सन् २०१९ को सुरुवातसँगै यस धरतीमा कोभिड–१९ नामक भाइरस अवतरण भयो। संसार नै ठप्प पार्न सक्ने यसले धेरैलाई जीवनमा पहिलो पटक विभिन्नखालको नौलो र अचम्मका अनुभव गरायो। लकडाउन भन्ने शब्द पहिलो पटक हामीले सुनेको/भोगेको यसै भाइरसले गर्दा हो। घरबाहिर निक्लन डर लगाउने र एउटा अदृश्य र अज्ञात शत्रुप्रतिको भय जीवनमा पहिलो पटक यस भाइरसले दिमागमा यसरी गाडिदियो कि लगभग संसार नै ठप्प पारिदियो। बाटो हेर्यो मान्छे गाडी केही छैन। सडक पूरै खाली। उद्योग, व्यापार, व्यवसाय सबै बन्द। मान्छे घरभित्र बसेर समाचार हेर्ने र सुन्ने, खाने, पिउने, सुत्ने, मोबाइल र सामाजिक सञ्जालमा बरालिनेमा मात्रै सीमित हुन पुगे। प्रायःजसो कार्यालय बन्द भए। अत्यावश्यकबाहेक सरकारी कार्यालय पनि झण्डै भण्डै बन्दै भए। यस्तो अवस्थामा स्वाभाविकरूपमा स्कुल, कलेज बन्द हुने नै भए।
समय बित्दै गएसँगै केही सुधार भयो र बिस्तारै मानिसले परिवर्तित अवस्थासँग सम्झौता गरी आफूलाई यसअनुरूप ढाल्न सुरु गरे। स्कुल, कलेज आदि पनि वैकल्पिक उपायका खोजीमा लागे। विश्वविद्यालयहरू पनि विस्तारै सामान्यीकरण गर्ने प्रयास गर्न लागे। असामान्य अवस्थामा असामान्य निर्णयहरू गर्न जरुरी थियो। त्यसैले पढाइ बाँकी रहेकाले अनलाइन विधिमा आधारित भएर पठनपाठन अघि बढाउन तथा सकाउनतर्फ लागे। परीक्षा सुरु हुने अवस्थामा भएकाले वा जसले परीक्षा सुरु गर्नुपर्ने थियो उनीहरूले वैकल्पिक उपाय पहिल्याउन थाले। दश र बाह्र कक्षाका विद्यार्थीलाई सम्बन्धित स्कुल वा कलेजको आन्तरिक मूल्यांकनका आधारमा वा सम्भव भए त्यही स्कुल वा कलेजमा परीक्षा सञ्चालन गरेर वा अन्य विकल्प प्रयोग गरी त्यसैका आधारमा कक्षा अपग्रेड गर्ने विकल्पतिर लागियो भने विश्वविद्यालयहरू धेरै समयसम्म परीक्षा रोकेर अनिर्णित बसिरहे।
सबै विश्वविद्यालय किंकर्तव्यविमुढ अवस्थामा रहेका बेला नेपालमा नै पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा गर्ने निर्णय गर्यो।
विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक व्यवस्थाबाट पठनपाठन तथा विद्यार्थीको मूल्याकंन गर्ने निर्देशिका ल्याएसँगै विश्वविद्यालयलाई अगाडि बढ्ने ढोका खोलिदियो तथापि एकाधबाहेक (काठमाडाँै विश्वविद्यालयले पहिलेदेखि नै प्रचलनमा रहेको व्यवस्थाअनुसार अगाडि बढी नै रहे तापनि) नेपालभरका सबै विश्वविद्यालय किंकर्तव्यविमुढ अवस्थामा नै थिए। यस मानेमा शायद नेपालमा नै पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा गर्ने निर्णय गरी पहिलो पाइला चाल्ने आँट गर्यो (स्मरण रहोस्, नेपाल खुला