विचार

कर्णालीका किशोरी

'कर्णालीका महिलाको यौवनावस्था आउँदैन'– यो वाक्यद्वारा जुम्लाका महिला विकास अधिकृत अनिता ज्ञवालीले महिला हिंसाविरुद्धको १६ दिने अभियानको कार्यक्रमलाई सम्बोधन गर्दा यो पंक्तिकारलाई जिब्रो चिप्लिएको हो कि भन्ने जस्तो लाग्यो। विश्वासै लागेन।
त्यसपछि कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले आफूले त्यसै बिहान भेटेका १७ वर्षमात्रका युवतीहरू दुई बच्चाका आमा भइसकेको प्रसंग प्रस्तुत गर्नुले भने अधिकृत ज्ञवालीको भनाइ विश्वास गर्न बाध्य पार्योा। यी दुवै भनाइ साह्रै मार्मिक थिए। कर्णाली भेकमा महिलाले आफ्नो यौवनावस्थाको अनुभव र आनन्द लिन साँच्चै नपाउने तीतो सत्य हो यो।कर्णाली क्षेत्रमा सानै उमेरमा विवाह गर्ने चलन अझै छ। १२/१४ वर्षमा विवाह गरिदिँदा तुरुन्तै सानै उमेरमै बच्चा पाउँछन्। त्यसपछि तिनका काखमा किताबको सट्टा बच्चा आएपछि किशोरीपन, यौवनावस्था वा वैंशालुपनको मज्जा लिने अवसर कहिल्यै पाउँदैनन्। उनलाई बालबच्चा, घर, परिवार, भान्छा, खेतवारी, जंगल, घाँस, दाउरा, वास्तुभाउ, हेर्दैमा फुर्सद हुँदैन। आफ्नो पढाइ, जिउज्यान र स्वास्थ्यबारे ख्याल गर्ने फुर्सद त कहिले कहिले? विभिन्न चेतनामूलक कार्यक्रमद्वारा बालबिवाह गर्नु/गराउनु अपराध हो। मुलुकको कानुन विपरीत हो भन्ने जानकारी गराउँदा पनि यो प्रथा सजिलै रोकिने छाँट छैन। यसले किशोरीहरूको कलिलो स्वास्थ्यमा नकारात्मक असर पार्छ। उनको शरीर गर्भवती बन्न सक्ने र सुत्केरी हुनसक्ने अवस्थासम्म विकास भइसकेको हुँदैन। यसले गर्दा आमा र बच्चा दुवैको ज्यान जोखिमपूर्ण हुन्छ भने दुवै बाँचे पनि स्वास्थ्य स्थिति कमजोर हुन्छ नै।
साथै जुम्लामा सुत्केरी तथा गर्भवती महिलालाई पर्याप्त आराम र पोषणयुक्त खाना दिनुपर्छ भन्ने चेतनाको अझै विकास भइसकेको छैन। कतिपय गाउँमा सुत्केरी र महिनावारी भएकालाई अझै फोहर गोठ (छाउपडी)मा राख्ने र २/३ सातामै काममा लगाउने चलन छ। आराम र पोषिलो खानाको कमीले महिलामा पाठेघरसम्बन्धी समस्या धेरै देखिन्छ। महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रमले २०१४ मा पाँचवटा गाविसमा मात्र १ सय ५० जनाको प्रजनन स्वास्थ्यसम्बन्धी समस्या पत्ता लगाएको छ।
आजभोलि कलिलै उमेरमा 'मागी विवाह' मात्र नभएर 'भागी विवाह' गर्ने पनि धेरै देखिएको छ। यसको दोष जति मोबाइल फेानलाई दिँदै आमाबाबु र शिक्षकहरू निर्दोष हुन खोज्छन्। तर बच्चा पाएपछि तिनको पढाइमा पूर्णविराम लाग्छ भने श्रीमान्चाहिँ नेपालगञ्ज वा काठमाडौंतिर पढाइका लागि झर्छन्। सहर बसेर पढाइलाई निरन्तरता दिने हुँदा उनको इच्छा, सोचाइ, रोजाइ, कुरा गर्ने शैली, अपेक्षा, विचार सबै गाउँकी श्रीमती, जो घर–खेत, बच्चा सम्हालेर पढाइ छोडी बसेकी छन् उनीसित एकदमै नमिल्ने हुन्छ। परिणामतः विस्तारै श्रीमान्ले आफ्नै स्तरकी अर्र्की जीवनसाथी खोज्न थाल्छ। बहुविवाह गर्न उनलाई कुनै हिच्किचाहट हुँदैन। कारण गाउँमा धेरैका २/३ वटी श्रीमती उनले देखेका छन्। घर, खेतको कामकै लागि पनि बहुविवाह गर्ने प्रथा छ। सानै उमेरमा बिहे गर्दा बच्चा पाएपछि शरीर र पढाइ मात्र बिग्रेन, अब उनको भविश्य पनि हिंसाको भोगाइतर्फ मोडिन थाल्छ।
