विचार

विश्व अर्थतन्त्रमा संकटका झिल्का

मोहमद ए. एलेरियन

ठूलो संख्यामा हताहती, विनाश तथा लाखौँ मानिस विस्थापन गरेको युक्रेन युद्धले विश्व अर्थतन्त्रमा उच्च मुद्रास्फीति र बेरोजगारीसहितको सुस्त आर्थिक वृद्धिलाई निम्त्याएको छ।  

युक्रेनमाथि रुसको आक्रमणले विश्व अर्थतन्त्रलाई दिएको झट्काले सबैको ध्यान तानेको छ। तर विश्वभर अर्थतन्त्रलाई समस्या पार्ने आगोका झिल्का यत्रतत्र देखिएका छन् र यसले विश्व अर्थतन्त्रको दीर्घकालीन स्वास्थ्यका लागि झन् ठुलो चुनौती सिर्जना गरेको देखिन्छ। समयसँगै आगामी दिनमा आगोका यी ससाना फिलुङ्गा एक हुँदा खतरा झन बढ्ने देखिन्छ। उत्प्रेरकका रूपमा सुरुमा देखिएको आगोको ठूलो लप्का जस्तै यो उत्तिकै खतरनाक सावित हुन सक्छ।

ठूलो संख्यामा हताहती, विनाश तथा लाखौँ मानिस विस्थापित गरेको युक्रेन युद्धले विश्व अर्थतन्त्रमा उच्च मुद्रास्फीति र बेरोजगारीसहितको सुस्त आर्थिक वृद्धिलाई निम्त्याएको छ। यो संकटका कारण खाद्यवस्तु तथा आपूर्ति शृंखलामा आएको समस्यालाई सम्बन्धित राष्ट्रको आन्तरिक नीतिले मात्र सजिलो र छिटो हिसाबले सम्वोधन गर्न कठिन छ।

यो युद्धको तत्कालीन प्रभावका रूपमा धेरै राष्ट्रमा उच्च मुद्रास्फीतिको समस्या देखिएको छ र यसले क्रय शक्तिलाई कमजोर पारेको छ। यसैगरी कमजोर आर्थिक वृद्धि, बढ्दो असमानता र वित्तीय अस्थिरताका लागि यो युद्ध जिम्मेवार छ।

युद्धले वर्तमान विश्वको बहुपक्षीय प्रणालीलाई सबैभन्दा बढी प्रभावित पारेको छ। जलवायु परिवर्तन, महामारी तथा जीवनलाई नै संकटमा पार्ने बसाइ सराइ जस्ता समस्या समाधानका लागि सम्बन्धित देशको सीमा भन्दा माथि उठेर नीतिगत समन्वय गर्नुपर्ने हुन्छ।

धनी राष्ट्रको तुलनामा अत्यावश्यक वस्तुको आयातमा निर्भर तथा आर्थिक हिसाबले कमजोर विकासोन्मुख राष्ट्रलाई यो चुनौती झन धेरै छ। यस्तो संकटले जीवन यापनका लागि बढ्ने लागतका कारण जसरी बेलायतीहरू चिन्तित हुन्छन्, त्यसरी नै अफ्रिकी देशका सर्वसाधारण संभावित भोकमरीका कारण झन् बढी चिन्तित हुने गर्छन्। अमेरिकाको उच्च व्यापार घाटा तथा बजेट असन्तुलनको तुलनामा ऋणको उच्च भार बोकेका कम आय भएका देशहरूले समयमै ऋण तिर्न नसक्ने समस्या झन चर्काे बन्ने देखिन्छ।

गरिब राष्ट्रको मुद्रा विनिमय दर कमजोर हुँदा यसले ठूलो वित्तीय अस्थिता निम्ताउन सक्छ। विकासोन्मुख राष्ट्रले एकसाथ आर्थिक वृद्धि, ऊर्जा, खाद्यान्न तथा वैदेशिक ऋणको समस्या बेहोर्नुपर्दा चिन्ता झन बढेको नोबेल पुरस्कार विजेतासमेत रहेका आर्थिक वृद्धि तथा विकासको गति विज्ञान विज्ञ माइकल स्पेन्स ठान्छन्। यो संकट झन् गहिरिँदा यसले सम्बन्धित देशलाई मात्र होइन, विश्वको समग्र अर्थतन्त्र र वित्तीय व्यवस्थालाई समेत प्रभाव पार्ने देखिन्छ।

