विचार

दैवी प्रकोप होइन पहिरो, रोक्न सकिन्छ

अझै पनि आम नेपालीले पहिरोलाई दैवी प्रकोपका रूपमा लिन्छन्। तर पहिरो दैवी प्रकोप होइन। यो मूलतः प्राकृतिक प्रकोप हो। पहिरोलाई देवताले दिएको प्रकोप मान्नु भनेको त्यसको नियन्त्रणमा केही गर्न सकिन्न भनेर निष्कर्ष निकाल्नु हो। वास्तवमा पहिरो रोकथाम, नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ। त्यसैले पहिरो के हो, कस्तो प्रकारको हुन्छ, कसरी जान्छ र यसले के कस्तो समस्या ल्याउँछ भन्ने जानकारी लिएर अगाडि बढेमा पहिरोसम्बन्धी समस्या हल गर्न सजिलो हुन्छ।

नेपाल २४०० किलोमिटर लामो हिमालय पर्वत शृंखलाको मध्य भागमा अवस्थित छ। हिमालय पर्वत संसारकै सबभन्दा अग्लो पहाडको क्षेत्र मात्र नभएर कमजोर र तरुनो भौगर्भिक बनोट भएको क्षेत्र हो र सबभन्दा धेरै भुइँचालो जाने क्षेत्रमध्ये एक पनि हो। त्यसमाथि मुसलधारे वर्षा, नदी कटान, ठाडो र भिरालो पाखो, वन विनाश, जथाभावी खेती, खराब इन्जिनियरिङबाट सडक लगायत पूर्वाधार निर्माण गरेकाले पहिरो जाने क्रम बढ्दो छ।

गुरुत्वाकर्षण बलले गर्दा जमिन वा चट्टान अथवा वन–पाखाको केही भाग स्पष्ट रूपमा तलतिर र बाहिरतिर झर्ने प्रक्रिया नै पहिरो हो। यसरी तल झर्ने क्रममा उक्त पदार्थ खस्ने–भाँचिने, चिप्लने, फैलने अथवा बग्ने गर्दछ।

पहिरो प्रायः ठाडो र भिरालो पाखामा बढी जाने भए पनि पानीको सही व्यवस्थापन नभएको अवस्थामा वा सडक बनाउने क्रममा पाखोलाई बढी ठाडो गरी काटेमा, निर्माण कार्य गर्दा भिरालो ठाउँमा थुपारिएको ढुंगा–माटोले गर्दा वा घरको जग खन्दा, नदीले किनारा कटान गर्दा, अथवा नियमसंगत र उचित इन्जिनियरिङ विना खानीहरू खन्दा कम भिरालो ठाउँमा पनि पहिरो जान्छ।

नेपालमा सडकमा बढी पहिरो जाने गर्छ, किनकि निर्माणका क्रममा भित्ता अति ठाडो तरिकाले काटिएको हुन्छ। ठाडो काटेर सडक खन्दा खन्ने बजेट कम लाग्छ र गाउँ–गाउँमा सडक पु¥याउन माटो वा चट्टान ठाडो काटेर नै सडक बनाउने चलन बसेको छ। पानीको व्यवस्थापन नगरीकन यस्तो सडक बनाउनु भनेको पहिरोलाई निम्तो दिनु हो।

पानीको सही निकास अनि माटो र चट्टानमा पानीले खेल्ने भूमिकाका बारेमा इन्जिनियर र इन्जिनियरिङ भूगर्भविद्को सहयोग लिनुपर्छ र उनीहरूको सहयोगविना सडक कदापि खन्न हुँदैन। वास्तवमा नेपालमा सडक कसरी खन्ने भन्नेबारे देशभरि नै बहस गर्न आवश्यक भइसकेको छ। अझ नेपालका सबै स्थानीय सरकारले यसमा चासो राख्न ढिलो भइसक्यो।

अध्ययनहरूबाट बुझिएअनुसार, चित्र १ मा देखाएझैँ पहाडी गाउँका बाटोघाटो अनि खोल्सीमा माटो र चट्टानसहितको लेदो भल (डेब्रिस) बगिरहेको हुन्छ र स–साना पहिरो गइहेको हुन्छ। विभिन्न ठाउँका पहिरो र भल पहिरोको प्रकोपको कारण पत्ता लगाउने क्रममा वर्षाको समयमा बग्ने गरेको पहिरो मुख्य रूपमा त्यहाँ पहिलेदेखि नै भएको भीमकाय पहिरोभित्र जाने गर्दो रहेछ।

