विचार

भ्रममा रुमलिएको मानसिक स्वास्थ्य सेवा

देशको केन्द्रबाट अलि पर रहेको प्युठान अस्पतालमा मानसिक रोग विशेषज्ञका रूपमा कार्यरत रहेको पनि एक वर्ष नाघिसक्यो। काम थालेको सुरुताक दिनमा ३–४ जनामात्र मसँग जँचाउन आउँथे तर अचेल अवस्था फेरिएको छ।

केही दिनअघि एक महिला निकैबेर पालो पर्खेपछि मेरो कक्षभित्र पसेर लामो सुस्केरा हाल्दै भनिन्, “ओहो, यता पनि कति धेरै बिरामी आउन थालेछन्। पहिले त यो कोठामा छिर्दा अरूले खिसी गर्लान् कि जस्तो लाग्थ्यो, अहिले भिड देखेर थाहा पाएँ म जस्ता धेरै हुँदा रहेछन् र खिसी गर्लान् कि भन्ने दकस पनि मान्न छाड्दै गएछन् ! मानिसको मानसिक रोगप्रतिको धारणामा परिवर्तन आउँदै गरेको बाहिरका मानिसले समेत भेउ पाएको थाहा पाउँदा सम्बद्ध चिकित्सकको हैसियतले खुसी लाग्यो र उत्साहित हुँदै उनलाई जाँच्न थालेँ।

जनस्वास्थ्य सेवा ऐन २०७५ ले मानसिक रोगसम्बन्धी सेवालाई आधारभूत स्वास्थ्य सेवाको सूचीमा राखेको छ, साथै संविधानले आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने भनी मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। यसो हुँदा पनि मानसिक स्वास्थ्यसम्बन्धमा धेरै तगारा छन्। तीमध्ये एक प्रमुख तगारो यस सम्बन्धमा रहेको भ्रम हो। भ्रम त्यो हो जुन मानिसले सत्य भनी ठान्छ तर त्यो गलत हुन्छ वास्तविकतामा खासगरी वैज्ञानिक सत्य आधारमा।

मानिसमा मानसिक समस्याका सम्बन्धमा धेरै भ्रम छन् अर्थात् यसको कारण तथा परिणाम बारेमा। यी भ्रम हटाउन धेरै पक्षबाट प्रयास हुँदै आएका छन्। परिणामस्वरूप चेतना बढेको त छ तर अपुग छ। त्यसैले अझ पनि भ्रम तगाराका रूपमा रहेकै छन्।

विभिन्न पक्षको प्रयासमा मानिसमा रहेका मानसिक रोगसम्बन्धी भ्रम चिर्न खोजिएको छ। म यहाँ आएपछि नै मानसिक बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढ्दै गएको छ। नेपाल स्वास्थ्य अनुसन्धान प्रतिष्ठानले गरेको मानसिक समस्याबारेको राष्ट्रिय सर्वेक्षण (जनवरी २०१९–जनवरी २०२० सम्ममा तथ्यांक संकलन गरिएको) ले वयस्कहरूमा १० प्रतिशतलाई जीवन अवधिभरमा र ४.३ प्रतिशतलाई कुनै विशेष समयावधिमा मानसिक समस्या रहने गरेको देखाएको छ।

प्युठान जिल्लाको कुरा गर्दा भर्खर सम्पन्न जनगणनाअनुसार यस जिल्लाको जनसंख्या २ लाख ३१ हजार ८४८ रहेको र यसको ६० प्रतिशत वयस्क जनसंख्या रहेको तथा त्यसको करिब साढे चार प्रतिशतलाई कुनै पनि समयमा मानसिक समस्या भैरहेको अनुमान गर्दा प्युठानमा ६ हजार २६० जनाले मानसिक समस्या भोगिरहेको अनुमान गर्न सकिन्छ। तापनि मनोरोग विज्ञ रहेको एकमात्र अस्पतालमा बिरामी चाप आनुपातिकरूपमा बढेको छैन। निकै कममात्र स्वास्थ्य सेवा लिन आउनुको अर्थ यससम्बन्धी भ्रम मानसिक स्वास्थ्य सेवामा पहुँच कम हुनुको कारण हो भनी मान्नुपर्ने हुन्छ।

मनोरोग के हो?

