काठमाडौँको रामशाह पथमा रहेको सिंहदरवार फ्रान्सको ‘भर्साइ प्यालेस’ शैलीमा बनाए, चन्द्रशमशेरले। कैयन् विदेशीले यसको तारिफ गर्दै १ हजार ७ सय कोठा भएको दरवार बनाउने श्री ३ चन्द्रको सोच चानचुने थिएन भनेका छन्। कुमारनरसिंह राणा र किशोरनरसिंह राणा दाजुभाइ यसका वास्तुकार थिए। ती युवक बद्रीनरसिंह राणाका छोरा हुन्। बद्रीनरसिंह राणा जंगबहादुर राणाका साहिला भाइ हुन् अर्थात बालनरसिंहका छोरा।
चन्द्र नहर, चुरियामाईको सुरुङमार्ग, हाल ‘राष्ट्रपतिको डेरा’ भनिने शीतल निवास र राजविराज सहरको डिजाइन गर्ने डिल्लीजंग थापाले १९९० माघ २ गतेको महाभूकम्पमा भत्किएको धरहरा केही महिनामै पुनर्निर्माण गरेर योग्य इन्जिनियरको परिचय दिएका थिए। जनकपुर–जयनगर रेलमार्ग, टोखा सडक, डिल्लीबजारको ‘चारखाल’ अड्डा उनकै डिजाइनमा बन्यो।
जंगबहादुरकी छोरी विवाह गर्ने, इलामको बडाहाकिम हुँदा चिया बगान बनाउने गजराजसिंह थापाका नाति हुन् डिल्लीजंग। धेरै भ्रष्टाचारी मुछिएको बालुवाटारको ललिता निवास डिल्लीजंगकै डिजाइनअनुसार बनेको थियो। मोहनशमशेरको ‘लक्ष्मी निवास’ पनि उनले नै बनाएका थिए।
१९८५ सालतिर ‘इँटाको धुलो, मासको दाल, चाकु, चुन आदि मिसाइएको ‘वज्र’ बनाएर त्रियुगा नदीमा नहर बनाउँदा धेरैले ‘कति वर्ष टिक्ला र?’ भनेछन्। सिमेन्टको प्रयोग नगरी बनाइएको सप्तरीको सो नहर इन्जिनियरहरूको पाठशाला बनेको छ आज पनि।
महामारी फैलाउने काममा माओवादीलाई काँध थापेर कांग्रेसले सही गर्यो कि गलत? यसको उत्तर दिनुपर्दा कांग्रेसजनहरू लज्जित हुने गर्छन्।
राष्ट्रको भलो गर्ने मनसुवाले अहोरात्र काम गर्थे, ऊबेलाका शासक र सहयोगीहरू। आज सिंहदरवार जाने बाटो खोज्नेहरू सत्ताबाहेक अरू सबै गौण ठानिरहेका छन्। धनी–गरिबको खाडल पुर्न हजारौँ टाउका गिँड्दै हिँड्नेहरू मौका परे आफ्नै साथीको प्राण लिन तयार देखिन्छन्। दिन दोब्बर, रात चौबर बढ्दैछ अस्थिरता। यसले राष्ट्रको स्वतन्त्रतामाथि संकटको घनघटा छाएको छ।
पृथ्वीनारायण शाहले शासन सम्हालेपछि प्रथम प्रधानसेनापति भए विराज थापा मगर। त्यसपछि महेश्वर पन्त, कालु पाँडे, शिवरामसिंह बस्न्यात, रामकृष्ण कुँवर, केहरसिंह बस्न्यात, वंशराज पाँडे, अभिमानसिंह बस्न्यात प्रधानसेनापति भए। उनीपछि सर्वजीत राना मगर, कीर्तिमानसिंह बस्न्यात, दामोदर पाँडे, अमरसिंह थापा, माथवरसिंह थापा र जंगबहादुर राणा आदिले सेनाको नेतृत्व सम्हाले। राष्ट्रलाई सुरक्षित राख्न उनीहरूले जे÷जति गरे, त्यो सराहनीय मानेका छन् इतिहासकारहरूले।
नेपाल एकीकरणको कठिन यात्रामा अजयमेरुकोट, सिलगढी, डुम्राकोट, थलाराकोट, जयगढकोट, मंगलसेन, दुल्लु (प्राचीनकोट) फ्लावाङ, पाल्पा, तनहुँ, सतहुँकोट, कास्कीकोट, स्याङ्जा, पर्वत, गोर्खा, लमजुङ, बार्पाककोट र नुवाकोट हुँदै पूर्वमा दार्जिलिङपारी टिस्टा नदीसम्म पैदल यात्रा गर्ने पृथ्वीनारायण शाहको अदम्य अठोट अतुल्य छ। राजा आफैँले नेतृत्व गरेर सिपाहीहरूसँग गुन्द्रुक र ढिँडो खाँदै हजारौँ कोस पैदलयात्रा गरेको इतिहास अरू देशमा कहाँ छ ?
