विचार

महादेवलाई मनपर्ने साउन महिनाको महिमा

संस्कृति

महादेवलाई मान्ने बार सोमबार। महादेवलाई अति नै मनपर्ने महिना साउन। साउनको रोमबार महादेवको अत्यन्तै श्रद्धाभाव राखी भक्तजनले मान्ने गर्दछन्। साउन महिनाभर महादेवको मन्दिरमा भक्तजनको ठूलो भीड लागिरहन्छ। त्यसमा पनि सोमबार त झनै धेरै भीड लाग्ने गर्छ। यो समयमा पशुपति, गोकर्णेश्वर, पिण्डेश्वर, डोलेश्वर, सन्तानेश्वर महादेवका साथै जहाँजहाँ महादेवका मन्दिर वा शिवलिङ्ग छन् त्यहाँत्यहाँ विवाहित र अविवाहित महिलाहरूले महादेवको पूजा आराधना गरेर आफ्ना पति, छोरा, छोरी र परिवारजनको सुख, शान्ति र समृद्धिको कामना गर्दै व्रत बस्छन्। अविवाहित महिलाहरूले आफू अनुकूलका पति पाउन र सुख र समृद्धिको लागि व्रत बस्ने गर्छन्। पार्वतीले पनि यसै समयमा महादेवसँग विवाह गर्न पाउँ भनी व्रत बसेर महादेवको पूजा आराधना गरेकी थिइन्।

पहेँलो र राता सारी पहिरिएर, हरियो चुरा र पोते लगाएर समूह समूह मिलेर महिलाहरू सजेर रमाउँदै महादेव स्थानमा जाने गर्छन्। एक किसिमले वातावरण र्न रमणीय बनाउँदै महिलाहरूको भीड भइरहेको हुन्छ, महादेवको मन्दिर र बाटोमा। महादेवलाई मनपर्ने साउन महिनाभरि नै व्रत बस्ने चलन छ। नसकेमा सोमबारपिच्छे व्रत बसे पनि हुन्छ। जसले विधिपूर्वक महादेवको व्रत बस्छ ऊ अपुत्र भए पुत्र प्राप्त गर्छ, निर्धन भए धनवान् हुन्छ, अविद्या भए विद्या प्राप्त गर्छ अनि समाजमा बुद्धिमान् मानिसको रूपमा प्रसिद्ध हुनेछ भन्ने जनविश्वास छ। शास्त्रमा पनि यस्तो भनिएको छ – सोमबार व्रत कार्य श्रावण वै यथाविधिं। शक्ते नो पोषणं कार्यमथवा निशि भोजनम् ।। अपुत्रो लभते पुत्रान्नि र्धनो धनवान भवेत्। अविद्यो लभते विद्यामिति धर्मविदो विदुः ।।

हरेक वर्ष साउन १ गतेका दिन साउने संक्रान्ति मान्ने नाममा ‘लुतो फाल्ने’ भनी ‘वारि गाउँले पारि गाउँले लुतो लै जाओ ...’ भन्दै कराउँदै चारैतिर मसाल फ्याँक्ने चलन छ। पहिलापहिला सन्ध्याकालमा लुतो फाल्ने भन्दै नाङ्गलो ठटाएर, शंख फुक्ने, घण्ट बजाउने, ढिकी चलाउने र घरको मूल ढोका एकैछिनका लागि भए पनि लगाउने चलन छ। अब आएर लुतो फाल्ने चलन पनि हराउन थालिसक्यो। कतैकतै कुनैकुनै ठाउँ र गाउँघरमा सामाजिक रूपमा लुतो फाल्ने संस्कृतिचाहिं रहिरहेको देखिन्छ। असार महिनामा खेती गर्ने किसानहरूले अझ भनूँ रोपाइँ सकेपछि साउन संक्रान्तिका दिन आफन्त चेलीबेटी सबै जना मिलेर रमाइलोपूर्वक चाड मनाउँछन्। परम्परा अनुसार कुकुर डाइनो, लुतेझार, काग भलायो, पानी, अमला, कागती, अम्बा, नास्पाती आदि औषधिको रूपमा प्रयोग गरिने वनस्पति राखेर कन्डारक नामक राक्षसको पूजा गरेर मसाल फ्याँक्ने हो। यसो गर्नाले असारमा खेती गर्दा हिलो माटोको असरले हुने घाउ, खटिरा र लुतो जस्ता चर्म रोगबाट बचिन्छ भन्ने जनविश्वास छ।

