विचार

कोभिडमा नारीको भूमिका

नारी शक्ति हुन्,सृष्टिकर्ता हुन्। काँधमा आएको जिम्मेवारी राम्ररी निर्वाहगर्ने क्षमतावान मानव हुन्। नारी समयअनुसार आमा,श्रीमती, छोरी, बुहारी धेरै भूमिका निर्वाह गर्न सक्छन्। साथी बन्छिन्, प्रेमिका बन्छिन्, सेवक बन्छिन्,नर्स बन्छिन्, शिक्षक बन्छिन्, समाज सुधारक बन्छिन्, पुजारीबन्छिन्। अर्थात सबै भूमिका गर्न सक्छिन्।

आज विश्व कोरोना महामारीको चपेटामा छ। एक वर्ष पुग्दा कोरोना भाइरस विलय होला भन्ने आशा थियो तर झन् विकराल बनेर विभिन्नरूपमा झांगिदै आएको छ। यसको निराकरण गर्ने औषधि बनेको छैन्। विश्वका शक्तिशाली देश औषधि उत्पादनका लागि मरिमेटेका छन् तर गन्तव्यमा भेटिएकोछैन।यसबाट बच्ने सर्वोत्तम उपाय भनेकै भिडभाडमा नजानु, धेरै मानिसको सम्पर्कमा नजाने, स्वस्थ्यकर खाना र झोलिलो पदार्थ पिउने भनिन्छ। अहिले भारत संसारमै दोस्रो नम्बरमा कोरोना संक्रमित देश बनेको छ। त्यहाँ अक्सिजन अभाव भइरहेको छ। मान्छे मर्ने क्रम दिनानुदिन बढ्दो छ। मान्छेको मृत्यु यति भएको छ कि अहिले जल्नसमेत लाममा छ लास। दाउरा खोसाखोस छ।  

यसको असर नेपालमा नपर्ने कुरै भएन। सिमाना खुला छ। दैनिक मानिसको आवतजावतमा भिड छ। नेपालीको रोजगारीको सहज र सरल गन्तव्य भारत नै हो। देशमा रोजगारी लगभग शून्य अवस्था छ। पश्चिम र सुदूरपश्चिमका प्रायः युवा भारत जान बाध्य छन्। त्यहाँका दुःख, पीडा, बेथा त छुट्टै छन्। अनि कोरोनाले जब उग्र रूप लिन्छ घर फर्किनु त पर्‍यो नै। एक त खुला सिमाना, अर्को घर फर्किनेको भिडले भारतमा तहल्का मच्चाएको कोरोना नेपाल नभित्रने कुरै भएन। त्यसैले अहिले सिमानाका जिल्ला आक्रान्त छन्। हस्पिटलमा पर्याप्त मात्रामा अक्सिजन छैन। व्यवस्थापन फितलो देखिएको छ। सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देश गरेको छ। बिहीबारदेखित निषेधाज्ञा नै सुरुभइसक्यो।  

भारतमा कुम्भ मेला भर्न गएका पूर्वराजा ज्ञानेन्द्र श्रीमतीसहित संक्रमित भए।त्यसैगरी पाल्पा रामपुरबाट सोही मेला भर्न गएका केही व्यक्तिलाई पनि संक्रमण भएको खबरले स्थान पायो। अब हामी सुरक्षित रहने कसरी?लाग्छ, यो न्यूनीकरणका लागि हामी नारीको प्रमुख भूमिका हुन्छ। त्यसैले हामी यसलाई कम गर्ने प्रयासमा लाग्नुपर्छ।अब नारीले घरको जिम्मेवारीका साथै यता पनि सक्रिय हुनुपर्ने अवस्था आएको छ। प्रायः नारीका सकारात्मक सुझाव हरेक घरमा लागु हुन्छ।आफ्ना सासू/ससुरा मात्र हैन, घरका अन्य ज्येष्ठ नागरिकलाई पनि मन्दिर,धार्मिक प्रवचन हुने ठाउँमा नजान मनाउन सकिन्छ।प्रायः घरमा बस्न नरुचाउने छोराछोरीलाईबाँचिएछ भने पछि घुमौँला,अहिले बरु घरमा नयाँ सिर्जनात्मक काम गर,गीत गाउ,नाच,फूल रोप,नयाँ परिकार पकाउ,पत्रिका पढ भनेर सम्झाउन सकिन्छ।