राष्ट्र र जनताको माया छ भने राष्ट्रनायकलाई सदैव हुटहुटी, छटपटी र पीडा भइरहन्छ। राष्ट्रनायक सबैको नायक हुन्छ। सबैलाई समेट्छ। सबै धर्म, संस्कृति, परम्परा र मूल्य÷मान्यताको सम्मान गर्दै राजधर्मअनुसार राष्ट्रनायक राष्ट्रको अभिभावक बन्ने परम्परा छ, पूर्वीय सभ्यतामा। सिंहदरवार पुगेर केही वर्ष मोज गर्ने स्वार्थ भन्दा फरक हुन्छ, राष्ट्रनायकको सोच।
तिब्बतसँग युद्ध गर्नैपर्ने अवस्था आएपछि सिपाहीलाई खुवाउन तराईबाट हजारौँ क्विन्टल चामल स्याफ्रुबेसी (रसुवा) पु¥याइयो। भीमफेदीको बाटो हुँदै कर्णेल डिल्लीसिंह बस्न्यात र खजाञ्जी सिद्धिमानसिंह राजभण्डारीले चामल पु¥याउने प्रबन्ध मिलाए। डिल्लीसिंह बस्न्यातको नाम अहिले पनि डिल्लीबजारले सम्झाइरहन्छ। उनैले दिएको जमिनमा सो बजार बसेको थियो।
राणाकालमा पनि सिपाहीले एक छाक भोको बस्नुपरेन। २०७२ सालको भूकम्पपछि विदेशीले नेपाली जनतालाई पठाएका हजारौँ क्विन्टल चामल सडेर गयो। करोडौँ रुपियाँको अन्नमा भ्रष्टाचार भयो। मध्यरातमा बेचेर ‘चामल खाल्डोमा पुरियो’ भन्ने कथा सुनाइयो। अयोग्यहरू शासनमा पुगे भने जनताले दुःख पाउँछन्। राष्ट्र कमजोर बन्छ। २०६३ सालपछि पटकपटक सरकार फेरियो, जनताको दुःख गएन। राजनीति गर्नेहरूले जनताको घर जाने बाटो सोधेनन्। सिंहदरवार जाने बाटो मात्र खोजिरहे।
डा.जगमान गुरुङले लेखेका छन्–‘राष्ट्रिय एकता, समुदायको संयोजन र नेपालीकरण प्रक्रियाले राष्ट्र सुदृढ हुन्छ।’ उनी भन्छन्– खस राजाहरूले आफ्ना अभिलेखहरूमा ब्रह्मा, विष्णु, महेश्वर र बुद्धलाई सम्मान गरेर धार्मिक सहिष्णुता देखाएका छन्। दुल्लुको कीर्तिस्तम्भमा राजा पृथ्वी मल्लले बौद्धधर्मको षडाक्षरी मन्त्र ‘ॐमणिपद्मेहुँ’ अंकित गरेका छन्। पशुपतिनाथ र स्वयम्भुनाथमा हिन्दु–बौद्धको जुन सहिष्णुता देखिन्छ, त्यो धर्मको मर्म नुबझेका अनाथहरूले बुुझेनन्।
ब्रिटेनका प्रधानमन्त्री विन्स्टन चर्चिलको कथन छ– ‘इतिहास विजेताले लेख्छ।’ दुर्भाग्य र अपराधको अभिलेख पनि हो इतिहास। इतिहासले बनाएकाहरू र इतिहास बनाउनेहरूको इतिहास नै पृथक हुन्छ। आठ दश घण्टाको यात्रामा भेटिएका सहयात्री जस्तो कोही केही घण्टापछि बेपत्ता हुन्छन्। पञ्चायतकालमा दिउँसो सपथ ग्रहण गरेका एक जना मन्त्री साँझपख घर पुग्दा ‘भूतपूर्व’ भएछन्। अर्थात, राजनीतिक उथलपुथलका कारण प्रधानमन्त्रीले राजीनामा दिए, सोही दिन। चारघन्टे मन्त्रीकी पत्नीले पतिको स्वागत गर्दै तराई शैलीमा आरती गरिछन्। खिन्न हुँदै मन्त्री बोले– ‘म भूतपूर्व मन्त्री।’ पत्नीले सोधिन्– वनमन्त्री, भूमि सुधार के के नाम त सुनेकी छु। यो भूतपूर्व मन्त्रालय कहाँ छ ?
इतिहासले कहिले हँसाउँछ त कहिले रुवाउँछ। सत्र अठार हजार त होइन, पाँच हजार मानिस मारेको जिम्मा लिन्छु भन्नेको रोडम्यापअनुसार धर्म परिवर्तन गर्यो नेपाली कांग्रेसले। नेतृत्वको विवाद त न्वारानदेखि नै थियो तर सिद्धान्तको लडाइँ थिएन, २०६३ सालसम्म। साठी वर्षसम्म भान्सा एउटै थियो कांग्रेसको। चुलो–चौका अलग थिएन। दाजु मातृका र भाइ बिपी कोइरालाको कलह नेतृत्वकै लागि थियो। बिपी र डिल्लीरमण रेग्मी, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला र गिरिजा–शेरबहादुर देउवाको झगडा पनि सिद्धान्तमा होइन, नेतृत्व कसले लिने भन्नेमै केन्द्रित थियो। अहिले देउवा र रामचन्द्र पौडेलको झगडा त्यस्तै हो।
झापाको कलबलगुडी (चन्द्रगढी) महाधिवेशनमा मञ्चमा बोल्दै गर्दा गणेशमानसिंहको गला अवरुद्ध भयो। ‘चार सहिद’ (गंगालाल, दशरथचन्द, धर्मभक्त र शुक्रराज) लगायतका युवकसँग १९९७ सालअघि नै राजनीति सुरु गरेका गणेशमानलाई रुवाउने काम गरे, गिरिजाप्रसाद कोइरालाले। गोरखापत्रबाट रिपोर्टिङ गर्न गएका रमेश तिवारी र म मात्र होइन, कांग्रेसका हजारौँ कार्यकर्ता अन्तरकलहको कथा सुनेर छक्क परे। गणेशमान सिंहले कांग्रेस त्यागेर जनजागरण अभियान चलाए। यस्तै, संवैधानिक राजतन्त्र परित्याग गर्ने गिरिजाप्रसाद कोइरालाको निर्णयबाट विक्षिप्त बनेर संस्थापक नेता कृष्णप्रसाद भट्टराईले पार्टी त्यागे।
प्रजातन्त्र मर्दै जाँदा पार्टीतन्त्र सजीव बन्छ, मक्किएको रुखको निर्जीव देहमा च्याउ पलाए जस्तो। आज त्यही भएको छ। नेपाल र नेपालीसँग कुनै साइनो नभएका माक्र्स, लेनिन, स्टालिनलाई पूजा गर्नेहरूले पृथ्वीनारायण शाहका सालिक धुजाधुजा पारे। केही दिनअघि एउटा अंग्रेजी दैनिकमा काठमाडौँ विश्वविद्यालयमा भीमराव अम्बेडकरको जयन्ती मनाइएको खबर छापिएको थियो। ब्रिटेनले तयार पारेको रूपरेखाअनुसार उनले भारतको संविधान लेखे। तर नेपाललाई के योगदान दिएका छन्? विश्वविद्यालयले विश्वको चिन्ता गर्ने हो भने जर्मनीको एकीकरण गर्ने विस्मार्क, चीनको एकीकरण गर्ने छिन सि ह्वाङ्ती, केन्याका राष्ट्रपिता जोमो केन्याता मात्र होइन, बोलिभिया बनाउने बोलिभरको स्मृतिमा पनि अपुंगो र पञ्चामृत बाँडे हुन्छ।
