विचार

चाकडीवाज कसैका हुन सक्तैन

गणेशमान सिंह चाकडीवाजहरूलाई कटाक्षपूर्वक भन्नुहुन्थ्यो– ‘यिनीहरू गंगा आए गंगादास बन्छन् र जमुना आए जमुनादास।'पंचायती कालरात्रिमा कांग्रेस देख्नासाथ ‘अत' (अराष्ट्रिय तत्व) को बिल्ला भिराउँदै मुन्टो फर्काउनेहरू २०४६ को जनआन्दोलनपछि चाक्सीबारी (सिंहको निवास्थान) मा चाकडीका लागि लर्को लागेर पुग्न थालेका थिए। राणाशाहीदेखि प्रजातन्त्र र पंचायतपछि बहुदलसम्म चाकडीवाजहरूको झुत्ती सिंहले देख्दै आएका थिए। ४६ सालको जनआन्दोलनपछि नेपाल एकाएक कांग्रेसमय बन्यो, जसरी २०६२­६३ को जनआन्दोलनपछि राजधानी काठमाडौंमा लालकमरेडहरूको उभार देखिन्थ्यो। चैते कांग्रेस जस्तै चैते माओवादीहरूले दोस्रो संविधान सभा निर्वाचनको परिणामपश्चात् डुब्न लागेको डुङ्गाबाट मुसाहरूले फाल हालेजसरी माओवादीलाई पनि छाडिसकेका छन्। जुवाको खालमा च्याँखे थापेजसरी यी अवसरखोरहरू अहिले कि त कांग्रेसी कि एमाले कित्तामा बढी नै उभिएका छन्।
सुशील कोइरालाको सुस्त सरकारले थाँती रहेको नेपाल प्रहरीको एआइजी बढुवाको गाँठो फुकाएपछि र छिटै २६ सभासद्, १६ राजदूत, संवैधानिक निकायका रिक्त पदहरू पूर्ति गर्ने संकेत गरेपछि चाकडीवाजहरू अहिले चाकडीको ग्रान्ड रिहर्सलमा ब्यस्त भएका छन्। आफूलाई उदारवादी, लोकतन्त्रवादी र क्रान्तिकारीको पगरी गुथाउँदै यिनीहरू निर्लज्जतापूर्वक नेता­नेताहरूका घरदैलो चाहारिरहेका छन्। सेयरको मूल्य जस्तै यिनीहरूको रङ्ग बदली देख्दा सायद छेपाराहरूसमेत विस्मित बनिरहेका होलान्।
मन्त्रिपरिषद्ले पछिल्लो हप्ता गरेको नेपाल प्रहरीका एआइजी बढुवा विधिको शासनको धज्जी थियो। जसमा व्यावसायिक उमेदवारहरूसँगै रोलक्रम र कार्यसम्पादनमा पुछारमा रहेकाहरू समेत चाकडी र पहुँचको भरमा राजनीतिक नेतृत्व तहलाई प्रभावमा लिनमात्र नभएर सरकारमा रहेकाहरू आफैँले तर्जुमा गरेका नियमावलीलाई उनीहरूद्वारै धोती लागाइदिन सफल भएका थिए। वढुवा प्रकरण एउटा कलाबिहीन भद्दा नाटक थियो, जसमा नायकलाई भन्दा पनि विदूषकलाई तक्मा भिराइएको थियो। चाकडीबाजहरू नै पुरस्कृत बनेपछि त एक इमानदार प्रहरी सेवाभित्रकै एक हक्की अधिकृतले उठाएको वि्रफकेस विनिमयको शंका लगभग साँचो प्रमाणित गरिदिएको छ।
