विचार

नोकरको म्याराथन

अमेरिकी राष्ट्रपति फ्रयांकलिन रुजबेल्ट बाह्र वर्ष राष्ट्राध्यक्ष भएर सक्रिय रहे। उनका समकालीन राजनीतिज्ञ विन्स्टन चर्चिल ब्रिटेनका प्रधानमन्त्री थिए। ती दुई नेताबीच वासिङ्टनमा भेट भयो। सन् १६०७ देखि १८८३ सम्म ब्रिटिस शासकले अमेरिकीलाई उतिसारो महत्त्व दिँदैनथे। किनभने अमेरिकीहरू ब्रिटेनका ‘पूर्व रैती’ हुन।

राष्ट्रपति निवासमा रुजबेल्टले चर्चिललाई सोधे– “तपाईँलाई कस्तो चिया मन पर्छ?” (ह्विच टि डु यु लाइक?) विनोदी स्वभावका चर्चिलले उत्तर दिए–“आई लाइक रियालिटी।” दुवै मज्जाले हाँसे।

उच्च स्तरका व्यक्तिहरूको रसिक स्वभाव, हास्यचेत (सेन्स अफ ह्युमर) र रमाइला बानीहरूका बारेमा अनेक प्रसंग प्रकाशित छन्। प्रसिद्ध दार्शनिक लेखक वर्टान्ड रसेललाई एउटी सुन्दरीले जिस्क्याइन्छन्–“सर, तपाईँसँग गज्जवको प्रतिभा छ। मेरो रूपको सबैले तारिफ गर्छन्। रूपवती (ब्युटिफुल) भन्छन्। हामी मिलेर सन्तान जन्मायौँ भने कति ज्ञानी र राम्रा होलान् है...।”

रसेलले हाँस्दै भने– “तिमी राम्री त छ्यौ तर बुद्धि छैन। मेरो रूप राम्रो छैन। हाम्रो सन्तान जन्मिएला तर म जस्तो कुरूप र तिमीजस्तो ‘बुद्धु’ जन्मियो भने बर्बाद हुँदैन र? त्यहाँ पनि दुवै हाँसे।

हाँसो दिव्य उपहार हो। सृष्टिकर्ताले त्यो सुविधा सबैलाई दिएका छन्। ‘दाँत छँदै हाँस्नू’ भनेर परैबाट देखिने दाँत दिएका छन्। आँतमा खुसीको दीपक बलेपछि मान्छे मुसुक्क हाँस्छ। खितखित हाँस्छ। कंश जस्तो हाँस्छ। कोही लजाएर, कोही मुड्की बजाएर हाँस्छन्। यसको अर्थ, हाँसो मनको कालो धुँवा फ्याँक्ने चिम्नी हो तर कतिपय मानिसको स्वभाव यति दरिद्र हुन्छ, उनीहरू आफू हाँस्दा अरूले हेप्छन् भन्ठान्छन्। शरीर र मनलाई फुर्तिलो बनाउने हाँसो गुप्तधनको नासोझैँ लुकाउँछन्। हाँसोलाई पासो ठान्छन्। कताकता अँगेनाको भुत्भुतेजस्तो अन्तरमनमा पीडा, विषाद, दुःख वा औडाहा छ भने मान्छे हाँस्न सक्दैन। राष्ट्रको पतन हुँदै जाँदा मानिसको मुस्कान हराउँछ भनेका छन्, युधिष्ठिरले।

संसार बहुध्रुवीय बन्दैछ। अमेरिका एकातिर, इस्लामिक राष्ट्रका धेरैजसोको छुट्टै स्वार्थ, रुस र चीनका आफ्नै कथा, अफ्रिकी राष्ट्रहरूको संगठन, युरोपियन युनियन आदिका स्वार्थ सबै गिजोलिएका छन्। यस्तैमा एउटा घटना याद आयो– नेपाल सरकारका तर्फबाट चीन पुगेका एक शाकाहारी सचिवले काठमाडौंँबाट पठाएको इमेलमा आफूले माछा, मासु, अण्ड, रक्सी आदि नखाने ‘भेजिटेरियन’ भनेका रहेका छन्।

