विचार

विज्ञापन व्यवसाय : सहकार्यको त्रिवेणी

सन्दर्भ नेपाली विज्ञापन सप्ताह

विश्वमा १६औँ शताब्दीतिर विज्ञापन सुरु भए तापनि नेपालमा भने विज्ञापनको सुरुवात मोक्षसिद्धि पत्रिकाबाट वि.संं. १९१९ मा भएको देखिन्छ तर व्यवस्थितरूपमा भने विज्ञापन एजेन्सीहरू संगठित भई कार्य गर्न लागेका करिव तीन दशक भएको छ।

व्यवस्थित विज्ञापन व्यव्सायका लागि विभिन्न क्षेत्र विज्ञापनकर्मी, सर्जक विज्ञापनदाता र सञ्चार गृहको भूमिका अहम् हुन्छ। नेपालमा प्रेस स्वतन्त्रता, निजीकरण, खुला बजार जस्ता विषयको प्रवेशसँगै सञ्चार क्षेत्रमा व्यावसायिक पत्रकारिताको प्रवेश पनि सुखद्रूपमा आएको देखिन्छ र यो सँगसँगै व्यावसायिक विज्ञापनले पनि ठूलो आकार लिएको देखिन्छ जसले पत्रकारिता र व्यावसायिक विज्ञापनलाई एकअर्काका पूरक हुन् भन्ने देखायो।

चालीसको दशकमा सञ्चार क्षेत्रमा विद्युतीय सञ्चार माध्यम टेलिभिजनको आगमनसँगै विज्ञापनका क्षेत्र तथा यसको संख्या पनि बढ्नु स्वाभाविक रह्यो। सञ्चार क्षेत्र पत्रपत्रिकादेखि रेडियो हुँदै टेलिभिजनसम्म आइपुग्दा विज्ञापन एजेन्सीको संख्यामा पनि मनग्य वृद्धि भयो। २०४९ सालमा ४८२ वटा विज्ञापन एजेन्सी भएकामा २०७८ सम्म आइपुग्दा झण्डै २००० को हाराहारीमा एजेन्सीको संख्या पुग्नुले यस क्षेत्रको महत्व कति रहेछ भन्ने जान्न सकिन्छ।

पचासको दशकमा नेपालमा राजनीतिक परिवर्तनका साथै विभिन्न क्षेत्रमा आएको नयाँ सोच, ऐन कानुनको आगमनले नेपाली उद्योग, व्यवसाय, व्यापारमा खुलापन, बजारीकरण र प्रतिस्पर्धाले सञ्चार क्षेत्रमा पनि थप प्रभाव रह्यो जसका कारणले एफएम रेडियोहरू र पत्रपत्रिकाहरूको संख्यामा अनपेक्षितरूपमा वृद्धि भयो।  

वि.सं. २०४९ मा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०५० मा निजीकरण ऐन र २०५० मा राष्ट्रिय प्रशारण ऐनको प्रादुर्भावपछि सञ्चार क्षेत्रमा अत्यधिक लगानी बढ्यो। फलस्वरूप, नेपालमा निजी क्षेत्रका सञ्चार माध्यमहरूको बाढी नै आयो।

युनेस्कोको प्रतिवेदनअनुसार २०४६ मा ४५६ पत्रपत्रिका, १ रेडियो स्टेसन र १ टेलिभिजन स्टेसन रहेकामा यो संख्या तेह्र वर्षको अन्तरालमा अर्थात् २०५९ मा पत्रपत्रिका ३४०८, ५१५ रेडियो र ५८ टेलिभिजन स्टेसनको संख्या रहेको देखिन्छ। जुन प्रतिशतको हिसाबले हेर्दा अत्यधिक हो। मानव अधिकार, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकका नाउँमा अनियन्त्रित मिडियाको बाढीले नगरपालिका, एनजिओ/आइएनजिओ, सहकारी, प्रहरीले समेत रेडियो सञ्चालन गर्ने होडबाजीले मिडियामा व्यवसायिकता भन्दा अन्य कुरा नै देखिन्छ।