गणेश परिक्रमा हाम्रो देशको चरित्र नै बनिसकेको छ। नेताहरू ती व्यक्तिलाई आफ्नो ठान्छन्, जो उनीहरूसम्म धाउँछन् अनि दल, परिवार वा क्षेत्रीयता आदिको लगनगाँठो कस्छन्। यस विपरित कर्तव्यनिष्ठ, व्यावसायिक र आत्मसम्मानयुक्त व्यक्तिहरूको योग्यता नै उनीहरूको अयोग्यता बन्न पुग्छ। उनीहरू यस अर्थमा अयोग्य ठहराइन्छन् कि उनीहरू वि्रफकेस र सिफारिसको पुलिन्दा बोकेर नेतागणका दैलो­दैलो चाहर्न सक्दैनन्। आफूलाई कांग्रेस, एमाले, क्रान्तिकारी वा मधेसवादीको बिल्ला भिराउन सक्दैनन्। नेताहरूका तलुवा चाट्न र कोसेलीपात टक्र्याउन सक्दैनन्। नेताहरूमा झुटो वफादारीको भ्रम फैलाउन सक्दैनन्। 
अल्पदृष्टिका नेताहरू आफ्नो सामु जो लम्पसार पर्छन् तिनैलाई बफादार ठानिदिन्छन्। जो चिप्लो र शुष्क बोल्छ त्यसैको वाणीलाई सत्य ठानिदिन्छन् तर तिनको धुर्त्याइँबाट आफ्नो धोती खुस्किएको पत्तो पाउँदैनन्। आज आफ्नो अगाडि बफादारीको मिथ्या सपथ खानेहरू भोलि सत्तामा पुग्ने अरू कोहीको अगाडि पनि त्यसैगरी बफादारी देखाउन सक्छ भन्ने कुराको सामान्य हेक्कासम्म राख्न सक्दैनन्। त्यस्ता छलीहरूलाई राष्ट्रको महत्वपूर्ण पद दिइँदा तिनीहरूवाट राष्ट्रको दोहन हुन सक्नेबारे एक निमेषका लागि सोच्न सक्दैनन्। त्योभन्दा पनि विष्मयकारीचाहिँ आज खुट्टा मिच्नेहरूले भोलि आफ्नै घाँटी थिच्न सक्नेछन् भन्नेबारे सामान्य अनुमानसम्म लगाउन सक्दैनन्। विश्वमा र हाम्रै आफ्नै अगाडि बफादार ठानेर विश्वास गरिएकाहरूबाटै विश्वासघात भएका अनेकौं दृष्टान्त छन्। 
फातिमा भुट्टोद्वरा लिखित 'सङ्गस अफ ब्लड एन्ड सोर्ड' मा कसरी जुल्पि्ककर अलि भुट्टो वफादारी खोज्ने क्रममा आफ्नो सुसाइड नोटमा दस्तखत गर्न पुग्छन् भन्ने कुराको रोचक वर्णन छ। सन् १९७२ मा पाकिस्तान पिपल्स पार्टी (पिपिपी) मार्फत् सत्तामा पुगेका भुट्टो सन् ७६ मा रिक्त हुन गएको पाकिस्तानी सेनाको प्रमुखमा पाँच वरिष्ठ जर्नेलहरूलाई उछिन्दै आफ्ना विश्वास पात्र जनरल जिया­उल हकलाई नियुक्त गर्न पुग्छन्। जनरल जिया कमजोर र आफूप्रति वफादार रहेको भुट्टोको ठम्याइ हुन्छ। हुन पनि जिया भुट्टोप्रति निकै नतमस्तक देखिन्छन्।
एक पल्ट जुल्पि्ककरले आफ्ना सेना प्रमुखलाई केही छलफलका निम्ति प्रधान मन्त्रीको कार्यालय बोलाउँछन्। उनी कार्यालय चाँडै पुग्छन् र अलि हतास भएजसो गरी काप्दै र खुट्टा हल्लाउँदै बैठक कक्षमा प्रतीक्षा गर्न थाल्छन्। अनि यस्तो हतासपनालाई शान्त गर्न उनी चुरोट सल्काउँछन्। यत्तिकैमा प्रधान मन्त्रीको प्रवेश भएपछि उनी हत्तपत्त चुरोटलाई आफ्ने खल्तीभित्र घुसाउन पुग्छन्। केही बेरमा उनको कपडा जल्छ र जियाको सैनिक पोशाकबाट पत्पती धुवाँ निस्कन थाल्छ। तैपनि हतास जिया आफूले चुरोट पिएको कुरा भन्नसम्म सक्दैनन्। 
