भारत,पश्चिम बंगालकी युवा कवि अंकिता साम्भवीका कविता मलाई मनपर्छ। युवा पुस्ताका सपना, आक्रोस,अठोट, उच्छवास,आवेग र खुसीलाई शब्दको बगैँचामा सजाउने उनको शिल्प सुन्दर छ।
‘वेश्याहरूले तिमीलाई माया गरेनन्’शीर्षकको कवितामा उनी भन्छिन्–‘तिमीले प्रेम गरेकाहरू दलाल थिए, कवि थिए, प्रकाशक थिए,साथी, भाइ, पत्नी सबै थिए तर मायाको आशा गर्नै हुँदैनथ्यो,बेश्यासँग। त्यसैले के अनौठो भयो त, वेश्याहरूले कहिले पनि तिमीलाई माया गरेनन्।’ यो कठोर व्यङ्ग्य हो, समाजप्रति।
संसारलाई गहिरोसँग बुझ्ने प्रयत्नमा हुन्छन्,शब्दकर्मीहरू। काठमाडौँका उत्तरपूर्वका ग्रामीण इलाका घुमिरहँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाले भोट (तिब्बत) गइरहेका केही युवा मदन भेटे। उनीहरूको सुखदुःख सोधे।त्यसपछि ‘मुनामदन’ लेखे।
देवकोटाले देहत्याग गरेको एकसठ्ठी वर्षपछि पनि नेपालका लाखौँ मदन आमा–बा, पत्नी, छोराछोरी र नातागोतासँग बिदा मागेर आँसु पुछ्दै विदेशिनुपर्ने बाध्यता छँदैछ।पचास लाखभन्दा धेरै युवाले पठाएको अर्बौँ रुपियाँबाट कर उठाएर गर्व गर्दै रमाएका छन्,सिंहदरवारका ठूला राहु र साहूहरू।
आफ्नो फाइदाका लागि नैतिक/अनैतिक सबै कर्म गर्नेहरूबाट माया र संरक्षण पाउने आशामा बसेका छन्,लाखौँ जनता। देश र दलका झण्डा मात्रै फरक हुन्,पात्र र प्रवृत्ति प्रायः उस्तै हुँदोरहेछ भ्रष्टहरूको। चरित्र उस्तै हुन्छ अनैतिकहरूको र प्रवञ्चनाको शैली पनि मिल्दोजुल्दो हुन्छ प्रवञ्चकहरूको। सारांशमा, यी सबै दुर्भाग्य बुझेर,देखेर,भोगेर पनि अंकिताले भनेझैँ ‘वेश्याहरूबाट माया खोजिरहने’ मतदाताका कारण समाज अरू भ्रष्ट बन्दैछ।
प्रतीकात्मक शब्द, उपमा, उपमेय, अभिव्यञ्जना वा कलात्मक अभिव्यक्तिबाट हजारौं साहित्यकार, कलाकार, चिन्तक,लेखक र विश्लेषकले राजनीतिका सारथिहरूलाई घच्घच्याउँदै आएको पाइन्छ। गैँडाको छालामा कमलको फूलले स्पर्श गर्दा चारखुट्टे जन्तु बेखबर भएझैँ संवेदनाशून्य दिमाग झंकृत तुल्याउन यदाकदा निर्मम प्रहार गर्छन्, साहित्यकारहरू।
हाम्रै साहित्यकार भूपी शेरचनले लेखे–‘हामी आफूखुसी कहिल्यै अगाडि बढ्न नसक्ने, कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने,हामी रंगरोगन छुटेका,टुटेका, फुटेका, पुरानो क्यारम बोर्डका गोटी हौँ।’ यो कवितांश झण्डै साठी वर्षपछि पनि सजीव, शाश्वत र यथार्थ लाग्छ।
प्रधानमन्त्री,पार्टीको प्रमुखलगायत महत्त्वपूर्ण पद प्राप्त गर्न पनि विदेशीको वरदान चाहिने नेपालमा ‘स्वचालित’ राजनीतिज्ञ कति होलान्? उत्तर खोज्नेले लज्जित हुनुपर्छ। हरेक वर्ष झण्डै चालीस अर्ब रुपियाँको चामल भारतसँग किनेर खाने ‘कृषिप्रधान राष्ट्र’ नेपाल कति स्वावलम्बी, स्वाभिमानी र स्वतन्त्र छ,जगजाहेर छ।
