विचार

व्यापार सम्बद्ध बौद्धिक अधिकार

कुनै नयाँ चिज आविष्कार गर्न मेहनत, लागत र सिर्जनशीलता आवश्यक पर्छ। कुनै व्यक्ति वा संस्थाले निरन्तर खोज, अनुसन्धान र लगानीबिना कुनै नयाँ सूत्र वा सिद्धान्त कुनै नयाँ वस्तु उत्पादन गर्ने विधि वा तौरतरिका पत्ता लाग्न सक्दैन।  यसरी कुनै व्यक्ति वा संस्थाले उसको बुद्धि, विवेक र मेहनतबाट यसरी पहिलोपटक पत्ता लगाइएको नयाँ सूत्र, सिद्धान्त, विधि, प्रविधि, सोच, संयन्त्र वा त्यसको समुच्चतालाई  बौद्धिक सम्पत्तिको संज्ञा दिने गरिएको छ।  

बौद्धिक सम्पत्ति उत्पादनमा प्रविधि, संयन्त्रण, विज्ञान प्रयोग भएको हुन्छ। तथापि बौद्धिक सम्पत्ति घर, जमिन, कार जस्तो देख्न भने सकिँदैन।व्यापार सम्बद्ध बौद्धिक सम्पत्तिमध्ये पेटेन्ट, डिजाइन र ट्रेडमार्कको परिभाषा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ मा प्रष्टैसँग उल्लेख गरिएको छ। जहाँ  कुनै पदार्थ, पदार्थ समूहको बनावट वा नयाँ उपाय वा तरिकासम्बन्धी नयाँ सिद्धान्त वा सूत्रद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कारलाई, ‘पेटेन्ट’ कुनै प्रकारले तयार गरी बनाइएको वस्तुको छाँट रूप वा आकारलाई, ‘डिजाइन’ र कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालवस्तुलाई अरूको मालवस्तुबाट अलग राख्न वा फरक देखाउन प्रयोग गरिने शब्द, चिह्न, चित्र वा त्यसको संयोजनलाई, ‘ट्रेडमार्क भनीउल्लेख भएको छ।

त्यस्तै व्यापार सम्बद्ध बौद्धिक सम्पत्तिमध्ये कपिराइटको परिभाषा कपिराइट ऐन, २०५९ मा प्रष्टै उल्लेख गरिएको छ। जहाँ कुनै व्यक्ति वा संस्थाले आफूमा अन्तर्निहित क्षमताको प्रयोग गरी कुनै पुस्तक, पम्पलेट, कला, थेसिस, नाटक, गीत, संगीत, नगटकीय संगीत,  श्रव्यदृष्य सामग्री, आर्किटेक्चर डिजाइन, फाइन आर्ट, चित्रकला, काष्ठकला, लिथियोग्राफी, फोटोग्राफिक, अप्लाइड आर्ट, नक्सा, योजना, थ्रिडी वा कम्प्युटर प्रोगामिङसम्बन्धी गरेको सिर्जनालाई कपिराइट भनी उल्लेख भएको छ।  

यसरी कुनै नयाँ चिज बनाउनु वा आविष्कार गर्नु नै बौद्धिक सम्पत्ति हो। बौद्धिक क्षमता, लगन र मेहनत लाग्दा नयाँ प्रविधि, डिजाइन सूत्र वा सिद्धान्त प्रतिपादन हुन जान्छ। बौद्धिक सम्पत्तिले व्यापार व्यवसायमा निकै महŒव राख्छ। बौद्धिक सम्पत्तिमार्फत वाणिज्य क्षेत्रले व्यापार गर्न नयाँ वस्तु वा क्षेत्र प्राप्त गर्छ। नयाँ नयाँ आविष्कार पुरानो वस्तु वा सेवा भन्दा बढी बिकाउ हुन्छ। नयाँ आविष्कार आमनागरिकका लागि गरिने हुँदा यो धेरै उपयोगी हुन सक्छ। यसबाट सर्वसाधारणको आमजीवनमा कुनै न कुनै रूपमा लाभ पुग्छ।  

