नवगठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल दल दर्ता प्रक्रियाका निम्ति निर्वाचन आयोग जाँदा युवा नेतृ रामकुमारी झाँक्रीले उनको पाखुरामा समातेर सहारा दिइरहेको तस्बिरलाई अधिकांशले अर्थपूर्ण ठाने। कतिपयले अर्थ्याए पनि– ‘यो अबको राजनीतिमा युवा पुस्ताको हस्तक्षेपको संकेत हो।’ यद्यपि, अघिल्लो हप्ता मात्रै नयाँ दलको मान्यता पाएको एकीकृत समाजवादीको नेतृत्व सत्तरीको छेउछाउ पुगेका नेताले गरे पनि केन्द्रीय तहमा भने नेकपा (एमाले) बाट विद्रोह गरी अलग्गिएका युवा नेताहरूको बाहुल्य देखिन्छ।
एमाले पुनर्गठनको चित्ताकर्षक अभिव्यक्ति दिएर बेग्लै चुला–चम्का जोड्न माधवकुमार नेपाललगायत नेताहरू अग्रसर रहे पनि अधिकांश नेता–कार्यकर्ता विगतमा केपी शर्मा ओली र उनको कोटरीका हर्ताकर्ताको तिखो पेलाइमा परेका, अवसरबाट सदैव वञ्चित रहेका र नयाँ अवसरका लागि खुट्टा उचालिरहेका युवा–पंक्ति नै छन्।
बुज्रुक नेतालाई युवा नेतृले डोर्याइरहेको तस्बिर हेरेर अब राजनीतिक दलमा युवा पुस्ताको हस्तक्षेप बढ्न लागेको अनुमान लगाइनु अहिल्यै हतार हुनेछ। किनभने, नवगठित एकीकृत समाजवादीको नेतृत्व तहमा अझै पुराना पुस्ताकै बाहुल्य देखिन्छ। तत्काल युवा–नेतृत्वको सम्भावना देखिँदैन पनि। नयाँ पार्टी गठन गर्ने हुटहुटीका कारण रामकुमारी वा अरू युवा नेताले सक्रिय भूमिका निर्वाह गर्नु स्वाभाविकै देखिन्थ्यो। यो केही दिनको हठात निर्णयको उपज पनि थिएन। एमालेभित्र लामो समयदेखि झागिँदै आएको गुटगत राजनीतिको विस्फोटक रूपमा अहिलेको विद्रोहलाई अर्थ्याउन सकिन्छ।
राजनीतिक दलको नेतृत्व युवा पुस्तामा सर्नुपर्छ, युवा पुस्ताले पार्टी र सत्तारूपी रथको लगाम खिच्नुपर्छ भन्ने आवाज घनीभूत हुन थालेको धेरै समय बितिसक्यो। आखिर, बुज्रुक पुस्ताले सक्रिय राजनीतिक जीवनबाट विश्राम लिएर अभिभावकत्व ग्रहण गर्नुपर्ने आवाज उठ्नुलाई स्वाभाविकै पनि मान्नुपर्छ। किनकि युवा पुस्ताको ऊर्जाशील नेतृत्वले कुनै पनि राजनीतिक दललाई समयानुकूल तुल्याउन, जीवन्त र गतिशील बनाउन अहम् भूमिका खेल्नेमा पक्कै सन्देह नरहला।
साथै, विश्वका कतिपय मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र पार्टी नेतृत्वमा युवा पुस्ताको लोभलाग्दो उपस्थिति बढ्दै गएका कारण हामीकहाँ पनि युवा पुस्तालाई नेतृत्वका निम्ति पत्याउनुपर्ने परिस्थिति सिर्जना हुनुपर्ने थियो। तर जीवनको आखिरी क्षणसम्मै नेतृत्वका लागि हानाथाप गर्ने मनोवृत्तिको सँघारमा उभिएका नेताहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न कन्जुस्याइँ गरिरहेको विडम्बनापूर्ण स्थितिप्रति हामी सर्वथा परिचित छौँ।
नेकपा (एमाले) मा धाँजा फाट्नुमा अनेक वस्तुगत कारण हुन सक्ला तर नेतृत्व हस्तान्तरणमा देखिएको गहिरो अरूचिले नै पार्टीलाई विभाजनको छाँगाछुर भिरबाट खसालेकामा दुई मत देखिँदैन। बुज्रुक पुस्ताका केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतले फराकिलो हृदय प्रदर्शन गरेर युवा पुस्ताका नभए पनि दोस्रो तहका नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्ने जाँगर देखाएका भए अहिले एमालेमा यति ठूलो ध्वंसको बादल मडारिने थिएन।
