विचार

अहंकारको राजनीति

मानिसको चिन्तनको आरम्भ अहं अर्थात मबाट सुरु भएको हुनुपर्छ। नामकरणको प्रथा सुरु हुनुपूर्व प्रत्येक मानिसले आफूलाई म भनेर नै चिन्यो।

प्रथम पुरुष प्रजापतिले आफूलाई ‘अहमस्मि’ भनेर चिनेको श्रुतिले बताउँछ। कसैले तँ को होस्? भनी सोध्यो भने प्रथम जवाफ म हुँ नै हुन्छ। तत्पश्चात राम, श्याम आदि नाम आउँछन् जुन पिता वा ब्राह्मणले दिएका नाम हुन्। मानिसको मनोविज्ञान पनि अहंबाट नै सुरु हुन्छ। प्राचीन रामायण, महाभारत आदि चाहे ती काव्य हुन् वा इतिहास अहंको कारणबाट नै सुरु भएका छन्।

आधुनिक समयमा भिन्न–भिन्न देशबीचको तनाव वा युद्धका कारण पनि व्यक्ति वा राष्ट्रको अहं हो। प्रेम, युद्ध, सिर्जना, अनुसन्धान आदिको मूल स्रोत वा उत्प्रेरणा अहं नै हो। उपनिषद्का अनुसार आत्मा नै ब्रह्म हो। त्यसैले बृहदारण्यकोपनिषद्मा ‘अहम ब्रह्मास्मि’ भनिएको छ। ब्रह्म चिन्नु भनेको आफ्नो आत्मालाई तथा आत्मतत्वका रूपमा सम्पूर्ण जगत्लाइ चिन्नु हो। अर्थात यो सारा जगत् अहंमय छ।

प्रायः सबै प्राणीमा श्रेष्ठता प्राप्त गर्ने इच्छा हुन्छ। पशुहरू शारीरिक श्रेष्ठतामा सीमित छन्। मानिस बहुआयामिक छ। तसर्थ मानिसको श्रेष्ठताको चाहना पनि बहुआयामिक छ। आध्यात्मिक, भौतिक, सिर्जना, खोज, कला, खेलकुदलगायत विविध क्षेत्रमा व्यक्तिको फरक रुचिअनुसार श्रेष्ठता हासिल गर्ने चाहना मानिसको स्वाभाविक प्रवृत्ति हो। मानव विकासको अहिलेसम्मको यात्रा तथा भविष्यको मार्ग पनि मानिसभित्र रहेको अहंको तुष्टि नै हो।

सनातन आध्यात्मिक व्यक्तिहरूको र भौतिकवादीहरूको अहंको बुझाइमा ठूलो भिन्नता पाइन्छ। आध्यात्मिक अहंले पूर्णता प्राप्तिको कल्पना गर्छ। मानव योनी दुर्लभ हो। मानिसलाई जीवनचक्रबाट मुक्तिका लागि मनुष्य योनी प्राप्त भएको विश्वास आध्यात्मवादीमा छ। कर्मयोग, ज्ञानयोग, भक्तियोग तीनवटै योगको अन्तिम निष्कर्ष ब्रह्म चिन्नु हो। ब्रह्म चिन्न अहंलाई चिन्नु जरुरी छ। अहंलाई चिन्नु ब्रह्म ज्ञान हो र ब्रह्मज्ञानबाट ब्रह्मलोक प्राप्त गरी जीवन चक्रबाट मुक्ति अर्थात मोक्ष प्राप्त गर्नु आध्यात्मवादीको लक्ष्य हो।

भौतिकवादीहरूको विश्वास अपूर्णतामा छ। उच्चतम स्थिति प्राप्त गर्न निरन्तर प्रयत्न गर्नु नै मानिसको कर्तव्य हो। यही विश्वासका आधारमा नवीन खोजहरू निरन्तर भइरहेका छन्। नयाँ नयाँ आविष्कार तथा अन्तरिक्षको निरन्तरको रहस्योद्घाटन अतृप्त मानिसको खोजका परिणाम हुन्। अहं लौकिक कर्मको महत्वपूर्ण तत्व हो। अहंको अभावमा कल्याणकारी कार्य आरम्भ गर्ने इच्छा नै जागृत हुँदैन। तसर्थ मानिसमा अहं तत्व हुनु जरुरी छ।

अहंकारः अहंको विकार अहंकार हो। दम्भ,घमन्ड वा अभिमानलाई पनि अहंकारका समानार्थी शब्द मानिन्छ। यद्यपि स्वाभिमान मनुष्यत्वको आवश्यक पुँजी हो। अरू भन्दा श्रेष्ठको भावना राख्नु र आफ्ना लागि विशेष स्थिति, सुविधा, सम्मानको अपेक्षा गर्नु अहंकारीको चरित्र हुन्छ। अहंकारी व्यक्तिलाई लाग्छ मैले जति अरूले जानेका छैनन्। म जे बोल्छु त्यो नै सत्य हो।