यसैले धनी राष्ट्रले गरिब राष्ट्रलाई सहयोग गरेर अर्थतन्त्रका लागि घातक हुन सक्ने आगोका स–साना भिल्कालाई समयमै निभाउन आवश्यक छ। यसले अर्थतन्त्रमा आइपर्न सक्ने ठूलो जोखिमलाई रोक्न सक्छ। धनी राष्ट्रले विगतमा यस्तो पहल गरेका छन्। सन् १९७० देखि सन् १९८० को अवधिमा यस्तो सहयोग भएको सुखद इतिहास छ। त्यसैले यो विषयमा प्रभावकारी पहल आवश्यक देखिएको छ र यसका लागि सुदृढ नेतृत्व, समन्वय र निरन्तरको प्रयत्न जरुरी हुन्छ।

यो सन्दर्भमा सबैभन्दा पहिले ऋण समायोजन र सहयोगका लागि बहुपक्षीय प्रयास आवश्यक छ। यसले ऋणी राष्ट्रलाई थोरै भए पनि राहत दिनेछ भने ऋणदातालाई परेको दबाबको व्यवस्थापन हुन सक्छ र आफ्नो लागनीले व्यवस्थित परिणाम दिनेमा उनीहरू ढुक्क हुन सक्छन्।

यसैगरी यो विषयलाई व्यवस्थापन गर्न बहुपक्षीय समन्वयको अवधारणालाई आत्मसात गर्न आवश्यक छ। एकातिर सित्तैमा ऋण लिन खोज्ने प्रवृत्तिको जोखिम न्यून गर्न आवश्यक छ भने अर्काेतिर ऋणको भारलाई आधिकारिक ऋणदाता निकाय र निजी लगानीकर्ताले मिलेर बहन गर्ने व्यवस्था गर्न आवश्यक छ।

अत्यावश्यक खाद्यवस्तुको अभाव र भोकमरीका कारण उत्पन्न हुन सक्ने दंगा तथा अस्थिरता रोक्न आपत्कालीन खाद्यवस्तुको भण्डारण अत्यावश्यक छ भने वित्तीय लगानी सुविधाको सुनिश्चितता पनि उत्तिकै आवश्यक छ। यस्तो व्यवस्थाले कतिपय राष्ट्रले गरेको कृषि उपज निर्यातमा बन्देज गर्ने र पछि संकट पर्न सक्ने शंकामा आवश्यकताभन्दा बढी भण्डारण गर्न खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सकिन्छ।

यसैगरी धनी राष्ट्रले सम्बन्धित राष्ट्रले अवलम्बन गरेको आर्थिक सुधार योजना कार्यान्वयन गर्न आधिकारिक विकास सहयोगलाई बढाउनुपर्छ। उच्च सहुलियत दरमा दिइने यस्ता सहयोगलाई सकेसम्म न्यून ब्याज दर अथवा अनुदानमा हुन आवश्यक छ। ऋण तिर्ने अवधिलाई पनि लम्ब्याउँदा यसले उचित परिणाम दिन सक्छ। यसो गर्न नसकेमा यत्रतत्र देखिएका संकटको आगोका ससाना झिल्काले ठूलो रूप लिन सक्छ र विश्वको आर्थिक तथा वित्तीय स्वास्थ्यलाई नराम्ररी बिथोल्न सक्छ।

यसैगरी बसाइ सराइको चुनौती, जलवायु संकट, कोभिड–१९ खोप अभियान जस्ता विश्वव्यापी सरोकारका विषयलाई सम्बोधन गर्न नसक्दा विश्वव्यापी आर्थिक मन्दी अवश्यम्भावी छ।

यी सबै समस्याले टुक्रा टुक्रामा विभक्त हुन चर्काे दबाब बहोरिरहेको वर्तमान विश्व व्यवस्था झन समस्यामा धकेलिन गई भूराजनीतिक अस्थिरता निम्तन सक्छ। रुसी आक्रमणलाई निस्तेज पार्न धनी विश्वले प्रभावकारी एकता प्रदर्शन गरेको छ। धनी राष्ट्रले आफनै नागरिक र विश्वका अन्य सर्वसाधारणको सुरक्षाका लागि यही स्तरको प्रयास गर्न आवश्यक छ।

यो पहलकदमीले बढ्दो आर्थिक तथा वित्तीय चुनौती सामना गर्न सहयोग पुग्नेछ। त्यसैले विश्वका विभिन्न भागमा यत्रतत्र फैलिएका संकटका झिल्काले थप नोक्सानी पुर्‍याउन नदिन तथा विश्वका अत्यधिक जोखिममा रहेका समुदायको जीवन र जीवन यापनको सुरक्षाका लागि धनी राष्ट्रका नीति निर्माताले तत्काल ध्यान दिन आवश्यक छ।

(लेखक एलेरियन क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गतको क्विन्स कलेजका अध्यक्ष तथा पेन्सलभेनिया विश्वविद्यालयका प्राध्यापक हुन्। प्रोजेक्ट सिन्डिकेट।)

प्रकाशित: ४ जेष्ठ २०७९ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App