विचार

औषधिको साटो स्वस्थ खान्की

आयुर्विज्ञान क्षेत्रको प्रतिष्ठित जर्नल ‘द ल्यान्सेट’ मा प्रकाशित एउटा अध्ययन ‘द ग्लोबल बर्डेन अफ् डिजिज’ ले संसारभरको मरण तथ्यांक संकलन गरी मृत्युको संख्या र कारकबीचको अन्तरसम्बन्ध स्थापित गर्‍यो। उक्त नतिजाले सन् २०१५ मा संसारमा भएका कुल मृत्युको ७१ प्रतिशत खानपिन तथा ‘लाइफ स्टाइल (जीवनशैली)’ सँग सम्बन्धित रहेको भन्यो। सन् १९९० को तथ्यांकले त्यसबेला संसारको कुल मृत्युको ५८ प्रतिशत मात्र खानपिन तथा जीवनशैलीसँग सम्बन्धित रहेको देखाएको थियो। यसरी अढाइ दशकमा खानपिन तथा जीवनशैलीका कारण मरणको सङ्ख्या निकै उकासिनुले सबैलाई चिन्तित पार्ने नै भयो। तथ्यांकको थप प्रशोधनले पछिल्लो समयमा देखिएको बदलिँदो खानपिन ढाँचा, यातायातको अत्यधिक प्रयोग र सञ्चारले ल्याएको जीवनशैली परिमार्जनले ‘फुड एन्ड लाइफस्टाइल’ सँग सम्बन्धित ‘डेथ’को संख्या अत्यधिक बढेको देखियो। तर यो आलेखमा रोग तथा मृत्युमा भोजनको प्रभावमात्र समेटिएको छ।  

उपरोलिखित अध्ययनले रोगहरूको मुख्य कारण भोजनलाई मान्यो। अब खानाले कसरी स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ त?  

चिल्लो तथा बोसोयुक्त खान्कीको अत्यधिक सेवनले मानिसको वजनमात्र बढ्ने होइन, बरु शरीरमा ‘कोलेस्टोल, ट्राइग्लिसराइड्स’ लगायतका ‘फ्याट्टी बायो मोलिकुल्स’ को मात्रासमेत उकासिन्छ। व्यक्ति मोटो हुँदा शरीरको सबै अंग÷प्रत्यंगमा रक्तसञ्चार व्यवस्थित गर्न मुटुले सामान्य अवस्था भन्दा अत्यधिक काम गर्नुपर्छ। मुटुले अत्यधिक काम गर्नुपरेपछि रक्तचाप जस्ता शारीरिक समस्या देखिन्छन्। बाढीको फोहोरले नहरको बहाबलाई बाधा पुर्‍याएझैं चिल्लो पदार्र्थ सेवनका कारण उकासिएका कोलेस्ट्रोल, ट्राइग्लिसराइड्स जस्ता मोलिकुल्सहरूले रक्तसञ्चार मार्गलाई अवरोध गर्छन्। परिणामस्वरूप ‘आर्टरिज तथा भेन’ हरू साँघुरा हुन्छन्, रक्त सञ्चार प्रणालीमा बाधा आउँछ। यसरी मोटोपनका कारण रगत पुर्‍याउनुपर्ने भाग बढ्ने अनि रक्त सञ्चार मार्गहरू थप साँघुरो हुँदा रक्त सञ्चार प्रणाली दोहोरो मारमा पर्छ। परिणामस्वरूप ‘स्ट्रोक’, पक्षघात जस्ता समस्या देखिन्छ, मानिस मर्छ। गत डिसेम्बर महिनामा ‘जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजी’ मा प्रकाशित एक अनुसन्धानअनुसार संसारमा अहिले पनि मुटु रोगका कारण सबैभन्दा बढी मानिस मर्छन् र सन् २०१९ मा मृत्यु भएका मानिसमध्ये एकतिहाइ मरणको कारक ‘हार्ट डिजिज’देखियो।