महादेवका मन्दिरमा साउन महिनामा नेपाली महिलाहरू मात्र होइन भारतीय महिलाहरूको पनि त्यतिकै भीड हुन्छ। पहेंलो र रातो सारी लगाएर, हरियो चुरा लगाई त्यसमा पनि हरियै मेहन्दी हत्केलामा सजाएर सकेसम्म आफूलाई राम्री पारेर सजाएर महिलाहरू महादेवका मन्दिरमा जाने गर्छन्। हाम्रो देशका पशुपतिनाथको दर्शन गर्न भारतका उत्तर प्रदेश विहार, दक्षिण भारतदेखि मलेसिया र इण्डोनेसियाको बातीबाट पनि धेरै भक्तजन आउने गर्छन्।

खेती गनुपर्ने नेवारहरूले गठेमंगलअघि नै काम सक्नुपर्छ भन्दै रातोदिन मेहेनत गरेर रोपाइँ सकाउँछन। रोपाइँको काम सकेपछि गठेमंगल मनाउँछन्। भूत, प्रेत, पिशाच, डाकिनी, बोक्सी, चण्डाल, चण्डालीनीबाट बच्न र उनीहरूलाई पन्छाई सबैको शुभमंगल होस् भनी मनाइने चाड हो, गठेमंगल चतुर्दशी। उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न स्थान टोल, टोलमा साउन कृष्ण चतुर्दशीका दिन गठेमंगल नरकटको बनाएर उभ्याइन्छ र यो चाड मनाइन्छ। गठेमंगल चतुर्दशीलाई प्रेत चतुर्दशी पनि भन्ने गरिन्छ। यो पनि महादेवकै रूप हो। किनभने भूत, प्रेत, पिशाचका नाइके महादेवकै प्रतिकका रूपमा गठेमंगल बनाएर दोबाटो, चौबाटोमा ठड्याइने हो। गठेमंगलको आकृतिलाई शिवलिङ्गको रूपमा पनि लिंदै आएको छ। त्यस्तै नै उन्मक्त भैरव जस्तै देखिनुले पनि गठेमंगललाई महादेव, भैरवका रूपमा पनि मान्दै आएको देखिन्छ। गठेमंगलका दिन ‘आजु जय हा .....’ भन्दै जगात माग्दा पनि आजु जय भनी भैरवको नाम लिइएको हो भनिन्छ।

बौद्ध धर्मावलम्बी नेवारहरूले हरेक वर्ष यही साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म महिनाभर गुंला पर्व मनाउने गर्छन्। स्वयम्भू महाचैत्यमा यो समयमा ज्यादै भीड लाग्छ। यो समयमा स्वयम्भू र परिसरको परिक्रमा गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुृनेछ भन्ने जनविश्वास छ। एक जना विद्वान प्राध्यापकका अनुसार महादेवले बुद्धको रूपमा जन्म लिएका छन्। पालि ग्रन्थमा वर्णन गरिएका २७ जना बुद्धका उल्लेख गर्दै उहाँले भन्नुभएको छ, बुद्धको अति प्राचिन तीनवटा नाम तणंकर, शणंकर र मेघंकर हुन्। देवता र दैत्य दुवै पक्षका प्रिय महादेवको देवताका साथै दैत्य, राक्षस, पिशाच, गन्धर्व, यक्ष आदि सबैले पूजा गर्छन्। महादेवले भष्मासुर, शुक्राचार्य जस्ता धेरै दैत्यलाई पनि वरदान दिनुभएको छ। महादेव सम्पूर्ण आदिवासी, वनवासी, जाति, वर्ण, धर्म र समाजका सर्वोच्व देवता हुन्।

