विचार

हस्तक्षेप कि सहकार्य ?

इन्धन पाउन छाडेपछि अचानक सहरवासीले भन्नथालेका छन् – भारतले हस्तक्षेप गर्योा! इन्धन पाउन्जेल, सडकमा गाडी गुडुन्जेल भारतले हस्तक्षेप गरेको थिएन। संविधानका विषयमा नेताहरुको दिल्ली दर्शन, दिल्लीवालाको नेपालमै नेताजनलाई निर्देशन सहकार्य थिए, हस्तक्षेप थिएन।भारतका हरेक कुरा हाम्रा लागि स्वाभाविक या प्राकृतिक भइसकेका छन्। जयशंकर आउनु, डमडम डमरु बजाएर त्रिशुल देखाउनुलाई पनि सहकार्यकै रूपमा सामान्य सहरवासीले लिएकै हुन्। अहिले सवारी नपाएर पो हस्तक्षेप। तिन दलका त्रिमूर्तिले पनि दर्शनभेटका समय सहकार्य नै मानेका थिए। परराष्ट्र सचिव तहकाले सिधै अधिकारविहीन राष्ट्रपतिलाई भेटेर संविधान सभाका प्रक्रियामा हस्तक्षेप गर्न दिइएको दबाब पनि हस्तक्षेप भएन। विगतमा मन्त्री, पूर्वमन्त्री आउने प्रचलन थियो। अहिले सचिव आउँछन् सिधै राष्ट्रपति, प्रधानमन्त्रीलाई भेट्न भन्ने थाहा पाउँदा पनि सरकारले कूटनीतिकमाध्यमबाट अग्रीमरूपमै 'हाइप्रोटोकल' दूत पठाउन नत्र नपठाउन अनुरोध गरेन। अर्थात् सरकारले स्वाभाविकरूपमै सहकार्य ठान्यो। उल्टो तीन टाउके खुसी भए मोदी दूतलाई भेट्न पाइने भो भनेर। सिधै फोनमा कुरा गर्न सकिने मोदीसित फोनबाटै कूटनीतिक 'ट्रयाक टु'को अनौपचारिक बाटो पनि लिइएन। दूत आएपछि भारतको पनि प्रतिष्ठाको विषय बन्छ र भारत एवं मोदी नेपालजस्तो प्रतिष्ठाहीन स्थितिमा रहँदैनन् भन्ने चेतना नभएको सरकार, नेता, परराष्ट्र मन्त्रालय, परराष्ट्र सल्लाहकारआदिबाट संकट आउनुअघि नै रोक्ने प्रयत्न किन भएन? मधेसका नेपालीलाई संविधानले सबैभन्दा बढी दिएको तथ्य मोदीलाई तत्कालै अवगत गराएर यता मधेसमा पनि व्यवस्थापन गर्ने बुद्धि नै आएन। न त अहिले संकट आइसकेपछि इाति न्यूनतम गर्ने कोसिस भइरहेको छ। यो लेख्दासम्म त यस विषयमा मन्त्रिपरिषद् नै बसेको छैन। अमेरिका जान नपाएका प्रधानमन्त्री आँखाको उपचारमै व्यस्त छन्। कमल थापासमेत जोडिएपछिका चार ठूला दल प्रतिपक्षीविनाको संसद्बाट कसरी पदको बाँडफाँट लिनेदिने भन्नेमै व्यस्त छन्। विजयकुमार गच्छदारलगायत मधेसी नेता तराईमा आगो बलिरहने व्यवस्थासहित राजधानीमा एकत्रित छन्, सरकारी पद गुम्ने चिन्तामा।