संसारमा अहिले पनि मुटु रोगका कारण सबैभन्दा बढी मानिस मर्छन् र सन् २०१९ मा मृत्यु भएका मानिसमध्ये एकतिहाइ मरणको कारक ‘हार्ट डिजिज’ देखियो।  

आवधिक ‘ग्लोबल’ तथ्यांकका अनुसार पछिल्लो ३० वर्षमा मुटु रोगीको संख्या दुई गुणाले बढेको देखियो। ‘फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)’ ले सार्वजनिक गरेको एउटा तथ्यांकअनुसार पछिल्लो ५० वर्षमा संसारका सबै महादेशका बासिन्दाले आफ्नो खानामा ‘फ्याट’ को मात्रा निरन्तर बढाउँदै लगेको पाइयो। अनि पछिल्लो ३ दशकमा विश्वभर ‘फ्याट’ को खपत झण्डै ५० प्रतिशतले बढेको पाइयो। संसारभरका नागरिकको खानामा ‘चिल्लो’ को मात्रा बढ्नु र मुटु रोगीको संख्या उकासिनु संयोग होइन, बरु ‘फ्याट्टी फुड’ र ‘हार्ट डिजिज’ बीच प्रत्यक्ष सम्बन्धलाई थप पुष्टि गर्‍यो।

भात हाम्रो मुख्य खाना हो। नेपालीको शारीरिक ऊर्जाको ठूलो हिस्सा बजारमा बिक्री हुने ‘सेलर मिल’ को चम्किलो चामलबाट पूर्ति हुन्छ। अब, भात खाँदा शारीरिक ‘बायोलोजी’ मा के असर पर्छ त? हामीले खाएको भात पाचन प्रक्रियापछि ग्लुकोजमा परिवर्तन हुन्छ अनि अविलम्ब रगतमा पुग्छ। अत्यधिक ‘ब्लड सुगर’ हानिकारक हुने भएकाले रगतमा रहेको कार्बोहाइड्रेट अविलम्ब कोस (सेल) मा पुग्नुपर्छ।  

‘ब्लड’मा भएको ग्लुकोजलाई कोसमा पुर्‍याउने काम ‘इन्जाइम इन्सुलिन’ को हो। इन्सुलिन उत्पादन गर्ने दायित्व ‘पेन्क्रियाज’ को हो। चामल, पिठो, मैदालगायतका सरल प्रकृतिका कार्बोहाइड्रेट सेवन गर्दा रगतमा ग्लुकोजको मात्रा एक्कासि बढ्ने भएकाले छोटो समयमै धेरै इन्सुलिनको आवश्यकता पर्छ। यसरी, एक्कासि धेरै इन्सुलिन बनाउनुपर्दा पेन्क्रियाजको अवस्था आराम गरेको मानिसलाई अपरझट कठिन काम लगाउनझैं हुन्छ। ठूलो परिणाममा भात खाने बानीका कारण अपरझट अनि उच्च मात्रामा इन्सुलिन बनाउनुपर्दा पेन्क्रियाज दिनानुदिन शिथिल बन्दै जान्छ। अनि, पेन्क्रियाज आवश्यक मात्रामा इन्जाइम बनाउन असफल हुन्छ। त्यस्तो परिस्थितिमा हामीलाई ‘डाएबेटिज (चिनी रोग)’ लाग्छ। चिनी रोगका कारण आउने समस्याका कारण नेपालमा मृत्यु हुनेको संख्या कहालीलाग्दो देखिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार सन् २०१९ मा संसारमा झण्डै ४७ करोड चिनी रोगी रहेका र अर्को २५ वर्षमा उक्त संख्या ७० करोड पुग्ने देखियो। डाएबेटिज आफैंमा जटिल शारीरिक समस्या हुनका अतिरिक्त यसले ल्याउने विभिन्न किसिमका समस्याको स्मरण आवश्यक छ।  

