विचार

पीडामा गुम्सिएका अत्यासलाग्दा २० वर्ष

आज बीस बर्ष बितेछन्, बुबा मुक्तिनाथ अधिकारीको तत्कालीन माओवादी आततायीद्वारा चीरहरण गरिएको। आमाको सिन्दुर पुछिएको, जीवनका आशा/भरोसा चुँडिएको र हामीलाई सधैँका लागि टुहुरो बनाइएको।

हाम्रा सपना टुटाइएको, खुसी लुटिएको, सम्बन्ध चुँड़ाइएको, प्रगतिहरू रोकिएको त्यो कालो दिन २०५८ माघ ३। बीस बर्ष मानव सभ्यता र विकासका लागि छोटै होला तर एक व्यक्तिको जीवनका लागि अत्यन्त लामो हो। झन् पलपलमा तड्पिनुपर्ने पीडितहरूका लागि त औधी पट्यारलाग्दो लम्बेतान जुग नै रहेछ।  

बीस वर्षअघि जनताको कथित मुक्तिको नाममा माओवादीले देश र जनतामाथि थोपरेको हत्या हिंसा हाम्रा लागि क्रूर नियति बनेर आयो। अरूको खुसी लुटी आफू रमाउने, रगतको होली खेल्ने, श्रीखण्ड र खुर्पाको बिँड नचिन्ने, एउटा वाचा गर्ने अनि अर्कै रमणीयता गर्ने देख्दा हामीमा वेदना थपेकै छ। कहिले सोच्छु र दुःखित हुन्छु, तत्कालीन माओवादी जनसरकार प्रमुख बाबुराम भट्टराईलाई जस्तै हामीलाई पनि आफ्ना प्यारा बाबु/आमासँग केबलकार चढ्ने, सँगै घुम्ने रहर हुँदाे हो।

परिवारजनसँगै बसेर राम्रो लगाउने र मीठो खाने चाहना हुँदाे हो। बुबाको साथमा बसी उहाकै हातको टीका र आशीर्वाद ग्रहण गर्ने, मायाममता र अभिभावकत्व ग्रहण गर्ने इच्छा हुँदाे हो। मेहनत गरी आफूले गरेको प्रगतिको फल चखाउने मन हुँदो हो। तर खुसी न त पिताको ललाटमा रहेछ न त हाम्रो जीवनमै। हुन पनि शायद हामीलाई त्यो छूट छैन, किनकि हामी त आफू गल्ती नगरिकनै बनाइएका न्यायका भिखारी हौँ। अथवा हामी हत्या हिंसाको जवाफ रचनात्मक काम र शान्तिपूर्ण न्यायिक अभियानमार्फत दिनेहरू हिंस्रकहरूका नजरमा कातर पो हौँ कि?

अनुत्तरित प्रश्नहरू

“मनको बह कसैलाई नकह“ भनेझैँ हामी पीडितहरू बीसौँ वर्षदेखि पीडा वेदना लुकाइ न्यायको खोजीमा हिँडिरहेका छौँ। आफ्ना प्रगतिका चाहना, योजना र सपनाहरू सुकाउँदै, आफन्त र परिवारजनसँग लुकामारी खेल्दै दिन/रात नभनी कहिले यता त कहिले उता ढोका ढक्ढक्याउँदै आएका छौँ। लेखाजोखा छैन कति निद्रा फालियो, कति भोकै हिँडियो, कति आँसु झारियो, कति जुत्ताचप्पल फटाइयो, कतिलाई झक्झकाइयो न्याय देऊ भनेर, “अचानोको पीर खुकरीलाई के थाहा“, न झरी, न घाम, न धूलो धुवाँ, न चाडबाड, लगाब छ त केबल सत्य र न्यायको खोजी अनि जवाफको पर्खाइमा। निमुखा नागरिकको पक्षमा उभिनुपर्ने सरकार न्याय प्रक्रियालाई अवरोध गरेर न्याय पाउने अधिकारलाई कहिल्लै नटुङ्गने यात्राजस्तो बनाउन खोज्दैछ।

धेरै अनुत्तरित प्रश्नहरू छन् हामीसँग, बुबाको हत्याका जिम्मेवार माओवादी नेतृत्व र दोषी कार्यकर्तासँग, अनि विद्रोहीको प्रतिस्पर्धामा जघन्य मानवाधिकार उल्लङ्घन गर्ने तत्कालीन सरकारसँग। विद्रोही र सरकारबीचको बदला निर्दोष नागरिकहरूको जीवनमाथि बजार्न युद्धको कुनचाहिँ नियमले मिल्छ? सृष्टिका सुन्दर फूलहरूलाई अनाहकै चुँडाउने, होनाहार नेपाली आमाका सपुतलाई नास्ने अधिकार कसले दियो? विद्रोही र सरकारले गरेको जघन्य अपराधको जवाफदेहिता आ–आफूले लिनुपर्छ कि पर्दैन?

