सन् १९४८ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निरोगिताको नवीन व्याख्या गर्यो। डब्लुएचओले शारीरिक सबलता तथा अपांग नहुनुमात्र स्वस्थ कहलिन पर्याप्त नहुनेमात्र भनेन बरु व्यक्ति जबसम्म शारीरिक, मानसिक तथा सामाजिकरूपले सकुशल हुँदैन तबसम्म उसलाई तन्दुरुस्त मान्न नसकिने बताएको छ। शारीरिक हट्टाकट्टा अनि मानसिकरूपले तन्दुरुस्त रहे पनि सामाजिक सद्भाव कायम गर्न तथा साथीभाइसँग घुलमिल हुन नसक्ने व्यक्तिसमेत यथार्थमा स्वस्थ होइन भन्ने मान्यता छ। शारीरिक सबलता, मानसिक सशक्तीकरण तथा सामाजिक सद्भावका लागि मानिसले आहार, बानी/व्यवहारलगायतका आफ्ना आचरणमा के/कस्ता परिवर्तन गर्नुपर्छ भन्ने विषयमा भएका अनुसन्धान तथा संहिता पस्कनु यो लेखको लक्ष्य हो।
सबै मानिसका खराब आदत हुन्छन्, दोषरहित व्यक्ति कोही पनि हुँदैन। खराब बानीबाट छुट्कारा पाउन सजिलो छैन। अत्यधिक चिल्लो पदार्थ खाँदा, वजन बढ्दा, परिश्रम नगर्दा अनि तनावग्रस्त मानसिक अवस्था उच्च रक्तचाप तथा मुटु रोगका कारण हुन भन्ने जान्दाजान्दै पनि व्यक्तिले आफ्नो बानी परिवर्तन गर्न सक्दैन। गुलियो तथा कार्बोहाइड्रेटको बढ्दो सेवनले मधुमेहका रोगी बढेको बुझ्दाबुझ्दै पनि स्वयम् चिकित्सकहरूसमेत आफ्नो बानी परिवर्तन गर्न नसक्ने अवस्थामा पुगेका देखिन्छ। धूमपान र मद्यपानले क्यान्सरलगायतका विभिन्न शारीरिक समस्या ल्याउँछ भन्ने अन्वेषणले पुष्टि गरेको देख्दादेख्दै पनि पढेलेखेका मानिस किन खराब अम्मलबाट निस्कन सक्दैन त ? भन्ने प्रश्नले कसलाई घच्घच्याउँदैन र ? खराब बानी परिवर्तनका लागि प्रबल इच्छाशक्ति तथा चाहना राख्दाराख्दै मानिसले आफ्नो लक्ष्य भेट्न नसकेको देखिन्छ।
वैशाख १ गते फलानो फलानो बानी छोड्छु भनी प्रतिज्ञा गरेको व्यक्तिले एक हप्ता पनि आफ्नो अडान कायम गर्न सकेको देखिन्न। परीक्षामा नराम्रो भएपछि अर्को साल प्रारम्भदेखि नै मेहनत गरेर पढ्ने प्रतीक्षा गर्ने विद्यार्थीमध्ये कतिले साँच्चिकै राम्रो प्रस्तुति गर्छन् त ? अध्ययनहरूले अधिकांश मानिस आफ्ना खराब आदत परिवर्तनका लागि गरेका प्रतिज्ञाहरूप्रति केही दिन पनि टिक्न नसकेको देखाउँछ। व्यक्ति आफ्नो अठोटबाट किन विचलित हुन्छ र त्यस्ता चुनौतीलाई कसरी समाधान गर्न सकिन्छ भन्ने सम्बन्धमा संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ् वासिङ्गटनका साइकोलोजीका प्राध्यापक फ्र्यांक सोलको धारणा स्मरणयोग्य देखियो।
खराब बानी छाड्ने काम अति कठिन हुने भएकाले एक्कासि आदतमा ल्याइने परिवर्तन खासै लाभप्रद् नहुने बरु क्रमिक सुधारले प्रतिफल दिने ठान्छन् प्राध्यापक सोल। उच्च रक्तचापको लक्षण देखेर दैनिक परिश्रम गर्न चिकित्सकले सल्लाह दिनेबित्तिकै भोलिदेखि नै बिहान दुई घण्टा दगुर्ने प्रतीज्ञा गर्ने व्यक्तिले चिरकालमा लक्ष्य हासिल गर्न नसक्ने ठान्छन् डा. सोल। दिनको १० मिनेट पनि नहिँडने व्यक्तिले २ घण्टा दगुर्ने लक्ष्य राख्नुलाई धान्न नसक्ने गन्तव्य मान्छन् उनी। अति महत्वाकांक्षी ध्येयको बदला निश्चित तथा यथार्थपरक लक्ष्य राख्न सल्लाह दिन्छन् उनी। फेल भएको व्यक्तिले अर्को साल फस्ट हुन्छु भन्ने लक्ष्य राख्नु भन्दा यथार्थपरक भइ थर्ड डिभिजनमा पास गर्ने उद्देश्य राख्नुलाई न्यायोचित मान्छन् डा. सोल।
