विचार

विद्यार्थी संगठनहरुको औचित्य

हरेक दुई वर्षमा सम्पन्न हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्ततः पाँच वर्षमा तोकिएको समयभित्र पनि हुन सकेन। निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमा रहेको विश्वविद्यालयको नेतृत्व, विभिन्न विद्यार्थी संगठन र स्थानीय क्याम्पस प्रशासनको अयोग्यताको परिणाममा अनिश्चितकालका लागि स्थगित गरियो। निकै ठूलो बलिदान, त्याग र संघर्षबाट प्राप्त स्ववियु आफ्ना उपलब्धिको जगेर्ना गर्दै विद्यार्थी समुदायको हक, हित र अधिकारका लागि क्रियाशील एवम् समर्पित रहनुपर्नेमा विभिन्न कारणले कमजोर हुँदै गइरहेको परिप्रेक्ष्यमा यस स्थगनले सरोकारवाला सबैलाई चिन्तित तुल्याउनु स्वाभाविकै हो। किन हुन सकेन यो निर्वाचन? यसका लगि सबैभन्दा जिम्मेवार को हो? र, अब कहिले होला? यी र यस्ता अनगिन्ती प्रश्नको उपयुक्त समाधान भनेको फेरि पनि अविलम्व निर्वाचन मात्रै हुन सक्छ। यसका लागि शासनको केन्द्रमा रहेको सरकारको गजुर बनेर बसेका राजनीतिक दलहरुको मनोविज्ञान अध्ययन गर्नु अत्यन्त आवश्यक हुन जान्छ।यतिबेला राजनीतिक दल र तिनका नेताहरुको ध्यान आफूले गुमाएको सत्ताको पुनर्प्राप्तिमा लगभग केन्द्रित छ र आगामी आमनिर्वाचन अर्थात् दोस्रो संविधान सभाको निर्वाचनलाई पनि नयाँ संविधान निर्माणका लागि नभएर आफ्नो सत्तारोहणका लागि अपरिहार्य ठानिरहेका छन्। यस्तो चिन्तन र चरित्र भएको राजनीतिक दल मुख्यतया एकीकृत नेकपा माओवादी नै हो। ऊ कुनै पनि हालतमा धेरै लामो समयसम्म सत्ता बाहिर बस्न चाहँदैन। यसका लागि जुनसुकै षडयन्त्रका लागि पनि ऊ तयार छ। विदेशीको गुलामी गर्ने, नेपाली जनतामा भ्रम पैदा गर्ने र अरु दललाई आफ्ना गतिविधिको वरिपरि घुमाउने खेलमा निकै ब्यस्त पनि छ। बेइजिङ र दिल्लीमा सम्पन्न भएका वार्तामार्फत् आफूलाई अरुभन्दा बलियो महसुस पनि गर्दैछ। कांग्रेस र एमालेको नेतृत्व पंक्ति र पार्टीका गतिविधि स्वदेशी र विदेशी सबै शक्ति केन्द्रहरुलाई विश्वासमा लिएर राष्ट्रलाई नेतृत्व प्रदान गर्नेखालका देखिँदैनन्। देशमा गैरराजनीतिक चरित्रको सरकार छ, निर्वाचनको विषय अलमलमा परेको छ, समाजमा शान्ति छैन, जनता निरास छन्, नयाँ पुस्ता आफ्नो भविष्यप्रति निकै चिन्तित छ। यस्तो विषम घडीमा कसरी राष्ट्रले सही बाटो समात्न सक्छ त? यी सबै वस्तुस्थितिको परिणाममा स्ववियु निर्वाचनसमेत स्थगित भयो। दलहरुले गरेनन् या गर्न सकेनन्। सरकार निरीह देखियो। उम्मेदवारी मनोनयनको निकट आइपुग्दा अखिल र अखिल क्रान्तिकारी चुनावी परिणामको आंकलन गर्न लाग्यो र सम्भावित नतिजाको पूर्वाभासले निकै नै अत्तालियो पनि।