कठै त्यो अपुरो जिन्दगी

बुबा ‘नबिराउनु नडराउनु, खाएको विष पो लाग्छ’ भन्नुहुन्थ्यो। अफसोस उहाँकै हकमा त्यसो हुन सकेन। हुन पनि, सादा जीवन र उच्च विचारका सच्चा सम्बाहकलाई चाकरी चाप्लुसी, भ्रष्ट र लुटेरा प्रवृत्तिले कसरी चिनोस्। माओवादीको हत्या हिंसा आतंकको त्रासले कैयौँ व्यक्ति गाउँबस्तीबाट विस्थापित हुँदा बुबा स्कुलको जिम्मेवारी लिएर बस्नुभयो। काल लिएर उपस्थित भएका मानवरूपी यमराजका सामु कायरतापूर्वक घुँडा नटेकी, वीरतापूर्वक मृत्यु सामना गर्ने बुबाको साहसलाई सलाम छ। सबैलाई अवगतै छ, उहाँ शान्त, सौम्य र सुशिक्षित, नेपाल आमाले गर्भ गर्न लायक सपुत हुनुहुन्थ्यो।

अति प्रतिभाशाली भएर पनि सहरका मानसम्मान, प्रगतिका असीमित अवसर र सुखको चाहना छोडी जन्मथलो कर्मभूमि गाउँमै रगत पसिना र परिश्रम बगाउने चाहना र बाध्यताले दूरदराजका नागरिकमा शिक्षा, समाज विकास र मानव अधिकारको चेतना छर्न खट्नुभयो।

इच्छा कति हुँदा हुन्, अरूलाई ज्ञानको ज्योति छर्ने, समाजसेवा गर्ने। तर ती युवावस्था (४५ वर्ष) मै बिलाए, जीवनका सपनाहरू अधुरा अपुरा रहे। कहिल्यै किंकर्तव्यविमुख र कामचोर नबन्ने, केबल मेहनत, साहस र स्वाभिमान अंगाल्ने, कुरीति, कुसंस्कार, दुव्र्यसन र अन्यायविरुद्ध उठ्ने, हत्या हिंसाको विरोध गर्ने बुबाको आवाज र अभियान कथित क्रान्तिका नाममा निमोठियो।

आज बुबा रहनुभएको भए जम्मा ६५ वर्षको मात्र हुनुहुन्थ्यो। स्वस्थ, अनुशासित र हट्टाकट्टा शरीर हुनुभएको स्वास्थ्य र खानपिनमा खास ध्यान दिने बुबा अझै धेरै वर्ष बाँच्नुहुन्थ्यो, परिवार र समाजलाई अभिभावकत्व, आडभरोसा प्रदान गर्नुहुने थियो। तर कुनै खुसी र सुखको अनुभूति गर्न नपाउँदै दुःख दुःखमै अत्यन्तै अमानावीयतापूर्वक उहाँको सास थिचियो। यता परिवारजनको अरू कामै नभएझैँँ फगत न्याय माग्दैमा जुग जाने भयो।

पीडामाथि पीडाको उदाहरण  

बुबा छँदैमा २०५५ तिहारताका केही व्यक्ति गाउँको चन्द्रपाटामा रहेको नेपाल बैंक लुट्न आए। बैंक सुरक्षा गार्ड बालकृष्ण नेउपानेमाथि आक्रमण गरी घाइतेसमेत बनाए। होहल्ला र प्रतिकार भएपछि ती लुटेरा भाग्न खोजे। बैंक लुट्न खोज्ने लुटेराहरूलाई गाउँले मिली समात्यौँ। आक्रोशित गाउँलेले लुटेरालाई आक्रमण गरेर ज्यानै लिन खोज्दा बुबा, म, ठाकुर तिवारीलगायतका केही व्यक्तिले भिडको आक्रमणबाट छेकेर उनीहरूको ज्यान जोगाएका थियौँ। पछि थाहा भयो, बैँक लुट्न आउने ती लुटेरा माओवादी पो रहेछन्। खैर, जोसुकै भए पनि मानवीयताको नाताले कसैको ज्यान जोगाउनु हाम्रो कर्तव्य थियो र त्यसमा मलाई अझै पनि खुसी र गर्व लाग्छ।