राम्रो बानीका लागि गोल राख्नु आफैँमा ठूलो काम भए पनि योजनाविहीन प्रतिज्ञाले कहीँ पुग्ने देखिन्न। जाँच पास गर्ने लक्ष्य भए पनि कुन विषयलाई कसरी अध्ययन गरी अर्को परीक्षामा राम्रो गर्ने भन्ने यथार्थपरक योजना आवश्यक देखियो। त्यस्तै, हिँड्दै नहिँड्ने व्यक्तिले लामो समय दगुर्ने लक्ष्य राख्नुको बदला दैनिकरूपले छोटो समय हिँड्ने योजना बनाउनु असल देखिन्छ। बानी परिवर्तन आपैmँमा चुनौतीपूर्ण कार्य भएकाले चिकित्सको सल्लाहमा हिँड्नुलाई सजायका रूपमा लिनु भन्दा आफूलाई मन पर्ने मार्ग चुनेर मर्निङ वाकको योजना बनाउनु असल हुन्छ। आफूले सुरु गरेको कामबाट खुसी हुन सकिएन भने परिवर्तन स्थायी हुँदैन। मर्निङ वाकपछि आफ्नो तौल एक किलो घटेमा त्यसलाई उपलब्धिका रूपमा लिइ प्रफुल्ल हुन आवश्यक हुन्छ।
शारीरिकरूपले सशक्त व्यक्ति मानसिकरूपले अशक्त हुन सक्ने भएकाले दिमागी स्वास्थ्यमा समेत ध्यान दिन आवश्यक हुन्छ। दिमागलाई जति चलायमान राख्यो ब्रेन हेल्थ त्यही अनुपातमा मजबुत हुने धेरै अध्ययनले देखाएको छ। सन् २०१८ मा जामा साइकेट्रीमा प्रकाशित एउटा अनुसन्धानले चेस, बागचाल जस्ता दिमाग लगाउनुपर्ने खेल खेल्ने व्यक्तिको दिमागी शक्ति अन्य समकक्षीको दाँजोमा निकै मजबुत देखिएको छ। साथै साथीभाइसँग समसामयिक तर्क गर्ने तथा पुस्तक अध्ययनमार्पmत दिमागलाई सक्रिय राख्ने समूहमा अर्को पक्षको दाँजोमा पाको अवस्थामा बिर्सने रोग डिमेन्सियाको सम्भाव्यता एकतिहाइ घटेको देखियो उक्त अनुसन्धानमा।
एउटा फरक अध्ययनले सामान्य दैनिकी परिवर्तनमात्र पनि दिमागी स्वास्थ्यका लागि वरदान सावित हुन सक्ने देखाएको छ। एक स्थानबाट अर्को ठाउँमा जाँदा अधिकांश मानिसले एउटै बाटो प्रयोग गर्ने बानी बसेको हुन्छ र उक्त यथार्थ ग्लोबल व्यवहारका रूपमा देखिएको छ। तर अचम्मको कुरा एक ठाउँबाट अर्को विन्दुमा पुग्न फरक फरक मार्ग प्रयोग गर्ने व्यक्तिको दिमागी तागत अर्को समूहको तुलनामा सबल देखियो। यात्राका क्रममा भिन्न भिन्न मार्ग प्रयोग गर्दा दिमागका कोसहरू फरक फरक हिसाबले चलायमान हुने भएकाले त्यस्तो व्यवहार ब्रेन हेल्थका लागि लाभप्रद् पाइएको छ। दैनिकीको सामान्य हेरफेर दिमागी शक्ति अभिवृद्धिका लागि लाभप्रद् हुने भएकाले दिनैपिच्छे एउटै रुटिनमा बस्नु भन्दा श्रीमान्–श्रीमतीले घरायसी कार्यतालिकालाई परिमार्जन गर्दामात्र पनि लाभ हुन्छ।
व्यस्त कार्यतालिका र प्रतिस्पर्धी समाजमा मानसिक तनाव सामान्य हुन्छ। तर मानसिक थकानको उचित व्यवस्थापन हुन नसके दिमागी शक्ति क्षीण हुन सक्ने भएकाले त्यसको व्यवस्थापन जरुरी छ। साथीभाइसँग गफिँदै चियाको चुस्की, गीत सुन्ने तथा गुन्गुनाउने, मन पर्ने पुस्तकको अध्ययन, एकांकी चिन्तन तथा मठमन्दिरको दर्शनले मानसिक थकान कम गर्ने भएकाले त्यता ध्यान दिन आवश्यक छ।