विश्वविद्यालयले आफ्नो स्वभावअनुरूप नै यस्ता विधि अगाडिदेखि नै अवलम्बन गर्दै आइरहेको थियो)। अन्योलको अवस्थामा कैयौँ बाधा/अवरोधका बाबजुद विद्यार्थीलाई यस विधिबारे बुझाइयो/सिकाइयो। अन्य सरोकारवालालाई पनि कन्भिन्स गरियो। प्रश्नपत्र बनाउन सिकाइयो। रुब्रिकको बारेमा बुझाइयो। शिक्षकहरूलाई पेडागोगी पढाइयो र यससँग सम्बन्धित धेरै तालिम गरियो।
जीवनमा पहिलो पटक धेरैले हायर अर्डर अफ लर्निङ एन्ड थिंकिङका बारेमा थाहा पाए। थाहा नपाइ प्रयोग गरिरहेकाले पनि यसपछाडिका सिद्धान्तबारे थाहा पाए। विद्यार्थीको सामान्य ज्ञानको परख गरेरमात्र होइन, त्यो ज्ञानलाई उनीहरूले कसरी प्रयोग गर्न सक्छन् (घटनाउन्मुख, विश्लेषणउन्मुख, समस्याको समाधानमा आधारित, अनुसन्धानात्मक आदि) भन्ने बारेमा पनि मूल्यांकन गर्नुपर्छ भन्नेबारेमा बुझियो र यी सबै तयारीपश्चात अनलाइन विधिबाट परीक्षा लिने तयारी गरियो। उपल्लो पदाधिकारीदेखि विद्यार्थी सबैको महिनौँ दिनको अथक प्रयासपछि परीक्षाको दिन पनि आयो। सानातिना समस्याका बाबजुद सफलतापूर्वक सम्पन्न पनि भयो। उत्तरपुस्तिका जाँच गर्न, विद्यार्थीको उचित मूल्यांकन गर्न केही कठिनाइ नआएका होइन। परीक्षार्थीहरूले उत्तर आफैँले लेखेको हो/होइन आदि ठम्याउन मूल्यांकनकर्ताले बढी नै मेहनत गर्नुपरेको पनि अवस्था हो। अझै धेरै विद्यार्थी संख्या भएको ठाउँमा यसले असाध्यै अप्ठ्यारो पनि पारेकै हो। तर कम से कम त्यत्तिकै अपग्रेड गर्नुपर्ने वा आन्तरिक मूल्यांकनका आधारमा अपग्रेड गर्नुपर्ने अवस्थामा वैकल्पिक विधि अपनाएर भए पनि परीक्षा लिन सक्नु तत्कालको परिस्थितिमा ठूलै कुरा थियो। तर तत्कालीन परिस्थितिमा अन्य विकल्प नदेखेर ल्याइएको यस विधिले तत्पश्चातका दिनहरूमा विभिन्न समस्या जन्मायो।
अनलाइन विधिबाट लिइने परीक्षाले सबै भन्दा ठूलो समस्या ल्याएकोचाहिँ विद्यार्थीलाई नै हो। विदेशी विश्वविद्यालयहरूतिर हेर्ने हो भने ओपन बुक र अनलाइन परीक्षाहरू सामान्य नै छ र त्यहाँ मुख्यतयाः अनुगमन प्रणालीको चुस्तता, प्रविधिको उच्चतम प्रयोग र कोर्स इन्चार्जको सक्रिय संलग्नताले गर्दा समस्या देखिँदैन। तर नेपालको परिप्रेक्ष्यममा यसको मर्म नबुझ्नाले, प्रविधिको उपलब्धता सुनिश्चित नभएकाले, विद्यार्थीको प्रविधिमा पहुँच कम भएकाले र आर्थिक कारणले, भौगोलिक अवस्था र विकासको सुरुवाती चरण भएकाले र विद्यार्थीले तात्कालिक फाइदा हेरी दूरगामी प्रभाव नहेर्नाले यस विधिको अवमूल्यन भएको देखिन्छ। सानो फाइदाका लागि विद्यार्थी सामूहिक चोरी गर्ने, अलि जान्ने विद्यार्थीले लेखेपछि अरूले पनि उत्तर