देशभित्रै मधेसमा कुन प्रचार अस्त्र उपयोग गरिंँदैछ, दिल्लीमा कस्तो खिचडी पाक्दैछ आदि सत्यतथ्यबाट अनभिज्ञ तीन टाउकेले पहिले नै बुझेनन् – जयशंकरको आगमन भयानक हस्तक्षेपको दुलोबाट देखिएको महाअजिंगरको पुच्छरमात्र थियो भनेर। तीन टाउकेका नीजि स्वार्थको कुहिरोले पनि यो भ्रम उत्पन्न भएको होला। गुरु द्रोणले भनेका थिए लक्ष्यको आँखामा दृष्टि भएमात्र सफल भइन्छ। परन्तु यौटाको आँखा प्रधानमन्त्रीमा, अर्कोको आँखा राष्ट्रपति र दलको सभापति दुवैतिर, अर्कोको आँखा राजनेताको भत्केको व्यक्तित्वको पुनर्निर्माण र सत्ताधारी दल बन्नु। अनि संविधान हतारहतार घोषणा गर्नुमा मात्र केन्द्रित हुनु स्वाभाविकै भयो। हिजोसम्म मधेसीको हैकमका कमैया बराबर पनि नठानिएका थारुहरूमार्फत एक मधेसको डिजाइनर उपेन्द्रले चुटकीमा बालिसकेको जातीय आगो बाँकी मधेसमा फैलिनुअघि नै सहमति आवश्यक छ भन्ने सोच्ने बुद्धिलाई कुर्सीले छेकिदियो। सुरक्षा संयन्त्रले यति पनि अनुमान गर्न नसकेका हुन् कि ध्याउना अन्तै हुने गृहमन्त्रीलाई भन्नु बेकार ठानेका हुन्? गौर नरसंहार तथा मधेसी पहाडीमाथिको हिटलर शैलीको आतंकका नायक भडकाउने, पड्काउने र मान्छेलाई रेटेर तडपाउने विज्ञ उपेन्द्र यादवको क्षमता तथा प्रधानमन्त्री र राष्ट्रपति बन्न नपाउने राजेन्द्र महतोको दुखान्तता मिसिएर सारा मधेस जलाउँछ भन्ने विश्लेषण गर्न सक्षम व्यक्ति या संस्था या संयन्त्र सरकारसँग नभएको हो? पंक्तिकारले टीकापुर घटनाभन्दा ६ दिनअघि यही नागरिकमै यी दुई टिकटले महाविकट गर्दैछन् भनेर किटानीसाथ लेखेको थियो। मधेसी जनतामाथि सदैव गैरमधेसीले हेप्ने गरेको र तराईलाई पराई व्यवहार गरेको सामाजिक पीडालाई अन्ततः घिउतेल बनाइहालियो। संविधानमा सबैभन्दा बढी हक मधेसलाई दिइएको तथ्यसमेत मधेसमै बोलिने भाषामा बताउन सरकार अक्षम रह्यो। कि चेत नै आएन? र इन्धन रोकिएपछि बल्ल चेत आएको हो – भारतले हस्तक्षेप गरिरहेको छ। स्मरण रहोस्, उता दिल्लीका नेपाल डेस्कका सुरक्षा अधिकारीसँग मधेसी नेताले खिचडी पकाइरहेका तथ्यबाट अनभिज्ञ तीन शीर्षहरू संविधान घोषणाका बेला भारत, चीनलगायत अन्य देशका विशिष्ठ व्यक्तिहरूलाई सरिक गराउने सोमशर्माको सपना देख्दै थिए। वास्तवमा संविधान सभालाई जस्तै सरकार भन्ने संयन्त्रलाई पनि तीन टाउकाले निष्त्रि्कय पारेका कारण यसरी विफल भएको हो। पूर्ण नाकाबन्दीअघि राजमार्गहरूमा सुरक्षाकर्मीको सुरक्षामा इन्धन ल्याइने निर्णय गरिएको खवर आएको थियो। यो सरकार अर्थात् गृहमन्त्रालयकोे सामान्य कार्य हो। तर सरकारको कार्यको निर्णय तीन दलले गरिने स्थितिले नै भारतको हस्तक्षेप यो हदसम्म पुर्यााएको हो।

अहिले इन्धन नभेटेपछि सहरवासी भन्छन् – भारतको हस्तक्षेप। विसं) २०४६ सालमा पनि इन्धन नभेटेपछि मात्र भनेका थिए यिनै सहरवासीले। परन्तु हरेक सत्ता परिवर्तनका बेलाको आन्दोलनमा पूर्णरूपले भारतकै हात हुँदा भने कहिले भनेनन् भारतको हस्तक्षेप यिनै सहरवासीले! सहरवासीलाई सुखसुविधा नभेटेपछि मात्र भारतीय हस्तक्षेपको नारा गीत गाउन आउँछ। परन्तु दलका विषयमा यी प्रश्नहरू उठाऔँ – १. अहिलेको नाकाबन्दी मधेसी दलका लागि भारतीय सहकार्य, तीनदलका लागि भारतीय हस्तक्षेप। २. २०६२/६३को आन्दोलन तीनदलका लागि सहकार्य राजा ज्ञानेन्द्रका लागि भारतीय हस्तक्षेप ३. अहिलेको दिल्लीवाला सात बुँदे भारतीय हस्तक्षेप, उहिलेको बाह्र्र्बुँदे भारतीय सहकार्य। यो संविधान नै बाह्रबँुदेको जगमा उभिएको छ भनेर नथाक्ने पुष्पकमल दाहाल 'प्रचण्ड'ले यो संविधान नै भारतीय सहकार्यको बच्चा हो भनेर किन बु‰दैनन्? ४ २०४६को नाकाबन्दीले पंचायत ढालेकोले कांग्रेस एमालेलाई वरदानमय सहकार्य तथा पंचायतलाई सरापपूर्णं हस्तक्षेप। ५. १० वर्ष माओवादीले दिल्लीसँग सहकार्य गरेर हजारौं ज्यान र धन नाश गरेका बेला कांग्रेस र एमालेका लागि भारतीय हस्तक्षेप थियो। पछि राजाले गलहत्याउँदा दिल्लीसँग सहकार्य, राजाका लागि भने भारतीय हस्तक्षेप। ६. राजनीतिमा सहकार्य र हस्तक्षेपको खेल २००७ सालबाटै भयो।

'आगोको झिल्का सानै भए नि हेला नगर्नु

भान्साकै भए नि चक्कुसित खेला नगर्नु

आफ्नो घरको समस्या समाधानका निमित्त

छरछिमेक इष्टमित्रका घरमा भेला नगर्नु'

प्रकाशित: १७ आश्विन २०७२ २१:४६ आइतबार