तर उनीहरूको जीवन जोगाएको फल बुबाको ज्यान नै लिइयो। त्यही घटनाका कारण धेरैले मलाई घर नजानु माओवादीले जे पनि गर्न सक्छन् भनेकाले धेरै वर्ष दसैँ तिहारलगायत चाडपर्वमा पनि घर जान पाइन। परिवारजन, आफन्त र छरछिमेकसँग बसेर चाडवाड मनाउन, गाउँको हात्तीगाडेमा जम्मा भएर पिङ खेल्न नपाएको, उल्टो काठमाडौँमा एक्लै बस्नुपरेको अनुचित र अन्यास याद अझै पनि आउँछ। जे पर्ला भनेर बुबाको काजक्रिया गर्नचाहिँ घर गएँ, त्रासमै हतारहतारमा घर छाडेँ। शान्ति सम्झौतापश्चात धेरैपछि मात्र सहजरूपमा गाउँ जाने अनुकूलता मिल्यो।

ती २० वर्ष

परिवारजन र सन्ततिका खुसी र प्रगतिले ऊर्वर हुनुपर्ने २० वर्ष पीडित बनेर केही शोक, केही समाजसेवा र धेरै सत्यको खोजी तथा न्यायको लडाइँमै बिते। तर अफसोस, बीसौँ वर्षसम्ममा पनि न सत्य न त न्यायको कुनै संकेत देखिन्छ। तत्कालीन द्वन्द्वरत विद्रोही र सरकार पक्षले न पीडित नागरिकप्रति आफ्नो दायित्व बहन गरे न पीडितका आवाज नै सुने। बरु तिनै पीडितको पीडाको जगमा आएको गणतन्त्रमा मोजमस्तीमात्र गरे। पीडितलाई सानातिना कनिके चारोमा भुलाउने र लम्ब्याउने प्रयास गरे।

पार्टीका जिम्मेवार नेतृत्व तैँ चूप मैँ चूप रहे किनकि सत्यको खोजी उनीहरूलाई होइन, हामी पीडितजनलाई चाहिएको हो। उनीहरू दाता र हामी पीडितजन माग्ने जस्तो देखियो। देशमा साँच्चिकै लोकतन्त्र आएको भए, रूपान्तरण भएको भए त द्वन्द्वका नाममा अनाहकमा पीडित बनाइएका पीडित नागरिकको पीडामा मलम लगाउन सरकार आफैँ अग्रसर हुने थियो। यति साह्रो बेवास्ता गर्ने थिएन। शान्ति प्रक्रियालाई झुलाएर पीडितलाई उल्टो पीडामाथि पीडा कति थोपर्छौ ? काटेको घाउमाथि कहिलेसम्म कति नूनचूक छर्छौ सरकार?

अन्तमा,

सरकारको असम्वेदनशील र गैरजिम्मेवार व्यवहारबाट हामी धेरै दुखित छौँ तर विचलित छैनौँ। खासमा द्वन्द्वका नाममा भएका ज्यादतीहरूको स्वीकारोक्ति गर्नु, घटनाको निस्पक्ष अनुसान्धान गरी सत्य उजागर गर्नु र पीडितजनलाई न्याय प्रदान गर्नु राज्यको उत्तरदायित्व हो।

शान्ति प्रक्रियाको अभिन्न अंग हो। पीडितको नैसर्गिक अधिकार हो। यसरी बीसौँ वर्षसम्मको निरन्तरको न्यायिक यात्राका बाबजुद न्याय पाउन नसके पनि हामीलाई थाहा छ– हाम्रो आन्दोलन सकिएको छैन र छिट्टै टुंगिनेवाला पनि देखिँदैन। हाम्रो न्यायिक यात्रा जारी छ। विश्व मानचित्रमा ग्वाटेमाला, क्याम्बोडिया, बंगलादेशलगायतका देशमा दशकौँपछि पीडितले न्याय पाएका दृष्टान्त हाम्रासामु छन्।

प्रकाशित: ३ माघ २०७८ ०२:४६ सोमबार

मुक्तिनाथ अधिकारी तत्कालीन माओवादी