विचार

फोहोरीको दोहोरी

दक्षिण एसियामा पछिल्ला केही महिनामा विकसित घटना क्रमले नेपालको बौद्धिक र प्राज्ञिक क्षेत्रलाई समेत निकै शंकित तुल्याइरहेको छ। श्रीलंकामा आर्थिक तनाव र अस्थिरता बढिरहेका बेला पाकिस्तानमा भएको राजनीतिक परिवर्तनले परिस्थिति झन जटिल हुने देखाएको छ।

महम्मद शेहवाज सरिफले प्रधानमन्त्रित्व सम्हालेपछि सरकार कसरी अघि बढ्छ भनेर त्यहाँका लेखक, पत्रकार र विश्लेषकहरू आआफ्नै ढंगले तर्क गरिरहेका छन्। हालै पाकिस्तानको एउटा अखबारमा ताकिरा हुसेन, आरा मल्कानी र मालिहा लोदीका लेखहरू पढ्दा त्यहाँको बौद्धिक समुदाय निकै चिन्तित देखिएको पाइन्छ।

इमरान खानले प्रधानमन्त्री छँदा चीन र रसियासँग सम्बन्ध बढाउन खोजेको अमेरिकालाई मन परेन। सोही कारणले आफू विदेशी शक्तिको षडयन्त्रमा परेको निवर्तमान प्रधानमन्त्री इमरानको आरोप छ।

ताकिरा हुसेनले पनि विदेशी हस्तक्षेप बढेको विश्लेषण गरेकी छिन् भने मल्कानीले संविधानको भविष्यबारे प्रश्न उठाएकी छिन्। विभिन्न राजनीतिक दलका आआफ्नै स्वार्थ भए पनि सेनाले समेत नरुचाएका कारण इमरान खानले पद त्याग गर्नुपर्ने स्थिति आएको देखिन्छ।

राष्ट्रिय मूलनीति विरुद्ध हिँडेको भन्दै पाकिस्तानी सेनाले इमरान खानलाई अपदस्थ गर्न भूमिका खेलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समेत उल्लेख गरेका छन्। यस्तो स्थितिमा त्यहाँका विभिन्न राजनीतिक दलहरू ध्रुवीकृत हुँदै गए। संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले एक अर्कालाई कुनै पनि बेला घात/प्रतिघात गर्न सक्छन् भन्ने उदाहरण प्रशस्तै छन्।

नेपालमा पनि एमसिसी प्रकरणलाई लिएर दलहरू ध्रुवीकृत हुन पुगेको सत्य ढाकछोप गर्न सकिने अवस्थामा छैन। तसर्थ आउँदा वर्षहरूमा यहाँको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता र इतिहासलाई नै प्रभावित गर्ने अप्रत्याशित घटनाहरू भए भने आश्चर्य मान्नुपर्ने अवस्था हुने छैन। किनभने परिस्थिति दिन/प्रतिदिन सम्हाल्नै नसकिने अवस्थामा पुगेको देखिन्छ।

केही बुद्धिजीवी, लेखक, राजनीतिज्ञ, विश्लेषक, कूटनीतिज्ञ आदिले नेपालको भविष्यबारे गम्भीर चिन्ता व्यक्त गरे पनि कसरी राष्ट्र बचाउनुपर्छ भन्ने मार्गचित्र देखिँदैन। अहिलेको परिस्थितिका बारेमा एकले अर्कालाई आरोप/प्रत्यारोप गरिरहेका छन्। भूराजनीतिक कारणले पनि नेपाल निकै जोखिमपूर्ण अवस्थामा छ। अमेरिका र भारतबीच बढिरहेको प्रगाढ सम्बन्ध तथा दक्षिण एसियामा अमेरिका र चीनको प्रतिस्पर्धाले नेपाल रणमैदान हुने हो कि भन्ने धेरैले शंका व्यक्त गरिरहेका छन्।

जसरी पाकिस्तानलाई सन् १९४७ पछि त्यहाँको सेनाले ठूलाठूला दुर्घटनाबाट बचाउन प्रयत्न गर्‍यो, त्यस्तो प्रबल र निर्णायक शक्ति नेपालमा देखिँदैन। किनभने पाकिस्तानी सेनाले उच्च तहका राजनीतिक व्यक्तिबाट कुनै राष्ट्रघाती काम हुँदै छन् भन्ने सूचना पायो भने त्यस्तामध्ये केहीलाई परलोक पुर्‍याउने गरेका घटना पनि छन्। राष्ट्रभन्दा माथि कोही पनि हुँदैन भन्ने प्रबल मान्यताले त्यहाँको सेनाले सुरुका वर्षहरूदेखि नै आफ्नो भूमिका निर्वाह गरेको पाइन्छ। त्यस्तो स्थितिमा कैयन वर्ष सैनिक शासन पनि चलेको पाकिस्तानको इतिहास अध्ययन गर्दा सबैले बुझ्न सक्छन्।