उनलाई नेपाली पाराको दाल, भात, तरकारी खुवाइयो। पछि बुझ्दा त चिनियाँ भान्सेहरूले तेल–घ्युको साटो सुँगुरको बोसो प्रयोग गरेर ‘शाकाहारी’ भोजन गराएछन्। तेस्रो दिन थाहा पाएपछि न्वारानदेखिको बल निकालेर सचिवले वान्ता गरेछन्। तर सुँगुरको बोसो नसानसामा पुगिसकेको थियो। नेपाली राजनीतिमा विदेशी चासो सुँगुरको बोसो जस्तै छ।

आफ्ना प्रिय राष्ट्रको रक्षा गर्न वासिङ्टन र मस्कोमा शासकले पचासौँ वर्षअघिदेखि आफूलाई ‘अभिभावक’ ठान्थे। क्युबामा निकिता ख्रुश्चेभले टर्कीमा जोन एफ केनेडीले ‘मिसाइल’ राखे। अमेरिकी र तत्कालिन सोभियत नेताले धेरै राष्ट्रलाई रुवाए। हाँसो निषेधित क्षेत्र बनाए।

भारतले पूर्वी पाकिस्तान टुक्र्याएर ‘बंगलादेश’ बनाउने युद्ध चर्काउँदा सन् १९७१/७२ मा यो पंक्तिकार एघार/बाह्र वर्षको ‘स्कुले केटो’ थियो। कपाल काट्न जाँदा हजामले हिन्दी पत्रिका देखाएर भने–“भान्जा, अब पाकिस्तान टुक्रने भयो।” आठ नौ कक्षा पढेका सुन्दर युवक थिए कान्छा हजाम। कपाल काटेपछि उनले खबर पढेर सुनाए। मेघना र पद्मा नदीमा हजारौँ लास बेवारिस छन् भनिएको थियो, खबरमा। ‘कान्छा दाइ’ भनेर बोलाउँथे गाउँलेहरू। उनी चिन्तित थिए–“ए भान्जा, यस्तै हो भने नेपाललाई पनि अठ्याङ पर्छ।” ठेट नेपाली शब्द बोले उनले। हजामको दुकानमा पत्रिका पढ्न आउँथे, बालमुकुन्द अग्रवाल। उनी ताप्लेजुङमा हुर्केकाले लिम्बू भाषा बोल्थे।

‘ग्लिमसेज अफ वल्र्ड हिस्ट्री’ ग्रन्थमा जवाहरलाल नेहरूले लेखेका छन्– “ब्रिटेनले उपनिवेश र साम्राज्य फैलाउन ठूला जमिनदार, धनाढ्य तथा कुलीनहरूलाई हात लियो। बुर्जुवा फ्रान्सले मध्यमवर्गलाई मित्र बनायो। कसलाई कहाँ, कसरी, किन र कहिलेसम्म प्रयोग गर्ने भन्ने बुझेका ती सम्पन्न शक्तिले धेरै राष्ट्रमा आफ्नो राष्ट्रिय धर्म, संस्कृति फैलाए। अफ्रिकी राष्ट्रहरूमा युरोपको प्रभाव बढाउन अर्धनग्न दरिद्रलाई पनि ‘माई फ्रेन्ड’ (मेरो साथी) भने ब्रिटिसले। फ्रेन्चहरूले ‘मो आमी’ (मेरो साथी) भन्दै अश्वेतहरूसँग मित्रताको नाटक गरे।

विदेशी स्वार्थमा प्रेम, विश्वास, दया, क्षमा, करुणा वा आत्मीयता हुँदैन। उनीहरूको स्वार्थ पूरा भएपछि नोकरलाई चिन्दैनन्। लेन्डुप दोर्जेले सिक्किमलाई भारतमा विलय नगराएसम्म दिल्लीबाट प्रधानमन्त्री इन्दिरा गान्धी र गृहमन्त्री वाइवी चौहानले ‘दाजु, सन्चै हुनुहुन्छ?’ भन्दै सोधिरहन्थे। राजा हटाएर राष्ट्र बुझाएपछि इन्दिरा गान्धीले लेन्डुपलाई फोहर पुछेर फ्याँकेको टालो जस्तो बनाइन भनिएको छ– “स्म्यास एन्ड ग्य्राब: एनेक्सेन अफ सिक्किम” ग्रन्थमा।

