युक्रेनसँगको सीमाबाट रूसले आफ्ना केही सेना फिर्ता गरेको छ। रूसी सेनाको फिर्तीसँगै रूसका विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले टेलिग्राममा लेखिन्, “सन् २०२२ को फेब्रुअरी १५ पश्चिमा युद्धोत्तेजक प्रचारबाजी असफल भएको दिनका रूपमा इतिहासमा अङ्कित रहनेछ। एउटा गोली पनि नचलाई उनीहरूका ती सबै प्रचारबाजी असफल बनाइएको छ।” रुस–युक्रेन सङ्कटको सुरुवातदेखि नै सक्रिय रहेका पश्चिमा प्रचार यन्त्र र उनीहरूले गर्दै आएको युद्धोत्तेजनाको निम्ति यो पक्कै पनि गतिलो झापड हो।
केही दिनअघि मात्र अमेरिकाले कुनै पनि बेला युक्रेनमा रुसी हमला सुरु हुन सक्ने दाबी गरेको थियो। हमलाको क्रममा हवाई आक्रमण पनि हुन सक्ने भन्दै चर्को हल्ला गरिएको थियो। सञ्चार माध्यमहरूले अमेरिकी अधिकारीहरूका दाबीलाई गैरजिम्मेवार ढङ्गले उचाले। परिणामतः अमेरिकासहित अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायत, जापान, लात्भिया, नर्वे, नेदरल्यान्ड र इजरायललगायतका उसका साझेदार देशहरूले आआफ्ना नागरिकलाई रुसी हमलाबाट जोगिन भन्दै युक्रेनबाट बाहिर निस्कन आग्रह गरे।
रुस र युक्रेनबारे पछिल्ला सूचना सार्वजनिक गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, “हमलाको ठूलो सम्भावना छ।त्यसकारण मैले बारम्बार युक्रेनमा रहेका सबै अमेरिकीहरूलाई पछि सुरक्षित रूपमा बाहिरिन कठिन नहुँदै त्यहाँबाट फर्किन आग्रह गरिरहेको छु। हमला हुन सक्ने भएकाले युक्रेनस्थित हाम्रो दूतावास किभबाट पश्चिम युक्रेनको लिभमा अस्थायी स्थानान्तरण गरेका छौँ।”
सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा सेना परिचालन गरे पनि रुसले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै सोच नभएको बरु आफ्नो सुरक्षा चासोलाई अन्तर्राष्ट्रिय समुदाय विशेषतः युक्रेन र नाटोले सम्बोधन गर्नुपर्ने माग गर्दै आएको छ।हालसालै रुसी रक्षा मन्त्रालयले रुसी सेनाका ट्याङ्कहरू आफ्ना आधारतिर फर्किंदै गरेको श्रव्यदृश्य सार्वजनिक गर्यो। त्यसले रूस युक्रेनमाथि हमला गर्ने मनस्थितिमा नरहेको देखाएको छ।
त्यसबाहेक स्थानीय समाचार संस्था आइफ्याक्सअनुसार सैन्य अभ्यास सम्पन्न गरेर रुसी सेना आफ्ना आधारमा फर्किसकेका छन्। रुसी रक्षा मन्त्रालयका प्रवक्ताले भनेका छन्, “दक्षिण र पश्चिमी सैनिक क्षेत्रमा तैनाथ एकाइहरूले आफ्ना जिम्मेवारी पूरा गरेर रेल र अन्य सवारी साधनमा आफ्ना सरसामान लोड गर्दैछन्। उनीहरू अब आआफ्ना सैनिक ब्यारेकमा फर्किने छन्।” सीमा क्षेत्रबाट रुसी सेनाको आंशिक फिर्तीले यतिबेला लडाइँ गर्ने रुसको कुनै गम्भीर मनसाय नरहेको देखाएको छ। उसले युक्रेनलाई नाटोमा सरिक नहुन चेतावनीस्वरूप मात्र सीमा क्षेत्रमा केही सेना लगेको देखिन्छ।
गत फेब्रुअरी ५ को साँझ ४ बजे अमेरिकी सञ्चार माध्यम ‘ब्लुमबर्ग’ ले आफ्नो वेभसाइटमा एउटा समाचार प्रकाशन गर्यो। त्यसको शीर्षक थियो– ‘युक्रेनमाथि रुसको हमला।’ पछि एउटा वक्तव्य जारी गरी सो समाचार गल्तीवश प्रकाशित भएको भन्दै उसले माफी माग्यो।ब्लुमबर्गको त्यही समाचारलाई आधार मानेर केही सञ्चार माध्यमहरूले भने ‘रुसी हमला’ को समाचार प्रकाशित गरिसकेका थिए।