मानिस सामाजिक प्राणी हो। यसको अर्थ ऊ समाजसँग भावना, व्यवहार र सोचले जोडिएको हुन्छ्र। मानसिक समस्या भएको व्यक्तिमा समाजसँग जोडिने भावना, व्यवहार र सोच असामान्य हुन जान्छ साथै आफ्नो हित हुने काम गर्न सक्दैन। उसले आफ्नो दैनिक क्रियाकलाप तथा सामाजिक व्यवहार व्यवस्थित ढङ्गले गर्न सक्दैन।

केही भ्रम र सही कुरा

प्युठान तथा अन्य ठाउँका मानिसमा केही निम्नखालका भ्रम रहेको भेटिएको छ र सत्यतथ्य के हो त भन्ने सबैले बुझ्नुपर्ने हुँदा प्रस्तुत छः   

भ्रमः मानसिक रोग भएका व्यक्ति मानसिक सन्तुलन गुमेर विक्षिप्त अवस्थामा पुगी होससमेत गुमाएको, पागल बनी जे पनि गर्ने अवस्थामा पुगेको व्यक्ति हो भन्ने ठानिन्छ।

सत्यः मानसिक रोग करिब ३०० भन्दा बढी प्रकारका हुन्छन्। त्यसरी पागल भनिने अवस्थामा पुगी जे पनि गर्ने अवस्थामा पुग्नु भनेको मनोरोगमध्येको एक कडा रोग ‘सिजोफ्रेनिया’ को चरम अवस्था मात्र हो, अरू रोगको अवस्था यसभन्दा नरमखालका हुन्छन्।

धेरै डर लाग्नु वा डर का लक्षणहरू बारम्बार आउनु (जस्तै– कि मुटुको धड्कन तेज हुनु, अत्यधिक पसिना आउनु, शरीर सिताङ्ग हुनु, चक्कर आउनु, बढी तर्सिनु, मुख सुक्खा हुनु, सास फेर्न गाह्रो हुनु, टाउको दुख्नु, शरीर दुख्ने वा पोल्ने हुनु, शरीर झम्झमाउनु, निद्रा नलाग्नु, बिर्सने हुनु, सहन सक्ने क्षमता कम हुनु, धेरै भावुक हुनु, झर्को लाग्नु, धेरै रिस उठ्नु, छटपटी हुनु आदि) विभिन्न सामान्यखालका लक्षणहरू पनि मानसिक रोगका लक्षण हुन सक्छन्। यसो भनेर यी मानसिक रोगका मात्र लक्षण भने होइनन्, अरू रोगका पनि हुन्छन्। जस्तै– टाउको दुख्नु। यी लक्षण देखिँदैमा मलाई मानसिक रोग लाग्यो कि भनी नडराउनोस् डाक्टरले जाँचेर नभन्दासम्म।

भ्रमः मानसिक रोगीहरूलाई पागलखानामा राखिन्छ्र। मानसिक अस्पताल कक्ष कारागार र जेल जस्तो अन्धकार र डरलाग्दो हुन्छ।

सत्यः मानसिक असाइलम, म्याड हाउस, पागलखाना यी सबै धेरैअघि (करिब १९५० भन्दाअघि अर्थात् आजभन्दा करिब ७० वर्षअघि) मानसिक रोगीहरूलाई उपचारका निम्ति राखिने स्थान थिए। मानसिक उपचारको क्षेत्रमा भएको विकाससँगै त्यस उप्रान्त नयाँ औषधिहरू आउँदै गए। यसले मानसिक रोगसम्बन्धी इतिहासमा चमत्कारी परिवर्तन ल्यायो।