सौता आएपछि महिलाको जीवन सहज हुँदैन। अझ कतिका सासू र श्रीमान्ले कुट्ने तथा सास्ती दिने हुँदा पनि सहेरै बस्नुपर्छ। प्रहरीमा उजुरी गर्ने हो भने फेरि कहाँ गएर बस्ने? त्यही घर फेरि फर्किंदा हिंसा झन बढ्ने हुन्छ। घरको कुरा बाहिर लगेको वा बेइज्जत गरेको आरोप थपिन्छ। परिवारले त्यसको साटो फेर्छन्। जिल्ला सेवा केन्द्रमा बढीमा ४५ दिनसम्म मात्र राख्ने प्रावधान छ। त्यसपछि कहाँ जाने? एक्लो ज्यान होइन बच्चा पनि साथमा हुन्छन्। त्यसैले महिला उजुरी गर्न डराउँछन्। भरखरै प्रहरी कार्यालय महिला सेल, जुम्लामा एउटा मुद्दा आएको थियो। भारतमा मजदुरी गर्ने एक युवकले त्यहाँ श्रीमती भएको कुरा लुकाएर जुम्लामा आउँदा दोस्रो विवाह गर्योा। श्रीमती गर्भवती भएको ६ महिनामा भारत गएको युवक फर्केन। पछि थाहा भयो, उनको त्यहाँ पहिल्यै श्रीमती रहिछन्। जुम्लाकी श्रीमती विना श्रीमान् बच्चा लिएर घर बस्न नसकेपछि माइत बस्न थालिन्। बच्चा हुर्काइन्। तरुनी मान्छे, यता श्रीमान्को आउने केही खबर नभएपछि अर्को जीवन साथी रोज्न बाध्य भइन्। अहिले बच्चाका बाउ फर्केर आएका छन्। बच्चालाई ५ वर्षको उमेरमा पहिलो पटक प्रहरीको अगाडि भेट्दै छन्। तर बच्चालाई पढाउन आफैंले भारत लाने उनको जिकिर थियो भने देवरले दाइ नहुँदा घरमा बसेर काम नगरी भाउजूले अन्यत्र बिहे गरेकोमा आक्रोश पोख्दै थिए। बच्चा भने कहिल्यै नदेखेको बाउ भनाउँदोले लाने कुरा गरेकोमा कहालिएर रुँदै थियो। त्यो वातावरण साह्रै दर्दनाक थियो। जति बुझाउँदा पनि नबुझेपछि प्रहरी निरीक्षक प्रेमबहादुर खड्का भन्दै थिए– दिनहुँ यस्ता मुद्दा हेर्दा कहिलेकाहीँ हाम्रो पनि धैर्य टुट्छ।' उनी आफैँ पनि भावुक बनेका थिए।
दुःख खप्न नसकेर, सहाराको आवश्यकताले वा बस्ने आश्रयको जरुरतले, एक जना माया गर्ने, हेरचाह गर्ने मान्छेको अपेक्षाले महिलाले अर्को श्रीमान् रोज्न बाध्य भएको देखिन्छ भने त्यहाँ समस्या उनको पहिलो श्रीमान्तर्फको बच्चाको हुन आउँछ। जुम्लामा रहेको बालविवाह र बहुविवाहका कारण उत्पन्न हिंसाको डरलाग्दो स्थिति छ। यसरी छोरीको बाल विवाह गरेर उनको जीवन नर्कमा हाल्नु भन्दा किशोरीहरूलाई राम्रो शिक्षा दिएर आत्मनिर्भर हुन सक्षम बनाउनेतर्फ सचेत गराउन जरुरी छ। आर्थिक सक्षमता नभई जस्तोसुकै कानुन पनि व्यवहारमा कार्यान्वयन हुन गाह्रो हुन्छ। त्यसकारण छोरीलाई सक्षम बनाउनेतर्फ सरकारी तथा गैरसरकारी कार्यक्रमहरू लक्षित हुनु अहिले टड्कारो आवश्यकता देखिन गएको छ भने अभिभावक र शिक्षकले आफ्नो जिम्मेवारी बोध गर्न जरुरी छ।
महिला सशक्तीकरण तथा जीविकोपार्जन सुधार कार्यक्रम, जुम्लामा आबद्ध

प्रकाशित: ६ पुस २०७१ २१:१२ आइतबार