विचार

वैकल्पिक शिक्षाको व्यवस्थापन

गत वर्ष चीनबाट अध्ययन गरी नेपाल फर्केका एक विद्यार्थीमा पहिलो पटक कोरोना भाइरस पुष्टि भएसँगै नेपालभर फैलिएको संक्रमणको त्रासले शिक्षा क्षेत्र थला परेको छ। गत वर्ष झण्डै नौ महिना बन्द रहेका शैक्षिक संस्था माघदेखि खुले पनि दोस्रो लहरको कोरोना संक्रमणले विद्यालयदेखि विश्वविद्यालयसम्मको पठनपाठन वैशाखदेखि नै बन्द छ। स्कुले बालबालिका संक्रमित बनेपछि सरकारले विद्यालय बन्द गर्न आग्रह गरे पनि केही विद्यालयले अटेर गरी सञ्चालन गर्दा कोरोना संक्रमणले विद्यार्थी मरेका खबर  बाहिरिए। 

जेठमा हुने भनिएको एसइइ परीक्षा र कक्षा आठको जिल्लास्तरीय परीक्षा सञ्चालन हुन सकेनन्। संक्रमण बढिरहेकाले नयाँ शैक्षिक सत्र सञ्चालन र व्यवस्थापनबारे सरकारले कुनै निर्णय गर्न सकेको छैन। अघिल्लो शैक्षिक सत्रको पठनपाठन पूरा नहुँदै केही निजी विद्यालय जेठको पहिलो सातादेखि नै नयाँ शैक्षिक सत्रको पठनपाठनका लागि अनलाइन कक्षा सञ्चालनमा जुटिसकेका छन्।  

कोरोना कहरको दोस्रो लहरले शैक्षिक सत्र २०७८ मा पनि तत्काल विद्यालय खुल्ने सम्भावना नभएकाले  वैकल्पिक शिक्षालाई नै निरन्तरता दिनुपर्ने अवस्था सिर्जना भएको छ। कोरोना संक्रमणले शिक्षक–विद्यार्थीबीचको भौतिक सम्बन्ध छुटाए पनि अनलाइन शिक्षाले जोड्न सहयोग गरेको छ। जो जुनसुकै  ठाउँमा रहेर पनि आफ्नै घरको कोठालाई कक्षाका रूपमा परिणत गरी सिक्ने/सिकाउने अवसर अनलाइन शिक्षाले  दिलाएको छ। महामारी र अन्य दैवी विपत्तिका समयमा विश्वभर नै विद्यालयदेखि विश्व विद्यालयसम्मको पठनपाठनमा अनलाइन शिक्षा विकल्पका रूपमा उदाएको छ। अनलाइनबाटै पठनपाठन गराउने र परीक्षा पनि सञ्चालन गर्न सकिने अवसरको उपयोग गर्न सरकारले देशभर प्रविधिको पहुँच विस्तार गर्नु जरुरी छ।

गत साल लकडाउनले लथालिंग बनेको पठनपाठन लयमा नफर्किँदै यो शैक्षिकसत्र दोस्रो लहरको कोरोना कहरले अस्तव्यस्त बनेको छ। जसोतसो अनलाइन शिक्षा सञ्चालन गरेर शैक्षिक सत्रलाई घिसार्दै गत माघदेखि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमै पठनपाठन गराउने जमर्को गरे पनि वार्षिक परीक्षाहरू सञ्चालन हुन सकेका छैनन्। गत वैशाखको मध्यदेखि सुरु भएको लकडाउनले अघिल्लो शैक्षिक सत्रदेखिकै पठनपाठन लथालिंग भएको अवस्थामा विभिन्न विधि र प्रविधिमार्फत पठनपाठनलाई निरन्तरता दिने र प्रभावकारी बनाउने सरकारको योजना र रणनीति खोइ? वार्षिक परीक्षा सञ्चालनका विषयमा मात्र सरकारको  चासो र चिन्ता किन ?  

