विकास बैंकहरूले सामान्यतया इन्धन आपूर्ति, खानेपानी र सरसफाई, यातायात र सञ्चारको क्षेत्रमा लगानी गरेका देखिन्छन्। विकासशील राष्ट्रहरूमा लगानी गर्ने प्रमुख उद्देश्य राखेर स्थापना भएका क्षेत्रीय विकास बैंकहरूले गरिबी निवारणलाई प्रमुख लक्ष्यको रूपमा लिएका छन्। अफ्रिकी विकास बैंक, एसियाली विकास बैंक यसै पृष्ठभूमिमा स्थापित भएका हुन्। हालसम्म अफ्रिकी विकास बैंकले लगानी गरिसकेको २८८५ वटा परियोजनामध्ये २८०० भन्दा बढी गरिबी निवारणसँग सम्बन्धित छन्।
सामान्यतया क्षेत्रीय विकास बंैकहरू सम्बन्धित क्षेत्रको लगानीबाटै स्थापित भए पनि निश्चित समयपछि संगठनभन्दा बाहिरका मुलुकहरूको लगानीलाई पनि खुल्ला गरिन्छ। हालै अफ्रिकन विकास बैंकमा संगठनभित्रबाट ६० प्रतिशत र बाहिरबाट ४० प्रतिशतको सेयर बाँडफाँट गरिएको छ। एसियाली विकास बैंकको हकमा क्षेत्रीय सदस्यहरूको सेयर लगानी ६० प्रतिशतभन्दा माथि रहने व्यवस्था गरिएको छ। तर, निर्वाचन प्रयोजनका लागि मताधिकार सेयर लगानीको अनुपातमा रहने हुनाले भौगोलिक क्षेत्रभित्रै पनि यी संस्थाहरूको नेतृत्व सधैँ त्यहाँका ठूला अर्थतन्त्र भएका मुलुकहरूले गर्ने गर्छन्। अमेरिकाले सधैँ विश्व बैंकको र जापानले एसियाली विकास बैंकको नेतृत्व गर्नु यसैका उपज हुन्। यिनै परम्परालाई दक्षिण एसियामा भित्राउने हो भने प्रस्तावित दक्षिण एसियाली बैंकको नेतृत्व सधैँ भारतले गर्ने स्थिति आउँछ।
प्रस्तावित सार्क विकास बैंकमा ठूलो लगानीको हिस्सा संस्थागत हिसाबले सार्क विकास कोषको हुनुपर्छ र दुवै संस्थाको बोर्डको अध्यक्ष एकै व्यक्ति हुनु व्यावहारिक हुन्छ। प्रत्येक सदस्य राष्ट्रका अर्थमन्त्रीहरू बोर्ड अफ गभर्नर्समा पदेन सदस्य हुनुपर्छ, जसले संस्थाको नेतृत्व, रणनीति र कार्यकारी इकाईहरूको गठन गर्छ। सम्बन्धित गभर्नर्सहरूले आआफ्नो मुलुकबाट कार्यकारी निर्देशकहरूको बोर्डमा प्रतिनिधित्व गर्ने व्यक्तिको नियुक्ति गर्नेछन्। दीर्घकालीन सोचको रूपमा सार्क विकास बैंकले पुँजीबजारमा लगानी गर्नुपर्ने हुन्छ, जसका लागि कोष निर्माणमा सार्क बन्डपेपरहरूको निष्कासन गरी स्थानीय बजारमा ल्याउने, सेयर निष्कासन गर्ने र अन्तरबैंक ऋणलाई प्रोत्साहन गर्नु आवश्यक हुन्छ।
सार्क विकास बैंक स्थापनापूर्व गर्नुपर्ने तयारीको रूपमा सार्क आर्थिक समूहको गठन हुनु सान्दर्भिक देखिन्छ। क्षेत्रीय संगठन भए पनि सार्कको आर्थिक एकीकरण अत्यन्त कमजोर छ। यसलाई सबल पार्न एसियाली विकास बैंकले आउँदा वर्षमा दक्षिण एसियाको क्षेत्रीय व्यापार सन् २०२० सम्ममा २० बिलियन अमेरिकी डलर पुर्या्उनुपर्ने सुझाव दिएको छ। बैंकको प्रक्षेपणमा सार्क क्षेत्रको आर्थिक वृद्धि दर सन् २०१५ मा ७.२ र २०१६ मा ७.६ प्रतिशत रहने छ। अहिले दक्षिण एसिया विश्वमै सबैभन्दा ठूलो आर्थिक वृद्धि दर भएको क्षेत्रको रूपमा देखिन लागेकोले क्षेत्रीय व्यापारको यो लक्ष्य पूरा गर्नु अत्यन्त जरूरी भएको छ, जसका लागि वार्षिक ०.५ प्रतिशतका दरले व्यापार वृद्धि गर्दै लानुपर्ने देखिन्छ।