सडक विस्तार र जलविद्युत् क्षेत्रमा मनग्ये विकास भएको छ तथापि कृषि क्षेत्रमा यो पुग्न सकेन। त्यसैले रोजगार सिर्जना गर्ने विषयमा कृषिको योगदान महत्वपूर्ण छ। गरिबीको रेखामुनि रहेका जनताको संख्या २५ वर्षमा २१ प्रतिशतमा झरे पनि कोरोनाको प्रभावले मुलुकमा आर्थिक क्षेत्र तहसनहस भएको छ। कृषि, जलविद्युत् तथा सडक क्षेत्रबाट आउने विज्ञापनको मात्रा कम छ। साथै आव २०७५/०७६ मूल्य र आयको अनुपात १३ः२ छ। बजार मूल्य अत्यधिक छ देशमा उत्पादन छैन सबै क्षेत्र आयातमा आधारित छ। यो स्थितिले जनतामा खर्च गर्ने क्षमता ह्रास भैरहेको छ। तथापि सञ्चित आयबाट पनि वस्तु सेवा खरिद गर्ने नेपाली सस्ंकार विज्ञापनका लागि अवसर हो।  

प्रसिद्ध व्यक्तित्व बेस्टन चर्चिलको भनाइमा ‘विज्ञापनले नै उपभोक्ता ग्राहकको क्रयक्तिलाई बढावा दिन्छ जसबाट मानिस ऊर्जाशील बन्छ विज्ञापन यस्तो विषय हो जसले मानिसलाई ऊ र उसको परिवारलाई राम्रो खाना बसोबास र पोशाक प्राप्तिका लागि मेहनत परिश्रम गर्न जागरुक र ऊर्जाशील उत्पादनशील बनाउँछ।’ यो कुराले के पुष्टि गर्छ भने जुन देशमा विज्ञापन बढिरहेको छ त्यो देशको अर्थतन्त्र उदीयमान छ। त्यसकारण सञ्चार गृह र विज्ञापनकर्मी, विज्ञापन एजेन्सीको सोच, योजना र जोड विज्ञापन बढाउनेतर्फ हुनुपर्छ जसबाट सबै स्टेकहोल्डरहरू लाभान्वित हुन्छन्। साथै विज्ञापनकर्तालाई विज्ञापनबाट हुने लाभ–हानिको अनुभूति गराउनुपर्छ।  

नेपालमा २०६० को दशकमा नेपाली विज्ञापन सिर्जना र विज्ञापनको सम्मान तथा विज्ञापन व्यवसायको पहिचान, विकास र विस्तारका खातिर नेपाल विज्ञापन संघ (आन) को पहलमा सम्पूर्ण सञ्चार गृहहरूको साझेदारीमा नयाँ अवधारणा ‘कृति अवार्डस’ को आरम्भ भयो। सम्भवतः यो अवार्डस नेपालकै ठूलो निजी क्षेत्रको मेगा सो हो जसको आयोजनाले वर्षमा एक पटक भए पनि बजार ब्युँताउने, चलायमान बनाउने र ब्रान्ड प्रबद्र्धन गर्ने अवसर मिल्यो।

साथै नेपालमा विज्ञापनको विकासका लागि नेपाल विज्ञापन संघले विज्ञापन ऐन क्लिन फिड जस्ता मुद्दाहरू उठान गर्‍याे। यी विषयहरूको प्रचारप्रसार, सचेतना तथा लबी गर्न सञ्चार माध्यमहरूको पहलकदमी रह्यो। सबैको प्रयासको फलस्वरूप ऐन आयो र क्लिन फिड लागु हुँदैछ।