सार्ने, सिनियरसँग सोधेर लेख्ने, स्नातकोत्तर पढिरहेकासँग स्नातकका विद्यार्थीले सिकाइमागेर उत्तर लेख्ने आदि समस्या नै नेपालको अनलाइन विधिबाट हुने परीक्षाको सबै भन्दा ठूलो विकृतिका रूपमा देखापरेको छ। यसले गर्दा भविष्यमा नेपाली विश्वविद्यालयहरूलाई विदेशी विश्वविद्यालयहरूको राम्रो मोडलहरू अनुशरण गर्ने वातावरण बिथोलिएको देखिन्छ। नेपालका विश्वविद्यालयहरूको शिक्षाको गुणस्तर विदेशी स्तरमा पुर्याउन पनि पुरानो शैलीको पठनपाठन गर्ने तरिका र परीक्षा लिने तरिकालाई नयाँ र विकसित तरिकाले प्रतिस्थापन गर्नु अपरिहार्य छ।
उत्तरपुस्तिका जाँच गर्न, विद्यार्थीको उचित मूल्यांकन गर्न केही कठिनाइ नआएका होइन। परीक्षार्थी हरूले उत्तर आफैंले लेखेको हो/होइन आदि ठम्याउन मूल्यांकन कर्ताले बढी नै मेहनत गर्नुपरेको पनि अवस्था हो।
यसै गरी विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र दिएर पुग्दैन। त्यसको औचित्य के हो, ज्ञानको प्रयोग कहाँ र कसरी गर्ने र आर्जित ज्ञानलाई प्रयोग गरी थप ज्ञानको सिर्जना कसरी गर्ने आदि नसिकाइ विद्यार्थीलाई ज्ञानको भण्डारणका रूपमा मात्र विकास गर्नु वाञ्छनीय छैन। यस्तो ज्ञानको भण्डार त आजभोलि गुगल, युट्युब आदिमा प्रशस्तै पाइन्छ। यसका लागि स्कुल, कलेज र विश्वविद्यालय धाउनुपर्ने आवश्यकता नै छैन। त्यसैले कम से कम विश्वविद्यालयहरूले विद्यार्थीलाई ज्ञानको भण्डारण मात्र गर्न सक्ने बनाउने नभइ यस्तो ज्ञानको वास्तविक जीवनमा प्रयोग गर्न पनि सक्ने र बदलिँदो परिवेशका लागि दक्ष जनशक्तिका रूपमा तयार बनाउन सक्नुपर्छ। सूचना, तथ्यांक आदिको स्रोत त हामीसँग प्रशस्तै छ। परिभाषा घोकाएर, सूत्र कन्ठ गराएर, सिद्धान्त घोकाएर तात्विक फाइदा छैन। परम्परागत परीक्षामा पास हुन वा राम्रो अंक ल्याएर क्षणिक शान दिन, गर्व गर्न त यसले मद्दत गर्ला तर भविष्यमा उद्यमशील, उत्पादनशील, सिर्जनात्मक, नवीन प्रविधिको विकासमा योगदान गर्न सक्ने जनशक्ति उत्पादन गर्नमा यसले मद्दत गर्दैन। यस्ता तथ्यांक, सूचना आदि त जताततै सर्वसुलभरूपमा निःशुल्क र सजिलै पाउन सकिन्छ। हामीले त आफ्ना विद्यार्थीलाई यस्ता तथ्यांक, सूचना आदिलाई आवश्यक बेलामा आफूले चाहेअनुसार प्रयोग गर्न सक्ने, वास्तविक जीवनका समस्या समाधान गर्न प्रयोग गर्न सक्ने, तथ्यांक, सूचना, आदिलाई विश्लेषण गर्न सक्ने र त्यसको उपयोगले नयाँ तथ्य र सिद्धान्तहरू प्रतिपादन गर्न सक्ने, नयाँ अन्वेषण र आविष्कार गर्न सक्ने आदि सिकाउनुपर्ने होइन र ? तर नेपालमा यस्तो प्रणालीको विकास गर्न स्वयं शिक्षक, विद्यार्थी र अन्य सरोकारवाला नै बाधक छन्।