यस्तो भीमकाय पहिरो भएको ठाउँमा माटो र स–सानादेखि ठूला अजंगका चट्टानका टुक्रा हुन्छन् र यो सबै बिस्तारै बगिरहेको हुन्छ र फलस्वरूप त्यहाँ भएका रूखहरू बांगिने, कान्लाहरू तन्किने हुन्छ। त्यस्ता बांगिएका रूखलाई वैज्ञानिकले जँड्याहा रूप भन्ने गर्छन्। बांगिएकार ढल्किएका रूपहरू भएको वनलाइ ‘जँड्याहा वन’ पनि भन्ने गरिन्छ।

नेपालका मध्य पहाडी क्षेत्रका गाउँ धेरैजसो पुरानो भीमकाय पहिरोमै बसेका हुन्छन्। यस्ता पुरानो भीमकाय पहिरोको थाप्लामा बसेका बस्तीमा प्राकृतिक रूपले वर्षौंदेखि स्थिर हुँदै गरेको भिरालो जमिन हुन्छ। तर, हामीहरूले आफूखुसी सिँचाइ गर्ने, पानीको व्यवस्थापन सही ढंगले नगर्ने, रूखबिरुवा पटक्कै नलगाउने र जथाभावी सडक खन्ने गरेमा जमिन बिस्तारै भासिने प्रकृतिको पहिरो जाने गर्छ।

यस्तो पहिरो पूरै नबगी वार्षिक रूपले अलिअलि बगेर बसिदिन्छ, फलस्वरूप खेतका गह्राका कान्ला बांगिएका र ढल्किएका हुन्छन्, र अन्तमा न जमिनको सही प्रयोग गर्न सकिन्छ न त प्रकोपबाट भाग्नै। कहिलेकाहीँ बिस्तारै बगेको पहिरोमा पानीको मात्रा बढेर भल पहिरो बग्न थाल्छ।

हामी त केवल वर्षाका बेला बग्ने पहिरोलाई मात्र महत्व दिने गर्छौं, यस्ता भीमकाय पहिरोका बारेमा त्यति जानकारी राख्ने गरिएको छैन र साथै यस्ता पहिरो चिन्ने काम कमै भएको छ। यी भीमकाय पहिरो हाम्रो हिमालयमा गएका अति ठूला भुइँचालोपछिका परिणाम हुन्। हजारौँ वर्षदेखि यस्ता भुइँचालो हाम्रो हिमालय क्षेत्रमा गएको छ र यसले जमिन उथलपुथल पारेको छ। यो भुइँचालोको मापन र यसको क्षमता हामीले हालसम्म थाहा पाएका भुइँचालोभन्दा अति नै बढी भएको कुरा इन्जिनियरिङ भूगर्भविद विश्वास गर्छन्।

नेपालमा पहिरोको कारण

प्राकृतिक कारण अथवा मानवका क्रियाकलापद्वारा पहाडी भू–भागमा स्थल रूपमा आउने परिवर्तनले गर्दा पहिरो जान्छ। पहाडी जमिनको भौगर्भिक बनावट, हावापानी र मानवका विभिन्न क्रियाकलाप नै पहिरोलाई मद्दत गर्ने कारक तत्व हुन्। यी कारक तत्वलाई विभिन्न रूपमा विभाजन गर्न सकिन्छ।  

१) दीर्घकालीन (अपरिवर्तनीय) कारणः अन्तर्निहित दीर्घकालीन कारणमा चोइटिएका क्वार्जाइट, नाइस र स्लेटजस्ता चट्टानको आन्तरिक बनोट, त्यहाँ भएका चिरा, तथा ढुंगा र माटोका आन्तरिक गुणहरू आदि पर्छन्।

२) अल्पकालीन कारणः अतिवृष्टि, व्यापक रूपमा हिउँ पग्लने प्रक्रिया, भूमिगत जल सतहमा घटबढ हुने क्रम, खोलाले किनारा काट्ने प्रक्रिया आदि।

३) सुषुप्त कारणः यसमा बेलाबेला जाने भूकम्प र अतिवृष्टि पर्छन्।  

४) वातावरणमा पर्ने दुष्प्रभावः खानी खन्नु, जथाभावी सडक बनाउनु, खेती गर्नु, भिरालो पाखोमा घर वा सडक बनाउँदा जमिन ठाडो गरी काट्नु आदि वातावरणमा पर्ने दुष्प्रभावमा पर्छन्। 