नेपालका एक जना दरिद्र किसान भारतको कलकत्ता(कोलकाता)स्थित हिन्दुस्तान मोटर्स कम्पनीमा मजदुरी गर्थे।अहोरात्र चौकीदारको काम गर्दा थाकेर यदाकदा आफ्नै भाग्यलाई सराप्थे। उनले दुःख गरेर सन्तानलाई अक्षर चिनाए।
छोरा राजनीतिमा लागे। कम्युनिस्टका नेता भए। किसान–मजदुरको उत्थान गर्ने नारा दिए। राष्ट्रको प्रधानमन्त्री भए। आश्चर्यको कुरा,उनले आफ्नै बाबुको पीडा,कथा–व्यथा र अतीत बिर्से। उनी प्रधानमन्त्री हुँदा हरेक जिल्लामा पाँच/दश हजार युवालाई स्वदेशमै रोजगारी दिने उद्योगहरू खोलेको भए परोक्ष र प्रत्यक्ष रूपमा लाखौँ नेपाली लाभान्वित हुने थिए। आफैँ मात्र धनी भए, उनी र उनका निकटतम कमरेडहरू।
झण्डै असी वर्षपहिले अंग्रेजको जमानामा खुलेको हिन्दुस्तान मोटर्स कम्पनी (लिमिटेड) का संस्थापक बिएम बिर्लाल हजारौं मजदुर र प्राविधिकलाई काम दिए। त्यसमा सयौं नेपाली पनि थिए। धेरैजसो अनपढ नेपालीले चौकीदारको काम पाए। चितवनमा आठ वर्षअघि यस पंक्तिकारसँग कुरा गर्दै एकजना बाले भन्नुभयो–प्रधानमन्त्री हुने केटो मेरै साथीको छोरो हो।म पनि कलकत्ताको हिन्दुस्तान मोटर्समा चौकीदार थिएँ।
गरिबका छोराछोरी उच्च तहमा पुगेका धेरै उदाहरण छन्। अमेरिकी राष्ट्रपति अब्राहम लिंकन दरिद्र थिए।पंचायतकालमा प्रधानमन्त्री भएका सल्यानका मरिचमानसिंह श्रेष्ठ पनि आर्थिकरूपमा सम्पन्न थिएनन्। घरखर्च जुटाउन काठमाडौँको घर कम्पाउन्डमा कुखुरा पालेका थिए।भियतनामका नेता हो चि मिन्ह झुप्रोमा बस्थे।जहाँ जन्मेर हुर्के पनि धरातल बिर्सिने रोगले नेपालका अधिकांश राजनीतिकर्मी आक्रान्त छन्।
मुनामदन खण्डकाव्यमा वर्णित मदनझैँ गाउँगाउँबाट लाखौं युवक विदेशिने क्रम झन् बढेको छ।अचेल त मदनमात्र होइन,मुनाहरू पनि दुधे शिशु घरमै छाडेर विदेशिएका छन्।बिदा हुने बेलामा पर पुगेर आफ्नो घर हेर्छन्। आमाबा, सासूससुरा रोइरहेको सानो शिशु र छरछिमेकी सम्झन्छन्।आँसु पुछ्दै भक्कानिँदै विदेशिन्छन्। ती आँगनमा कुनै ‘अधिकारकर्मी’ पुगेकै छैनन्।
असभ्य, क्रूर, स्वार्थी, निर्दयी र परपीडकहरू सम्वेदनशील हुँदैनन्। धेरै मानिसको हित हुने कुरा उनीहरूको दिमागमै हुँदैन सायद। कवि शिरोमणि लेखनाथ पौड्यालको प्रसिद्ध कविता छ–‘म खाउँ, मै लाउँ,सुखसयल वा मोज म गरुँ, म हाँसु, म नाँचु अरू सब मरुन् दुर्वलहरू... ।’ शठ (मूर्ख) प्रतिको यो हमला स्वार्थी समाजका कुकर्मीहरूप्रति लक्षित छ। दुर्भाग्य नै भन्नुपर्छ,आज नेपाली राजनीतिको ठूलो हिस्सा मूर्खहरूले ओगटेका छन्। त्यसैले, पचासौँ राष्ट्रलाई सुनको ल्हासा ठानेर विदेशिँदैछन्,लाखौँ मदन।