गत असारबाट सरकारले वैकल्पिक शिक्षाका रूपमा अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्रीलगायतबाट पढाउने चाँजो मिलाउन निर्देशन जारी गरेपछि निजीसँगै सरकारी विद्यालयहरू पनि अनलाइन शिक्षा सञ्चालनमा जुटेका हुन्। सरकारले रेडियो टेलिभिजनबाट सञ्चालन गरेको भर्चुअल शिक्षा त्यति प्रभावकारी नभएको र इन्टरनेट र शिक्षण सिकाइ प्रविधिमा आमविद्यार्थीको पहुँच नभएका कारण वैकल्पिक शिक्षा पनि व्यवस्थितरूपमा अघि बढ्न सकेन। प्रविधिको प्रयोगमार्फत हरेक शिक्षक/शिक्षिकालाई विद्यार्थीका घरघरमा पुर्‍याइ पढाउन सक्ने अवसरको यथेष्ट  उपयोग गर्न पछाडि पर्‍यौँ। विपत्का बेलामा पनि प्रविधिसँग जोडिएर पठनपाठनलाई निरन्तरता दिने र शैक्षिक सत्रलाई सुचारु राख्ने हाम्रा पूर्वतयारी र प्रक्रियाहरू अत्यन्तै कमजोर देखिएका छन्।  

वैकल्पिक विधिबाट पठनपाठन गराउन सरकारले निर्देशन मात्र दियो। व्यवस्थापन र सहजीकरण गरिदिएन। जसका कारण सहरी क्षेत्रका केही निजी र सामुदायिक विद्यालयबाहेक अन्यत्र वैकल्पिक शिक्षाले निरन्तरता दिन र प्रभावकारिता देखाउन सकेको छैन। बहुसंख्यक सरकारी विद्यालयले इन्टरनेटलगायत प्रविधिको अभाव देखाइ पठनपाठन नै अघि बढाएनन् भने निजी शिक्षण संस्थाहरूले वैशाख जेठदेखि नै अनलाइन शिक्षा सञ्चालन गरे पनि शैक्षिक शुल्क र तलव भत्ताका विषयमा वर्षैभरि किचलो र गुनासो आइरहे। 

सरकारले गत असोजमा मात्र सिकाइ सहजीकरण निर्देशिका जारी गर्दै वैकल्पिक शिक्षालाई शैक्षिक सत्रको मान्यता दिने र निजी विद्यालयहरूले शैक्षिक शुल्क लिन पाउने व्यवस्था गरेपछिमात्र अधिकांश विद्यालय वैकल्पिक शिक्षा प्रणालीमा जसोतसो होमिन थालेका हुन्। संक्रमण कम भएका ग्रामीण क्षेत्रमा दसैँ तिहारपछि नै विद्यालय खुलेका भए पनि कोरोना संक्रमणको राष्ट्रव्यापी असर हरेक क्षेत्रको पठनपाठनमा देखियो। हाल सबै जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण उच्च गतिमा बढिरहेकाले यस शैक्षिक सत्रमा पनि लामै समय शैक्षिक संस्थाहरूमा उपस्थित भइ पठनपाठन कार्य गर्न नसक्ने निश्चित छ।।

२०७८ मा नयाँ शैक्षिक सत्रको सुरुवात असारदेखि हुने भनिए पनि  के, कसरी हुने भन्ने योजना शिक्षा मन्त्रालयसँग छैन। कोरोना संक्रमण र मृत्यु दर उच्च रहेको यस घडीमा अनलाइन कक्षा र भर्चुअल कक्षा नै पठनपाठनको उपयुक्त माध्यम हो। आर्थिक हैसियत अति न्यून भएका विद्यार्थीलाई पनि अनलाइन शिक्षामा जोड्ने गरी वैकल्पिक शिक्षालाई व्यवस्थित गर्न इन्टरनेटको व्यापक विस्तार र कम्प्युटर मोबाइललगायत पठनपाठनका सामग्रीमा लाग्दै आएको चर्को कर छूट गर्नु जरुरी छ। महामारीको यस घडीमा शिक्षालाई नयाँ ढंगले अघि बढाउने र विश्वले अपनाएको अनलाइन शिक्षालाई उपयोग गर्न हामी पछि पर्न हुँदैन। कोरोना महामारीले हाम्रो शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउन बाध्य पारेको छ। यस्तो अवस्थामा गुगल मिट कक्षा, जुम कक्षामार्फत शिक्षक र विद्यार्थी एउटै मञ्चमा बसेर शिक्षण सिकाइ गर्ने यो प्रविधि सहजता र आधुनिकताको पर्याय मात्र नभइ आवश्यकता नै बनेको छ। प्रत्येकले घरभित्रै सुरक्षित भएर बस्नुपर्ने यस घडीमा अनलाइन शिक्षा नै हालको उपयुक्त र अत्यावश्यक शिक्षा प्रणाली हो।  