परिवर्तित शैलीका कारण कम्प्युटर, सेलफोनलगायतका प्रविधि अपरिहार्य बनेका छन्। सन् २०१९मा संयुक्त राज्य अमेरिकामा गरिएको अध्ययनअनुसार एक अमेरिकीले सरदर ९६ पल्ट आफ्नो फोन हेर्छ। फोन प्रयोगको हिसाबमा नेपालीको अवस्था अमेरिकनको भन्दा खासै फरक होला जस्तो देखिन्न। स्विडिस विश्वविद्यालयका अनुसन्धानकर्ताले सन् २०१८ मा प्रकाशित गरेको एउटा रिभ्युका अनुसार तारन्तार मोबाइल फोन हेर्ने व्यक्तिमा डिप्रेसनको समस्या अधिक देखियो। सेल फोनको अत्यधिक प्रयोग मानसिक समस्यासँग जोडिएकाले प्रविधि प्रयोगमा संहिताको आवश्यकता छ। बिहान उठ्ने बित्तिकै फोन नहेर्ने बरु त्यसका लागि समय सीमामा ख्याल राख्न आवश्यक छ। हप्तामा एक दिन प्रविधिसँग सम्बन्ध विच्छेद गरी साथीभाइ तथा आफन्तसँग नाता नवीकरण गर्दा फाइदा हुन्छ।
बढ्दो एकांकीपन मानसिक रोगको ठूलो हिस्सा बन्दो छ। निकट व्यक्तिसँगको सामीप्य र छलफल एक्लोपनको उपचार देखिएको छ। अध्ययनले एक्लोपन महसुस भएको अवस्थामा धेरै मानिससँग कुराकानी गर्नु भन्दा आफूले मनले खाएको ३ देखि ५ साथी तथा आफन्तसँग मन बाँड्नु अझ बढी फाइदाकारक हुन्छ। फरक अध्ययनले हप्ताको एकपल्टको १० मिनटको मित्र संवादले मात्र पनि व्यक्तिको एकांकीपन २० प्रतिशत घटेको देखायो। त्यसैले आपैmँमा रमाउने भन्दा समय निकालेर भए पनि साथीसँग भरिशक्य सशरीर नत्र टेलिप्रविधिमार्पmत भए पनि संपर्कमा रहनु आवश्यक हुन्छ।
मानिस सामाजिक प्राणी भएकाले मित्रविहीनताको अवस्था स्वस्थ मानिसको परिचय हुन सक्दैन भन्छन् अमेरिकाको बहायो विश्वविद्यालयका प्राध्यापक एवम् फ्र्यान्डसिप एक्सपर्ट बिलियम रलिन्स। मित्रता विशेषज्ञ डा. रलिन्सको विचारमा स्वस्थ जीवन बिताउन ३ किसिमका साथी अपरिहार्य छ। सामाजिक परिवेशमा बाँच्नका लागि कुरा गर्न मिल्ने, विश्वास गर्न सकिने अनि रमाइलो गर्ने तीनै किसिमका साथी आवश्यक पर्ने ठान्छन् प्राध्यापक रलिन्स। तीनै किसिमका साथी भएको व्यक्तिमात्र सामाजिकरूपले स्वस्थ रहन सक्ने ठान्छन् उनी। पछि समस्या नआओस् भन्नका लागि सानो उमेरमा व्यक्तिगत बानी तथा इच्छाका कारण मित्र बनाउन असफल हुने बच्चालाई अभिभावकले अनुकूल परिस्थिति निर्माण गरेर भए पनि सार्थी सर्कल निर्माण गर्न सहयोग गर्न आवश्यक रहेको ठान्छन् युनिभर्सिटी अफ् क्यालिफोर्निया लस् एन्जलसका प्राध्यापक एवम् फ्रेन्ड्स फोरएभर पुस्तकका लेखक फ्रेड फ्यांकल।
खराब भए पनि नाता परिवर्तन गर्न नमिल्ने भएकाले व्यक्तिको जीवनमा आफन्त भन्दा असल साथीले महत्वपूर्ण भूमिका खेल्ने ठान्छन् डा. फ्यांकल। मानिस स्वस्थ हुनका लागि शारीरिक, मानसिक तथा सामाजिक हिसाबले समेत कुशल हुन आवश्यक छ। शारीरिक स्वास्थ्यका लागि असल आहारबिहार आवश्यक हुन्छ भने मानसिक सवलताका लागि चिन्ता तथा तनावको व्यवस्थापन आवश्यक पर्छ। सामान्यतः शारीरिक स्वास्थ्य कायम राख्न आहारबिहारको परिमार्जन, चिकित्सकीय परामर्श तथा ओखतीमूलो सफल भएको देखिन्छ भने मानसिक तथा सामाजिक तन्दुरुस्तीका लागि धेरै किसिमका बाह्य तत्वले भूमिका खेल्छ। मानसिक आवेग, तनाव तथा थकानको उचित व्यवस्थापनका लागि मेडिकल साइन्स प्रारम्भिक चरणमै रहेको छ। तसर्थ मानसिक तथा सामाजिक समस्या समाधानका खातिर आफ्नो आचरण परिवर्तनक बाहेक दरिलो तथा भरोसायोग्य समकक्षी जरुरी रहेको यथार्थ समयमै बुझ्न आवश्यक छ।
प्रकाशित: २२ असार २०७८ ०४:२३ मंगलबार