कोरोना महामारीबाट बाहिर निस्कने बाटो हर्ड इम्युनिटी हो तर नागरिकलाई नैतिकरूपमा जिम्मेवार ठानेर उम्कन खोज्नु डरलाग्दो रणनीति हो। कोरोना भाइरस महामारीको सुरुवातमा चीनले उहान वरपर क्षेत्रगत निषेधाज्ञा गर्यो र क्रमशः अरू ८ सहरमा यसलाई विस्तार गर्यो। यो निषेधाज्ञाले ४ करोड ५० लाख मानिस घरभित्रै रहन बाध्य भए। चीनका सरकारी अधिकारीले यस प्रकारको महामारी चीनमा हुनै नसक्ने भनेर प्रारम्भिक प्रतिक्रियासमेत दिएका थिए।
युरोपमा १४ औँ शताब्दीदेखि नै क्वारेन्टिनको प्रचलन भए पनि पश्चिमी प्रजातान्त्रिक मुलुकले यस प्रकारको निषेधाज्ञा जारी गर्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन्। यसलाई इतिहासको अन्धकार युगको एक उपायका रूपमा हेरिएको थियो। त्यही गलत सोचको फलस्वरूप महामारीको सुरुका सातामा बेलायतले महामारी रोक्न हर्ड इम्युनिटीलाई उपयुक्त उपाय ठानेर आफ्ना जनसंख्यामा महामारी फैलन दिएको थियो। कठोर लकडाउनमार्फत महामारी नियन्त्रण गर्न बेलायत अनिच्छुक थियो। यही कारणले बिरामीको चाप थेग्न अस्पतालले आफ्नो क्षमताले धान्नै नसक्ने स्थिति सिर्जना भएको थियो।
अहिले हामीलाई धेरै कुराको ज्ञान भइसकेको छ। खोप अभावमा क्वारेन्टिन एक यथार्थवादी विकल्पमात्र थियो। निषेधाज्ञा तोड्नेलाई सजाय हुँदाहुँदै पनि कतिपयले त्यसलाई अवज्ञा गरेका थिए। निषेधाज्ञाको विरोधमा प्रदर्शन पनि भए तर अधिकांश बेलायतीले यो उपाय आत्मसात गरेका थिए।
तर अहिले विशेषगरी गत १९ जुलाइयता नागरिक आफैँले कहिले मास्क लगाउने र कहिले सेल्फ आइसोलेसनमा बस्ने भन्ने निर्णय गर्नुपर्ने भएको छ। कोभिडसँग बाँच्न सिक भनेर नैतिक, दार्शनिक र स्वास्थ्य अर्थशास्त्रीले दिएका सुझावअनुसार कतिसम्म जोखिम स्वीकार गर्ने र अन्यलाई रोग नसार्न आफू कति जिम्मेवार बन्ने भन्ने निर्णय नागरिक स्वयंले लिनुपर्ने भएको छ। महामारीको प्रसारणलाई नियन्त्रण तथा कन्ट्याक्ट ट्रेसिङ गर्न नेसनल हेल्थ सर्भिसले विकास गरेको कोभिड एप प्रयोग गर्ने कि नगर्ने भन्ने विषय नैतिक हिसाबले बिष्फोटक पदार्थयुक्त स्थान बनेको छ।
अस्ट्रेलियामा कुल जनसंख्याको ६ प्रतिशतले मात्र खोप लगाएकाले त्यहाँको स्थिति फरक छ। सिड्नी, पर्थ र व्रिसबेनमा भाइरसको डेल्टा प्रजातिको फैलावटका कारण नागरिक घरभित्रै बस्नुपर्ने अवस्था सिर्जना भएको छ। महामारी नियन्त्रणमा सफलताको कथा बनेको न्युजिल्यान्डमा पनि कुल जनसंख्याको १० प्रतिशतले मात्र खोप लगाएका छन् र पछिल्ला दिनमा त्यहाँका अस्पतालमा श्वास/प्रश्वास समस्याका कारण बालबालिकाको भर्ना हुने क्रम बढ्दो छ।
बालबालिकामा श्वास/प्रश्वाससम्बन्धी रोग एक्कासि किन देखिएको छ भनेर अझै एकीन भएको छैन तर कोभिड–१९ लकडाउनका कारण मानिसको शरीरमा अन्य भाइरसविरुद्ध लड्न सक्ने क्षमता ह«ास हुँदा ‘प्रतिरक्षा ऋण (इम्युनिटी डेब्ट)’ भनेर चिनिने यसप्रकारका समस्या आएको हुन सक्ने देखिएको छ। यस्तो असरका कारण महिनौँ पछि बिरामीको संख्या बढ्ने गर्छ।
कोरोना भाइरस र खोपको पहँुचको विषयले विश्व कति विभाजित छ भन्ने देखाएको छ भने स्वास्थ्यका हिसाबले क्वारेन्टिन पनि जोखिमपूर्ण रहेको भन्ने प्रमाणित गरेको छ। कुल जनसंख्याको ६० प्रतिशतले खोपको दुवै डोज लगाउन सफल बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले महामारी नियन्त्रणका लागि अबको जिम्मा नागरिकमा रहेको भनेर उम्कन खोजेका छन्।
तर विश्वमा ४० लाख मानिसको ज्यान लिइसकेको यो महामारीलाई यसरी सजिलै हेर्न मिल्दैन। महामारीबाट बाहिरिने एक उपाय हर्ड इम्युनिटी हो तर अर्थतन्त्रलाई सकेसम्म कम संकुचन र थोरै मानवीय क्षतिमा यथाशीघ्र यो अवस्थामा कसरी पुग्ने भन्ने प्रश्न जटिल छ। यो अवस्थामा पुग्न खोपमा मात्र निर्भर रहने अथवा निषेधाज्ञा र खोप दुवै उपाय अवलम्बन गर्ने भन्ने विकल्प हुन सक्छन्। निषेधाज्ञाका प्रश्नमा नागरिक स्वयंले मध्यस्तकर्ता बनेर कहिले र कुन उपाय अवलम्बन गर्ने भन्नेमा निर्णय लेलान् त?
