जतिबेला रुस र टर्की युद्ध गरिरहेका थिए, रुसले टर्कीमाथि युद्ध जित्दै बाँकी युरोपतिर आफ्नो क्षेत्र विस्तार गर्दै आएको थियो।
युरोपतिर आफ्नो युद्धपोत लम्काइरहेको रुस तत्कालीन व्रिटेनका लागि पनि चुनौतीको पहाड बनेर उभिएको थियो। हो, त्यतिबेला रुसीहरूप्रति ब्यंग्य र कटाक्ष गर्दै गाइएको एउटा गीत ब्रिटेनमा निकै प्रख्यात भयो। व्रिटिसका संगीत हलहरूमा गुञ्जने सो गीतको नाम थियो “जिंगो”। सन १८७७ मा रसियाले टर्कीविरुद्ध युद्ध घोषणा गरेपछि पहिलो पटक म्याक डर्मुटले गाएका थिए। जर्ज विलियम हन्टले लेखेका यो गीतलाई विभिन्न समयमा परिमार्जन गर्दै फरक फरक पात्रले अहिले पनि गाउँदै आएका छन्।
संगीतको शक्तिबाट ब्रिटेनलाई एकाकार गराएर रसियाप्रति जनतालाई आक्रामक बनाउनु तत्कालीन शासकको ध्येय भएको विश्लेषक बताउँछन्। यो गीतको भाव थियो– “हामी युद्ध चाहँदैनौँ तर हामी ब्रिटेन हौँ पछि पनि हट्दैनौँ”। ब्रिटेन जनतालाई एकाकार हुन भावनात्मकरूपमा उत्तेजित बनाउन प्रयोग गरिएको गीत अन्ततः वादका रूपमा विकसित हुन पुग्यो। जिंगोबाट परिमार्जित भएर “जिंगोइजम” भयो। जिंगोइजमको सिधा अर्थ हो– एक्सर्टिम प्याट्रियोटिजम अर्थात उग्रराष्ट्रवाद। कोही कोहीले यसलाई अतिराष्ट्रवाद अर्थात अन्धराष्ट्रवाद पनि भन्छन। यो आलेखमा जिगो गीतको भन्दा पनि जिंगोइजमको ब्यापार राजनीतिमा कसरी भइराखेको छभन्नेबारे चर्चा गरौँ।
रुस यतिबेला डेढ शताब्दीअघि टर्कीमाथि जे गरिराखेको थियो अहिले युक्रेनमाथि त्यही गरिराखेको छ। रुसी राष्ट्रपति भलाद्मिर पुटिन र युक्रेनी राष्ट्रपति जेलनस्की दुवै अहिले मोर्डन जिगोस्टिक पात्रका रूपमा चित्रित भइराखेका छन्। उनीहरूको अतिराष्ट्रवादी सोचले दुवै देशले ठूलो मात्रामा मानवीय, आर्थिक क्षति बेहोरिरहेका छन्। निर्दोष नागरिकको ज्यान गइराखेको छ। अन्ततः अतिराष्ट्रवादले न रुसलाई फाइदा पुग्नेछ न त युक्रेनलाई।
लिबिया, सिरिया, इराक, अफगानिस्तान, प्यालेस्टाइन जस्ता देश पनि आजपर्यन्त अन्धराष्ट्रवादको दुष्परिणाम भोग्न विवश छन्। जहाँ शासकहरू जनता र सेनालाई देश भक्तिका नाममा युद्धमा उतारेर आफू भने राज गरिराखेका हुन्छन्। विशेष गरेर जिंगोइजमको नारा अशिक्षित, चेतनाको स्तर कम भएका, आर्थिक अवस्था कमजोर भएका र धार्मिक कट्टरपन्थी भएका देशमा बढी बिक्ने गर्छ। जात, धर्म र रंगको नाममा द्वन्द्व सिर्जना गरेर राजनीति गर्नु पनि एकप्रकारको जिंगोइजम हो। अठारौँ शताब्दीको सुरुवातदेखि उत्तराद्र्धसम्म पश्चिमा देशहरूमा पनि जिंगोइजमको व्यापार भएकै थियो।
त्यसैको परिणामस्वरूप धेरै देश युद्धको सिकार भए। विनाशले क्षतविक्षत भए। अन्ततः चेतनाको स्तर उठेसँगै युरोपियन र पश्चिमाहरू अन्धराष्ट्रभक्तिको नारामा अल्झेनन्। बरु उदारता, लोकतन्त्र, समानता र स्वतन्त्रताको कट्टर पहरेदार बनेर उभिए। परिणामस्वरूप उनीहरू एकापसमा सहयोग, सद्भाव आदान–प्रदान गर्दै विकासका खम्बाहरू ठड्याउन उद्यत हुन थाले।