दलहरू सक्षम भएनन् भने राष्ट्र बचाउन कुनै न कुनै शक्ति आउन सक्छ र आउनु पनि पर्छ। त्यसबेला राष्ट्रभन्दा प्रजातन्त्र ठूलो हुँदैन। सहज अवस्थामा प्रजातान्त्रिक मूल्य/मान्यता, मानव अधिकार र प्रेस स्वतन्त्रता लगायतका विश्वव्यापी मान्यता सबैले स्वीकार गर्छन्। तर राष्ट्र रहन्छ कि रहँदैन भन्ने स्थिति आयो भने राष्ट्र बचाउन हजारौँ भ्रष्टलाई समेत बलि दिनुपर्ने हुन्छ।

अहिले पाकिस्तानको अवस्था हेर्दा त्यहाँ पनि अनिश्चितता बढ्ने संकेतहरू देखिएका छन्। पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा विलावल भुट्टो विदेश मन्त्री बन्न खोजेपछि सो पार्टीमा गम्भीर कलह सुरु भएको पाकिस्तानी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

ताकिरा हुसेनले भनेझैँ यस्ता खेलहरूमा विदेशी हस्तक्षेप नहुने कुरै भएन। संसारका धेरै राष्ट्र आज नाममात्रको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता जोखिममा राखेर साम्राज्यवाद र विस्तारवादको सिकार बनिरहेका छन्। नेपालमा पनि यहाँका अधिकांश दल अमेरिका र चीनपरस्त देखिएका छन्। अकबर, वीरबलको कथामा सम्राट अकबरको हिराको औँठी चोर्ने चोर पत्ता लगाउने उपाय निकाल्छन् वीरबलले।

दरवारका सबैलाई आँगनमा राखेर गम्भीर हुँदै प्रधानमन्त्री वीरबलले ‘मैले चोर पत्ता लगाइसकेँ सरकार, उसको दारीमा अलिक धुलोमैलो छ’ भन्नासाथ औंठी चोर्नेले आफ्नो दारी मुसारेर सफा गर्न खोज्छ। नेपालमा क–कसले राष्ट्रघात गरिरहेका छन् भनेर पत्ता लगाउन सक्ने वीरबलहरू पनि छन्। तर राष्ट्रघातीलाई मौलोमा राख्ने पात्रको खोजी भइरहेको छ।

अहिले नेपाली राजनीतिलाई तरल बनाउँदै लैजाने र विदेशी स्वार्थअनुसार बाटो हिँडाउने प्रयत्न भइरहेको छ। भारतको उत्तरप्रदेश जस्तै २२ करोड जनसंख्या भएको पाकिस्तानमा प्रधानमन्त्री भएको तीन वर्ष सात महिनापछि इमरान खानलाई सत्ताच्युत गराउने शक्ति कुन हो भन्ने धेरैलाई थाहा छ। जसरी नेपाली कांग्रेसको नेतृत्वमा वर्तमान सरकार गठन हुँदा चीनले भारतको आशीर्वादले बनेको सरकार भन्ने आरोप लगाइरहेका बेला दिल्लीका मठाधीशहरूले प्रम शेरबहादुर देउवालाई ‘हाम्रो मान्छे’ भन्ने टाँचा लगाइदिए।

केपी ओलीलाई चीनपरस्त भन्ने भारतका सञ्चारमाध्यमहरूले देउवालाई महामानवका रूपमा चित्रण गरे। यस्ता घटना क्रमहरूले प्राथमिक विद्यालयमा पढ्ने ससाना विद्यार्थीलाई समेत नेपाली नेता कहाँ छन् त भनेर सोच्न बाध्य गराउँछ।

केही हप्ताअघि रुसले युक्रेनमाथि हमला सुरु गर्दा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेकै कारण पाकिस्तानी नेता इमरानले सत्ताबाट हात धुनुपरेको त्यहाँका सुरक्षा विश्लेषकहरूको तर्क छ। सार्वजनिक रूपमा खानले व्यक्त गरेको धारणा त्यहाँको सेनासँग नमिलेका कारण सेना रुष्ट भएको पनि जगजाहेर छ।