सञ्चार क्षेत्रको विकासका लागि विभिन्न ऐन प्रेस तथा प्रकाशन ऐन, राष्ट्रिय प्रशारण ऐन, प्रेस काउन्सिल ऐन, श्रमजीवी पत्रकार ऐन, सूचनाको हकसम्बन्धी ऐन आदि आएको देखिन्छ तथापि सञ्चार क्षेत्रले आमदर्शक र पाठकहरूमा विश्वसनीयता, निष्पक्षता र सन्तुलन दिन नसकेको कटु सत्यता पनि छ।  

साथै आमदर्शक र पाठकबीच मूलधारका सञ्चार माध्यमलाई पार्टीको ट्याग लगाउने जस्ता गलत सस्ंकार विद्यमान छ। यो आरोपबाट बच्न सञ्चार माध्यमले आफूलाई परिष्कृत तथा सुधार गर्न जरुरी छ। आमसञ्चार माध्यमलाई राजनीतिक क्षेत्रसँग मुछिनु र सबै सञ्चार गृहलाई आरोपित गर्नु गलत परिपाटी बनेको छ। यसले स्वतन्त्र सञ्चार माध्यम प्रजातन्त्रको अपरिहार्य तत्व भन्ने मर्मलाई असर गर्छ। २०५० सालतिर १ अर्ब बराबरको विज्ञापन बजार रहेकामा २०६७ सम्म आइपुग्दा साढे तीन अर्बमा पुगेको तथ्यांक छ। हाल त्यो विज्ञापनको आकार २०७६ चैतसम्म कोभिड–१९ को सुरुवातअगावैको आकार ९ अर्बको हाराहारीमा छ। जुन आकार नेपालको जनसंख्या, भूगोल, दर्शक, पाठक, साक्षरता दर, उद्योग व्यवसायको आकारका आधारमा उल्लेखनीय मान्न सकिन्छ।  

सरकारी विज्ञापन तथा निजी व्यावसायिक क्षेत्रबाट गरिने विज्ञापन दुवैको संख्याको अनुपात उल्लेखनीय छ। विज्ञापनको बजारकै कारण विदेशी विज्ञापन कम्पनी नेपालमा बीसौँ वर्षदेखि कार्यरत छन्। नेपाली उद्योग व्यव्सायको आकार र कारोबारको दायरा हेर्दा अप्रत्याशितरूपमा विभिन्न कालखण्डमा विभिन्न सोच उद्देश्यबाट सिर्जिएको अनियन्त्रित सञ्चार माध्यमहरूको आकारलाई थेग्न कठिन देखिएको छ।

काठमाडौँ केन्द्रित सञ्चार गृहको आयतन ठूलो छ। जसलाई नेपाली उद्योग व्यवसायले धान्न सक्दैन। दर्शक, पाठक र साक्षरता दरको अनुपातमा अत्यधिक मात्रामा वृद्धि भएको टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाइन पोर्टल तथा डिजिटल सामाजिक सञ्जाललाई चाहिने मात्रामा विज्ञापन उपलब्ध हुने स्थिति देखिन्न। तसर्थ विज्ञापनकै लागि सञ्चार गृहहरूको अस्वस्थ प्रतिस्पर्धा र होडबाजी चलेको छ। यो गर्नका लागि सञ्चार गृहहरूको बाध्यता छ किनकि सञ्चार गृहहरूको संचालन खर्च बढी छ जसमा व्यावसायिक तथा व्यवस्थापकीय क्षमताको कमी छ। साथै महँगीको मार पनि छ।  

विज्ञापनदाताहरूको रोजाइ छनोट निश्चय नै राम्रो प्रभावकारी विज्ञापन र सञ्चार माध्यम नै हो हुनुपर्छ। उनीहरू आफ्नो वस्तु, सेवा, ब्रान्डको विज्ञापन आमदर्शकले हेरुन् भन्ने अभिप्राय राख्छन्। यसका लागि उनीहरूले पनि विज्ञापनको सही मूल्य तिर्नुपर्छ भने सञ्चार माध्यमले पनि आफ्ना सामग्रीहरूको सुधार गरी आमपाठक दर्शकले रुचाउने पचाउने गरी सम्पादन प्रशारण गर्नुपर्छ जसबाट सञ्चार माध्यम लोकप्रिय बजार लिन सफल हुन्छ। 