अमेरिकी राष्ट्रपति जेफर्सनको निवासमा उनका एकजना मित्रले कफी पिउँदै भने–‘उल्टो कुरा गर्नेहरूसँग मलाई झनक्क रिस उठ्छ ।’ जेफर्सनले हाँसेर सुझाव दिए–‘थोरै रिस उठेको छ भने एकदेखि दशसम्म मनमनै गनिरहनू,धेरै रिस उठ्या बेला एक सयसम्म गनेर बस्नू ।’ हामी जनता पनि भ्रष्ट, अकर्मण्य, लाछी,पामर तथा हुतिहाराहरूलाई माला लगाइदिएर उनीहरूका कार्यकाल गनेर बस्छौँ।
दलहरूकै ‘तथ्यांक’ हो वा मिथ्यांक पत्याउने हो भने ठूला दलमा सात–आठ लाख भन्दा धेरै सदस्य छैनन्। तर भुरा दलहरू होइन, ‘ठूला’ दललाई लाखौँ सर्वसाधारणले भोट दिन्छन्।‘मतदान’ भन्दै राष्ट्रघातीलाई मत दिने अनि राष्ट्र पतन भयो भनेर पुर्पुरोमा हात राख्नेका धेरैजसो सन्तान ‘मदन’ बनिरहेका छन्।
जल,जमिन, जंगल, खनिज, सुन्दर प्रकृति, लगनशील नागरिक सबै छन् नेपालमा। उत्पादनका लागि भूमि, श्रम, पूँजी, प्रबन्ध र साहस चाहिन्छ। एउटा सर्वमान्य घरमुली चाहिन्छ। महाप्रबन्धक नै गतिलो छैन भने कम्पनी ओरालो लाग्छ। नेपालमा त्यही भएको हो। यस्तै अवस्था रहिरहेमा लाखौँ मदनका नातिनातिनीहरू पनि पोको बोकेर भविष्यमा ‘ल्हासा’ जान बाध्य हुनेछन्।
महाथिर महमद, लि क्वान यु, नेल्सन मन्डेला र देङ स्याओ पिङका कथा सुनाउनेहरूले क्रान्ति, विद्रोह वा परिवर्तनका रागहरू सुनाए तर आफू परिवर्तन भएनन्। २०४६ सालमा आजका पचासौँ नेता युवा थिए। जोश, जाँगर पनि थियो। त्यो ऊर्जा राष्ट्र निर्माणमा लगाएनन् बरु तस्कर अपराधी र कालाबजारेका हितमा समर्पण गरे। भ्रष्ट निर्माणमा लाग्यो राजनीति।
यी सबै देखेर दश वर्षसम्म हत्या, लुट, आतंक मच्चाउँदै रगतको आहालमा पौडी खेल्दै सिंहदरवारमै पुग्यो, अर्को जत्था। उनीहरूले पनि अतीत, इतिहास,वाचा, सिद्धान्त र जनता बिर्से। फलतः लाखौँ मदन बाँच्नका लागि ल्हासा जानुपर्ने दुर्भाग्य बारम्बार दोहोरियो।
‘के गर्नुहुन्छ?’ भन्ने प्रश्न गर्दा कैयन् ठगहरू निर्लज्ज उत्तर दिन्छन्–‘राजनीति गर्छु।’ राजनीति सेवा हो भने किन तलवभत्ता लिन्छन्? धन कमाउन त्यसमा लागेको हो भने किन समानता,डेमोक्रेसी, समाजवाद र जनताको सेवा भनेर ढाँट्छन्।विदेशीले बनाएका फुटबल टिम भएका छन्, नेपालका राजनीतिक दलहरू।
एउटाले जित्दा दिल्लीमा दीपावली हुन्छ। अर्कोले जित्दा चीन खुसीले चिच्याउँछ। भन्न त राष्ट्रवादी भन्छन् तर उनीहरूको मनभित्र अर्कै राष्ट्र छ,नेपाल छैन। गोपाल योञ्जनको गीत याद आउँछ–नेपाली नेपालको माया छ कि छैन?