अझै पनि पार्टी वा सत्ताको बागडोर सम्हाल्ने लालचमा उभिएका बुज्रुक पुस्ताका नेताहरूले उदारता देखाउन सकेनन् र पछिल्लो पुस्तालाई पत्याएर पार्टीमा विग्रह निम्तिने परिस्थितिलाई रोक्न चाहेनन्।एमालेले भोग्नुपरेको दुर्घटनामा यिनै पक्षहरूले पृष्ठपोषण गरेका छन् भन्नु अनुचित नहोला।
युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सवालमा बुज्रुक पुस्ताबाट उदासीनता र अरूचि प्रकट भए पनि युवा शक्तिलाई दोहन गर्नेतिर भने नेतृत्व तह सदैव तल्लीन रहँदै आयो। दोहनको शृंखला लामै छ। पछिल्लो समय, एमाले विभाजनको सँघारमा उभिएको बेला केपी शर्मा ओली निकटस्थहरूले युथफोर्स ब्युँताए। युथफोर्स ब्युँताइसँगै माधवकुमार नेपाल निकटस्थहरूले पिपुल्स भोलेन्टियर्सलाई ब्युँताउने निर्णय गरे।
नेकपा (माओवादी केन्द्र) ले पनि वाइसिएललाई ब्युँताइसकेको छ। धन्य, नेपाली कांग्रेसले युवाहरूलाई लडाकु शैलीमा उतार्ने यस्ता प्रकृतिका कुनै फोर्स गठन गरेको थिएन। प्रश्न उठ्छ– कुनै बेला लडाकु दस्ताका रूपमा परिचित रहेको र पछिल्लो समय अस्तित्वहीन भइसकेका युवा फोर्सहरूलाई किन ब्युँताउन आवश्यक ठानियो ? यद्यपि, सत्ताबाट बहिर्गमन भएपछि बालुवाटारबाट बालकोट फर्किँदा केपी शर्मा ओलीलाई ‘स्कर्टिङ’ गरेर पुर्याउन र माधवकुमार नेपालको पक्षमा मोटरसाइकल र्याली गर्ने कार्यमा भने ब्युँताइएका युवा फोर्सहरूको काम देखियो। के यतिका लागि मात्रै, शक्तिको दम्भ देखाउनका लागि मात्रै चाहिएका हुन् युवा ?
निःसन्देह, राजनीतिक नेतृत्वले युवा पंक्ति/शक्तिलाई रचनात्मक एवं सिर्जनात्मक कर्मतिर डोर्याउन उत्प्रेरित गर्नुपर्ने हो। विडम्बना, त्यस विपरीत राजनीतिक नेतृत्वले युवाहरूलाई विध्वंश, विद्वेष र विनासको गल्छेँडोतिर यात्रा–उन्मुख हुन सिकाइरहेको देखिन्छ। युवा शक्तिलाई कसरी रचनात्मक दिशा वा कार्यमा सम्बद्ध तुल्याउने हो भन्ने विषय राजनीतिक नेतृत्वको हातमा नै छ। तर नेतृत्वले भने युवा शक्तिलाई रचनात्मक नभएर पाल्तु बनाउने उपक्रमलाई सघन तुल्याउँदैछन्। आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्न एवं अहम् र तुष्टिलाई मलजल गराउने कार्यमा उद्यत तुल्याइरहेका छन्।
हिन्दु धर्मप्रति आस्थावान् र दृढ व्यक्तिहरू भन्ने गर्छन्– ‘राम नाम सत्य हो।’ राजनीतिक नेतृत्वले अचेलका युवाहरूलाई भने ‘पद र पैसा मात्र सत्य हो’ भन्ने भाष्य घोकाइरहेका छन्, उनीहरूलाई दिग्भ्रमित र दिशाभ्रष्ट तुल्याइरहेका छन्, अमानवीय, सांस्कृतिक रूपले शून्य र उपभोगवादको करिया बनाउने कार्यमा अग्रसरता देखाइरहेका छन्। कुनै रचनात्मक र बौद्धिक क्रियाकलापतिर भन्दा अर्थमुखी र उपभोक्तामुखी संस्कृतिको चरणको दास बनाइरहेका छन्। हामीले मानव इतिहासका पृष्ठहरू पल्टाउँदा प्रष्ट देख्छौँ– संसारमा परिवर्तनको जग खन्ने कार्य युवा पंक्तिले नै गरेको थियो।
