विचार

अब के कब्जा गर्ने?

राज्यसत्ता कब्जाको डिङ हाँक्नेहरूले अविलम्ब राजनीतिक मायामोह त्यागेर काशी प्रवासमा गए हुन्छ। यसै पनि आफ्नै एकसरो लंगौटी जोगाउन लडाइँ गर्नुपर्ने टीठलाग्दो वस्तुस्थितिमा राज्यसत्ता कब्जा स्वयंमा भद्दा मजाक हुन्छ। काशीवासमा क्रान्तिको तलतल लाग्यो भने ‘हरे राम, हरे कृष्ण' का ठाउँमा ‘हरे मार्क्स, हरे माओ' गाउने सुविधा स्वतः उपलब्ध हुनेछ। कब्जावादी कमरेडहरूले न्यूनतम इमानदारी प्रदर्शन गर्ने उच्चतम अवसर यही हो।किनभने, सिंगो देश दलालहरूले कब्जा गरिसके। दलालबाहेक अन्यका निम्ति कब्जा गर्नका लागि अब आफ्नै घरका झ्यालढोकाका कब्जामात्र बाँकी होलान्। त्यो पनि कुन्नि!
जमिन, जल, जंगल, खानी, बजार, सडकदेखि श्रमशक्ति, जनानाको जवानीसम्म...दलालले कब्जा गर्न बाँकी देशका कुनै पनि अंग, हिस्सा र आयाम बाँकी छैनन्।
र, अहिले देशभरिका दलालका अगाडि एउटै प्रश्न छ– ‘अब के कब्जा गर्ने?'     
यही प्रश्नको जवाफ खोज्ने उपक्रममा दलाल बादशाहको दरबारमा भारदारी सभा चलिरहेको थियो। दलाल भारदारहरू राष्ट्रिय पोसाकमा उपस्थित थिए। उनीहरूको राष्ट्रिय पोसाक यस्तै भन्ने हुँदैन। पोसाक जेसुकै होस्, त्यसमा अनिवार्यतः बढीभन्दा बढी खल्ती हुनुपर्छ। किनभने, तिनमा विविध कामबाट आउने नौरंगी कमिसन अटाउनुपर्छ। खल्तीका संख्याका दृष्टिले दलाल बादशाहको पहिरन बडो राजसी थियो। देशको नाम चलेको फेसन डिजाइनरले विशेष तवरले बनाइदिएको थियो। गणितमा कमजोर मान्छेलाई बादशाहको पोसाकका खल्ती गन्न एक जुगै लाग्न सक्थ्यो।
‘अब के कब्जा गर्ने?' भन्ने चिन्ता निवारणका लागि सभामा उपस्थित भए पनि दलालहरू हाँसीखुसी देखिन्थे। आज देशमा कसैले खुसी हुने औकात राख्छ भने, कसैले हाँस्ने हैसियत राख्छ भने, त्यो केवल दलालले राख्छ। समस्त प्रतिकूलताबीच सास फेर्नसमेत मुस्किल हुने सामान्य नागरिकले हाँस्ने दुस्साहस गर्न सत्तै्कन। अचम्मको विडम्बना त के छ भने देशमा हास्य टेलिसिरियल जति ‘हिट' केही पनि छैनन्। र, पनि सामान्य नागरिक हाँस्न सक्दैन। मुखबाट ह...हा...हि...ही...को खोक्रो ध्वनि निकाल्नुमात्रै हाँस्नु होइन।
बादशाह र उसको दरबारका नवरत्न अत्यन्त गम्भीर थिए। नवरत्न आआफ्ना क्षेत्रका महारथी थिए। जग्गा दलाल, स्त्री दलाल, जनशक्ति दलाल, विचार तथा सिद्धान्त दलाल, सवारी तथा यातायात दलाल, हतियार तथा खरखजाना दलाल, गरिबी निवारण तथा विकास दलाल, धर्म तथा आस्था दलाल र राजनीति दलालमध्येका सर्वाेत्कृष्टलाई नवरत्न चयन गरिएको थियो। र, यो विशुद्ध लोकतान्त्रिक चयन थियो।
भारदारी सभा मूल प्रश्नमा केन्द्रित भयो। ‘हामीले दलालीको जुन साम्राज्य खडा गरेका छौँ,' बादशाहको आवाज बादशाही सुहाउँदो गह्रुँगो र दम्भपूर्ण थियो, ‘त्यो विशाल छ, शक्तिशाली छ। यो देश हामीबाट सञ्चालित र नियन्त्रित छ। हाम्रो इसाराबिना राष्ट्रिय जीवनको एउटा पात पनि हल्लिँदैन। हामीले सबथोक कब्जा गरेका छौँ। तर, यतिमा सन्तुष्ट भइयो भने हाम्रो साम्राज्य दीर्घायु हुन सक्दैन। त्यसैले सोचौँ–अब के कब्जा गर्ने?'
बादशाहले मन्थनका लागि आग्रह के गरेको थियो, दलाल भारदारहरू आआफ्ना आसनबाट उठेर जोडजोडले कराउन थालेः
–अब हावा कब्जा गर्ने!
–अब आकाश कब्जा गर्ने!
–अब घाम कब्जा गर्ने!
–अब जुन कब्जा गर्ने!
एकाबिहानै कालिमाटी तरकारी बजारमा हुनेजस्तो कोलाहलले सभालाई निल्यो। बादशाहले दक्खल दिन मुनासिब सम्योग्। उँचो स्वरमा सभालाई एउटा भद्दा नमीठो गाली दियो। भारदारहरू थरहरी भए।
‘यस्तो पाराले टिक्छ साम्राज्य?' बादशाहले नजरमा आगो र बोलीमा बारुद समेटेर भन्यो, ‘तिमीहरू यहाँ दिल्लगी गर्न आएका हौ? हावा कब्जा गर्ने रे? आकाश, घाम, जुन कब्जा गर्ने रे? यस्तो तालले त तिमीहरूले आफ्नै बकवास र मूर्खतामात्रै कब्जा गर्न सक्छौ।'       
केही बेर सभा चकमन्न भयो।
नवरत्नमध्ये एक, स्त्री दलालले साहस जुटायो र अत्यन्त अदबसाथ झुकेर भन्यो, ‘बादशाह हजुर! अब हजुरले नै पार लाउनुपर्योव।' उसको बोली त्यो के जाति कन्डमको विज्ञापनले भन्ने ‘एक्स्ट्रा चिल्लोपना' लाई पनि माथ गर्ने खालको थियो।
‘म बताउँछु!' बादशाहले शान्त मुद्रा धारण गरेर भन्यो, ‘अब क्रान्ति कब्जा गर्ने। अब लोकतन्त्र कब्जा गर्ने। अब मान्छेको दिमाग कब्जा गर्ने। अब मान्छेको भूत, भविष्य र वर्तमान कब्जा गर्ने। अब मान्छेको सपना कब्जा गर्ने।'
भारदारी सभा ‘डिसमिस' भयो।
दलाल बादशाह भने कल्पनामा मग्न थियो। सायद ऊ त्यो दिनको कल्पना गरिरहेको थियो जुन दिन दलाललाई कमिसन नबुझाई नेपालीले सपना देख्न पनि पाउनेछैनन्।

प्रकाशित: २४ चैत्र २०७१ २२:०५ मंगलबार