पृथ्वीनारायणलाई श्रद्धाका दुई थुँगा फूल चढाउन लाज मान्ने कैयन् नेता, बुद्धिजीबी आदिले झड्केलो बाबुलाई घिउभातको पिण्ड दिन्छन्, किन? इतिहासको अवमूल्यन र अपव्याख्या गर्छन् किन? पराइलाई बुइ चढाउँछन् किन? किन उनीहरू नै राष्ट्रियता शिथिल भएको प्रवचन दिन्छन्? राष्ट्रिय हितभन्दा विदेशीको जितमा प्रसन्न हुन्छन्, किन?
प्लेटोले भनेका छन्– ‘जो सत्ता र शक्तिका निमित्त मात्र बाँचेको हुन्छ, उसले सत्य लुकाउँछ।’ छलकपट (डिसेप्सन) मानसिक बिमारी हो। यस्ता मानिस ढाँटेरै जीविका चलाउँछन्। मर्यादित पेशामा त्यस्ता मानिस प्रायः टिक्दैनन्। त्यसैले उनीहरू राजनीतिमा लाग्छन्। भारतका प्रसिद्ध लेखक र पत्रकार खुशवन्त सिंहले लेखेका छन्– ‘राजनीति, वकालत र पत्रकारिता भारतमा बेश्यावृत्ति जस्तै पेसा मानिन्छन्। मैले तीनवटै पेसा गरेँ।’ यो कठोर व्यंग्य हो तर उनले प्रहसनको सम्वादसरह बनाए। सिंहदरवारपथमा हिँडेका दलहरूलाई अप्रिय लाग्दो हो, उनीहरूको आजको लडाइँको केन्द्रविन्दुमा कुर्सी छ। त्यहाँ पुग्न सत्तरी वर्ष नाघेका ‘युवा नेता’ पनि फुर्तीसँग दौडेका छन्। ‘राजालाई शिरमा’ भन्ने दलले भिरमा लगेर पछारे। जसको नेतृत्वमा सरकार बने पनि कन्दनी कसेर दौडिने यस्ता दल भन्दा नेपाल मजदूर किसान पार्टी फरक देखियो। उसले सत्तामा जाने लोभ देखाएको छैन। ‘जबतक रहेगा समोसे में आलु’ भनेझैँ सत्ताको प्रदक्षिणा सबैको मूलमन्त्र बनेको छ।
दिल्लीमा भारतले प्रपञ्च मिलाएर गराएको ‘बाह्रबुँदे सम्झौता’ नेपालको स्वतन्त्रता भारतमा मिसाउने गुरुयोजना थियो। सत्तामा पुग्न संवैधानिक राजतन्त्र त्यागेको नेपाली कांग्रेस मात्र आफ्नो अठोटमा दृढतापूर्वक उभिएको भए उसको र राष्ट्रको यो हविगत हुने थिएन। तसर्थ, महामारी फैलाउने काममा माओवादीलाई काँध थापेर कांग्रेसले सही गर्यो कि गलत ? यसको उत्तर दिनुपर्दा कांग्रेसजनहरू लज्जित हुने गर्छन्।
प्रकाशित: ३ वैशाख २०७८ ०३:३० शुक्रबार