त्यसैगरी विज्ञहरू सम्मिलित सार्क एकीकृत अध्ययन केन्द्रको स्थापना गर्नु पनि आवश्यक छ। यसले दीर्घकालीन र क्षेत्रीय गौरवका परियोजनाहरूको अध्ययन गरी सार्क विकास कोष, सार्क विकास बैंक तथा सार्क आर्थिक समूहसमक्ष लगानी र विकास अवधारणा प्रस्तुत गर्नेछ। यस केन्द्रले परियोजना कार्यान्वयनको लागि बैंकको प्राविधिक सहयोग समूहसँग सहकार्य गर्नेछ।
सानो आकारमा स्थापना भैकन पनि छोटो समयमा नै दूरगामी परिवर्तनहरू ल्याउन सफल युरेसिया बैंकको अनुभन दक्षिण एसियाको लागि पनि सान्दर्भिक होला। कजाकस्तानमा केन्द्रीय कार्यालय रहेको युरेसिया विकास बैंकले स्थापनाको ५ वर्षमै विकास पूर्वाधारमा व्यापक लगानी गरेको छ। आर्मेनिया, बेलारूस, ताजिकिस्तान, कजाकस्तान, रसिया र किर्गिज रिपब्लिकको लगानीमा स्थापित युरेसिया विकास बैंकले क्षेत्रीय अर्थतन्त्रको कायापलटका लागि ३ करोड अमेरिकी डलरभन्दा माथिका परियोजनाहरूमा मात्र लगानी गर्ने गरेको छ। यसले साइबेरियाको कोइला उद्योगको आधुनिकीकरण, किर्घिज गणतन्त्रको जलविद्युत् परियोजना, कजाकस्तानको युरेनियम उत्खनन् र प्रशोधनजस्ता बृहत् परियोजनामा लगानी केन्द्रित गरेको छ। छोटो समयमा नै बैंक बहुपक्षीय विकास संस्थाको रूपमा स्थापित हुनु, विकसित मुलुकहरूको बर्चस्वमा चलेको आर्थिक विकास र सहयोग संगठन (ओईसीडी) सँग नजिकको सम्बन्ध र सहकार्य स्थापना विश्व बैंक र युरोपेली पुनर्निर्माण बैंकका शिखर बैठकहरूमा पर्यवेक्षक रहनु यस बैंकका प्रमुख उपलब्धि हुन्।
सार्क विकास बैंकले क्षेत्रीय सम्भावना र आवश्यकताहरूको सेरोफेरोमा लगानीका क्षेत्र निर्धारण गर्नुपर्छ। दक्षिण एसिया विश्वमा सबैभन्दा बढी गरिब जनसंख्या रहेको क्षेत्र भएकाले ठूला क्षेत्रीय गौरवका परियोजनाहरूका साथै लघुउद्यम, साना कर्जा, इन्धन उत्पादन र वितरण तथा कृषिमा आधारित औद्योगिकरणमा पनि सहयोगी हुनेगरी प्राथमिकता निर्धारण गर्नुपर्ने हुन्छ। क्षेत्रीय गौरवका परियोजनाहरूमा भारत र म्यानमारलाई जोड्ने राजमार्ग, श्रीलंका र भारतका सामुद्रिक बन्दरगाहहरूका स्तरोन्नति प्रमुख हुन्। साथै, काठमाडौँ–ल्हासा राजमार्ग, नेपालगन्ज–मानसरोवर जोडनेगरी कर्णाली कोरिडोरको निर्माण, काठमाडौँमा भूमिगत (मेट्रो) सडक निर्माण, चीन–पाकिस्तान आर्थिक कोरिडोरको विकास, सदस्य राष्ट्रहरूबीच ऊर्जा विनिमय अहिले महसुस गरिएका ठूला परियोजना हुन सक्छन्। भारत र बंगलादेशको बीचमा विवादको जड उत्तरी भारतबाट बंगलादेशमा प्रवेश गर्ने गंगाको पानी बाँडफाँटको लागि सिँचाई र विद्युत् परियोजना बैंकको मात्र आकर्षण नभई द्विपक्षीय सम्बन्ध सुधारको कोसेढुंगा सावित हुनसक्छ। त्यसैगरी, दक्षिण तिब्बत, नेपालको कञ्चनजंघा क्षेत्र, भारतको अरुणाचल र आसाम उपत्यका अनि बंगलादेशको जमुना नदी उपत्यकालाई समेटेर बन्नसक्ने विशाल साङ्पो–व्रह्मपुत्र परियोजनाले सिँचाई र यातायातको क्षेत्रमा यी आधार इलाकाहरूको कायापलट गराउनसक्छ।