पहिरो भन्नाले जमिनमा रहेका ढुंगामाटो, चट्टान आदि आ–आफ्नो सुरुको स्थितिबाट गतिमा आउने प्रक्रिया भएकाले यस प्रक्रियामा संलग्न हुने कारण छुट्ट्याउन जरुरी हुन्छ। स्थिर अवस्थामा रहेको कुनै पनि वस्तु गतिमा आउन बाह्य बल आवश्यक हुन्छ। त्यसैले पहिरो जानुमा शक्ति सन्तुलनको विशेष भूमिका रहन्छ। पहिरो जानुका विभिन्न प्राकृतिक कारण छन्। तीमध्ये केही प्रमुख कारणमा हावापानी, क्षयीकरण, अपक्षय, भुइँचालो, पानीको उपस्थिति, अतिरिक्त भार, कटान कार्य पर्छन्।

कुनै पनि भिरालो जमिनको भिरालोपन बढ्ने कुनै पनि क्रियाकलाप नै पहिरोको कारक हुने हुनाले त्यस्तो भिरालोको स्थितिलाई असन्तुलित नबनाउने हो भने पहिरो बाट बच्न सकिन्छ। पहिरोलाई रोकथाम गर्ने पहिलो उपाय यही हो। पहिरो जानुका कारण थाहा पाइसकेपछि जमिनलाई ती कारक तत्वबाट मुक्त राख्नु नै पहिरो रोक्ने तरिका हो। पहिरो नजाओस् भनेर सजगता अपनाएर मानव गतिविधि गर्दागर्दै पनि पहिरो गइहाल्यो भने त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ।

मान्छे र प्रकृतिको अन्तक्र्रिया भइरहन्छ। यसै क्रममा कहिलेकाहीँ मान्छेका क्रियाकलापले पनि पहिरो निम्त्याउन सक्छन्। यसरी पहिरो जानुका मुख्य कारणमा संरचना निर्माण गर्दा जमिनको भिरालोपनामा परिवर्तन हुनु तथा सतहको जल र भूमिगत जलको अवस्थामा परिवर्तन हुनु नै प्रमुख हुन्।

खेतबारीका गह्रा बनाउँदा, बाटो खन्दा, कुलो खन्दा, अथवा बाँध बनाउँदा त्यहाँको पाखोको भिरालोपनामा परिवर्तन आउन सक्छ। कुलो खन्दा पानी बग्ने पुरानो बाटोमा परिवर्तन आउँछ। यसरी नयाँ स्थानबाट पानी बग्न थाल्दा कुनै ठाउँमा जमिन कटान गर्ने र अर्को ठाउँमा माटो थुपार्ने गर्न सक्छ।

त्यसैगरी कुलोले गर्दा सतहको जल प्रवाहको दिशा परिवर्तन हुन सक्छ। फलस्वरूप त्यहाँको स्थल रूपमा असर पर्छ। सतहको जलको प्रवाह र दिशा परिवर्तनले भूमिगत जलको सतह र प्रवाहमा पनि असर आउन सक्छ। यसै क्रममा भूमिगत जलको सतह माथि उठ्न गई पहिरो जाने कारण बन्न सक्छ।  

पहिरोलाई सधैँका लागि नियन्त्रण गर्न सकिँदैन। तर कुनै समस्याको कारण पत्ता लागेपछि त्यसको समाधानको उपाय निकाल्न सकिन्छ। यसका लागि सबभन्दा पहिले पहिरो नियन्त्रणसम्बन्धी भ्रम हटाउनु जरुरी छ। पहिलो भ्रम के हो भने, अत्यधिक पहिरोहरू मानव गतिविधिका कारण जाने गर्छन् तर हामी यो स्विकार्न तयार हुँदैनौँ। दोस्रो भ्रम समुदायले पहिरो नियन्त्रणका लागि केही गर्नै सक्दैनन् भन्ने हो। अनि, सरकारी निकाय गुहार्ने चलन हाम्रो छ।