सय वर्षअघि यस प्रकारको द्विविधाको स्थिति थिएन। बिफरको केसमा बाहेक भाइरसविरुद्ध लड्ने कुनै खोप थिएन। सन् १९१८ मा वैज्ञानिकले स्प्यानिस फ्लुविरुद्ध खोप बनाउने असफल प्रयास भने गरेका थिए। महामारी फैलँदा त्यतिबेला पनि मानिसलाई भाइरससँगै बाँच्ने उपाय आफैँ अवलम्बन गर्न भनिएको थियो।
सन् १९५७ र १९६७ मा इन्फ्लुएन्जाविरुद्ध खोप उत्पादन भए पनि भाइरसका नयाँ प्रजातिविरुद्ध समयमै खोप विकास गर्न संभव थिएन। कम्तीमा एक चौथाइ जनसँख्या संक्रमित हुन सक्ने आकलनसहित भाइरसलाई आफैँ फैलन दिने गरिन्थ्यो। तर हामीले महसुस गरे पनि नगरे पनि स्प्यानिस फ्लु र अन्य महामारीजन्य भाइरसका वंशज अझै पनि परिसंचरण भइरहेका छन्।
उनीहरू हरेक मौसममा थोरै उत्परिवर्तित (म्युटेसन) हुन्छन् र तिनलाई रोक्न खोप अद्यावधिक पार्नुपर्ने हुन्छ। त्यति नै बेला प्रौढ जनसंख्याले मृत्युवरण गर्नुपर्ने हुन्छ भने जनसंख्याको अन्य समूहले चुनौतीसँग जुधेर बाँच्नुपर्ने हुन्छ। महामारी भन्दा पनि भाइरसको स्थानीयकरण बढ्दो छ। त्यसैले कोभिड–१९ भाइरसको नियन्त्रणका लागि बुस्टर खोप र थप खोप आवश्यक रहेकामा वैज्ञानिक एक मत छन्।
तर खोपको असमान वितरण र आपूर्तिजन्य समस्या विश्वमा अत्यधिक देखिएको वर्तमान पृष्ठभूमिमा सामाजिक दूरी र क्वारेन्टिनको आवश्यकता अझै पनि छ। विशेषगरी एसिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका मध्यम तथा कम आय भएका मुलुकमा यसको आवश्यकता उत्तिकै छ। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा स्थापना गरिएको कोभ्याक्स सुविधाले खोपको विश्वव्यापी पहुँचमा अपेक्षाकृत सफलता प्राप्त नगरेका कारण विश्वव्यापीरूपमा तत्काल हर्ड इम्युनिटी बन्न सक्ने देखिन्न। यी देश झन डेल्टा जस्ता भाइरसका अन्य भेरियन्टको विकासका लागि ऊर्वर भूमि हुन सक्ने देखिएको छ।
विश्वका कुनै पनि देशमा भाइरस निष्फिक्री प्रसार हुँदा नयाँ भेरियन्टले खोपको प्रभावकारितालाई कमजोर पार्न सक्ने हुन्छ। त्यो भाइरस खोप लगाएको मुलुकका लागि चुनौतीपूर्ण हुन्छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेससले भनेझैँ ‘सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुन सक्दैन।’ तर दुःखद पक्ष के हो भने यस्तो आधारभूत जैविक तथ्यलाई बुझ्न र जाग्न विश्वले यति धेरै समय लिइसकेको छ।
(मार्क ‘दि पान्डेमिक सेन्चुरी, ए हिस्ट्री अफ ग्लोबल कन्टाजिओन फ्रम दि स्पानिस फ्लु टु कोभिड–१९’ पुस्तकका लेखक हुन। साभार: गार्जियन)
प्रकाशित: ३० असार २०७८ ०४:५४ बुधबार