अहिलेका अल्पविकसित र अविकसित देशहरूले जस्तै एकअर्का देशप्रति कट्टर नीति अख्तियार गरिराखेका भए युरोपियन युनियनको जन्म नै हुने थिएन। युद्धबाट आक्रान्त भएर जन्मिएको इयु युरोपका साना ठूला, धनी गरिब सबैखालका देशको विकास र समृद्धिका लागि कोशे ढुंगा सावित भएको छ। तर हाम्रोमा बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यही जिंगोइजमको सिकार भएर थलिएको छ।
फरक यति हो, उनीहरूले हाम्रोमा जस्तो साम्राज्यवाद र विस्तारवादका नाममा राजनीति गरिराखेनन्। छिमेकी र विदेशीलाई गाली गरेर भोट बटुल्ने दुस्साहस गरेनन्। जनतालाई कर्म र परिश्रममा विश्वास गर्न मार्गनिर्देश गरे। अनि अर्कातर्फत्यहाँका जनता पनिसाम्राज्यवाद विस्तारवादका नाममा गरिने कथित राजनीतिमा विश्वास गर्दैनन्। अलमलिँदैनन्, भ्रममा पर्दैनन्। इमानदारिता, कर्म र परिश्रममा नै विश्वास गर्छन्। देश समृद्ध छ। देशमा सुशासन छ भने राष्ट्रियता स्वतः मजवुत हुन्छ भन्ने कुरामा सबै विश्वस्त छन्।
वास्तवमा वर्तमान विश्वमा मजवुत राष्ट्रियता र बलियो सार्बभौमसत्ताको सूचक भनेको नै त्यो देशको सुशासन र समृद्धि नै हो। साम्राज्यवाद र विस्तारवादका नाममा राजनीति त अहिले ती देशमा हुन्छ जहाँ जनतालाई भ्रममा राखिराख्न सकिन्छ। गुमराहमा पारी राख्न सकिन्छ। हो,तिनै देशका कथित नेताहरू नै एक्काइसौँ शताब्दीमा पनि जिंगोइजमको व्यापार गरेर आफ्नो राजनीतिको रोटी सेकाइरहेका छन्। उनीहरू उग्रराष्ट्रवादको नारा बेचेर जनतालाई उत्तेजित बनाउँछन्। अनि भोट बटुल्छन्।
गरिबी, अभाव, अशिक्षा र पीडाको पर्खालमा घेरिएर बाँचिरहेका जनतामाझ यस्तै उत्तेजित नारा बढी बिकाउ हुने गर्छन्। किनकि यस्ता नारा बेच्दा नेताले कामको परिणाम देखाउन पर्दैन, मात्र अर्कोको चर्को विरोध गरिदिए पुग्छ। हो, हाम्रोमा यस्तै भइराखेको छ। हामी नेताले अमेरिका र युरोपको चर्को आलोचना गर्दा परर्र ताली पिट्छौँ।
अनि फेरि उनीहरूकै समृद्धि, सुशासन, जनउत्तरदायी शासन व्यवस्था देखेर लोभिन्छौँ। हामी अधिकांश जसले चर्का भाषण गरेर अरूको कटाक्ष गर्न सक्छ उसलाई योग्य ठान्छौँ। जसले विदेशी र छिमेकीप्रति कठोर टिप्पणीगर्छ उसलाई नै राष्ट्रवादी देख्छौँ। यो हाम्रो कमजोर राजनीतिक चेतनाको उपज हो। अझ नेपालका सन्दर्भमात ठूला साना सबै राजनीतिक दल उग्रराष्ट्रवादी चिन्तनमा आफ्नो राजनीतिक भविष्य सुरक्षित देख्छन्। यसका केही दृष्टान्त हेरौँः
भर्खरैमात्र मिलेनियम च्यालेन्ज कम्प्याक्ट लामो रस्साकसीपछि संसद्बाट पारित भयो। नेकपा माओवादी केन्द्रले एमसिसीको सदन र सडकबाट समेत चर्को विरोध गर्यो। एमसिसी नेपालको सार्वभौम सत्ता र राष्ट्रियताको हितविपरीत छ भनेर जनता रकार्यकर्तालाई उत्तेजित बनाइराख्यो। एमसिसीसँगै नेपालमा अमेरिकी सेनाको प्रवेश हुने अफवाहसमेत फैलाइयो।
यसको मूलभूत कारण थियो– माओवादी एमसिसीको विरोध गरेर राजनीतिमा आफ्नो पुनर्जीवन चाहन्थ्यो। यसलाई संजीवनी बूटी नै मानेको थियो। अहिले पनि माओवादी केन्द्रका कतिपय नेता एमसिसीको आलोचनामा नै आफ्नो राजनीतिक भविष्य सुरक्षित देखिरहेका छन। समृद्धि ठूलो कि स्वतन्त्रता ठूलो भन्दै जनतालाई दिग्भ्रमित पार्न उद्यत छन्। सर्वसाधारणलाई “सेन्टिमेन्टल ब्ल्याकमेलिङ” गरिरहेका छन्।