तर तिनै जिया राजा महेन्द्रले नेपालका प्रथम जननिर्वाचित प्रधान मन्त्री बीपीलाई सैनिक लगाएर गिरफ्तार गरेकै शैलीमा आफ्ना भाग्यविधाता पाकिस्तानका प्रथम जननिर्वाचित प्रधान मन्त्री भुट्टोलाई कारागारमा कोच्छन् र हत्या अनि राज्य विप्लव जस्ता अनेकौं झुटा मुद्दा चलाउँदै अन्ततः सूली नै चढाउँछन्। यदि भुट्टोले रोलक्रम र कार्यसम्पादनमा अब्बल रहेका सैनिक अधिकारीलाई चुनेका भए शायद उनले त्यो नियति भोग्नुपर्दैन थियो।
भुट्टोले स्वार्थवश जियाउल हकको पजनी गरेका थिए। संसारका सबै नेतालाई स्वार्थको कोटीमा राख्न सकिँदैन। सुस्त नै सही, वर्तमान प्रधान मन्त्री कोइराला आर्थिक लाभका दृष्टिले कलंकरहित छन् तर पनि एआइजीको बढुवा प्रकरणमा उनले बढुवाको चोर ढोका बन्द गर्न सकेनन्। उनीमाथि गठबन्धन सरकारमा एमालेको नेतृत्व गर्ने गृह मन्त्री बामदेव गौतम भारी देखिए। प्रधान मन्त्री आर्थिक लेनदेनका मुद्दाहरूमा फसेको कुनै प्रमाण अहिलेसम्म सतहमा आएको छैन तर उनी आफ्नै पार्टीका लोभी–पापीबाट नराम्ररी घेरिएका छन्। आज एआइजीमा भएको जस्तो त्रुटि भोलि डिआइजीको बढुवा वा राजदूतको नियुक्ति वा त्यसैगरी संवैधानिक निकायका पदाधिकारी र बाँकी २६ सभासद्को मनोनयनमा नदोहोरिएला भन्न सकिँदैन। अहिलेको परिदृश्यले यस्तो शंकालाई प्रशस्तै आधार दिन्छ किनकि व्यावसायिक भन्दा व्यभिचारी र सक्षम भन्दा स्वार्थीहरू नै यस्तो दौडको मैदानमा अहिले उत्रिएका देखिन्छन्। बेलैमा गुण/दोष खुट्याउन नसक्दा राज्यको कार्यकारी पदमा पुग्नेहरूले पद खुस्किएपछि गर्न सक्ने भनेको विस्मातमात्र हो। पत्रकार­लेखक मार्क टलीले आफ्नो पुस्तक 'इन्डिया इन स्लो मोसन' मा इन्दिरा गान्धीको शासनको क्रम भङ्ग गर्ने गान्धीवादी गुजराती नेता मुरारजी देशाइबारे लेखेका छन्– सत्ताबाट हटेपछि देशाइ विस्मात गर्दै भन्छन्, 'दिल्ली चाकडीवाज र छलीहरूको सहर रहेछ, अब म दिल्ली कहिल्यै फकिन्न। आफ्नो राजनीतिक जीवनको उत्तरार्धतिर रहेका सुशील कोइरालाले यस्तो विस्मात भविष्यमा नगर्नका लागि उनले कुनै ठूलो संकल्प गर्नुपर्दैन, चाकडीबाजदेखि सावधान रहँदै आफ्नो हृदयको आवाज सुन्न सक्नुपर्छ। छली र चाकडीबाजहरूका बिगबिगी अहिले नेपालको राजधानीमा उल्कैसँग बढेको छ।

प्रकाशित: ८ भाद्र २०७१ २१:३५ आइतबार