कार्बोहाइड्रेट, फ्याट तथा प्रोटिन हाम्रो खानाको मुख्य भाग हुन र शारीरिक वृद्धि विकासका लागि यी तीनै पोषण आवश्यक छन्। उल्लिखित परिदृश्यले शरीरका लागि अत्यावश्यक तर खानामा परिणाम नमिले रोगको कारक बन्ने कार्बोहाइड्रेट तथा फ्याटलाई कसरी स्वस्थरूपले सेवन गर्ने त भन्ने चुनौती रहन्छ नै। प्रोटिनको अधिक सेवन गम्भीर स्वास्थ्य चुनौतीका रूपमा नदेखिएकाले त्यसको चर्चा आवश्यक रहेन।

तुलनात्मकरूपले सस्तो हुने भएकाले नेपालमा सागपातलाई गरिबको खाना मान्ने अवधारणा बन्यो। महँगो प्रोटिनजन्य मासु ठालुको आहार हुन पुग्यो। दिनैपिच्छे मासु खाए स्वास्थ्य राम्रो हुन्छ भन्ने सोच पलायो। यथार्थ के हो त?

‘प्लान्ट बेस्ट’ (वनस्पतिजन्य) खान्कीले स्वास्थ्य र दीर्घायुमा के/कस्तो असर पार्छ भन्ने सम्बन्धमा भएको संसारकै ठूलो अध्ययन सन् २०१९ मा ‘जर्नल सर्कुलेसन’ मा प्रकाशित भयो। अमेरिकाको हार्वर्ड विश्वविद्यालय पब्लिक हेल्थका प्राध्यापक फ्र्यांक हुको अगुवाइमा भएको उक्त अनुसन्धानले वनस्पतिजन्य उत्पादनलाई आफ्नो खानाको मुख्य आधार बनाउने समूह र मूलतः मासु सेबन गर्ने पक्षको स्वास्थ्यलाई लामो समयसम्म नियाल्यो। मुख्यतः सागपात अनि यदाकदा मासु खाने समूहको ‘हार्ट हेल्थ’ अर्को समूहको तुलनामा सबल देखियो। स्वस्थ मुटु भएका कारण अर्को समूहका तुलनामा वनस्पतिलाई खानाको मुख्य अंश मान्ने समूह दीर्घायु हुनु अस्वाभाविक भएन।

संहिता पालन नगरी मनपरी भोजन गर्दा विभिन्न रोगले सताउने देखियो। रोग लागेपछि ओखती खानु बाध्यता बन्छ। तर स्वस्थ आहारले पछिल्लो दिनमा रोगलाई पछि धकेल्ने अनि औषधिलाई टाढा राख्न सक्ने देखियो।  

भेजिटेरियन खान्की समष्टिगतरूपले मासुको तुलनामा स्वस्थबर्धक देखिए पनि प्रशोधित ‘प्लान्ट प्रोडक्ट’ लाई भने डा. हु शारीरिक हिसाबले राम्रो मान्दैनन्। त्यसैले ‘भेजिटेरियन’ नै भए पनि बिस्कुट, चाउचाउ, पिज्जा जस्ता खान्की नखान सल्लाह दिन्छन् उनी। त्यही अनाजबाट बनेको भए पनि पिठो तथा चम्किलो चामलको परिकार भन्दा च्याख्ला, ‘ब्राउन’ राइसबाट बनेको खान्की स्वास्थ्यबर्धक हुन्छ। प्रचुर मात्रामा फाइबर (रेसा) हुने प्राकृतिक उत्पादनहरूले हाम्रो पाचन प्रणालीका राम्रा ब्याक्टेरियाको सन्तुलन कायम राख्ने धेरै अन्वेषणले देखायो। असल ‘गट ब्याक्टेरिया’ ले विभिन्न किसिमका रोगबाट बचाउने भएकाले प्राकृतिक उत्पादनलाई सके यथास्थितिमा नसकेको खण्डमा न्यूनतम मात्रामा प्रशोधन गरी खान सल्लाह दिन्छन् प्राध्यापक हु।  