त्यति मात्र हैन, दैनिक कार्यालय जानुपर्ने श्रीमान्लाई मास्क,सेनिटाइजर प्रयोग गर्न लगाएर सुरक्षित गराउन सकिन्छ।फर्केपछि पनि घरमा आउनासाथ हातमुख धुने, सरसफाइ गरिहाल्न सतर्क गराउन सकिन्छ।दैनिकरूपमा कपडा धोएर लगाउने वातावरण मिलाउन सकिन्छ।यसैगरी गाउँ/टोलको पसलमा गएर गफ गर्ने, चिया÷नास्ता खाने काम पनि रोक्न सकिन्छ। हो, हामी आफैँलाई पनि त बाहिर निस्कन मन लाग्छ, फ्रेस हुन मन लाग्छ। तर घर÷परिवारका अरूलाई त सम्झाइबुझाइ गर्न सक्ने हामी आफैँलाई नियन्त्रण गर्न नसक्ने त छँदै छैनौँ।

यसरी बचेको समयलाईउत्पादनशील काममा लगाउन सक्छौँ।परिवारमा रमाइलो वातावरण सिर्जना गर्न सक्छौँ।जस्तै– गीत गाउने,सजावट गर्ने,नाच्ने। अझ सबैभन्दा आनन्द लिने उपाय त कौसी होस् वा बारीमा लगाइएका फूलसँग खेल्नु हो। नारी शिक्षक पनि त हो। उसले घरका बालबालिकाको मात्रै हैन, समाजकै बालबालिकाको आचरण नियालिरहेकी हुन्छे।आजकल युवायुवती डेटिङ धाउन खुब रमाइलो मान्छन्।उनीहरूलाई त्यसबारे सम्झाएर हाललाई स्थगित गराउन सकिन्छ।जुन काम नारीले प्रभावकारी ढंगले सम्पादन गर्न सक्छिन्।

यो समय सबैभन्दा कठिन कामकाजी श्रमिक महिलाका लागि छ। घर/परिवारको स्वास्थ्य, खानपान,सेवा÷स्याहार गरेर पनि अफिस जानुपर्ने हुन्छ। अरूलाई बचाउन हरसम्भव प्रयास गर्दागर्दै आफू कसरी बाँच्ने ?कसरी सुरक्षित रहने ? भन्नेतर्फ पनि ध्यान दिन आवश्यक छ। अर्को बिहान/बेलुका ज्यालादारी काम नगरी चुलो नबल्ने महिलाको समस्या झन विकराल छ।जसले काममा जाँदा सँगै बच्चा बोकेर जानुपर्छ। अब यी दुवैथरी श्रमिक महिलाका लागि सबैभन्दा ठूलो सुरक्षा हो–आत्मविश्वास। यी महिलाले परिवारको स्वास्थ्यका साथै आफ्नो खानपानमा उत्तिकै ख्याल राख्नुपर्छ। म बाँचे भने अरूलाई पनि बचाउन सक्छु भन्ने दरिलो आत्मविश्वास लिए भने पक्कै कोरोनाबाट केही सुरक्षित रहन सक्छन्।  

यहाँ हामीले रोक्न नसक्ने भनेको राजनीतिका नाममा उद्घाटन,सभा,समारोहमा उपस्थिति जनाउने जनतालाई हो।यसपालि लाग्छ, सबैभन्दा कोभिडलाई उत्तेजित पार्ने यिनै हुन्।जनतालाई पटकपटक दायरामा रहन अराउने तर नेतृत्वगण भने कसका धेरै सदस्य भनेर प्रदर्शनी गर्ने।अब हरेक घरका महिला राजनीतिक सभामा जान लागेका आफ्नाश्रीमान्,छोराछोरीलाई रोक्नूस्।यसरी हामीले केही नियम घरमा लागु गर्यौँ भने पक्कै पनि कोभिड घरभित्र छिर्ने साहस गर्ने छैन।

प्रकाशित: १६ वैशाख २०७८ ०६:२० बिहीबार

कोभिडमा नारीको भूमिका