लिङ्गपुराणका अनुसार शिवरात्रिका दिन स्नान गरेर दिनभर व्रत बसेर रातभर जाग्राम बसी पशुपतिनाथको दर्शन गर्नाले शारीरिक र मानसिक सम्पूर्ण दुःखबाट मुक्त हुन सकिन्छ।
प्राचीनकालमा पाशुपत क्षेत्र अर्थात पशुपतिनाथ रहेको स्थानमा त्रैलोक्य वंशेश्वरी लोकेश्वरको विहार थियो। यो स्थान बौद्ध, हिन्दु, जैन, शिख र वौद्धि समुदाय सबैको संयुक्त तीर्थस्थल हो। हरेक वर्ष शिवरात्रिका दिन नेपाल र भारतका विभिन्न स्थानबाट पशुपतिनाथको दर्शन गर्न लाखौँको संख्याका भक्तजन आउने गर्छन्। रातभर पशुपतिमा जाग्राम बसेर धुनी जगाउने भक्तजनहरू हजारौँको संख्यामा हुन्छन् भने त्यति नै साधुसन्त पनि आइरहेका हुन्छन्।
सबैभन्दा पहिला नेपालका द्यःब्रम्हु अर्थात नेवारी बाहुन राजोपाध्यायहरू नै पशुपतिनाथका पुजारी भइरहेका थिए। तर राजा यक्ष मल्लले भारतबाट भट्टहरू ल्याएर पशुपतिको पूजा गराउन थालेका हुन। पशुपतिनाथको नित्य पूजा तिनै भट्टहरूले गर्दै आइरहेका भए पनि पशुपतिनाथको महास्नान भने राजोपाध्यायहरूले गर्दै आइरहेका छन्।
पशुपतिनाथको नित्य पूजा गर्नुअघि रुद्री गर्ने चलन थियो। तर दक्षिण भारतका भट्टहरू आएर पुजारी भएपछि रुद्री गर्ने चलन पनि हट्दै गयो तर महास्नान भने चलिरहेको छ। महास्नान भनेको पनि रुद्री जस्तै नै हो। रुद्री भनेको धेरै बेरसम्म स्नान गराउने र महास्नान भनेको एकैचोटि स्नान गराउने हो। तर यसका विधि भने भिन्न छन्।
महास्नान पञ्चामृतले गराइने हो। पञ्चामृतमा घिउ, मह, दूध, दही र सखर राखिएको हुन्छ। यसरी घिउ, मह, दूध, दही र सखरले स्नान गराइनेलाई महास्नान भनिएकामा पनि रहस्य रहेछ। बृहत् पुरश्चरणको तेस्रो खण्डमा काली विद्याको २८ औँ हरफमा यसरी लेखिएको छ– यत्रांवश्य विनिर्दिष्ठ मदिरा दान भुक्तमय्। ब्राम्हणस्ताम्रपात्रे तु गब्यमधं प्रकल्पेत ।
यो भनाइअनुसार तामाको भाँडोमा घिउ, मह, दूध, दही, सखर राख्नाले रक्सी बन्न पुग्छ। यी पाँच परिकारलाई तन्त्रको क्षेत्रमा अमृतका रूपमा लिइएको छ। रक्सीको प्रतीक घिउ, मह, दूध, दही र सखर हो भने तामाको प्रतीक माटोको भाँडो राखिराखेको हो।
पशुपतिमा यो महास्नान सिधै भट्टहरूले गर्न पाउँदैनन्। महास्नान गर्नुअघि दक्षिणतर्फको सत्तलमा जट्टा नरिवल एउटा राखेर चाँदीको कलश स्थापना गरेर यज्ञ गरिन्छ। यो यज्ञ राजोपाध्यायहरूले गर्छन्। पहिला मखनका राजोपाध्यायहरूले यो यज्ञ गर्दै आएको देखिन्छ। मखनका राजोपाध्याय विष्णु भक्तनन्दसँग भएको एउटा लालमोहरमा यस्तो लेखिएको छ– स्वस्तिश्री गिरिराजचक चुडामणि नरनारायणत्यादि विविध विरूपावलि विराजमान मानोन्नत १ मन्महाराजाधिराज श्री श्री श्री महाराजेन्द्र विक्रम साह बहादुर शम्सेर जङ्गदेवा नाम सदा समय विजयी नाम...।