म जे गर्छु त्यो नै ठीक हो। मेरो अनुशरण नगर्ने तथा मेरो आलोचना गर्ने सबै अज्ञानी हुन्। कुनै व्यक्ति आफ्नो अज्ञानता, अक्षमता लुकाउन पनि अहंकार प्रदर्शन गर्छन्। यस्ता व्यक्तिलाई दम्भी वा आडम्बरी भनिन्छ। सर्वज्ञ कोही पनि हुँदैन। यो बुझेका ज्ञानी व्यक्ति विनयी र जिज्ञासु हुन्छन्। अज्ञानी व्यक्ति अहंकारी। अज्ञानता नै अहंकारको कारण हो।

अहंकारको जन्म र अहंकारको विनाशका लागी छान्दोग्य उपनिषद्मा एउटा आख्यायिकाद्वारा सुन्दर वर्णन गरिएको छ। वेद पढेर सर्वज्ञ भएँ भनी अहंकारी भएको पुत्र स्वेतकेतुको घमण्ड नास गर्न पिता आरुणीले विभिन्न उदाहरणद्वारा ‘तत्वमसी’को व्याख्या गर्छन्। स्वेतकेतु सर्वज्ञको भ्रमबाट मुक्त हुन्छन् र उनमा जिज्ञासा जाग्दछ। अहंकारी विद्वान् ‘अहम ब्रह्मास्मि’ लाई म नै ब्रह्म हुँ भन्ने बुझ्छ। सम्पूर्ण चराचर जगत्मा ब्रह्मतत्व छ, त्यसैको एक अंश म पनि हुँ भन्ने सत्यलाई नबुझेका कारण नै म नै ब्रह्म हुँ, म सर्वज्ञ हुँ भन्ने अहंकार जन्मिन्छ। सत्कर्मको निमित्त, उन्नतिको निमित्त तथा व्यक्तित्वको सर्वांगीण विकासको निमित्त मानिसमा अहं जाग्नु र मानिसले अहंलाई सर्वात्मभावले बुझ्नु जरुरी हुन्छ।

 तर अहं जाग्दा त्यसको अन्तरतत्व नबुझी बिकार उत्पन्न भयो भने अहंकार आउँछ। अहंकारले मानिसलाई विनाशतर्फ डोर्‍याउँछ। प्राचीन ग्रन्थ साहित्यमा अनेकौँ प्रसंगबाट अहंकारीको विनाश भएको दर्शाइएको छ। आधुनिक समयमा पनि कैयौँ अहंकारी व्यक्तिको अनन्तोगत्वा पतन भएको हामिले देखेका छौँ।

अहं र राजनीतिः राष्ट्रको सम्पूर्ण पक्षलाई सञ्चालन, निर्देशन र नियन्त्रण गर्ने मूलनीति राजनीति हो। आन्तरिक तथा बाह्य सुरक्षा नीति, विदेश नीति, अर्थनीति सबै राजनीतिबाट निर्देशित हुन्छन्। नीति निर्माण व्यक्ति वा व्यक्तिहरूको समूहले गर्छ। नीति सञ्चालन गर्न तथा लागु गर्न व्यक्ति वा व्यक्तिको समूहको आवश्यकता पर्छ। राज्यका नीति निर्माण गर्ने तथा निर्माण गरिएका नीति लागु गर्ने व्यक्तिलाई नै राजनीतिक नेता वा नेतृत्व भनिन्छ। सिद्धन्तका रूपमा राजनीति बुझ्नु र व्यवहारमा राजनीतिमा संलग्न हुनुमा धेरै फरक छ। त्यसको विवेचना यहाँ गरिँदैन। यहाँ केबल व्यक्तिको अहंले राजनीतिमा पार्ने प्रभावको सन्दर्भमा मात्र विवेचना गर्ने कोसिस गरिएको छ।

राजनीति मूलतः सेवाको क्षेत्र हो। राजनीति गर्ने मानिसमा राष्ट्र सेवा र जनसेवाको भावना हुनु जरुरी छ। राष्ट्र सेवा गर्न राजनीति नै गर्नुपर्छ भन्ने होइन। सेवा गर्ने विभिन्न क्षेत्र छन्। निजामती, सैनिक, अर्धसैनिक आदि क्षेत्रबाट सेवा गर्न सकिन्छ। यी बाहेक परोपकारी संस्थाहरूका माध्यमबाट वा व्यक्तिगतरूपमा पनि विविध कार्य गरेर सेवा गर्न सकिन्छ। सेवाभाव छ भने काम गर्ने क्षेत्रको कमी हुँदैन। मानिसले आफूलाई अभिव्यक्त गर्ने चाहना राख्छ।