बैंकलाई विश्व आर्थिक मञ्चमा लगेर जोड्नुपर्ने, विश्व बैंक, एसियाली विकास बैंक, एसिया र प्रशान्त क्षेत्र आर्थिक आयोग र नजिकको प्रभावशाली सांघाई विकास नियोगसँग सहकार्यका आधार तय गर्नुपर्ने हुन्छ। यसबाट सार्क विकास बैंकलाई एकातिर यी संस्थाहरूका शिखर बैठकमा पर्यवेक्षकको भूमिका प्राप्त हुन्छ भने अर्कोतिर संयुक्त लगानीका सम्भावना पनि विस्तार हुँदै जान्छन्।
दक्षिण एसियाले विश्व अर्थतन्त्रमा उत्पादनको हिसाबले करिब ९ प्रतिशतको हाराहारीमा योगदान गर्छ। यहाँ विश्वको २१ प्रतिशत जनसंख्या बसोबास गर्छन्। तथ्यांकहरूले यस क्षेत्रमा व्यापक गरिबी रहेको स्थिति देखाउँदै आएका छन्। तर, अहिले दक्षिण एसिया समग्रमा १० प्रतिशतभन्दा कम वार्षिक मूल्यवृद्धि दर रहेको क्षेत्र बनेको छ। सन् २०१४ देखि यो विश्वको सबैभन्दा उच्च आर्थिक वृद्धि दर रहेको क्षेत्रको रूपमा पनि उदय भएको छ। यी सबै विदेशी लगानीलाई आकर्षण गर्ने आधार हुन्। यस्तो अनुकूल परिस्थितिमा प्रस्तावित बैंकले अन्य वित्तीय संस्थासँग सहकार्य गरी दक्षिण एसियाली मुलुकहरूमा विदेशी लगानी बढाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नसक्छ।
बैंक स्थापनामा पुँजी निर्माण र त्यसको स्वामित्व अर्को महत्वपूर्ण पक्ष हो। विश्वमा क्षेत्रीय विकास बैंकहरूको पुँजीगत संरचना हेर्दा अधिकृत पुँजीको परिमाण निर्धारण आवश्यकताअनुसार भएको देखिन्छ। जति विकासशील राष्ट्रहरूलाई लक्ष्य गरेर विकास बैंक स्थापना गरिन्छ, सापेक्षितरूपले अधिकृत पुँजी पनि ठूलो बन्नुपर्छ। त्यसपछि सेयर निष्काशन र चुक्ता पुँजी पनि तुलनात्मकरूपले ठूलो नै बन्नुपर्छ। उदाहरणको लागि, विकास र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय बैंक (विश्व बैंकको एक भाग) ले विश्व गार्हस्थ्य उत्पादनको केवल ०.३७ प्रतिशत अधिकृत पुँजी बनाएको छ भने एसियाली विकास बैंकले एसिया र प्रशान्त क्षेत्रको कुल गार्हस्थ्य उत्पादनको ०.८८ प्रतिशतलाई अधिकृत पुँजी बनाएको छ। तर, यी संस्थाहरूले स्थापनाकालदेखि हालसम्म आइपुग्दा आर्थिक मन्दीपछि अधिकृत पुँजी बढाउँदै गएका देखिन्छ। युद्धोत्तर अमेरिका र युरोपको पुनर्निर्माण र विकासको उद्देश्य राखेर स्थापना भएको विश्व बैंकले सन् १९७० देखि विकासशील मुलुकहरूलाई लक्ष्य गरेर लगानी बढाउन थालेपछि अधिकृत पुँजी बढाउन थालेको हो। यो स्थिति दक्षिण एसियाको हकमा त्यति लागु नहोला। मौजुदा अवस्थामा दक्षिण एसियाको अर्थतन्त्रको आकारको आधारमा सार्क विकास बैंकको आधिकृत पुँजी २३ अर्ब अमेरिकी डलरको हाराहारीमा हुनुपर्ने देखिन्छ। ६० प्रतिशतको हाराहारीमा क्षेत्रीय लगानी हुनुपर्छ भने स्थापनाको एक दशकभित्र दक्षिण एसियाबाहिरका मुलुकहरूलाई पनि लगानीको लागि खुल्ला गरिनुपर्छ।
प्रकाशित: १० भाद्र २०७२ २१:४३ बिहीबार