अर्को अखिल क्रान्तिकारीका लागि निर्वाचन स्थगन गर्नु सफलता नै थियो। निर्वाचन वा लडाइँमा आफ्नो हार सुनिश्चित हुँदाहुँदै सहभागी हुनु निकै नै मूर्खतापूर्ण कार्य हो भन्ने ठान्छन् केही शक्ति। खासगरी निर्वाचनका सन्दर्भमा पक्का लोकतन्त्रवादी शक्तिमात्र हार वा जीतको परवाह नगरी सामेल हुने गर्छन्, त्यो चरित्र वा विश्वास भएका राजनीतिक शक्ति वा विद्यार्थी संगठनहरु नगण्य छन् नेपालमा। हँसिया हथौडा अंकित झण्डामा विश्वास गर्ने र मार्क्स, लेनिन र माओको पदचिह्न पछ्याउने राजनीतिक शक्तिका निकट रहेका विद्यार्थी संगठनहरु स्वच्छ, स्वतन्त्र र धाँधलीरहित निर्वाचनमा कहिल्यै विश्वास गर्दैनन्। उनीहरुको चिन्ता निर्वाचन होइन, परिणाम हो। थोरबहुत लोकतान्त्रिक अभ्यासमा विश्वास राख्न थालेको एमाले अखिलसमेतमा निर्वाचन परिणामको सघन चिन्ता देखिनु विद्यार्थी आन्दोलनको लोकतान्त्रीकरणका सन्दर्भमा गम्भीर चिन्ताको विषय हो।
 अर्को कुरा स्ववियु निर्वाचन नेपालका राजनीतिक दलहरुको परिणामकेन्द्रित चरित्र र चिन्तनका कारण स्थगित भयो। के यतिमात्रै पर्याप्त कारण हो त वा अरु पनि कारण छन्? नेपालको सचेत समुदायभित्र आज यही बहस केन्द्रित छ। यसका लागि नेविसंघ, अखिल र दुवै अखिल क्रान्तिकारी कत्तिको दोषी छन्? विश्वविद्यालयको नेतृत्वको हकमा ऊ केवल संयोजनकारीमात्र हुन सक्छ भन्नेमा सबै प्रष्ट नै छन्। यद्यपि वर्तमान नेतृत्व कुनै दल विशेषको कठपुतली हो भन्नेमा समेत स्पष्ट छन्। स्ववियु निर्वाचनको सम्पन्नतामा देखिएको असफलताका विषयमा चर्चा गर्दा यस पटकको स्थगनले नेपालको विद्यार्थी आन्दोलनको भविष्यमाथि नै प्रश्न उठेको छ। इतिहासका कतिपय कालखण्डमा समग्र समाज एवम् राष्ट्रकै पथप्रदर्शक हुनुपर्ने विद्यार्थी संगठनहरुको यो हविगत किन? राजनीतिक दलबीच द्वन्द्व, मनोमालिन्यता र शक्ति संघर्ष चलेका बेला पथप्रदर्शक तथा उत्प्रेरक बन्नुपर्ने विद्यार्थी संगठनहरु किन दलहरुकै विवेकहीन आज्ञाकारी जमातमा परिणत हुन पुगे? यो निकै नै विडम्वनापूर्ण रहेको छ। यतिमात्रै होइन, नेपालको राजनीतिक इतिहासको वर्तमान कालखण्डमा विद्यार्थी संगठन कहाँ छन्? र, उनिहरुको भूमिका के छ? भन्ने प्रश्न सर्वत्र उठिरहेको परिप्रेक्ष्यमा स्ववियु निर्वाचको स्थगन आफँैमा गतिलो दृष्टान्त हुनसक्छ।