वास्तवमा पहिरो नियन्त्रणमा समुदायको प्रमुख भूमिका हुन्छ। संरचना निर्माण गर्दा सामान्य जनताको भूमिका महत्वपूर्ण हुन्छ। त्यसैले पहिरो नियन्त्रणको सामान्य ज्ञान भएमा सर्वसाधारणले पहिरो रोक्नमा ठूलो मद्दत गर्न सक्छन्। पहिरो नियन्त्रणमा तेस्रो भ्रम भनेको पहिरो रोक्न ठूला संरचना नै चाहिन्छन् भन्ने हो। अधिकांश पहिरो केही अन्तरालमा आफैँ स्थिर भएको पनि देखिन्छ। समुदायको साधारण क्रियाकलापपछि पहिरो रोकिन्छन् वा नियन्त्रित हुन्छन्।

चौथो भ्रम भनेको पहिरोको नियन्त्रणमा खर्च गर्न बजेटमा प्राथमिकता नहुनु हो। पहिरोले लगेको जमिनबाट कुनै आर्थिक लाभ हुँदैन भनेर बजेटको प्राथमिकतामा नपरेको हो। पहिरोले मासिएको जमिनमा रूख, दाउरा, घाँस आदि लगाउनुका साथै विभिन्न फलफूल तथा अम्रिसो, अलैँची आदि नगदेबाली लगाउन सकिन्छ।

पहिरो रोकथाम  

पहिरोको रोकथाम भन्ने कुरा कति बजेट र कसरी गर्ने भन्नेबारे केन्द्रित हुन्छ।बोटबिरुवाको एकल प्रयोगले पहिरो रोकथाम गर्न सकिन्छ। साथै बोटबिरुवा हुर्काउन केही हल्का इन्जिनियरिङ कार्यको मद्दत लिन सकिन्छ।

त्यस्तै, साधारण सिभिल संरचनाबाट पनि पहिरो रोकथाम गर्न सकिन्छ। उपरोक्त ठाउँमा बोटबिरुवा प्रयोग गर्न सकिन्छ। बोटबिरुवाले भिरालो जमिनमा माथितिरको भार थेग्ने एक प्रकारको बल पैदा गर्छ। एक रूखदेखि अर्को रूख नभएको ठाउँमा त्यही बलले गर्दा उल्टो बल पैदा हुन्छ र सबै भिरालो जमिन अड्किएर बस्छ।

कतिपय पहिरो सिभिल संरचनाबाट रोकथाम गर्न सम्भव हुने तर गाह्रो र खर्चिलो हुने हुन सक्छ। अर्कोतिर रोकथामपछि पनि पहिरो झर्ने सम्भावना रहन्छ। कुनै पहिरो रोकथामका लागि ज्यादै महँगो सिभिल संरचनाको प्रविधि र विशेषज्ञ आवश्यक हुन सक्छ। पहिरोको अध्ययन गर्दा यसको विभिन्न भागको स्थिति अध्ययन गर्नुपर्छ।

पहिरो रोकथामका लागि विभिन्न प्रविधिको प्रयोग हुँदै आएको छ। परापूर्व कालदेखि प्रयोग हुँदै आएको वनस्पतिको उपयोगलाई वैज्ञानिकीकरण बायोइन्जिनियरिङ भनेर छुट्टै शास्त्रको रूपमा विकास गरिएको छ। यस प्रविधिमा तुलनात्मक रूपमा सस्तो र सानो आकारका संरचना प्रयोग गरेर पहिरो नियन्त्रण गरिन्छ। त्यसैले त्यस्ता संरचनाको सामान्य जानकारी हुनु अत्यन्त लाभदायक छ। 

नेपालको पहाडी क्षेत्रमा धेरैजसो बस्ती भिरालो जमिनमा बसेका छन्। ती बस्तीले सामुदायिक रूपमै पहिरोको विपत्बाट जोगिने काम गरेमा पहिरोको कारण हुने जिउधनको नोक्सानीलाई कम गर्न सकिन्छ। यसका लागि वर्षाभन्दा पहिले, बीचमा र पछि के के गर्नु राम्रो हुन्छ भनी जान्न आवश्यक हुन्छ।  

वर्षाअघि गर्नुपर्ने 

वर्षा आउनुअघि आफ्नो घरनजिक भएका साना–साना खोल्सी वा मुख्यतः पानी जम्मा हुने ठाउँको निरीक्षण गर्नुपर्छ। घरछेउका भिरालो जमिनमा साना पहिरो, क्रमिक रूपमा ढल्किरहेका रूखहरू छन् कि छैनन् भनी विचार पुर्‍याउन सकिन्छ।