फलतः आजको समयमा मानसिक बिरामीलाई विभिन्न औषधिको मद्दतले छोटोभन्दा छोटो समयमै अस्पतालमा उपचार गर्न सकिन्छ्र। कुनै–कुनै बिरामी विशेषगरी लागु औषधि सेवन गर्ने बिरामीहरू बढी आक्रोशित हुने र बेहोस पार्ने औषधि (सेडेटिभ) ले काम नगर्ने भएमा त्यस्ता बिरामीका लागि विशेष व्यवस्था गरेर राखिन्छ। सामान्यतः मानसिक अस्पतालमा पनि अरू अस्पतालमा झैँ सामान्य अवस्थामा बिरामीहरूलाई राखिन्छ। त्यसकारण मानसिक अस्पतालमा भर्ना भई बस्नुपरेमा डराउनुपर्दैन।  

भ्रम: धेरै सोचेर मनोरोगको समस्या हुन्छ। उपचार गर्न जरुरी छैन।

सत्यः हाम्रो समाजमा गम्भीर लक्षणहरू भएमा मात्र अस्पताल जाने चलन छ, सामान्यखालका लक्षण देखिएमा प्रायः समाजमा ‘ध्यान गर्ने’, ‘मन बलियो बनाउने’, ‘धेरै नसोच्ने’गरे ठीक हुन्छ भनेर बेवास्ता गरिन्छ। बिरामीलाई निरन्तर समस्या हुँदाहुँदै पनि यसलाई रोगका रूपमा नलिएको वा नबुझेको हुनाले बिरामीले धेरै शारीरिक एवं मानसिक कष्ट दैनिकरूपमा सहिरहेका हुन्छन् जबकि मानसिक रोग विशेषज्ञको परामर्शबाट यी समस्याको समाधान सजिलै गर्न सकिन्छ।

भ्रमः मनोरोगसम्बन्धी औषधिहरू सेवन गर्न थालेपछि जीवनभर औषधि खाने बानी वा लत बस्छ।

सत्यः चिकित्सकको परामर्श नलिई जथाभावी औषधि प्रयोग गर्दा लत बस्ने औषधि र मात्रामा परिने जोखिम रहन्छ। केही मानसिक रोगका औषधि लत पार्नेखालका पनि हुन्छन् त्यसकारण चिकित्सकको परामर्शविना लिने गर्नुहुन्न। औषधि पसलेलाई यस्ता औषधि डाक्टरको प्रेस्क्रिप्सनबिना बेचेमा कारबाहीसमेत हुने प्रावधान छ। मनोरोगसम्बन्धी औषधि सेवन गर्ने अवधि प्रायः लक्षणलाई आधार लिई निर्धारण गरिन्छ।  

कतिपय समस्या औषधि नभई जीवनशैली परिवर्तनले हल गर्छ भने कतिपय समस्या छोटो अवधि दुईदेखि तीन हप्ता) औषधि सेवन गर्दा नै ठीक हुन सक्छ।

भ्रमः मनोरोग कमजोर मन हुनाको कारणले हुन्छ।

सत्यः जोसुकैलाई पनि टाउकोदेखि खुट्टासम्म जता पनि रोगव्याधि हुनसक्छ्र। मानसिक रोग लाग्नका लागि सामाजिक कारणमात्र नभएर एउटा व्यक्तिको जैविक, मनोवैज्ञानिक र सामाजिक पृष्ठभूमिको भूमिका रहन सक्छ। तसर्थ कुनै मान्छेकोव्यक्तित्व कठोर देखिए तापनि मस्तिष्कमा भने जोसुकैको पनि विभिन्न कारणवश समस्या आउन सक्छ। त्यसैले मानसिक रोग हुनु व्यक्तित्वको कमजोरी होइन।

(मनोरोग विज्ञ, एमडी साइकियाट्री)

प्रकाशित: २४ चैत्र २०७८ ०१:३७ बिहीबार

मानसिक रोग जनस्वास्थ्य सेवा ऐन २०७५