राम्रो प्रयोजनका लागि असल नियतका साथ एउटा विश्वविद्यालयले सुरु गरेको अनलाइन परीक्षालाई गलत प्रिसिडेन्टका रुरूपमा लिएर घरमै बसी किताब र नोट हेरेर, कसैले सिकाइदिएको भरमा सजिलै परीक्षा दिन सकिने रूपमा मात्र यो विधिलाई विद्यार्थीले इन्टरनलाइज गरी लिएकाले पछि पछि पनि र अन्य विश्वविद्यालयमा पनि सहज परिस्थितिमा पनि विद्यार्थीले यस्तै प्रणाली अवलम्बनका लागि दबाब सिर्जना गर्न थालेको महसुस हुन लागेको छ। परिस्थितिजन्यरूपमा सञ्चालन गरेको अनलाइन परीक्षा विधि सहज वातावरणमा पनि लागु गर्नुपर्छ भनी दबाब दिने प्रवृत्ति बढेको छ। सुदूरपश्चिम विश्व्विद्यालयमा यस्तो प्रवृति देखिएको र पुनः देखिने क्रम जारी नै छ। मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हाल भइरहेको विद्यार्थी आन्दोलनको एउटा प्रमुख अजेन्डा पनि अनलाइन परीक्षा गराउनु नै हो र माग १६ वटा भने पनि यो मुद्दामा विद्यार्थीले भनेअनुसार गरेमा त्यहाँ आन्दोलन सेलाउने अनुमान गर्न सकिन्छ। यसरी अनावश्यक दबाबले विश्वविद्यालयलाई यस्ता प्रणाली अपनाउन बाध्य त पार्न सकिएला तर यसको प्रत्यक्ष र अप्रत्यक्ष घाटा विद्यार्थी स्वयंलाई हुनेछ। भविष्यमा पर्न सक्ने समस्या थुप्रै छन् जसमध्ये केही यस लेखमा लेख्न सकिएला तर कतिपय लेख्न नसकिने पनि छन्। नलेखिएका कुरा पछि विद्यार्थीले भोगेपछि मात्र थाहा पाउनेछन्।
पहिलो कुरा त अपवादबाहेक नेपालका विश्वविद्यालय त्यो स्तरमा पुगिसकेका छैनन् जहाँबाट यस्ता विधि सफलपूर्वक र त्रुटिरहितरूपमा अवलम्बन गर्न सकून्। समयक्रममा विकास हुँदै जानुपर्ने कुरालाई असमय थोपार्ने काम गरे यस्ता प्रणाली असफल हुन सक्छन्। नेपालको भौतिक र भौगोलिक अवस्था पनि अहिले नै यस्तो विधिको प्रयोगलाई सहयोग पुर्याउनेखालको छैन। जस्तै– बिजुली बत्ति र इन्टरनेटको सुविधा नेपालको सबै ठाउँमा पुगेको छैन। पुगे पनि गुणस्तर राम्रो छैन। यस्तो अवस्थामा दुर्गम तथा ग्रामीण भेगका विद्यार्थी धेरै मर्कामा पर्ने देखिन्छन्। आर्थिकरूपमा विपन्न अभिभावकका छोराछोरीलाई त ग्याजेट, इन्टरनेट वा मोबाइल डाटाको शुल्क आदि पनि ठूलै समस्याका रूपमा खडा हुन गइ पढाइ नै छाड्नुपर्ने अवस्थामा पनि पुग्न सक्छन्। नेपालमा अहिलेकै अवस्थामा यस्तो विधि लागु गर्दा राम्रा विद्यार्थी पनि पीडित भएको पाइएको छ। मुख्यतयाः विद्यार्थीको शैक्षिक स्तर छुट्याउन यस्तो विधिले हालकै अवस्थामा प्रविधि आदिका कारण सकिन्न। किनभने राम्रा विद्यार्थी जस्तोसुकै विधि अपनाए पनि उही स्तर प्राप्त गर्न सक्षम छन् तर अन्य विद्यार्थीले भने अनलाइन विधि अपनाउँदा राम्रो अंक प्राप्त गर्न सकेका पाइएको छ।