यसरी अत्यन्तै शक्तिशाली महादेवलाई मनपर्ने साउन महिनामा विभिन्न आदिवासी जनजातिहरूले विभिन्न किसिमले महादेवको पूजा गर्ने सन्दर्भमा जनकपुरका मिथिलाञ्चलमा आफ्नै संस्कार र संस्कृतिअनुरूप मैथली महिलाहरूले ठूलो पर्व मधुश्रावणी भनी साउन महिनाको पहिलो सोमबारदेखि १३ दिनसम्म विवाहित महिलाहरूले महादेव र विषहर अर्थात् नागदेवताको पूजा गर्छन्। यो विशेष अनुष्ठानमा नवविवाहिता महिलाहरूले भगवानसँग आफ्नो भावी सुखी जीवनको कामना गर्दै प्रार्थना गर्ने गर्छन्। आफ्ना पतिको दीर्घायु होस् भनी मनाइने यो पर्व मिथिलामा मात्र छ।

मधुश्रावणी व्रत पर्व कहिलेदेखि सुरु भएको हो भन्ने कुनै तथ्य नभए पनि शिव पुराणमा उल्लेख गरिराखेको एउटा प्रसंगअनुसार मधुश्रावणी नामक एउटी नवविवाहिता महिलाले महादेवसँग आफ्ना पति कुष्ठरोगी भएकाले दुःख पोखेर प्रार्थना गरेकी थिइन्। महादेवले यो व्रत बस्ने कुरा बताउनुभएको थियो। महादेवले भन्नु भए जस्तै व्रत बसेको प्रभावले उनका पतिको रोग निको भई स्वस्थ्य भए। अनि त्यही बेलादेखि नवविवाहिता महिलाहरूले यो व्रतलाई परम्परागत रूपमैं मान्दै आएको हो।

मधुश्रावणी पर्वको विषयमा एउटा रमाइलो कथा पनि छ। एकपटक महादेव र पार्वती जलक्रीडा गरिरहेको समयमा महादेवको वीर्य स्खलन भएछ। महादेवले उक्त वीर्यलाई रुखको पातमा राखिदिए। सोही वीर्यबाट पछि पाँच कन्याको जन्म भयो। यी कन्याहरूको जन्म भइसकेपछि महादेव त्यहाँ जान थाले। बेलाबेलामा आफ्ना पुत्रीहरू भेट्न महादेव गई नै रहे। एकदिन पार्वतीलाई शंका लागेर महादेवको पछि लागेर गइन्। महादेव पोखरीमा सर्परूपी पुत्रीहरूसँग खेलिरहन्छ। महादेव उनीहरूसँग खेलिरहेको देखेर पार्वती रिसाउँछिन्। पार्वतीले ती  सर्पहरूलाई मार्ने प्रयास गर्छिन्। महादेवले पार्वतीलाई सर्पहरूको बारेमा कथा सुनाउँछन्। कथा सुनिसकेपछि पार्वती हाँस्न थाल्छिन्। महादेवले भन्छ, साउन महिनामा जसले सर्पको पूजा गर्छ उसलाई सर्पको भय हुँदैन। यही कारणले मधुश्रावणी पर्वमा सर्पलाई पनि पूजा गरिने हो।