विघटित संविधान सभाबाट संविधान निर्माण गर्न दलहरु किन असफल भए, दलहरुले के गर्नुपर्थ्यो, के गरे र अब के गर्नुपर्छ र के गर्दैछन् भन्ने विषयमा विद्यार्थी संगठनहरु आश्चर्यजनकरूपमा मौन छन्। यसको अर्थ उनीहरु स्वयम्ले यी सबै विषय उठाउने योग्यता गुमाइसके या उनीहरु दलहरुको प्रभुत्वमा परिसके? या त्यतातिर लाग्नुपर्ने आवश्यकता छैन भन्ने विश्लेषण हो? ताज्जुब लाग्ने विषय भएको छ। नेपालमा विद्यार्थी आन्दोलनको औचित्य उसले समयसमयमा निर्वाह गरेको भूमिकाका कारण स्थापित भएको हो। २०३६ सालको जनमत संग्रह विद्यार्थी आन्दोलनकै परिणाम थियो। २०५९ सालको प्रतिगमन र त्यसविरुद्धको ऐतिहासिक जनआन्दोलनको जग विद्यार्थी संगठन नै थिए। यी र यस्ता उल्लेखनीय ऐतिहासिक संघर्षका अभियन्ता र नायक विद्यार्थी संगठनहरु मुर्झाउनुको कारण के? आज सर्वत्र प्रश्न उठेको छ। शायद समकालीन विद्यार्थी आन्दोलन यी सबै प्रश्नको जवाफ दिने हैसियत र सामर्थ्य राख्दैन। यदि त्यसो हो भने नेपालमा विद्यार्थी संगठनहरुको औचित्य सिद्धियो भनेर घोषणा गरे फरक नपर्ने भयो।
नत्र आफ्ना अनगिन्ती अग्रजहरुको वलिदानको जगमा खडा भएको स्ववियुको निर्वाचन आफैँ बखेडा झिकेर स्थगन गर्ने? यसले कसको सेवा गर्छ, विद्यार्थी आन्दोलनको या प्रतिगमनको? सबैलाई थाहा भएकै कुरा हो, राजा ज्ञानेन्द्रको तानाशाहीविरुद्धको आन्दोलनको मैदानबाटै स्ववियु निर्वाचनसमेत सम्पन्न गराइएको थियो र यो तत्कालीन दरवारको इच्छा विपरित सम्पन्न भएको थियो। विश्वविद्यालयको नेतृत्व दरवारअनुकूल हुँदाहुँदै विद्यार्थी संगठनहरुको दृढ इच्छाशक्तिको परिणाम थियो, उक्त निर्वाचन। त्यतिबेला अखिल क्रान्तिकारीले निर्वाचन बहिष्कार गरेको थियो र देशभरिका क्याम्पसअगाडि बम बिष्फोट गराइएको थियो। दरवार निर्वाचन भाँडियोस् भन्ने चाहन्थ्यो। त्यसका बाबजुद नेविसंघ र अखिलको तत्कालीन नेतृत्वको दृढ संकल्प र समझदारीका कारण निर्वाचन सम्पन्न भएको थियो। त्यसले स्ववियुको रक्षा, निरन्तरता र भविष्यलाई नयाँ जीवनदायिनी शक्ति प्रदान गरेको थियो। विद्यार्थी संगठनहरुमा विद्यमान रहेको त्यो तागत आज कहाँ गयो?
लाखौं विद्यार्थी र सचेत समुदाय आज बारम्बार यही प्रश्न उठाइरहेकेा छ। आज हामी अधुरो लोकतन्त्र भोगिरहेका छौं। स्थानीय निकायमा जनप्रतिनिधि छैनन्, व्यवस्थापिका संसद छैन र स्ववियु निर्वाचनसमेत स्थगित हुन्छ भनेपछि यो देशमा लोकतन्त्र कहाँ छ? र यो परिस्थिति कतिञ्जेलसम्म रहन्छ, कुनै ठेगान छैन। तसर्थ, समय हुँदै विद्यार्थी आन्दोलनले आफ्नो औचित्य पुनर्स्थापित गर्न सक्नुपर्छ। त्यसका लागि अविलम्व स्ववियु निर्वाचको सुनिश्चितता गराउनुपर्छ। यतिमात्र होइन, सबै राजनीतिक दललाई उनीहरुको ऐतिहासिक जिम्मेवारी बोध गराउन सक्नुपर्छ। विद्यार्थी संगठनहरु दलहरुका अरौटे, भरौटेमात्र हुने हो भने सबै नेपालीले ठान्नेछन्– आन्दोलनको औचित्य सकियो।

प्रकाशित: २३ जेष्ठ २०७० ००:०४ बिहीबार