मार्च ८ नेपालमा महिला दिवस र श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएपश्चात विश्वभरमै अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मानिन्छ। आज पनि नेपालमा महिला अधिकार, समानता र न्यायको हिसाबले महिलालाई पछि पारिनु हुन्न भन्ने माग यथावत छ।
यसको अर्थ जति महिलाले महिला भएकै कारण विभेदको सामना गरिरहेका छन् त्यसको अन्त्य हुनुपर्छ भन्ने नै हो। हाम्रो समाजले त अझै पनि छोरीको जन्मलाई नाक खुम्च्याउने गर्छ तर सन् १९०८ सम्म अमेरिका जस्तो राष्ट्रमा पनि काम गरेअनुसारको पारिश्रमिक पाउनुपर्यो भनेर न्युयोर्क सहरमा काम गर्ने महिला सडकमा उत्रिएका थिए। आज पनि घरको काम गर्ने, दिनभर घरमै बस्ने हाम्रा नेपाली महिलाको श्रमको महत्व हामी त्यति बुझ्दैनौँ। दिनभर घर बसेर घरको व्यवस्थापन गरेका कारण आफूलाई सहज भएको पनि प्रायः पुरुषले बुझ्दैनन्।
सन् १९०८ मा १५ हजार महिलाले न्युयोर्क सिटीमा काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै महिला आन्दोलनको बीजारोपण भएको थियो भन्न सकिन्छ। त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो।
अमेरिकामा मात्र सीमित नराखी यो दिवसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने उपाय क्लारा जेट्किनको थियो। उनले सन् १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा यो माग राखेकी थिइन्। त्यहाँ १७ देशका १०० महिला सहभागी थिए र उनीहरू सबैले उनको सुझाव र मागप्रति सहमति जनाए।
त्यसपछि, पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्यान्डमा मनाइयो। यो वर्ष हामी १२१ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदैछौँ। तर संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि यसले आधिकारिक मान्यता पायो। अहिले आएर महिला दिवसमा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा कुन स्थानमा पुगेका छन् त्यो मूल्यांकन गर्ने गरिन्छ। महिलामाथि हुने निरन्तरको असमानता न्यूनीकरण होस् भन्ने चेतना जगाउनका लागि अभियान प्रदर्शन र आयोजना गर्ने प्रचलन अझै बाँकी छ।
महिलालाई रोटी र शान्ति
सन् १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन। महिला आन्दोलनको चार दिनपछि तत्कालीन सम्राटले पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो। त्यहीँबाट आजसम्म मार्च ८ लाई महिला दिवसका रूपमा मनाइन्छ।
यसबाट प्रष्ट हुन्छ महिलाले निम्नतम आवश्यकता, शान्ति, प्रेम र मताधिकार प्राप्त गर्न धेरै प्रयास गरेका रहेछन्। महिला सृष्टिका स्रोत, घरका व्यवस्थापक, समाजका अभिन्न अंग हुँदाहुँदै पनि विभेद किन सिर्जना भयो होला? आजसम्म सबैको मनस्थितिबाट निस्किने जिज्ञासा बनेर बसेको छ। अन्तर्राष्ट्रिय महिला आन्दोलनको सुरुवाती र महिलामाथिको विभेदले झक्झक्याउँछ महिला भएकै कारण लैंगिक विभेदले समाज टुक्र्याउन खोजेको हो त?
सन् २०२० मा विश्व आर्थिक मञ्चलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय महिला दिवस अभियानले भनेको छ– झण्डै अरू एक शताब्दीसम्म लैङ्गिक समानता हुने छैन। हामीमध्ये कसैले पनि यो जीवनकालमा लैङ्गिक समानता देख्ने छैनौँ र हामी धेरैका सन्तानले पनि देख्ने देखिँदैन। युएन वुमनको सन् २०२० को तथ्याङ्कले कोरोना भाइरसको विश्वव्यापी महामारीले २५ वर्षको बढ्दो लैङ्गिक समानतालाई पछाडि पार्ने खुलासासमेत गरेको थियो।
महामारीका कारण महिलाहरू उल्लेख्यरूपमा घरायसी कामकाज र परिवारको रेखदेख गरिरहेका छन्। यसले गर्दा महिलाको जागिर र शैक्षिक अवसरहरूलाई असर गरेको छ भन्ने उनीहरूको दाबी छ। कोरोना भाइरस महामारी फैलिन थालेको बेलामा सन् २०२० मा विश्वभरि र्याली भए। किर्गिस्तानको राजधानीमा सन् २०२० मा भएको प्रदर्शनमा दर्जनौँ महिलालाई प्रहरीले गिरफ्तार गरेको थियो। उक्त प्रदर्शनका अभियानकर्मीहरूले महिलाका अधिकारहरू खस्किँदै गएको बताएका थिए।