कर्कट संक्रान्ति पनि भनिने साउन महिनामा पर्ने विभिन्न पर्वले गर्दा नै यो महिनाको धेरै विशेषता रही आएको छ । यो महिनामा पशुपति देवपतनमा गंगामाईको खट जात्रा, हरिशयनी एकादशी, चतुर्मास व्रतारम्भ, तुलसी रोप्ने, गुरु पूर्णिमा, सिद्धार्थ गर्भ प्रवेश, महामिनिष्क्रमण, धर्मचक्र प्रवर्तन दिवस, भिक्षुहरूको वर्षावासरम्भ, गठेमंगल, गुंला धर्मआरम्भ, नागपंचमी जस्ता विभिन्न किसिमका मेला पर्व परेकाले पनि साउन महिनालाई अत्यन्तै महत्वको महिनाको रूपमा लिइन्छ।

साउन महिनाभरि महादेवलाई मान्ने सन्दर्भमा महादेवलाई अभिषेक गर्ने गरी बोलबम भन्दै गरिने यात्रा पनि श्रावणी मेलाको नामले चर्चित छ। पाँच ज्ञानेन्द्रीय र अन्तष्करणदेखि नै शुद्ध पवित्र भई गरिने बोलबम यात्रा भारतको वैद्यनाथ धामबाट सुरु भएको हो। नेपालका तराईवासीहरूले यो बोलबम काठमाडौ उपत्यकामा भित्र्याएका हुन्। सुरुसुरुमा कांवरिया संघले सुरुवात गरेको बोलबम यात्रामा १३ जना भक्तजनले मात्र भाग लिएका थिए। तिनीहरूले सुन्दरीजलबाट जल ल्याई पशुपतिनाथमा चढाएका थिए अर्थात् अभिषेक गरेका थिए। केही वर्षको अन्तरालमा हाल हजारौं भक्तजनले बोलबम यात्रामा भाग लिन थाले।

उपत्यकाका नेवारहरूका साथै विभिन्न जातिका भक्तजनले पनि बोलबम यात्रामा भाग लिन थालेका छन्। गेरुवस्त्र धोती लगाएर काँधका खर्पनजस्तो बाँसको काँवर बोकेर माटाका दुईवटा कलशमा जलभरि राखेको नाङ्गो गोडाले बोलबमको नारा लगाउँदै सुन्दरीजलमा गई त्यहाँदेखि जल ल्याएर पशुपतिनाथलाई चढाउन ल्याइन्छ। यसरी जल चढाउँदा बोलबम भक्तजनका मनोकांक्षा पूरा हुनेछ भन्ने धार्मिक विश्वास छ।

गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्म लाग्ने बोलबम मेला दुई किसिमका छन्। एउटा डाक बम र अर्को साधारण बम। डाक बमका भक्तजनले सुन्दरीजलको नदीको मुहानबाट जल ल्याउँदा कतै पनि बिसाउनु हुँदैन। उनीहरू अघिल्लो दिनमै नुहाएर शुद्ध हुनुपर्छ। बाटामा कसैसँग बाल्ने, खाने पिउने, पानी खाने र दिसापिसाव समेत गर्न पाउँदैन। साधारण बोलबमका भने कुराकानी गर्ने, शौचालय जाने, खान परेमा अग्लो ठाउँमा जलघडा राखेर खानपान गर्छन्। बोलबममा जानेहरूलाई बीच बाटोमा खुवाउने व्यवस्था श्रद्धालुहरूले गरेका हुन्छन्। यसरी बोलबममा जाने भक्तजनको बीचमा भाषा, जाति र अन्य कुनै पनि किसिमका भेदभाव हुँदैन। बोलबम यात्रामा विधिपूर्वक भाग लिएमा चिनी रोग सुगर, रक्तचाप, कमलपित्त(जन्डिस), कब्जियत जस्ता रोग निको हुने विश्वास गरिन्छ।