प्रत्येक वर्ष चैत, वैशाख र जेठ महिनाभित्र समुदाय नै मिलेर भल काट्न सकिन्छ। भल काट्दा पानी व्यवस्थित ढंगले बग्न गई पहिरो हुनबाट जोगाउँछ। कतिपय स्थानमा भेलका कारण पहिरो खस्छ।

विगतका पहिरो भएको ठाउँमा पुनः पहिरो जाने सम्भावना हुने भएकाले त्यस्तो ठाउँ पत्ता लगाउनुपर्छ। त्यहाँ वर्षाको पानीले कस्तो असर पुर्‍याउन सक्छ, कसरी पानी छिर्छ वा बग्छ भन्नेमा ध्यान दिनु राम्रो हुन्छ।

आफ्नो घर बनाउन वा बस्ती विकास गर्न पहिले त्यस ठाउँको अध्ययन तथा व्यवस्थापनमा स्थानीय सरकारसँग सर–सल्लाह गर्न सकिन्छ। बस्ती विकाससम्बन्धी स्थानीय तहको नीति नियमको पालना गर्दा राम्रो हुन्छ।

स्थानीय सरकारका पदाधिकारी र वडा विपत् व्यवस्थापन समितिसँग मिलेर र सम्पर्क गरेर आपत्कालीन अवस्थामा के गर्ने र प्रतिक्रिया कसरी गर्ने भन्ने बारे छलफल गर्न सकिन्छ। आफ्नो गाउँबाट आपत्काल निकासका उपाय सिकेर रोकथाममा ध्यान पुर्‍याउन सकिन्छ।

पहिरोको जोखिम बढेका बेला र पहिरोले क्षति पुर्‍याएका बेला स्थानीय विपत् व्यवस्थापन समितिलाई सम्पर्क गर्न समितिका सदस्यको फोन नम्बर सुरक्षित राख्नुपर्छ।

अत्यधिक वर्षाका बेला

वर्षायाममा कहिलेकाहीँ अत्यधिक वर्षा हुन सक्छ। यस्तो बेला सतर्क बस्नुपर्छ, निर्धक्क सुत्न हुँदैन। रेडियोमा समाचार सुनौँ। सरकारी वेबसाइट र सरकारी निकायबाट पर्दै गरेको पानीका बारेमा जानकारी लिन सकिन्छ।

एक्कासिको ठूलो वर्षा र लगातारको हल्का वर्षापछि आएको छोटो तर अत्यधिक वर्षा खतरनाक हुन्छ, त्यसैले सतर्क रहनुपर्छ। वर्षाको मात्रा जाँच्न आँगनमा बोतल रेन गजको प्रयोग गरौँ र २४ घन्टामा १४० मिमि पानी परेको थाहा हुनासाथ पहिरोको जोखिम बढेको भनेर सुरक्षित ठाउँमा सरौँ।

तपाईं पहिरोको जोखिम रहेको स्थानमा बसिराख्नुभएको छ र सो ठाउँ पहिरोको जोखिममा छ भन्ने थाहा छ भने ठूलो वर्षा हुनासाथ सुरक्षित ठाउँतिर सक्नुहुन्छ।

माटोको सराइ, रूखहरूको चर्काइ वा ढुंगाहरूको ठोक्काइका कारण उत्पन्न भएका हुन सक्ने असाधारण आवाजको पहिचान गर्नुस्। यदि तपाईं खोला–खोल्साको नजिक हुनुहुन्छ भने पानीको बहावमा अकस्मात वृद्धि वा घटी भएको अथवा सफा पानीबाट धमिलिएको पानी छ भने ख्याल राख्नुपर्छ। यसको कारण माथिल्लो भागमा ढुंगामाटो बग्न थालेको हुन सक्छ तसर्थ त्यस ठाउँ छोड्न तयार हुनुपर्छ। त्यहाँ ठूलो भेल पहिरो आउन सक्छ।

बगिरहेको खोल्सी वा खोलामा अकस्मात पानी घटेर वा खोला वा खोल्सी सुक्यो वा पानीको मात्रा घट्यो भने माथिल्लो क्षेत्रमा पहिरोले खोला, खोल्सी थुनिएको हुन सक्छ। यस्तो बेला सुरक्षित ठाउँमा जानुपर्छ। रातका बेला खोल्सीको कलकल आवाज बन्द भएमा खतरा हुन सक्छ, यसतर्फ ध्यान दिनुपर्छ।