हाम्रो समाजमा आफूलाई अभिव्यक्त गरी छिट्टै पहिचान बनाउने सबै भन्दा सरल र सस्तो उपाय राजनीतिक कार्यमा क्रियाशील रही राजनीतिक पद प्राप्त गर्नु रहेको छ। भन्दा सजिलै भनिन्छ कि आफ्नो अहं त्यागेर राजनीतिमा होमिनुपर्छ। तर के अहं नै नभएको मानिस सक्रिय राजनीतिमा आकर्षित हुन सक्ला? म केही गर्छु भनेर नै मानिस सक्रिय राजनीतिमा लाग्ने हो। केही गर्ने भावनाको विकास नै म वा अहंबाट सुरु हुन्छ। नेपालमा हिजोआज चाकडी, चाप्लुसी तथा आर्थिक लेनदेनबाट पनि राजनीतिक पद प्राप्त गर्ने प्रचलनको विकास भएको छ।

यस्ता व्यक्ति या आत्मसम्मान नभएका हुन्छन् या त व्यावसायी। यिनीहरूमा सेवाभाव हुँदैन, व्यक्तिगत स्वार्थ पूर्तिको चाहनामात्र हुन्छ। यस्ता व्यक्तिमा आत्मसम्मान हुँदैन। आत्मसम्मानहीन व्यक्तिमा केही गरौं भन्ने भावनाको अभाव रहन्छ। बिकाररहित अहं स्वाभिमान हो। स्वाभिमान नभएको व्यक्तिबाट समयोचित, नीतिसंगत तथा जनहितकारी कार्य सम्पादन हुनु दुर्लभ हुन्छ।

अहंकार र राजनीतिः अर्कोतर्फ केही राजनीतिककर्मी अत्यधिक अभिमानी हुन्छन्। एकै सिद्धान्तमा विश्वास गर्ने राजनीतिक मानिसहरूको संगठित समूह राजनीतिक संगठन हो। संगठन नेता र कार्यकर्ताको जोडबाट बन्छ। कार्यकर्ता तथा जनतालाई प्रभावित पार्न आकर्षक तथा कर्णप्रिय अभिव्यक्ति दिनु पनि नेताको एउटा कला हो। आफ्नो भाषण वा अन्य केही क्षणिक लोकप्रिय कामबाट जब नेता प्रशंसित हुन थाल्छ, अल्पज्ञानी नेतामा अभिमान जाग्छ।

अभिमानबाट ग्रसित नेता आत्ममोहित मात्र हुन्छन्। आफ्नो प्रशंसा मात्र सुन्न रुचाउँछन्। आलोचना गर्नेहरूलाई विरोधी ठान्छन्। आलोचकप्रति असहिष्णु हुन्छन्। आफूलाई सर्बेसर्बा ठान्दछन्। यस्तै नेताबाट सर्वसत्तावाद जन्मिन्छ। एडोल्फ हिटलर, जोसेफ स्टालिन, पोलपोट, कर्नल गद्दाफी, सद्दाम हुसैन यस्तै अहंकारी व्यक्ति हुन् जसले सर्वसत्तावाद चलाए, लाखौँ मानिसको हत्याको कारण बने।

कहिलेकाहीँ अहं र अहंकार छुट्टाउन गाह्रो हुन्छ। इतिहासमा कैयौँ यस्ता व्यक्ति भेटिन्छन् जसको कुनै काम वा अडानलाई प्रथम दृष्टिमा हेर्दा अहंकारी लाग्छन्। तर तिनै व्यक्तिलाई सम्पूर्णतामा बुझ्दा स्वाभिमानी तथा समयको पदचाप पहिल्यै बुझ्न सक्ने व्यक्ति भएको पाइन्छ। भारतका महात्मा गान्धी, नेपालका बिपी कोइराला, अमेरिकाका फ्रेंकलिन डी रुजबेल्ट यस्तै महान् व्यक्तित्व हुन्। महान् व्यक्तिहरूका काम पनि सम्पूर्ण सर्वप्रिय हुँदैनन्। वस्तुतः कुनै पनि कर्मका असल र खराब दुवै पक्ष हुन्छन्।

गीताको व्याख्या गर्ने क्रममा निस्काम कर्मको व्याख्या गर्दै स्वामी विवेकानन्द भन्नुहुन्छ– ‘कर्म स्वभावतः सत–असतको मिश्रण हो। हामी यस्तो कुनै पनि काम गर्न सक्दैनौँ जस्मा केही खराबी नहोस् र यस्तो कुनै काम हुँदैन जस्मा थोरै भए पनि भलाइ नहोस्। सबै कर्ममा गुण दोष हुन्छन्। त्यसैले सतत कर्म गर्नुपर्छ। आफ्नो क्षुद्र स्वार्थ त्यागेर अधिकांशको भलाइ हुने काम गर्नु नै निस्काम कर्म हो।’