अंग्रेजी पत्रिका टेलिग्राफका सम्पादक सुनन्दाकुमार रेले लेखेका छन्–भारतीय सेनाले दरवार घेरेपछि वसन्तकुमार क्षत्री नामका १९ वर्षीय युवकले राजाको हितमा अन्तिम साससम्म गोली चलाइरहे। राष्ट्र स्वाधीन रहनुपर्छ भन्नेहरू बिस्तारै बेपत्ता भए। ‘संकटको बेलामात्र मानिसको पहिचान हुन्छ भनेका छन्’ बुद्धले। विदेशीका दान–दातव्यमा रमाउने र कमाउनेहरूले भावी पुस्तालाई स्वाधीन नेपाल हस्तान्तरण गर्नुपर्छ भन्ने सोचेकै छैनन्। विदेशी सेना आउँछ वा आउँदैन भन्ने बहस पनि ठट्टा प्रहसन भएको छ। जब राष्ट्रले आत्मनिर्णयको अधिकार गुमाउँछ, त्यो बेला नेपाल ‘उपराष्ट्र’ मात्र बन्नेछ। सर्वाधिकार गुमाउनेछ।

अफगानिस्तानमा सन् १९१९ देखि अस्थिरता बढाउन विदेशी शक्तिद्वारा राजा (आमिर) हबिबुल्लाहको हत्या गराइयो। उनका भाइ नसरुल्लाह राजा भए। दरबारभित्रै गुटहरू पैदा भए। घर भत्काउन घरभित्रैका मानिसलाई विदेशीले प्रयोग गर्छन्। नेपालमा बितेका तीस बत्तीस वर्षका घटनाक्रम मात्रै अध्ययन गरे पनि यो पुष्टि हुन्छ।

भ्रष्टाचार, विदेशी हस्तक्षेप, चरम बेथिति, बेरोजगारी आदि बढाएर त्यसैमा रमाइरहनेहरूलाई जनताले समर्थन गरे। गरिरहेका छन्। राष्ट्रका निम्ति मन, वचन र कर्मले समर्पित रहने प्रबल राष्ट्रवादी, विकासप्रेमी र इमानदारहरूलाई जनताले संसद्सम्म पुर्‍याएका भए ‘भागबन्डा’ वा ‘गठबन्धन’ आदि काइते शब्द प्रयोग गरेर विदेशीका केही सीमित नोकर–चाकरले राष्ट्र बर्बाद गर्न पाउने थिएनन्। आउँदो चुनावमा भ्रष्ट, अपराधी र विदेशीकै दासलाई जनताले जिताए भने बितेका वर्षमा जेजे भयो, त्यही हुन्छ। चुनाव नोकरहरूको म्याराथन बन्छ। विदेशीले लगानी गरेका दास र कृतदासहरू आउँछन् र विदेशीकै धूनमा गीत गाउँछन्। रमाउँछन्।

जीवनको यात्रामा नलड्ने, घाइते नहुने र सदैव विजयीमात्र बन्ने मानिस भेटिँदैन। तर जो हजारपल्ट लडेर पनि उठ्छ र सही गन्तव्यतिर हिँडिरहन्छ, ऊ सफल हुन्छ। राष्ट्र र राष्ट्रबासीको नियति त्यस्तै हुन्छ। जापान कोरिया, इजरायल, मलेसिया लगायतका धेरै उदाहरण छन्। ती राष्ट्रले अस्तित्व रक्षा गर्न ठूलो संघर्ष गरे। नेपालीले त आज पुर्खाबाट अंशमा पाएको स्वतन्त्रता भोग गरेको मात्रै हो। कहिले पराधीन नभएकाले नेपालले स्वतन्त्रता दिवस मनाउँदैन भन्दा कतिपय विदेशी चकित हुन्छन्। पुर्खाको रगत–पसिनाले आर्जेको राष्ट्र विस्तारै वैचारिक दासत्वको जाँतोले चिथिएको छ। हामी भौगोलिक कारणले भूपरिवेष्ठित (ल्यान्डलक्ड) छौ। आफ्नै कारणले दिमागवेष्ठित (अर्थात माइन्डलक्ड) भएका छौँ। सन्तान जन्माउन पनि विदेशी नै गुहार्नुपर्छ भन्ने सोचले धेरैलाई ‘नामर्द’ बनाएको छ।

