धर्म शब्दको अर्थ र व्याख्या नियत अनुकूल हुने गरेको पाइन्छ। सबै विषय, वस्तु, जीवजन्तु, तत्वको आ–आफ्नै धर्म हुन्छ। सूर्यको ताप, पानीले भिजाउने भनेजस्तै मानवको धर्म के हो? हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन आदिमध्ये कुनै हो कि? अरु नै छ? चिन्तन गर्न सक्नुपर्छ। यो धर्म र त्यो धर्म भनेर भइरहेको विवाद के हो? र, यस्ता धर्म र मान्छे तथा मानव समाजको के सम्बन्ध हुन्छ? यस्ता यी धर्म कसरी बने र कसरी चले? कुन धर्मसँग यो भूमिको तथा यहाँका नागरिकको के सम्बन्ध हुन्छ? त्यसबारे पनि सचेत नागरिकले जान्नुपर्छ। यतिबेला नेपालीले राष्ट्रधर्म अर्थात स्वधर्म, राष्ट्रियता, मौलिकता चिन्न सक्नुपर्ने घडी आएको छ।
मानवता अर्थात मानव धर्म नै मान्छेको धर्म हो। मान्छेमा हुनपर्ने मानवीय गुणको विकास र परिपूर्णतालाई मानव धर्म भनिन्छ। मानवमा मानवीय गुण विकासको परिपूर्णताका लागि धेरै सनातनशास्त्रहरूले मार्गनिर्देश गरेका छन्। जो वेदवेदान्तीय शास्त्र हुन्। यिनै मार्गदर्शनलाई आत्मसात गर्न नसक्दा मानव समाज मानव समाज नभएर दानव समाज जस्तो भइरहेछ, मानव चेतना मानव चेतनाबाट नभएर दानवीयताबाट अगाडि बढेको छ। मानव समाजमा मानवीयताको क्रियाकलाप कम पाइन्छ।
मानवमा आउने चेतनात्मक अनुभूति, आभाष तथा तत्त्वबोध आत्मबोध हँुदा सबैलाई एउटै हुने गर्छ। सत्यज्ञान, आत्म तथा तत्वबोधको चेतनाको अनुभूति छुट्टाछुट्टै हुँदैन। त्यसैले नै आद्यगुरु शङ्कराचार्यले अद्वैत वेदान्तको सिद्धान्त प्रतिपादन गर्नुभएको हो भन्न सकिन्छ। संसारभरका मानव जातिमा हुने आत्मबोध–ज्ञानको चेतनाभाष एउटै हुन्छ। यही सिद्धान्तमा दृढ सङ्कल्पित छ वैदिक सनातन धर्मदर्शन। यसैलाई आत्मसात गर्दै आएको हुनाले हिन्दु धर्मलाई वैदिक सनातन हिन्दु धर्म भनिएको हो।
संसारमा कालान्तरमा जन्मेका अन्य धर्म निश्चित वादमा अडेका छन्। त्यसो त सनातन हिन्दु धर्म तथा ॐकार परिवारभित्रकै सम्प्रदाय पनि विभिन्नखालका वादमा केन्द्रित छन्। तथापि समग्र हिन्दु धर्मले सनातन धर्मको प्रतिनिधित्व गर्ने भएकाले यसभित्रका सम्प्रदाय मतलाई स्वतन्त्र रहन दिएर आफूले सनातनधार नछाडेको हुनाले नै हिन्दु धर्मलाई सनातन धर्मको पर्याय मानिन्छ। सनातन धर्म सागर हो जहाँ नभेटिने केही हुँदैन तर सनातन धर्मलाई आफूमा मात्रै सीमित गर्न कुनै पनि धर्म–सम्प्रदाय तथा पन्थले सक्तैन। पूर्ण मानव धर्मको तत्वलाई सम्बोधन गरेको अर्थात मार्गदर्शन गरेको सनातन धर्म र निश्चित पक्षलाई मात्रै सम्बोधन गरेको अन्य कुनै धर्म सम्प्रदायको तुलना हुन सक्तैन।
संसारमा दुई प्रकारका धर्म छन्। पहिलो, शाश्वत मानव धर्म र दोस्रोमा निश्चित क्षेत्र, परिस्थिति र वाद सम्बोधित धर्म। वर्तमानमा धर्मको नाममा जे जति द्वन्द्व तथा बहस छ यिनै दुई प्रकारका धर्मको विशेषतामा केन्द्रित छन्। पहिलो धर्म अर्थात शाश्वत सनातन धर्म हो। यो सृष्टिसँगै सुसंस्कारित–परिस्कारित र संस्थापित हुँदै आएको वेद–वेदान्तीय धर्म हो। भलै यसमा आजको समयमा केही कर्मकाण्डीय स्वार्थमा विकृति तथा दुरूपयोग भएको देखिएको होला। सनातन धर्मलाई आत्मसात गर्ने धर्महरूमा ॐकार परिवार (हिन्दु, बौद्ध, जैन, शिख, किराँत, प्रकृतिपूजक आदि) पर्छन्। यी धर्मभित्र पनि दाइको भूमिकामा छ हिन्दु धर्म। त्यसैले नै हिन्दु धर्मलाई सनातन धर्मको पर्यायका रूपमा लिने गरिन्छ। ॐकार परिवारभित्रका अन्य धर्म सनातन धर्मकै पेरिफेरिमा रहेर सामान्य केही आफ्नै सिद्धान्तमा दृढ छन् र सनातन धर्म दर्शनअनुसार दशौं अवतारका रूपमा बुद्ध अवतार (भगवान गौतम बुद्ध) को मार्गोपदेशबाट बौद्ध धर्म, जैन महामुनिहरूको मार्गोपदेशबाट जैन धर्म, गुरुनानकको मार्गोपदेशबाट शिख धर्म, किराँतेश्वर भगवान शिवका अनुयायीहरूको किराँत धर्म जसका महागुरुका रूपमा फाल्गुनन्दलाई लिइन्छ, छन्।