पाकिस्तानमा पनि हिंसा र मुद्दा लाग्न सक्ने धम्की दिइए पनि थुप्रै सहरमा महिलाद्वारा र्यालीहरू भएका थिए। मेक्सिकोमा महिलाविरुद्ध हिंसा बढ्दै गएको भन्दै ८०,००० मानिस सडकमा ओर्लिएका थिए। त्यसक्रममा ६० भन्दा बढी मानिस घाइते भए। अन्तर्राष्ट्रिय अभ्यास हेर्दासमेत विगतका केही वर्षमा महिला आन्दोलनको उचाइ कहिल्यै नपुगेको उचाइमा पुगेको भनेर बुझ्न सकिन्छ। त्यसो त सन् २०२० मा अमेरिकामा उपराष्ट्रपति एक महिला बनिन्।
कमला ह्यारिस उपराष्ट्रपति बन्ने पहिलो महिलामात्रै नभएर पहिलो अश्वेत र पहिलो एशियाली अमेरिकी पनि हुन्। सन् २०१९ मा पाँचजना महिलाले नेतृत्व गरेको नयाँ गठबन्धन सरकार निर्वाचित भयो। नोर्दन आयरल्यान्डमा गर्भ पतनलाई अपराध नहुने व्यवस्था गरियो। सुडानमा सार्वजनिक स्थलमा महिलाले कस्तो लुगा लगाउनुपर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कानुन खारेज गरियो। यसले गर्दा महिला आन्दोलन र नेतृत्वले परिवर्तन ल्याएको अन्तर्राष्ट्रिय अभ्यास बुझ्न सकिन्छ।
महिला दिवसको फरक फरक अभ्यास
अन्तर्राष्ट्रिय महिला दिवसका दिन धेरै देशमा सार्वजनिक बिदा दिइन्छ। नेपालमा पनि कामकाजी महिलाहरूलाई एक दिन छुट्टी हुन्छ। नेपालमा हप्तौँदेखि सरकारी, गैरसरकारी र सामुदयिकरूपमा पनि महिलाका मुद्दालाई समेटेर महिला दिवसको कार्यक्रम राखिएको हुन्छ। कतिले यो अभियानलाई वार्षिक पर्व तर कुनै रूपान्तरण ल्याउन नसकेको र एउटै रूपको कार्यक्रम भनेर आलोचना पनि गर्ने गर्छन्।
रूसमा पनि मार्च ८ का दिन महिलालाई छुट्टी दिइन्छ र त्यहाँ महिला दिवसको ४–५ दिन अघिबाट फूलको व्यापार हुने गर्छ। महिला दिवसको दिन महिलालाई फूल दिएर सम्मान गर्ने प्रचलन भएकाले फूलको व्यापार बढी हुने गरेको बताइन्छ। चीनमा मार्च ८ तारिखमा महिलालाई आधा दिन बिदा दिइन्छ। त्यहाँको राज्य परिषद्ले नै आधा दिन बिदा दिन सिफारिस गरेको हो तर धेरै रोजगारदाताले आफ्ना महिला कर्मचारीलाई आधा दिन बिदा दिँदैनन् भन्ने गरेको पाइन्छ।
इटलीमा यो दिन पहेँलो रङ्गको फूल एकअर्कालाई दिएर मनाइन्छ। यो परम्परा कसरी सुरु भयो स्पष्ट छैन तर दोस्रो विश्व युद्धपछि रोमबाट यसरी फूल दिने चलन थालिएको भन्ने उल्लेख छ। अमेरिकामा मार्च महिनालाई नै महिलाको ऐतिहासिक महिना मानिन्छ। प्रत्येक वर्ष यो महिनामा अमेरिकी महिलाको उपलब्धिको सम्मानमा राष्ट्रपतिले उद्घोष गर्ने गर्छन्।
महिलालाई मञ्च या मञ्चमा महिला भूमिका
अनौठो अभ्यास थालिएको छ नेपालमा। कुनै पनि कार्यक्रम तय हुनासाथ कम्तीमा एकजना महिला त चाहियो भन्दै आयोजकहरू हतासमा हुन्छन्। महिलाले स्थानीय तहदेखि केन्द्रसम्म हुने विभिन्न महोत्सव, विचार गोष्ठी वा सम्मेलनहरूमा महिलाको आवाजलाई ठाउँ नदिइएको वा दिइए पनि कम महत्वका साथ दिने गरिएको भन्दै बारम्बार प्रश्न उठाइरहेका कारण यस्तो अभ्यास बसेको भन्ने भनाइ सुनिन्छ। के प्रत्येक क्षेत्रमा विज्ञता हासिल गरेका महिला नभएकै हुन् नेपालमा? त्यसको खोजी भएको हुँदैन या महिलाहरू स्वयं अगाडि देखिन नचाहने कारण महिलालाई उपस्थित गराउन हम्मे परेको हो?
मञ्चमा महिला आवश्यक भएर भन्नु र आयोजित कार्यक्रममा महिलाको आवाज, विचार, सुझाव र अनुभव आदान–प्रदान भनेर बोलाइनुमा फरक छैन र? देखावटीका लागि महिला, कर्तव्य पूरा गर्न महिला या योगदान पुर्याउन सक्ने भएकै कारण महिला? कतिपय कार्यक्रमका प्यानलमा महिला शून्य रहेको भन्दै व्यापक विरोध हुने समाचार, महिला नभएको कारण कार्यक्रम बहिष्कार जस्ता समाचार आउनु भन्दा महिलाको योग्यताको कदर गर्दै भूमिकामा महिला भनेर अभ्यास अगाडि बढाउँदा उत्कृष्ट सोच प्रष्फुटन हुन्थ्यो कि? महिला सहभागिताको बहस सङ्ख्या र सहभागिताका लागि भन्दा पनि महिलामैत्री नीति निर्माणका लागि भयो भने राष्ट्रिय क्षेत्रमा महिलाको योगदान राम्ररी पुग्न सक्छ। मञ्चमा महिला होइन कि योगदानमा महिला भन्ने अवधारणा विकास हुनुपर्ने देखिन्छ।
प्रकाशित: २४ फाल्गुन २०७८ ०४:२४ मंगलबार