मस्तिष्कमा नकारात्मक असर त पुर्याउँछ नै। त्यसमा पनि यौन जस्तो संवेदनशील कुरालाई जबर्जस्ती गरिँदा शारीरिक पीडा त छँदै छ, त्योभन्दा बढी मानसिक पीडा हुन्छ। पीडित व्यक्ति मानसिक आघात (ट्रमा) को स्थितिमा हुन्छ।
त्यसैले ऊ घरपरिवार तथा समाजबाट एक्लिन्छ। कसैसँग हेलमेल, कुराकानी गर्न सक्दैन। हरबखत डराइरहेको हुन्छ। कसैलाई विश्वास गर्न सक्दैन। आत्मविश्वास कमी हुँदै जान्छ। मनको पीडा पोख्न नसक्दा उकुसमुकुस भएर एकान्तमा रुने, छटपटिने हुन्छ। बाहिरबाट हेर्दा यिनीहरू शान्तजस्तो जस्तो देखिए पनि आफैँभित्र हराइरहेका, भित्रभित्रै तड्पिरहेका हुन्छन्।
यसको कारणले विभिन्न प्रकारका मानसिक समस्याहरू देखा पर्छन्। आत्महत्याको प्रयास पनि गर्न सक्छन्। यस घटनाले पीडितको जीवन तहसनहस हुन पुग्छ। बलात्कारको ट्रमाबाट निस्कन सारै गारो हुन्छ। कसैलाई महिनौँ लाग्छ त कसैलाई बर्षौं पनि लाग्न सक्छ। कसैको जीवन ट्रमाबाट उम्किनै नसकेर बित्न पनि सक्छ। त्यसैले सर्वप्रथम पीडितलाई मानसिक उपचार अनिवार्य हुन्छ।
यौन क्रिया सृष्टिक्रमलाई निरन्तरता दिने निर्विकल्प प्रक्रिया हो। यसैका आधारमा संसारका सम्पूर्ण प्राणी जगत्को सिर्जना एवम् विस्तार भएको छ। पूर्वीय दर्शनमा यसलाई सम्भोग शब्दले नामकरण गरिएको छ। सम र भोग दुई शब्द छन्। यसको अर्थ हुन्छ, यौन क्रियामा सहभागी दुवैले समानरूपमा आनन्दको भोग गर्ने, अर्थात् एकसाथ एउटै वस्तुबाट दुवैको सहकार्यमा समान आनन्दानुभूति प्राप्त गर्ने एक मात्र विकल्प हो सम्भोग।
विवेकशील प्राणी मान्छेले यस्तो अर्थपूर्ण र सम्मानजनक कार्यलाई बलात्कारका रूपमा ग्रहण गर्नु भनेको अति घृणित, निन्दनीय मात्र नभई विवेकहीनताको पराकाष्ठा हो। यसले पीडितलाई जीवनभरको मानसिक यातना त दिन्छ नै, पीडकले पनि आफ्नो कुकृत्यका कारणले आफ्ना निर्दोष प्रियजनले अप्रत्यक्ष रूपमा नै भए पनि भोग्नुपरेको पीडा त सहनैपर्छ।
अतः आपराधिक मानसिकता जुनसुकै कारणले निर्माण भए पनि त्यसको सुरुवात मानव मस्तिष्कमा आउने विचारबाट हुन्छ। जब मस्तिष्कमा नकारात्मक विचारको बाढी आउन थाल्छ, मन विकृत हुन्छ। असन्तुलित हुन्छ। जति पनि अपराध हुन्छन्, यही असन्तुलित मानसिकताको कारणबाट नै हुन्छन्। त्यसैले अपराधमुक्त स्वस्थ समाज निर्माणका लागि मानसिक तथा भावनात्मक रूपले हरेक व्यक्ति स्वस्थ हुनु आवश्यक छ।
प्रकाशित: २८ जेष्ठ २०७९ ०४:३४ शनिबार