दोस्रो धर्मको रूपमा दुई हजार वर्षअघि पश्चिमी मुलुकमा जन्मेको इशाई धर्म र तेह्र सय वर्ष पहिला अरबी मुलुकमा जन्मेको इश्लाम धर्मलगायत पर्छन्। संसारमा दोस्रो पंक्तिमा पर्ने धेरै धर्म छन् यहाँ शाब्दिक मापदण्ड नाघ्ने हुनाले संकेतमात्र गरियो धेरै व्याख्याको सान्दर्भिकता ठानिएन। व्यवहारमा नदेखाइए पनि अथवा ढाकछोप गरिए पनि इशाई धर्मका प्रवर्तकका रूपमा मानिने यशु क्राइस्टले पनि भारत वर्ष (वर्तमानको इन्डिया, नेपाल, तिब्बत, पाकिस्तान) मा आएर सोह्र वर्षसम्म सनातन धर्मको अध्ययन र साधना गरेर आत्म–तत्वबोधको ज्ञान प्राप्त गरेका थिए भन्ने प्रमाण भेटिएका छन्। स्वामी योगानन्दले आफ्नो आत्मकथामा पनि यशु काशीमा आएको भन्ने बेहोरा जनाउनुभएको छ। त्यस्तै स्वामी चन्द्रेशले आफ्नो शङ्ख घोष, शिक्षा र समाज, रहस्य के हो? भन्ने पुस्तकमा पनि यो कुरालाई पुष्टि गर्नुभएको छ।
विभिन्न कालखण्डका इशाई अनुयायी तथा पादरीहरूले विभिन्न संस्करणमा समय परिस्थिति, उनीहरूको धार्मिक साम्राज्यवाद फैलाउने मिसन र आममान्छेको मनोविज्ञानलाई लक्षित गरेर परिमार्जन संशोधन गर्दै आउँदा बाइबल–बाइबलमै अन्तर्विरोध देखिए पनि कतिपय ठाउँमा यशुका भनाइको रूपमा उदृत गरिएका अभिव्यक्तिले पनि यशु भारतवर्षमा आएर सनातन वेदान्त धर्म दर्शनको अध्ययन तथा साधना गरेका थिए भन्ने पुष्टि हुन्छ। योगानन्दको आत्मकथामा सिधारूपमा नभए पनि संकेतात्मकरूपमा योगानन्दले यशुका भनाइहरूलाई सनातन वेदान्त दर्शनसँग जोडेर उपदेश गरेका छन्। यशुका भनाइहरू कतिपय ठाउँमा वेदान्तसँग मिल्न खोज्ने पाइनुमा पनि उनी वेदान्तीय सिद्धान्तबाट प्रेरित र अनुयायी थिए भन्ने पुष्टि हुन्छ। क्रुसमा टाँगिनपर्दा पनि सहज महसुस गर्न सक्नुमा उनमा विदेही भावको क्षमता प्रवल थियो भन्ने अर्थ लाग्छ, जुन क्षमता मात्र वेदान्तज्ञानको अनुभूतिले सम्भव हुन्छ।
एउटा ध्रुवसत्य के हो भने मानव–मानवबीचमा धर्मका नाममा जति द्वन्द्व र बहस भए पनि अन्ततोगत्वा मानवले मानव धर्म याने सनातन धर्मको विकल्प भेट्ने छैन। यही कुरालाई पश्चिमाहरूले आत्मसात गरिसकेका छन्। महर्षि वैदिक फाउन्डेसन, स्कोनलगायतका अध्यात्म ज्ञानविज्ञानका अभियानहरूले पश्चिममा राम्रो प्रभाव जमाउनु, सनातन धर्मका विभिन्न गुरुहरूको प्रभुत्व पश्चिममा बढ्दै जानुले यसलाई छर्लङ्ग्याउँछ।
धर्मले प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक, जनगणतान्त्रिक वा चाहे त्यो राजतान्त्रिक किन नहोस् कुनै पनि व्यवस्था सञ्चालनमा बाधा/व्यवधान गर्दैन, बरु राष्ट्र धर्म अर्थात स्वधर्म भएन भने कुनै पनि व्यवस्था चल्न कठिन हुनसक्छ। कसैको इसारामा स्वधर्ममाथि प्रहार गरेर आत्मघाती गोल गर्नु राजनीतिक क्षेत्रका लागि कुनै आश्चर्यको कुरा भएन। विश्वमै सर्वोत्कृष्ट धर्मको एकमात्र राष्ट्र भनेर चिनिँदा प्राप्त हुने अमूल्य उपलब्धिबाट वञ्चित भएर त्योभन्दा ठूलो के अर्को उपलब्धि हात पर्छ? सबैले विवेक गर्न सकौं। सनातन धर्म दर्शनको व्यापकता अन्यत्र फैलँदै जाने र यहाँ आफ्नै नाभीको कस्तूरीलाई मृगले नचिनेझैँ हँुदा भविष्यमा पश्चातापले चुक्चुकाउने पर्न सक्छ। सनातन धर्मसँगको यो भूमि र यहाँका नागरिकको अन्तरसम्बन्धलाई संस्थागत गर्ने विषयबारे सम्बन्धित सबैले समयमै सोँच्न सकौं।
प्रकाशित: ४ असार २०७१ २०:०३ बुधबार