अर्को महत्वपूर्ण कुरा भनेको विद्यार्थीको अध्ययन गर्ने र मेहनत गर्ने बानी छुटेको पाइएको छ किनभने यस विधिमा विद्यार्थीलाई किताब, नोट र अन्य सन्दर्भ सामग्री उपयोग गरी उत्तर लेख्न पाइन्छ जसले गर्दा विद्यार्थी अल्छी गरी नपढीकनै परीक्षामा बस्ने गरेका पाइएको छ। तत्कालको परीक्षामा त यसले समस्या नगर्ला तर यो नै जीवनको अन्तिम परीक्षा भने होइन। भोलिका दिनमा माथिल्लो तहमा पढ्न जानुपर्यो भने, विदेशमा पढ्न जानुपर्यो भने, जागिर खान जानुपर्यो भने, यस्तै कुनै ठाउँमा अन्तर्वार्ता दिन जानुपर्यो भने यस्ता विद्यार्थी कसरी प्रतिस्पर्धामा उत्रन सक्छन् भन्ने कुरा पनि प्रमुख समस्याका रूपमा देखिएको छ।
अन्त्यमा
अहिले हामीले अंगालेको शिक्षा प्रणालीको विकल्प शायदै दिन सकिएला र छुटपुटरूपमा प्रचारमा आउने अन्य प्रकारका शिक्षा प्रणाली लागु हुन सम्भव देखिँदैन। यदि यस्तै हो भने ढिलो/चाँडो हामीले अन्तर्राष्ट्रिय स्तरमा प्रचलित र विश्वका राम्रा विश्वविद्यालयले अंगालेका शिक्षा प्रणाली अंगाल्नुको विकल्प कमै छ। परम्परागत तरिकाले दिने शिक्षा र लिने परीक्षालाई विस्तारै आधुनिक तरिकाले विस्थापित गर्दै जानु हालको विश्व परिवेशमा श्रेयष्कर नै देखिन्छ। कम से कम विश्वविद्यालयको पढाइमा केही परिवर्तन गर्न जरुरी छ। विश्वविद्यालयका प्राध्यापकहरूलाई नै आफ्नो विषयमा विद्यार्थीको मूल्यांकन गर्न दिने र यस्तो मूल्यांकन निरन्तररूपमा विद्यार्थीको पोर्टफोलियो नै तयार गरी विभिन्न मूल्यांकनका विधि अपनाएर गर्ने गरेमा विद्यार्थीको वास्तविक मूल्यांकन गर्न सकिन्छ जसले गर्दा सेमेस्टरभर पढाएर एकचोटि परीक्षा लिएकै भरमा विद्यार्थीको मूल्यांकन गर्नुपर्ने अवैज्ञानिक प्रक्रिया अपनाउनुपर्ने अवस्था सिर्जना हुँदैन। यसरी नै परम्परागत परीक्षाप्रतिको हाम्रो निर्भरता पनि घटाउन मद्दत गर्छ। समय समयमा एसाइन्मेन्ट गराउने, क्विजहरू लिने, प्रेजेन्टेसनहरू गराउने, फिल्ड स्टडी, केस स्टडी र प्रोजेक्ट स्टडी गराउने, समय समयमा आन्तरिकरूपमा विषय शिक्षक वा कोर्स इन्चार्जले परीक्षाहरू गराउने, सामूहिक छलफलमा सहभागी गराउने र यस्तै अन्य क्रियाकलाप गराउने र त्यसमा विद्यार्थीको प्रस्तुतिका आधारमा उनीहरूको मूल्यांकन गरेमा उचित र बहुआयामिक मूल्यांकन हुन सक्ने देखिन्छ।
(भट्ट सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विभाग प्रमुख हुन् भने शर्मा पनि त्यही विश्वविद्यालयमा कृषि विज्ञानकी सहायक प्राध्यापक हुन्।)
प्रकाशित: २४ श्रावण २०७८ ०२:०८ आइतबार