समयको माग र प्रविधिको विकासले ल्याएको डिजिटल माध्यमले परम्परागत सञ्चार माध्यमलाई केही मात्रामा असर पारेको छ। यसले गर्दा परम्परागत सञ्चार माध्यमले आफूलाई समयानुकूल परिष्कृत गर्न वाञ्छनीय छ। साथै युट्युब, गुगल, इस्टा, फेसबुक जस्ता माध्यममा जाने विज्ञापनलाई नेपाली सञ्चार माध्यमतर्फ मोड्न सञ्चार गृहले आफ्ना प्रकाशन तथा श्रव्य दृश्य सामग्रीहरूमा अत्यधिक सुधार, गुणस्तर वृद्धि गर्न आवश्यक छ। युवा जमातको आकर्षण रहेका आधुनिक डिजिटल माध्यमले सञ्चार क्षेत्रमा अवसर र चुनौती थपेको छ।

नेपाली विज्ञापन सप्ताहले विज्ञापनदाता, विज्ञापन सर्जक, विज्ञापनकर्मी, पाठक–दर्शकबीचमा, विचार, समस्या, अवसर, चुनौती, उपलब्धिहरूको मन्थन गरी आगामी दिनहरूमा के/कस्ता कदम चाल्ने ? अबको बाटो के हो ? आम सञ्चारको विकाससँगै दिगो विकासका लागि कुन क्षेत्रबाट के के पहलकदमी गर्न सकिन्छ त्यो विषयमा गहन, विचार, विमर्श गर्नु आजको अपरिहार्य आवश्यकता हो। विज्ञापनदाता, सञ्चारगृह र विज्ञापन एजेन्सीहरू सँगसँगै हातेमालो गरी अगाडि बढ्नु अपरिहार्य छ अन्यथा सबैको भविष्य अन्योल छ। निम्नतम मात्रामा पनि समन्वय र सहकार्य गरेमात्र पनि सञ्चार विज्ञापन उद्योग व्यवसायीको दिगो विकास सम्भव छ।  

विज्ञापन चक्रका सबै पक्ष विज्ञापनदाता, सञ्चारगृह, विज्ञापन एजेन्सीहरू सँगै बसेर उपलब्धि योगदानलाई जोगाउँदै अवसरहरूलाई बढाउन र उपयोग गर्न सबै क्षेत्रबाट सहकार्य हुन नितान्त आवश्यक छ। जुनसुकै प्लेटफर्ममा विज्ञापन आए पनि त्यसको उचित प्रतिफल विज्ञापनदाता, विज्ञापनकर्मी, विज्ञापन एजेन्सी र सञ्चार माध्यमले पाउनुपर्छ। त्यसका लागि सबै पक्ष सजग र जागरुक हुन जरुरी छ।

साथै आजको दिनमा विज्ञापन एजेन्सीको जोड कसरी प्रभावकारी विज्ञापन सिर्जना गर्ने, सञ्चार गृहको जोड कसरी सञ्चार सामग्रीमा उत्कृष्टता ल्याउने र विज्ञापनदाताको जोड कसरी ब्रान्ड स्थापित गर्ने र वस्तु सेवाको बिक्री बढाउने भन्ने विषयमा एकाग्रता हुन जरुरी छ। ताकि पितकारिता, भारी छूटको बाढी र घाँटी काट्ने प्रतिस्पर्धालाई पूर्णरूपमा निरुत्साहित गर्न सकियोस्।

(कार्यकारी निर्देशक, नेपाल विज्ञापन संघ–आन)

प्रकाशित: ८ असार २०७८ ०२:५३ मंगलबार

विज्ञापन व्यवसाय सहकार्यको त्रिवेणी