परम्परागत पठनपाठन पद्धतिबाट दायाँबायाँ गर्न नचाहने शिक्षक–विद्यार्थीका लागि अनलाइन शिक्षा झन्झटिलो, विरसिलो र खर्चिलो  होला। तर कोरोना महामारीले उत्पन्न गराएको यस कठिन घडीमा यो वैकल्पिक पठनपाठन विधिलाई आत्मसात नगरी धर छैन। यही बुझेर होला गत साल अनलाईन शिक्षण सिकाइ गर्न हच्किएका शिक्षक–विद्यार्थी यो शैक्षिक सत्रमा थप उत्साहित देखिएका छन्। अनलाइन शिक्षाका लागि चाहिने इन्टरनेट मोबाइल ल्यापटप आदिको प्रयोगमा शिक्षक–विद्यार्थीको चासो बढेको छ। हाल कोरोना संक्रमितको संख्या दैनिक १० हजार रहेकामा अब शिक्षक–विद्यार्थीले अनलाइन कक्षामार्फत नै सिकाइ र मूल्यांकनलाई  निरन्तरता दिनु आवश्यक छ।  

हालको संकटबाट पाठ सिकेर वैकल्पिक शिक्षण सिकाइसँगै शैक्षिक संस्थाहरूमा व्यापक सुधार र परिवर्तन गर्नुपर्छ। कोरोना कहरले गतसाल राम्रोसँग पढ्न नपाएका अधिकांश बालबालिकाको शैक्षिक गुणस्तर र सिपसमेत अभिवृद्धि गर्ने गरी यस शैक्षिक सत्रमा वैकल्पिक शिक्षाका विविध उपायहरू अवलम्बन गर्नुपर्छ। गत वर्षकै शैक्षिक उपलब्धि कमजोर रहेको अवस्थामा यस वर्षको शैक्षिक सत्रको पठनपाठनलाई कसरी प्रभावकारीरूपमा अगाडि बढाउने भन्ने बृहत् योजना र रणनीतिसहित सरकार र सरोकारवाला निकायहरू अघि बढ्नुपर्छ।  

अनलाइन शिक्षा लिइरहेका बालबालिकालाई कक्षा शिक्षाकै अनुभूति दिलाउन शिक्षक स्वयं प्रविधि प्रयोग र सिकाइ सिपमा निपूर्ण र सक्रिय हुनुपर्छ। रेडियो, टिभी, युट्युब, अनलाइनलगायतका थुप्रै  प्रविधि प्रयोग गरी सिक्न सकिने हालको समयमा शिक्षकले अनलाइनमार्फत सिकाइरहेका कुरा विद्यार्थीले इन्टरनेटमार्फत पहिले नै खोजेर पढिसकेका र आफ्ना साथीलाई समेत सिकाउन भ्याइसकेका हुन्छन्। कक्षा शिक्षामा जस्तो सिकाइका माध्यम शिक्षक मात्र हुने अवस्थाको अन्त्य भई अब प्रविधिको प्रयोगले विभिन्न प्रक्रियाबाट विद्यार्थीले सिकाइ हासिल गर्न सक्ने अवसर सिर्जना भएको छ।

अनलाइन शिक्षा सञ्चालन गर्न नसक्ने र झन्झट मान्ने केही शिक्षकले यो शिक्षा प्रभावकारी भएन भन्दै अनेक बहाना बनाएर अघिल्लो शैक्षिक सत्रमा पन्छिएको देखिए पनि पनि अब त्यो सम्भव छैन। आजको प्राविधिक युगमा सिकाइको माध्यम फगत शिक्षक मात्र हो भनेर कहिले विद्यालय खुल्ला र पठनपाठनमा जुटौँला भनी बस्ने समय यो हुँदै होइन। पंक्तिकारकै शिक्षण अनुभवमा पनि विगतमा विद्यालयमा भौतिकरूपमै उपस्थित भइ गरेको पठनपाठन भन्दा अनलाइन कक्षामा पढेका विद्यार्थीको वार्षिक परीक्षामा नतिजा राम्रो रहेको पाइयो।

प्रकाशित: १४ जेष्ठ २०७८ ०४:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App