वर्षा भइरहेका बेला सवारी साधनमा हुनुहुन्छ भने विशेष ध्यान दिनुपर्छ। पहाड काटेर बनाइएका सडकको कुनामा पहिरोको खतरा अत्यधिक हुन्छ, त्यसैले सडक भासिने, माटोढुंगा खस्ने जस्ता संकेततर्फ ध्यान दिनुपर्छ।

त्यस्तै, पहिरोको खतरा भएका क्षेत्रलाई चिन्नुपर्छ। जस्तोः पुरानो पहिरोमाथिको भाग, भीरको तल्लो भाग, खोल्सीहरूको तल्लो भाग, पहिले पुरेको ठाउँको तल्लो वा माथिल्लो भाग, काटेको र ठाडो भिरालो भएको ठाउँको तल्लो वा टुप्पो भाग, सडकको ठाडो काटिएको भित्तो पहिरोको जोखिममा हुन्छ।

पहिरो आउने संकेततर्फ पनि हामी सजग हुनुपर्छ। सुक्खा ठाउँहरूमा छहरो, हिलाम्मे भुइँ देखिनु जमिन बाटो वा गोरेटोमा चर्केको वा अस्वाभाविक उठेको देखिनु पहिरोको संकेत हुन सक्छ।

त्यस्तै, स–साना पहिरोहरू जानु, जगबाट माटो निस्किनु, आँगन वा बरन्डाजस्ता संरचना मूल घरको स्थानबाट ढल्किनु, भुइँ तथा जग ढल्किनु वा चर्किनु, पानीको पाइप र अन्य भूमिगत संरचना भाँचिनु, टेलिफोनको पोल रूख, पर्खाल वा बारहरू ढल्किनु, पर्खालहरू छुट्टिनु पनि पहिरोका संकेत हुन्।

बेला–बेला जमिनमा धाँजा फाटेको देखिनु, घरको भित्ता चर्किएको देखिनु, आँगनमा चिरा पर्नु आदि अवस्थामा सबैले आफू बिस्तारै बगिरहेको पहिरोमा बसिरहेको छु भनेर बुझ्नुपर्ने हुन सक्छ।

बिस्तारै बगिरहेको पहिरोबारे थाहा पाएर आत्तिनु हुँदैन। यस्तो पहिरो पहाडमा जताततै हुन्छन्, केवल यसको व्यवस्थापन गर्न जान्नुपर्छ। यसका लागि प्रमुख काम भनेको पानीको व्यवस्थापन नै हो। चनाखो भएर सही समयमा भल काट्न बिर्सनु हुँदैन।

यस्तो ठाउँमा सडक खन्दा विशेष होस पुर्‍याउनुपर्छ। इन्जिनियरबिना यस्तो ठाउँमा सडक खन्न हुँदैन। सही डिजाइन गरेर मात्र र पानीको व्यवस्थापन नगरी, नाला नबनाई सडक खोल्नु हुँदैन। त्यस्तै, यस्तो ठाउँमा रहेको बस्तीमा सकेसम्म सिँचाइ गरेर लगाउनुपर्ने खेतीभन्दा कम सिँचाइमै हुने प्रकारको वा थोपा सिँचाइको प्रविधिबाट गर्न सकिने खेतीलाई बढी ध्यान दिनुपर्छ। पहिरो पूर्वचेतावनी प्रणालीलाई बगिरहेको जमिनमा जडान गर्न सकिन्छ।

स्थानीय क्षेत्रमा विपत् व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका सबै सरोकारवालालाई पहिरो र भू–क्षय एवं जमिनको अस्थिरताका बारेमा पर्याप्त ज्ञान हुन जरुरी छ। स्थानीय तह सञ्चालन निर्देशिकाले विपत् व्यवस्थापनका क्षेत्रमा काम गर्न धेरै कार्य तोकेको छ। तर, स्थानीय तहले यसबारे कुनै चासो देखाएको देखिँदैन। स्थानीय सरकारको सक्रियतामा पहिरोसम्बन्धी ज्ञान वा जानकारी लिने र सही रूपमा कार्यान्वयनमा ल्याउन सके पहिरोको रोकथाममा प्रभावकारी कदम चाल्न सकिन्छ।

प्रकाशित: १० पुस २०७८ ०६:२५ शनिबार

दैवी प्रकोप