अजे इह्वरानन्दपाध्यायके ... यज्ञबाट महिना महिनामा महास्नान महाबली चढाउँदा यज्ञ गर्नाको अख्तियारी तिमीहरूलाई बक्सन भयाको रहेछ आज हामीले पनि षोसमीन नास्ति गरी बक्स्यौं। आफ्ना खार्तिमा अघिदेखि गरी आया बमोजिम महाबी पकाउनमा पुराण पहन्या ब ब्राम्हणहरू आफुले जाँचिराखी यज्ञ र महापुजा १ गरी आफ्ना दस्तुर लि भोग्य गर हामीलाई आशिर्वाद दिंदै रह इति सम्वत १८८२ साल पौष सुदि १० रोज ४ शुभम् ..।
यो लालमोहरमा उल्लेख गरिएका इश्वरानन्द मखनका विष्णुभक्त नन्दका पुर्खा हुन। पहिला मखनका राजोपाध्याय ब्राह्मणहरूले गर्दै आइरहेको कुरा यो लालमोहरबाट थाहा हुन्छ। हाल यो कार्य अर्थात महास्नान र पूजा गर्ने कार्य चिकंमुगलमा बस्ने चाँगु नारायणका पुजारीहरूले गर्दै आइरहेका छन्।
पशुपतिको महास्नान यज्ञ गरिरहँदा यज्ञको नजिकै राँगोको जीेउमा भएको मासु टुक्रा राखेर तान्त्रिक विधिअनुसार आचाजुहरूले बलि पूजा गरिरहन्छन्। पछि यो मासुको टुक्रा राख्ने चलन रहेछ। यज्ञ सकिनेबित्तिकै कलशमा राखिएको सिंगो नरिवल राजाकहाँ पठाउने चलन थियो। राजाले नरिवल छोएर पैसा दक्षिणा चढाएर फिर्ता पठाउने चलन थियो। नरिवल फिर्ता आएपछि नरिवलका साथै चाँदीको कलश झिकेर द्यःब्रम्हु राजोपाध्यायले मन्दिरमा रहेका मूल भट्टलाई दिन्छ। त्यही कलशको जलले पहिला पशुपतिको महास्नान गरिन्छ। अनि पञ्चामृतले स्नान गराइन्छ।
पशुपतिनाथलाई महास्नान गराइरहँदा उन्मत्त भैरवको मन्दिरमा आचाजु (कर्माचार्य) हरूले गरेको दुविस्ता पूजा (विधिपूर्वक) सिध्याइसकेपछि मात्र महास्नान पूजा पनि सिध्याइन्छ।
पशुपतिलाई महास्नानपश्चात महाभोग चढाइन्छ। महाभोग चढाउने क्रममा दक्षिणपट्टि रहेको ठूलो तामाको पातामा एक तोला सुनको टुक्रा राखेर भातको थुप्रो लगाएर राखिन्छ। भातको थुप्रो वरिपरि दाल खन्याइन्छ। तरकारी पनि घुमाएरै राखिन्छ। अनि विभिन्न किसिमका रोटी मिठाइ राखिन्छ। रोटी मिठाइ राख्दा पनि कुन कुन देवताका प्रतीक हो भन्ने कुरा थाहा लाग्छ। जस्तै– जपमाला र पुस्तकको रूपमा रोटीहरू राखिएको छ भने ब्रम्ह्माको प्रतीक भनेर बुझिन्छ।
शंख, चक्र, गदा, पद्मका रूपमा रोटी राखिएको छ भने विष्णुको प्रतीक भनी बुझ्न सकिन्छ। त्यस्तै त्रिशूल र डमरुका रूपमा आकारका रोटी राखी प्रदर्शन गरिएको छ भने महेश्वरको प्रतीक भनेर थाहा पाउन सकिन्छ। यसरी ब्रह्मा, विष्णु, महेश्वरको रूप पशुपति महादेव नै हुन भनी थाहा पाइन्छ। अघोर रूप भैरवको प्रतीकका रूपमा ठूलो ख्वाःपाः मरि पनि राखिएको हु्न्छ। अनि द्यःब्रम्हुले संकल्प गरेर पूजा गरिन्छ भने मूल भट्ट देवालयमा बसी विधिपूर्वक पूजा गरिन्छ।
यसै सन्दर्भमा आचाजुले तान्त्रिक विधिअनुसार कीर्तिमुख भैरवको पूजा गरिन्छ। अनि पशुपतिको अघोर रूपलाई महाभोगमा पशुका (धागो) डुबाइन्छ। कीर्तिमुख भैरवलाई राँगो, बोका बलि दिएर पूजा गरिन्छ। यसरी पूजा गरिसकेपछि तान्त्रिक महास्नानको विधि सकाइन्छ।
प्रकाशित: १६ फाल्गुन २०७८ ०१:४२ सोमबार