अमेरिकी साहित्यकार राल्फ एमर्सनको कथन छ– “बाटो हिँड्न त सबैले जानेका हुन्छन्। तिमी नयाँ ठाउँमा हिँड, गोरेटो बनाऊ। पदयात्री पछ्याउँदै आउन्।” नेपालले इज्जत, इमान, साहस, स्वाभिमान र संघर्षको पदमार्ग बनाएर विश्वलाई धेरै कुरा सिकाउन सक्छ। दुर्भाग्यको कुरा, करोडौँ रुपियाँ पर्ने गाडी (बुगाटीलगायतका कार) चलाउन जब जनताले ठेलागाडा चलाउनेलाई ड्राइभर बनाउँछन्, त्यसपछि कारको हालत के होला! सबैभन्दा सस्तो बुगाटी कारको मूल्य नेपाली १३ अर्ब रुपियाँ भन्दा महँगो पर्छ। 

‘संघीयता’ नामको संवैधानिक बाध्यताको मूल्य त्यो भन्दा धेरै छ, नेपालमा। जनताले आधा पेट खाएर पनि गणतन्त्र र संघीयता बचाउने प्रतिज्ञा गरिरहे भने नेपाल जल्न र ढल्न सक्छ तर कुनै शक्ति राष्ट्रको अधीनमा गणतन्त्र चल्छ। तसर्थ, राष्ट्र बचाउने कि गणतन्त्र, जनताले निर्णय गर्नुपर्ने अवस्था छ। परिवर्तन चाहिएको हो भने विदेशीका दासबाट सम्भव छैन।

विगतमा धेरै अवसर पाएर पनि, जनताबाट सर्वाधिकार प्राप्त भए पनि, कसैको व्यवधान नहुँदा पनि राष्ट्रको उत्थान नगर्नेबाट केही आशा गरेर पटकपटक शक्तिशाली बनाइरहेमा त्यो जनताकै अक्षम्य भूल ठहरिनेछ। जो पतन भइसकेका छन्, उनै घृणित, दुर्गन्धित, बदनाम र अवसरवादी ठगहरूबाट हामी परिवर्तनको आशा गर्छौ भने दोष कसको?

आज धेरै राष्ट्र चुनौतीको पहाड चढ्दैछन्। चीन र रुस अमेरिकाका लागि सर्वाधिक ठूलो चुनौती बनेको वासिङ्गटनका शासक/प्रशासकको विश्लेषण छ। ‘राष्ट्रिय प्रतिरक्षा रणनीति’ तयार पार्ने क्रममा अमेरिकाले ती राष्ट्रप्रति सतर्क रहने संकेत देखाएको छ। नेपाली नेताहरू निश्चिन्त छन्। राष्ट्र र जनताको होइन, पदको चिन्ताले ती आकुल–व्याकुल छन्। चुनाव जित्ने र राजस्व लुट्ने ध्याउन्नमा छन्।

काठमाडौँ मरु गणेशबाट विष्णुमतीतिर जाँदा एउटा थोत्रो घर थियो। कच्ची इँटाको, त्यो घर धेरै ठाउँमा चर्केको थियो। घर ढल्ने डरले चारपाँच टेको लगाएर अढ्याइएको थियो। टोलबासीले बताएअनुसार त्यो बेखाचा भन्ने बेखानारायणको घर थियो। बाटो हिँड्नेहरू घर ढल्छ कि भनेर खुरुरु कुद्ने गर्थे। पुराना हिन्दी गीतका सौखिन बेखाचा झ्यालमा खुट्टा राखेर उत्तानो परि कुन्दनलाल सहगलको गाना सुन्थे–“हम जी के क्या करेंगे, जब दिल हि टुट गया।” नेपालको हालत त्यस्तै छैन त?

प्रकाशित: १८ चैत्र २०७८ ०४:०६ शुक्रबार

अमेरिकी राष्ट्रपति फ्रयांकलिन रुजबेल्ट नोकरको म्याराथन