पछिल्ला वर्षहरूमा पाकिस्तानका गुप्तचर एजेन्सी र केही राजनीतिक दलहरू अफगानिस्तान र तालिवानबीचको सम्बन्धको चर्चा गरिरहेका छन्। अन्तर्राष्ट्रिय समुदायले तालिवानलाई मान्यता नदिएको अवस्थामा अफगानिस्तानको आर्थिक र मानवीय संकट गहिरिँदै गएको देखिन्छ। अमेरिकाले पाकिस्तानबाट धोका पाएको भन्दै कतारसँग सम्बन्ध विस्तार गरेको र सहयोग आदान–प्रदान बढाएको स्पष्ट छ।

दक्षिण एसियालाई आप्mनो सुरक्षा छातामा राख्न चाहने अमेरिकाले राजनीतिक अस्थिरता फैलाएर फाइदा लिन खोजिरहेको भन्ने विश्लेषण गर्दै कतिपयले आउँदा दिनहरूमा चीन र अमेरिकाको चासोले दक्षिण एसिया अरू आक्रान्त हुन सक्ने मीमांसा गरिरहेका छन्। नेपालबाहेक भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान, पाकिस्तान, भारत आदिलाई आफ्नो सुरक्षा चासोको विषय बनाइरहेका अमेरिका र चीनले जे चाहन्छन्, त्यो हुने अवस्था छैन। तर आआफ्ना स्वार्थ पूरा गर्न अस्थिरता फैलाइरहन सक्ने सम्भावना टड्कारो छ।

दक्षिण अमेरिकी राष्ट्रहरू, अफ्रिकाका ५४ राष्ट्र र एसिया प्रशान्त क्षेत्रका २२ राष्ट्रमध्ये धेरैजसो अहिले आफ्नो भविष्यलाई लिएर चिन्तित देखिएका छन्। विन्स्टन चर्चिलले भनेझैँ घरको मात्रै चिन्ता गर्ने, समाज र छरछिमेकको चिन्ता गर्ने र राष्ट्रको चिन्ता गर्ने तीन किसिमका नागरिक हरेक राष्ट्रमा हुन्छन्। नेपालमा राष्ट्रको भन्दा निजी जीवन र परिवारको उत्थानमा बढी चिन्ता गर्ने प्रवृत्ति भएकाले धेरैजसो राजनीतिक दलहरू सत्ताकै वरिपरि प्रदक्षिणा गरिरहेका छन्।

हालै सरकारले गरेका कूटनीतिक नियुक्तिदेखि लिएर अन्य गतिविधि हेर्दा विभिन्न दलका नेताका स्वार्थ प्रतिविम्बित भइरहेको देखिन्छ। चुनावका बेला जनतासँग अनेकौँ वाचा गरे पनि शक्तिशाली भएपछि आफू अर्बपति हुने र नातागोतालाई धनाढ्य बनाउन ध्यान केन्द्रित गर्ने कैयन् नेता उदाहरणकै रूपमा छन्।

यसले गर्दा झण्डै ३०/३२ वर्षअघिदेखि नेपाली राजनीतिमा उनै पात्र, उही प्रवृत्ति र एकै किसिमको फोहोरी खेल पटक–पटक दोहोरिएको छ। फोहोरीको दोहोरीलाई जनताले मनोरञ्जनको विषय मान्नुपर्ने बाध्यता छ। तसर्थ केही वर्षभित्र नेपालले ठूलो फड्को मार्छ भन्ने आशा गर्नु पनि व्यर्थ हुँदै गएको छ। किनभने विगतमा जतिसुकै जघन्य अपराध गरे पनि लाखौँ कार्यकर्ता र मतदाताहरू उनै मानिसलाई शक्तिशाली बनाइरहेका छन्।

जनताले गरेको यस्तो भुलको सजाय राष्ट्रले बेहोर्नुपरेको अवस्था छ। त्यसकारण परिवर्तन चाहनेले आफैंबाट सुरु गर्नुपर्छ भन्ने मान्यतालाई बिर्सन हुँदैन। विगतका भुलबाट जनताले पनि शिक्षा लिएर राष्ट्र र जनताका हितमा सही निर्णय गर्ने साहस गरे भने राष्ट्र दुर्घटनाबाट बच्न सक्छ, विकासले फड्को मार्न सक्छ।

प्रकाशित: २ वैशाख २०७९ ०३:४८ शुक्रबार

फोहोरीको दोहोरी पाकिस्तानमा भएको राजनीतिक परिवर्तन महम्मद शेहवाज सरिफ