पश्चिमा समाचार संस्थाले प्रदर्शन गरेका गैरजिम्मेवार पत्रकारिताका घटनामध्ये यो पनि उस्तै घटना बन्न पुग्यो। रुस–युक्रेन सङ्कटमा उनीहरूले सिर्जना गर्न खोजेको सनक यो घटनाबाट छताछुल्ल भयो। जनवरी महिनामा युक्रेनका राष्ट्रपति भोलादिमेर जेलेन्स्कीले पश्चिमा देशका सञ्चार माध्यमप्रति सङ्केत गरेर रुससित द्वन्द्वको विषयमा ‘भय’ सिर्जना नगर्न आग्रह गरेका थिए। उनले पत्रकार भेटघाटमा भने, “हामीलाई यो भय चाहिएको होइन।” यस्तो भयले त्यसै पनि शिथिल बनिसकेको युक्रेनको अर्थतन्त्रलाई प्रभावित बनाएकामा उनी चिन्तित थिए।
कोही व्यक्ति वा कुनै देशबारे जब गलत सूचना फैलिन्छ, त्यसले सर्वसाधारण जनताको बुझाइ र नीतिलाई प्रभावित बनाएको हुन्छ। पश्चिमा सञ्चार माध्यमहरूले कुनै पनि बेला सुरु हुन सक्ने रुसी हमलाबारे सावधानी प्रसारण गरिरहेका छन्। यस्ता झुटा प्रचारबाजीले अविश्वास, सङ्कट र विनाशको अवस्था समेत निम्त्याउन सक्छ। रुसमा धेरै मानिसले ‘लडाइँ कुनै पनि बेला हुन सक्ने’ अमेरिकी सावधानीलाई ‘मानसिक समस्या’ र ‘बहुलठ्ठीपना’ को संज्ञा दिएका छन्।उनीहरूमध्ये केही मानिस अमेरिकाले जानाजान आगोमा घ्यु थप्ने र भय बढाउने काम गरिरहेको बताउँछन्।
पश्चिमा सञ्चार माध्यमहरूले आफ्ना पूर्वाग्रही गलत समाचार सम्प्रषेणका कारण भइरहेको क्षति, विशेषतः मनोवैज्ञानिक असरबारे बुझ्न जरुरी छ। बितेका केही सातामा सिर्जना गरिएका प्रचारबाजी ज्यादै अतिरञ्जनापूर्ण थिए र युक्रेनको समग्र सङ्कटमा अमेरिकी र अन्य पश्चिमा सञ्चारमाध्यमले आगो झोस्ने भूमिका खेलिरहेका छन्। चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार भेटघाटमा त्यसबारे प्रतिक्रिया जनाउँदै भने, “तनावको पक्षमा वकालत गर्नु पुरानो शीतकालीन युद्ध रणनीतितिरको प्रतिगमन हो।”
युक्रेन सङ्कटको सुरुदेखि नै पश्चिमा सञ्चार माध्यमले रुसको विरोध गर्दै आएका छन्। चीनले युक्रेनबारे अतिरञ्जनापूर्ण प्रचारबाजीलाई ‘गैरजिम्मेवार’ बताउँदै सबै पक्षलाई निष्पक्ष र खुला ढङ्गले राजनीतिक समाधानका लागि आवश्यक अवस्था बनाउनमा जोड दिएको छ।
रुस र युक्रेनबीच तनाव थप बढ्न नदिन सहज भूमिका खेल्नुको सट्टा पश्चिमा सञ्चार माध्यमहरूले युद्धको अतिरञ्जना फैलाइरहेका छन्। उनीहरूले अवस्थाको संवेदनशीलताको फाइदा उठाइरहेका छन्। सन् २००३ मा पनि अमेरिकी अधिकारीहरूले यस्तैखालको युद्ध उचाल्ने र झुटा/भ्रमपूर्ण प्रचारबाजी गरेर इराकसँग आमविनाशकारी हतियार भएको दाबी गर्दै त्यहाँ हमला गर्ने परिस्थिति बनाएको थियो।
युक्रेन सङ्कटको परिस्थितिमा सिर्जना गरिएको अतिरञ्जना निकै गैरजिम्मेवारपूर्ण छ। यसले रुसको बदनाम गर्न अमेरिका र पश्चिमा सञ्चारमाध्यम बारम्बार अज्ञात स्रोतको हवाला दिएर कहाँसम्म जान सक्दा रहेछन् भन्ने देखाएको छ।बितेका दुई महिनामा युक्रेन–रुस सङ्कट थप तनावपूर्ण भएको छ।
सो क्षेत्रमा सम्भावित लडाइँलाई लिएर सिंगो संसार चिन्तिन छ। यस्तो परिस्थितिमा जिम्मेवार सञ्चारमाध्यमले जताततै सघन बनेको मानसिक दबाबलाई सहज बनाउन मद्दत गर्न सक्थे। अहिले एकपछि अर्को कूटनीतिक प्रयासको परिणामस्वरूप रुसी सेना फिर्ता हुनुलाई राम्रो संकेत मान्न सकिन्छ। शान्ति र वार्ताका निम्ति यो कदम निकै महत्त्वपूर्ण छ। चाँडै नै पश्चिमाहरूले फैलाएको युद्धको उत्तेजना मत्थर हुनेछ। रुसले अमेरिकालाई ‘उपलब्धिमूलक संवाद’ को प्रतीक्षामा रहेको र ‘मिलेर काम गर्न’ जारी राख्नुपर्ने मत राख्दै आएको छ।
(स्वतन्त्र अध्येता, इस्लामावाद)
प्रकाशित: ८ फाल्गुन २०७८ ०२:५० आइतबार