भ्रष्टाचार पञ्चायतकालमा पनि थियो तर सीमितमात्रै थियो। २०३५ सालदेखि पत्रकारितामै कलम घोटिरहेको यो पंक्तिकारलाई सम्झना छ,भ्रष्टाचारको तत्काल छानबिन हुन्थ्यो। मन्त्री नै छन् भने पनि जेल जानुपथ्र्यो।प्रहरी–प्रशासनमा डराइडराइ घुस खानेमध्ये प्रायः सबैले दण्ड भोगे। न्याय कानुन सबैलाई लाग्थ्यो। आइजिपी र मन्त्री समेत जेल गए ।
राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रले बहुविवाह गरे।विवादमा परे। उनलाई राजा वीरेन्द्रले ‘श्री ५ अधिराजकुमार’ पदबाट तत्काल राजीनामा देऊ भनेर सम्झाए। धीरेन्द्र राजकीय सुख त्यागेर लन्डनकी एउटी सुन्दरीसँग बस्न थाले। दाजुभाइको सम्बन्ध सुमधुर थियो। उनीहरूबीचको सम्बन्ध बिग्रिन नदिन दुवै सम्वेदनशील थिए। विदेशी क्रिस्चियनसँग विवाह गरेपछि राजा वीरेन्द्रकी काकाकी छोरीको ‘श्री ५ शाहज्यादी’ पद खोसियो।
श्री ५ महाराजाधिराजदेखि लिएर श्री ५ बाट सम्बोधन गरिने सबैले सनातन धर्मअनुसार चल्नैपर्ने परम्परा भएकाले राजा वीरेन्द्रले प्रिय भाइबहिनीहरूलाई पनि कानुनी कारबाही गर्नुपरेको राजाका बडागुरुज्यू नयनराज पाण्डे (डिल्लीबजार) बाट सुनेको हुँ।
राजा महेन्द्रका कान्छा भाइ (त्रिभुवनका छोरा) वसुन्धराविक्रम शाहले दरबारमार्गमा अन्नपूर्ण होटल बनाउन राजदरबारबाट स्वीकृति लिनुपर्यो। सुरक्षाका दृष्टिले नारायणहिटी दरबार वरपर पैँतालीस फिटभन्दा अग्ला घर बनाउन पाइँदैनथ्यो।
महेन्द्रले भाइलाई सम्झाए– ‘तिमीले पनि नियम पालना गर्नुपर्छ ।’ सोही नियमअनुसार बनेको अन्नपूर्ण होटल धेरै अग्लो छैन। नियम नलाग्ने भए दश पन्ध्र तलाको पनि बनाउन सक्थे, वसुन्धराले।
संविधान,नियम, कानुन र मर्यादा पालना ती मान्छेले मात्र गर्छन्,जो सभ्य छन्। नगरवधूबाट मायाको अपेक्षा गरेझैँ हामी नेपालीले बितेका वर्षमा धेरैजसो पतीत, भ्रष्ट र सिद्धान्तहीनलाई नायक बनायौँ। परिणाम के भयो, घामजस्तै छर्लङ्ग छ।
नेपालको संविधानमा एउटा गज्जबको शब्द छ ‘समावेशी।’ जान्ने बुझ्नेहरूले आइएनजिओ र विदेशीको दबाबमा राखेका हुन्, यस्ता शब्द। राष्ट्र सबैको हो र संविधान पनि सबैको तर संविधानमा ‘हामी जनता’ (वि द पिपुल) भने पुग्नेमा अनेक जातका नाम राखिएको छ। ‘समावेशी’ भने पनि इमानदार, योग्य, सक्षम, त्यागी र कुनै दलको सदस्य नभएको प्रबल राष्ट्रवादी त्यसमा पर्दैन।
बोल्सेभिक (बहुमत) भए पुग्छ, मिन्सेभिक (अल्पमत) चाहिँदैन। यो हुलमुलतन्त्रले कालान्तरमा जातीय द्वन्द्व, संघर्ष र गृहयुद्ध गराउन सक्छ। बेरोजगारी थामिनसक्नु छ।धनी र गरिबबीचको अन्तराल बढेको छ। ‘कमरेड’(साथी) बुझाउन नामका अगाडि ‘क’ लेख्नेहरूमा पनि दुईवटा वर्ग छन्। क.माने करोडपति, क. माने कंगाल। कंगाल कमरेडहरू ढुंगा कुटिरहेका छन्।
बारीमा फलेका दुई/चार पाथी मकै भुटिरहेका छन्। करोडपति कमरेडहरू लुटिरहेका छन्। यसमा कतैबाट अंकुश छैन। अर्थात ती निरंकुश बनेका छन्।
ठूलो दल हुनु वा दलाधीश हुनु लुटपाटको लाइसेन्स र ठेक्का पाउनु जस्तै ठानिन्छ नेपालमा। घृणित खेलमा रमाउन नसक्ने योग्य र इमानदारहरू रमिता हेरिरहेका छन्। वर्तमान नेपालको स्पष्ट तस्बिर यही हो।
प्रकाशित: २६ कार्तिक २०७८ ०२:१६ शुक्रबार