उनीहरूका नौलो विचार, सर्वोत्तम सिर्जना र अदम्य साहसले नै इतिहासको गतिले पृथक मोड लिएको थियो।भारतीय स्वतन्त्रता संग्रामका नायक भगत सिंहले २०–२२ वर्षकै उमेरमा सिंगो भारत हल्लाइदिएका थिए। फिडेल क्यास्ट्रो र चे ग्वे भाराले युवावस्थामा नै क्रान्तिको रूपरेखा समृद्ध तुल्याएका थिए। विश्वका अधिकांश वैज्ञानिकले युवावस्थामा नै विज्ञानको क्षेत्रमा नौलो खोज एवं आविष्कार गरेर मानव समाजको विकासलाई गतिशील तुल्याउन भूमिका खेलेका थिए।
तर हाम्रा नेतृत्वले भने युवाहरूलाई जिम्मेवार, सचेतन, सामर्थ्यवान् र परिवर्तनको बाहकका रूपमा नभई विशुद्ध ‘हनुमान’ का रूपमा विकास गरिरहेका छन्। जसले विग्रहको विन्ध्याचल पर्वत उचाल्न सक्छ, जसले विध्वंशको समुद्र तरेर लंका जलाउन सक्छ र जसले शक्ति र भक्तिलाई नै मूल मन्त्र ठानेर अघि बढ्ने इच्छाशक्ति उमार्छ, केवल त्यस्ता युवा मात्रै नेतृत्वकर्ताका लागि प्रिय बन्दैछन्। तसर्थ, मस्तिष्कलाई तिखार्ने भन्दा मांसललाई पुष्ट तुल्याउने युवा शक्तिको आवश्यताबोध राजनीतिक दलको नेतृत्वकर्ताहरूले गरिरहेसम्म न युवा पुस्ताले नेतृत्व गर्ने अवसर विकसित हुन्छ न त युवाहरूले नेतृत्वका लागि हस्तक्षेप गर्ने हैसियतमा आफूलाई उभ्याउन नै सक्छन्।
यद्यपि, युवा पुस्ताको लोभलाग्दो हस्तक्षेप हुने प्रक्रिया भने जारी नै छ। नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूभित्र यस्तो प्रक्रिया आरम्भ भइसकेका छन्। कांग्रेसभित्र गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायत युवा नेता र कम्युनिस्ट पार्टीभित्र रामकुमारी झाँक्री, ठाकुर गैरे प्रवृतिका नेताहरूले दशक/डेढ दशक यता आश जगाउँदै आएका छन्। केही युवा नेताले ‘आश’ जगाए पनि ठूलो पंक्तिका युवाहरू भने अझै पनि ‘दास’ चितवृत्तिभन्दा माथि उक्लन सकेका छैनन्।
नेतृत्वद्वारा सिर्जित बिल्कुलै गलत एवं प्रतिगामी निर्णय र कदममा ल्याप्चे लगाउने तह र हैसियतभन्दा माथि उठ्न सकेका छैनन्, ‘दास’ प्रवृत्तिका युवा नेताहरू। अराजक र उग्र शैलीको राजनीतिलाई प्रश्रय दिन त्यस्ता युवा नेताहरू सदैव अग्रसर देखिँदै आएका छन्।असहिष्णु, घृणा र विद्वेषको खेती गर्न उद्यत रहँदै आएका छन्।अतः भविष्यमा यस्ता युवा नेतृत्वले पार्टी वा सरकारको नेतृत्व गरे भने देश र समाजलाई असुरक्षा, विघटन र अशान्तिको दिशातिर घचेट्नेमा कुनै दुई मत देखिँदैन।
हामीलाई लोकतान्त्रिक मूल्य, मान्यता र संस्कारहरू निर्माण गर्ने, लोकतान्त्रिक विधि र प्रक्रियाहरूलाई सम्मान गरेर अघि बढ्ने युवा नेतृत्वको आवश्यकताबोध हुन थालिसकेको छ। नयाँ युग र समयले सुम्पेको कार्यभार पूरा गर्न बुज्रुक पुस्ताबाट अब सम्भव छैन भन्ने पनि प्रष्ट भइसकेको छ। बुज्रुक पुस्तालाई जुँगाको लडाइँ लड्नै फुर्सद छैन। विद्वेषको नभई सहिष्णु राजनीति गर्ने युवा पुस्ताबाट नै अबको समाजले गति लिनेमा विश्वस्त हुन सकिन्छ। तसर्थ, रामकुमारीहरूले माधवकुमारहरूलाई डोर्याउने मात्र होइन, नेपालहरूले रामकुमारीहरूलाई मार्ग प्रशस्त गर्ने रुचि पनि देखाउन सक्नुपर्छ अब।
प्रकाशित: १६ भाद्र २०७८ ०१:५० बुधबार