त्यस्तै महान् व्यक्तिहरूका पनि गुण दोष हुन्छन्। तर तिनीहरूका कर्मले दोष पक्षलाई पनि गुणमा बदल्ने सामथ्र्य राख्छन्। बिपीको सम्बन्धमा आफ्नो जेल डायरीमा योगेन्द्रमान शेरचन लेख्नुहुन्छ– आफ्नो विचारसँग मेल नखाने विचारलाई पनि अलि केलाएर हेर्नुपर्छ भन्नेबारे म उहाँलाई अलिअसहिष्णु पाउँछु। यो गुण हो वा दोष म भन्न सक्दिन। सामान्य मानिसमा यो निश्चित नै दुर्गुण हो। तर नेतृत्व गर्ने मानिस जसलाई यता वा उता निश्चित निर्णय गर्नुपर्छ। यो शायद गुण हुन सकोस्।’

सामान्य व्यक्तिको अहंकारको सानै प्रभाव हुन्छ। आफ्नो परिधिभित्रका मानिसलाई पीडा दिन सक्छ, दुःख दिन सक्छ तर सब भन्दा बढी क्षति स्वयंलाई पुर्‍याउँछ। तर राजनीतिक पार्टीको नेता वा राज्यको महŒवपूर्ण ओहोदामा रहेको मानिसको अहंकारले स्वयंलाई मात्र नभएर समग्र समाज तथा शासन प्रणालीलाई नै क्षति पुर्‍याउँछ।

यो बुझ्न धेरै टाढा जानुपर्दैन। हाम्रै देशको केही समयअगाडिको घटना नियाल्यौँ भने सरकार प्रमुखको अहंकारका कारण समग्र राज्य व्यवस्था अहिलेसम्म पनि प्रदूषित छ। अजेय जस्तो लाग्ने एउटा पार्टी आफ्नै नेताको अहंकारको कारण अहिले तीन टुक्रामा विभाजित छ र पुनः सत्ता प्राप्त गर्न छटपटाइरहेकोछ। भर्खरै रुसी राष्ट्रपति पुटिनको अहंकारको कारण युक्रेन मानव रक्तले लहुलुहान छ। रुसको युक्रेनमाथिको आक्रमणले युरोपको मात्र नभएर विश्वकै अर्थव्यवस्थामा नकारात्मक प्रभाव बढ्दैछ।

अहं र अहंकारको नेपाली समाज तथा नेपालको शासनतन्त्रमा लामो समयदेखि संघर्ष चल्दै आएको छ र त्यसबाट नेपालको राजनीति अहिलेसम्म प्रभावित छ। सामन्तवाद अहंकारको उच्चतम रूप हो। शाही सामन्त र राणा सामन्तको संघर्षमा केही समय नेपाल रुमलियो। शाहमाथि राणाहरूको विजयले १०४ वर्षसम्म राणाहरूको शासन चल्यो। जनतामा जागरण भएको अहंले २००७ सालको परिवर्तन आयो।त्यो परिवर्तन दिगो हुन सकेन। पुनः शाही सामन्तवादले ३० वर्ष एकक्षत्र राज गर्‍यो। २०४६ सालको परिवर्तनले आंशिकरूपमा शाही सामन्तवादलाई पराजित गर्‍यो। तर राजाहरूको अहंकार समाप्त भएन ।

राजाहरूको अहंकारबाट आजित भएका जनताले २०६४ सालमा गणतन्त्र घोषणा गरे। वैधानिकरूपमा सामन्तवादको अन्त त भयो तर शासनमा बस्ने व्यक्ति वा नेतृत्वमा संस्कार परिवर्तन भएन। लोकतन्त्र र गणतन्त्रको मर्मलाई नेताहरूले बुझ्न सकेनन्। शासनको कुर्सीमा बस्नासाथ राणा, शाह बन्ने प्रवृत्ति यद्यपि कायम छ। प्रणालीले सबैको भलाइ अर्थात अहंको सर्वात्मभावको माग गर्छ। संस्कारले सामन्तवादी शासकीय अहंकार प्रदर्शन गर्छ।

अहिले राजनीतिमा देखिने विकृति र अस्थिरता पनि प्रणालीले माग गर्ने प्रगतिशीलता तर अभ्यासमा त्यसविपरितको पुरातनी संस्कारबीचको संघर्षका उपउत्पादन हुन्। अहं र अहंकारीबीचको यही द्वन्द्वमा नेपाली समाज छ।

प्रकाशित: ९ चैत्र २०७८ ००:४९ बुधबार