धरानको पिण्डेश्वर बाबा धाममा जल चढाउने बोलबम भक्तजन लाखौंको संख्यामा भइरहन्छ। चतरा सप्तकोशीबाट जल ल्याएर यहाँस्थित शिवलिङ्गमा जल चढाउने विभिन्न जिल्ला र भारतबाट समेत त्यत्तिकै तीर्थयात्रीहरू आइरहेका हुन्छन्। २०३९ सालमा सप्तकोशीबाट जल ल्याएर पिण्डेश्वर बाबा धाममा जल चढाउने परम्परा बसाएको हो। यहाँ हिँड्न नसक्ने भक्तजन यातायातको साधन चढेर जान्छन्। चताराको कौशीकीमा स्नान गरेमा शरीर शुद्ध हुने र हिंडेर गएमा मन शुद्ध हुन्छ भन्ने विश्वास गरिएको छ। मन, शरीर र आत्मा शुद्ध गरेर जल चढाउँदा पिण्डेश्वर बाबा पनि प्रसन्न भई वरदान दिनुहुन्छ भन्ने धार्मिक विश्वास छ।

शिवलिङ्गमा जल चढाउने चलनबारे हिन्दू धर्मग्रन्थमा उल्लेख भएअनुसार देवता र दैत्यहरू मिलेर समुद्र मन्थन गर्दा निस्केको कालकुट विष महादेवले पिउँदा अत्यन्तै जलन भएकाले त्यसलाई मत्थर गर्न देवताहरूले चतराको कौशिकी नदीबाट जल ल्याएर चढाएका थिए भन्ने भनाइ छ। त्यसैको सम्झनास्वरूप बोलबमका तीर्थालुहरूले जल चढाउने गरेका हुन्। भक्तजनले आफ्नो मनोकामना पूरा गर्न धार्मिक विश्वास अनुरूप पिण्डेश्वर बाबा धाममा जल चढाउँदै आएका हुन् भनिन्छ।

त्यस्तै रुपन्देहीको पर्रोहा गाविस २ स्थित पर्रोहा शिव ज्यातिर्लिङ्गमा बोलबम मेला लाग्दा जल घडामा गंगाजल राखेर बोलबमको नारा घन्काउँदै पैदम बम, सवारी बम, डाक बम यात्रा गर्नेहरू हुन्छन्। साथै पूरै शरीरले दण्डवत शैलीमा सडकमा लम्पसार पर्दै जाने पनि हुन्छन्। पर्रोहा बोलबम धाममा ३७ किलोमिटर टाढा कपिलवस्तुको लक्षणधार, ८४ किलोमिटर टाढा नवलपरासीको त्रिवेणी धाम, १३७ किलोमिटर टाढा चितवनको देवघाट र ८८ किलोमिटर टाढा गुल्मीको रुरु क्षेत्रको काली गण्डकीदेखि जल ल्याउने गरिन्छ। देवघाट, त्रिवेणी र रुरु क्षेत्रमा साउन र माघ महिनाका देवताहरूले स्नान गर्छन् भन्ने जनविश्वास छ। त्यसैले यहाँ यी दुई महिनामा ठूलो मेला लाग्ने गर्छ।

बोलबमका व्यवस्थापकहरूका भनाइअनुसार पहिलो पटक श्रावणी मेल सुरुवात गर्दा ९ करोड दीप प्रज्ज्वलन, १ करोड बेलपत्र पुष्पाञ्जली, आरती नेपाल, भारत र तिब्वतका प्रख्यात विद्वान, धर्मशास्त्री, साधुसन्त र शंकराचार्यहरूको भ्रमण र मानसरोवर, गोसाईंकुण्ड, यमुना, गंगा, सरयु, अलकानन्दा जस्ता पवित्र देव नदी र तीर्थस्थलबाट जल ल्याएर वैदिक विधिअनुसार विशेष अनुष्ठान र उपासना गरिएको थियो। सोही बेलादेखि साउन महिनाको सोमबार बोलबम यात्रा गरिंदै आइरहेको छ।  

प्रकाशित: ३२ श्रावण २०७८ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App