नेपालमा कुनै ट्रेडमार्क, पेटेन्ट प्रयोग गर्न तोकिएको निकायमा दर्ता गर्नुपर्छ। यसका निमित्त पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क एक्ट, २०२२ र कपि राइट एक्ट, २०५९ अगाडि सारिएको छ। त्यस्तै ४ फेबु्रअरी १९९७ मा नेपाल विश्व बौद्धिक सम्पत्ति संरक्षण संगठनमा आबद्ध भइसकेको छ। यसबाट नेपालले बौद्धिक सम्पत्ति संरक्षणलाई अन्तर्राष्ट्रियरूपमा समेत स्वीकारेको  प्रमाणित हुन्छ।  

नीतिगतरूपमा पनि व्यापार सम्बद्ध बौद्धिक सम्पत्तिको अधिकार संरक्षणका सन्दर्भमा पछिल्लो सयममा थोरबहुत प्रावधान गर्ने गरिएको छ। बौद्धिक सम्पत्तिको अधिकार संरक्षण गरी अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच बढाउने रणनीति यसअघिको वाणिज्य नीति, २०६५ ले लिएको  थियो। नीतिमा व्यापार सम्बद्ध बौद्धिक सम्पत्तिको अधिकार (ट्रिप्स) अन्तर्गत हस्तकला, चिया, कफी, गलैँचा, पस्मिना, मह जस्ता निकासीजन्य वस्तुको भौगोलिक सांकेतीकरणसम्बन्धी अधिकार कायम गर्न पहल गरिने  थियो। व्यापार सम्बद्ध बौद्धिक सम्पत्तिसम्बन्धी अधिकार प्रबद्र्धन र संरक्षण गरी विश्व बजारमा नेपाली उत्पादनको पहुँच बढाउने रणनीति वाणिज्य नीति, २०७२ लेअंगीकार गरेको छ। 

जहाँ व्यापारसम्बद्ध बौद्धिक सम्पत्ति अधिकारलाई संरक्षण र प्रबद्र्धनका लागि कार्यक्रम सञ्चालन गरिने, निर्यात सम्भाव्य वस्तुहरूको भौगोलिक सांकेतिक, ट्रेडमार्क सामूहिक व्यापार चिह्न, डिजाइन, पेटेन्ट, गोप्य व्यापारिक सूचनाहरू, प्रतिलिपि अधिकारलगायतका बौद्धिक सम्पत्तिसम्बन्धी अधिकारलगायत बौद्धिक सम्पत्तिको अन्तर्राष्ट्रिय बजारमा दर्ता संरक्षणका लागि प्रोत्साहन, सहयोग र समन्वय गरिने उल्लेख छ। औद्योगिक नीति २०६७ को एउटा उद्देश्य औद्योगिक सम्पत्तिको सरंक्षण गर्ने रहेको छ। त्यस्तै बौद्धिक सम्पत्तिको संरक्षण गर्न उद्यमीलाई विशेष प्रोत्साहन दिइने  उल्लेख छ।

बौद्धिक सम्पत्ति संरक्षणका लागि भन्दा ५३ वर्षपूर्व पस्किएको पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ अहिले पनि चालु अवस्थामा छ। जसमाकुनै पेटेन्ट, डिजाइन वा ट्रेडमार्कउपर अधिकार प्राप्त गर्न चाहने व्यक्ति वा संस्थाले सो पेटेन्ट, डिजाइन वा ट्रेडमार्क ऐनबमोजिम दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ। यस्तो अधिकार प्राप्त गर्न आवश्यक विवरण खुलाइ दर्ताका लागि उद्योग विभागमा निवेदन दिनुपर्छ। उद्योग विभागले आवेदकले दर्ता गराउन चाहेको पेटेन्ट, डिजाइन वा ट्रेडमार्क पहिले अरू कसैको नाममा दर्ता भए वा नभएको, आफैंले आविष्कार गरेका वा कुनै व्यक्तिबाट हक प्राप्त गरको,  सर्वसाधारणको स्वास्थ्य, सदाचार, नैतिकता वा राष्ट्रिय हितमा कुनै प्रतिकूल असर  पार्ने वा नपार्ने, प्रचलित कानुन बर्खिलाप हुने वा नहुने अथवा दर्ता हुन योग्य भए/नभएको जाँच गरी दर्ता हुन नसक्ने अवस्थामा बाहेक दर्ता गरी आवेदकलाई दर्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्छ। राष्ट्रिय हितमा गोप्य राख्नुपर्नेबाहेक अन्य पेटेन्ट, डिजाइन र टे«डमार्क सर्वसाधारणको जानकारीका लागि उद्योग विभागले नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्छ।