फलफूल, सागपात, गाजर, ब्रोकाउली, गेडागुडी जस्ता वनस्पतिजन्य उत्पादनलाई प्रशोधन नगरी खाने हो भने शरीरमा ग्लुकोजको मात्रा विष्फोटन अवस्थामा नपुग्ने अनि ‘कोलेस्ट्रोल, ट्राइग्लिसराइड्स’ जस्ता खराब बायोमोलिकुल्सहरू समेत नियन्त्रणमा आउने देखियो। मासुमा पाइने बोसो बायोलोजिकल प्रक्रियामार्फत अन्तत कोलेस्ट्रोलमा परिणत हुन्छ। तर प्राकृतिकरूपले नै वनस्पतिमा कोलेस्ट्रोल नपाइने भएकाले ‘ननभेज’ को दाँजोमा ‘भेजिटेरियन फुड’ स्वस्थकर हुनु अन्यथा भएन। मासु भन्दा फरक माछा तथा ‘ड्राइ फ्रुट्स’ मा पाइने तेलको प्रकृति फरक हुने भएकाले फिस तथा बदामहरू शरीरका लागि लाभप्रद् देखिए। यद्यपि, माछा तथा ‘ड्राइ फ्रुट्स’ को अधिक सेवनले समेत वजन भने बढाउने कुरा भने हेक्का राख्न आवश्यक देखियो।  

आवधिक अध्ययनले खान्की र विभिन्न किसिमको क्यान्सरबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरेको देखिन्छ। डा. रबान चेबस्कीको नेत्रृत्वमा लस् एन्जलस बायोमेडिकल रिसर्च इन्स्टिच्युट तथा युनिभर्सिटी अफ क्यालिफोर्निया लस् एन्जलस मेडिकल सेन्टरका वैज्ञानिकहरू संलग्न अनुसन्धानले सन् २०१९ मा खानाको प्रकृति र स्तन (ब्रेस्ट) क्यान्सरका बीच सम्बन्ध स्थापित भएको देखायो। लामो समयसम्म चलेको अनि झण्डै ५० हजार महिला संलग्न उक्त अनुसन्धानमा आधा सहभागीले ‘लो फ्याट’ अनि अर्को समूहले सामान्य खान्की खाने गरेका थिए। जीवनको उत्तरार्धमा सहभागीको स्वास्थ्य अवस्था विश्लेषण गर्दा ‘लो फ्याट डायट’ का सहभागीमा स्तन क्यान्सरको संक्रमण कम त देखियो नै त्यसका अतिरिक्त अन्य प्रकृतिका क्यान्सरका कारण समेत उनीहरूको मृत्यु न्यून हुने गरेको देखियो। उक्त अन्वेषणले बोसोजन्य खान्कीबाट बच्ने हो भने क्यान्सरको प्रकोपसमेत कम हुने भन्यो।

संहिता पालन नगरी मनपरी भोजन गर्दा विभिन्न रोगले सताउने देखियो। रोग लागेपछि ओखती खानु बाध्यता बन्छ। तर स्वस्थ आहारले पछिल्लो दिनमा रोगलाई पछि धकेल्ने अनि औषधिलाई टाढा राख्न सक्ने देखियो। प्रकाशित अन्वेषणहरूले ‘लो फ्याट’ तथा अप्रशोधित वनस्पतिजन्य भोजनको बानी बसाल्दा मुटु रोग तथा क्यान्सरको प्रकोपबाट समेत धेरै हदसम्म बचाउने भएकाले जीवनको उत्तरार्धमा ‘मेडिसिन’ खानुको बदला अहिले नै स्वस्थ आहारबिहारको बानी बसाल्नु सबैको हितमा देखियो। पछि रोग लागेर औषधि खाने कि अहिले नै स्वस्थ खान्कीको आदत बसाएर रोग भगाउने? समयमै सोचौँ।

प्रकाशित: ८ असार २०७८ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App