दोस्रो नजिरः वैद्य, विप्लव, चित्रबहादुर केसीहरूसँग स्वाधीनता र स्वतन्त्रता भन्दा राजनीतिका लागि अर्को मुद्दा नै छैन। एमसिसीको विरोध उनीहरूका लागिथप जिंगोइस्टिक नेता बन्ने आधार बनेको छ। चुनावमा जाने दलका लागि चुनावी खजाना बनेको छ।
उनीहरू देशमा विकासका पूर्वाधार निर्माण भए मात्र राष्ट्रियता मजवुत हुन्छ भन्ने यथार्थतामा विश्वास गर्दैैनन्। रोजगारी सिर्जना, समृद्धि, सुव्यवस्थाबाट मात्र देशको सार्वभौम बलियो हुन्छ भन्ने तथ्यलाई मान्दैनन्। उनीहरू केबल साम्राज्यवाद, विस्तारवाद र प्रतिक्रियावादीका नाममा जनतालाई भ्रममा राख्न सक्दा नै आफ्नो राजनीतिक स्वार्थ पूरा हुनेमा ढुक्क छन्।
तेस्रो दृष्टान्त, नेकपा एमालेलाई अबको आसन्न निर्वाचनमालिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दाले आफूहरूलाई ठूलो दल बनाउने आशा छ। भारत विरोधी जनमत तयार गर्नु छ। नाकाबन्दीमा समेत शिर नझुकाएको भन्दै १ नम्बर राष्ट्रवादी बन्नु छ। देशको सीमा रक्षा गर्न सक्ने मसिहा दल ठहरिनु छ। तर एमालेजनले बुझ्न आवश्यक छ कि अहिलेको कूटनीति यस्तो कच्चा पाराले चल्दैन। हरेक अतिवादी सोच वर्तमान विश्वमा प्रत्युत्पादक हुन्छ भन्ने तथ्यलाई नजरन्दाज गरिनुहुँदैन।
भाषणमा भारतलाई गाली गरेर, भारत विरोधी जनमत तयार गरेर भोट त बटुल्न सकिएला तर यो देश र जनताको निम्ति हितकर र प्रितकर दुवै हुँदैन। रुस/युक्रेनबीचको अहिलेको युद्ध युक्रेनको कच्चा कूटनीतिको दुष्परिणाम हो भन्ने तथ्य पनि भुल्नुहुँदैन। सत्तामा जान र सत्ता टिकाइराख्न जनतालाई छिमेकी र विदेशीप्रति कदापि उत्तेजित बनाइनु हुँदैन। जनताको चेतनाको स्तरका कारण यस्ता उत्तेजित नारा केही समयका लागि बिकाउ भए पनि अन्ततः देशका लागि हितकर भने हुन सक्दैन।
अझ हाम्रो जस्तो “बफर जोन” का रूपमा चिनिएको देशले कूटनीतिमा उत्तेजनाको दुरूपयोग गर्नु महाभूल हुनेछ। यी त केही ताजा तथ्यमात्र हुन्। दशकौँदेखि हाम्रा राजनीतिक दलहरू भारत, अमेरिका र युरोप विरोधी जनमत तयार गरेर राजनीतिको रोटी सेक्न उद्यत छन्। सार्वभौम र स्वतन्त्रताको नारा बेचेर समृद्धि र सुशासनलाई रछ्यानमा मिल्काइरहेका छन्।
अनि सत्यतालाई स्वीकार्न कसैले कन्जुस्याइँ गर्नु पर्दैन। तुलनात्मकरूपमा आफूलाई कम्युनिस्ट भन्ने पार्टीको तुलनामा कांग्रेस जिंगोइजमको व्यापारमा केही सजग देखिन्छ। यद्यपि यदाकदा राष्ट्रवादीको पगरी गुथ्ने प्रतिस्पर्धामा नचिप्लिएको भने होइन। हामीले भारतलाई भड्काएर, चीनलाई चिढाएर या अमेरिकालाई अपजस दिएर समृद्धि र विकासको जग ठड्याउन सक्दैनौँ।
हाम्रो भौगोलिक अवस्थिति, आर्थिक अवस्थाले हामी सबैसँग मिल्नुको विकल्प छैन। चुनावमा जनतामाझ साम्राज्यवाद र विस्तारवादको “आउट डेटेड” नारा बाकेर जाने भूल नगरौँ। अनि सदाबहार यस्ता नारा बेचिरहनेलाई जनताले पनि मतमार्फत सवक सिकाउन सक्नुपर्छ। हामीलाई शान्ति, स्थायित्व, सार्वभौमसँगै समृद्धि र सुशासन पनि चाहिएको छ भन्ने यथार्थतालाई मनन गरौँ। (युरोपबाट)
प्रकाशित: ९ चैत्र २०७८ ०१:१५ बुधबार