कपिराइटको हकमा, कपिराइट ऐन, २०५९ को दफा ५ अनुसार ब्रोडकास्टिङ र आवाज रेकर्डबाहेक सबै सिर्जना अधिकार स्थापनाका लागि कानुन बमोजिम रजिस्टर गर्नुपर्ने व्यवस्था गरेको छ। जहाँ कपिराइट रजिस्टर गर्नु सर्जकको अधिकार र दायित्व मानिन्छ। अर्थात रजिस्टर नगरी सर्जकले कपिराइटबापत रोयल्टी प्राप्त गर्न सक्दैन। त्यस्तै यस्तो कपिराइट सर्वसाधारणको जानकारीका लागि राजपत्रमा प्रकाशन गर्नुपर्छ। कपिराइट घटाउने, संशोधन, प्रशारण, व्यस्थापन र  बिक्री/वितरणीय हुने गरेको सन्दर्भमा कानुनबमोजिम दर्ता भएको कपिराइट कार्य कटौती, संशोधन, व्यवस्थापन, बिक्री/पितरण, भाडा र प्रशारण गर्ने अधिकार कपिराइट ऐन, २०५९ ले सर्जकलाई दिएको छ।

नेपालमा विदेशी पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता गर्न सकिने व्यवस्था पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ ले गरेको छ। जहाँ ऐनको दफा २१ मा विदेशमा दर्ता भएको पेटेन्ट, डिजाइन र टेडमार्कको प्रमाणपत्र साथै राखी दर्ताका लागि निवेदन दिएमा उद्योग विभागले त्यस्तो पेटेन्ट, डिजाइन ट्रेडमार्कको सम्बन्धमा जाँचबुझ नगरिकनै दर्ता गर्न सक्छ। त्यस्तो दर्तावाललाई उद्योग विभागले औद्योगिक सम्पत्ति संरक्षणसम्बन्धी पेरिस महासन्धि (सन् १८८३) अनुसार ग्राह्यता तथासहुलियत प्रदान गर्नुपर्छ।  

 पेटेन्ट, डिजाइन वा ट्रेडमार्क प्रयोग गरी कुनै वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने एकाधिकार निश्चित अवधिका लागि मात्र दिन सकिन्छ। दर्ता भएको मितिबाट पेटेन्ट तथा ट्रेडमार्कको अवधि ७/७ वर्ष र डिजाइनको अवधि ५ वर्ष हुने पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ मा निर्धारण भएको छ। उक्त अवधि समाप्तिपश्चात हकलाई निरन्तरता दिन नवीकरण गराउनुपर्छ। त्यस्तै कपिराइट अधिकार सर्जकलाई अनन्तकालसम्म प्राप्त हुँदैन। कपिराइट ऐन, २०५९ ले अडियो, भिजुयललगायत प्रफमर साउन्ड रेर्कडरको अधिकार परफर्म सुरुवातको ५० वर्ष हुने व्यवस्था गरेकोे छ।

बौद्धिक सम्पत्तिमाथिको हक निश्चित समयसम्म कायम हुनुपर्छ। स्वाभाविकैरूपमा  आविष्कारकर्ताको लगन, मेहनत र परिश्रमको उचित सम्मान गरिएन वा उक्त कम्पनीको आविष्कारको सुरक्षा गरिएन भने ऊ नयाँ नयाँ आविष्कार गर्न उत्सुक हुँदैन। यसैले उसको आविष्कारमाथि उसको एकाधिकार हुनुपर्छ। त्यो एकाधिकारको अधिकार राज्यले प्रत्याभूत गर्नुपर्छ।  

प्रकाशित: २२ वैशाख २०७८ ०५:०३ बुधबार

व्यापार सम्बद्ध बौद्धिक अधिकार