विचार

छोरीलाई अन्तिम संस्कारमा पनि विभेद

गएको माघ र फागुनमा सुदूर पश्चिममा दुईवटा अत्यन्तै दर्दनाक घटना भए। माघको अन्त्यतिर बैतडी दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्ट बलात्कारपछि हत्या गरी फालिएको अवस्थामा भेटिइन् भने फागुन अन्त्यतिर दैलेख आठबीसकोटकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा मृत अवस्थामा भेटिइन्। यी दुवै घटना मानवीय संवेदनालाई नै खलबल्याउने खालका रहे। भागिरथीको मृत्युको कारण यौन हिंसा थियो भने सुकी बडुवाल र उनका गर्भस्त शिशुसहित पाँच सन्तानको मृत्युको कारण घरेलु हिंसा रहेको खुलेको छ। यस आलेखको उद्देश्य यी दुवै घटनाको कारण विश्लेषण गर्नु नभएर यसरी दुःखद मृत्यु वरण गर्न पुगेका भागरथीलगायतका अविवाहित छोरीको अन्त्येष्टि एवम् अन्तिम संस्कारबारे बहस गर्नु रहेको छ।  

भागरथी भट्टको मृत्यु भएको १७औँ दिनमा महाकाली नदी किनारमा अन्त्येष्टि गरियो। महाकालीको किनारामा दुई हात बालुवा खोस्रेर शव बेरिएको मान्द्रोसँगै भागरथीलाई जसरी खाल्टोमा घोप्ट्याइयो र मान्द्रोलाई तानेर निकाली शवलाई ढुंगा र बालुवाले पुरियो त्यो दृष्य वास्तवमै अत्यन्त पीडादायी मात्र नभएर कुनै मरेको जनावरलाई खाल्टोमा हालेर पुरे जस्तो देखिन्थ्यो। भागरथीको अन्त्येष्टि टेलिभिजनको पर्दामा देखेपछि मन निकै विचलित भयो। एउटी हुर्केकी जवान छोरीको अन्त्येष्टिको दृष्यले बिथोलिएको मनलाई शान्त पार्ने क्रममा कैयौँ दिनसम्म हिन्दु धर्मशास्त्र र कर्मकाण्डका पुस्तकहरू खोतल्ने काम गरेँ। घरी गरुड पुराण, घरी मनुस्मृति पल्टाउन थालेँ। घरी पारस्कारगृह्यसूत्र खोज्न थालेँ, घरी शिवराज आचार्य कौडिन्यायनको वैदिक धर्म मूलरूपमा भन्ने पुस्तक पल्टाएँ। यो सबै गर्नुको एउटै उद्देश्य थियो– हिन्दु संस्कारमा मानिसको अन्तिम संस्कारबारे भएका व्यवस्थाबारे जान्नु र अझ त्यसमा पनि विवाह नभएकी छोरीको मृत्यु भएमा उसको अन्तिम संस्कारबारे हाम्रा शास्त्रहरूले के/कस्तो निर्देश गरेका छन् त भनेर बुझ्न खोज्नु।

त्यसै पनि छोरी वा स्त्रीहरूलाई त्यति महत्वमा नराखिने सुदूर पश्चिमको समाजमा भागरथी जस्ता हुर्केका छोरी मर्दा खाल्टोमा पुर्नु कुनै अनौठो नहोला कि ?  

यत्तिकैमा दैलेखमा सुकी बडुवालले आफ्ना चार सन्तानसहित कर्णालीमा डुबेर आत्महत्या गरेको खबर आयो। कर्णाली किनारमा मृत भेटिएका सुकीसहित ३ छोरी र १ छोराको शवमध्ये सुकीको शवलाई मात्र अग्निदाह गरिएको र बाँकी १४, १२, १० र ५ वर्षका छोराछोरीलाई भने ‘कर्म नचलेको’ भन्दै कर्णाली किनारामै गाडिएको कुरा समाचारमा सुनेपछि केही नलेखी मन मानेन। यसै क्रममा केही शास्त्रज्ञ पण्डित तथा नेपालको पूर्वदेखि सुदूर पश्चिमसम्मका केही परिचितसँग पनि अविवाहित छोरीहरूको अन्त्येष्टि कर्मबारे जानकारी लिएँ। हुन त अहिलेको समयमा पनि धर्मशास्त्र र धार्मिक परम्परा एवम् संस्कारबारे बोल्नु भनेको कुरै नबुझी गरिने चौतर्फी आक्रमण निम्त्याउनु हो। जे होस्, हिन्दु परम्परामा मानिसको मृत्यु भएपछि मृतकलाई जलाएर दाहसंस्कार गर्ने गरिन्छ र मृतकका परिवारले १३ दिनसम्म आशौच (जुठो) बार्ने गरिन्छ। यसबीचमा सकेसम्म किरियापुत्री र मृतकका नजिकका आफन्तका निम्ति अनिवार्य भएको एउटै कुरा छ– त्यो हो गरुड पुराण सुन्नु।  

यो गरुड पुराण कहिले र कसले लेख्यो अनि कहिलेदेखि सुन्न÷सुनाउन थालियो भन्ने कुनै प्रमाण छैन तर पनि यसले सिर्जना गर्ने आस, त्राश र भयले आज पनि उत्तिकै निरन्तरता पाइरहेको छ जबकि आज अनेक कोणबाट यो असामयिक र असान्दर्भिक सिद्ध भइसकेको छ। मृतकको अन्तिम संस्कारको बारेमा यही गरुड पुराणले भनेको छ– ‘२७ महिनासम्मको बालकको मृत्यु भएमा भूमिमा दफनाउनु, २७ महिनाभन्दा माथिका भए जलाएर अस्थिलाई नदीमा बगाइदिनू।’ मनुस्मृतिमा पनि दाँत उम्रिसकेका बालबालिकाको मृत्यु भएमा अग्निदाह गर्नु भनेको छ। यस्तै पारस्कारगृह्यसूत्रमा पनि दुई वर्ष माथिकाको मृत्यु भएमा अग्निदाह गर्ने कुरा उल्लेख छ। धार्मिक मात्र नभएर शवलाई अग्निदाह गर्नु वातावरणीय स्वच्छताका हिसाबले पनि उपयुक्त हुन्छ।

धर्म, परम्परा, संस्कारको हकमा आज पनि कहीँ न कहीँ हाम्रो समाजलाई डो¥याइरहेको तर अत्यन्त स्त्रीद्वेशी धार्मिक (?) संहिता मनुस्मृतिले पनि अविवाहित कन्याको मृत्यु भएमा उनको अग्निसंस्कार गर्नु र ३ दिन आशौच बार्नु तर किरिया नगर्नु भनेको छ। यसो हुँदाहुँदै पनि भागरथी र सुकीका छोरीहरूको अग्निसंस्कार किन भएन ? कुन परम्पराले डोर्‍याएको छ सुदूरपश्चिमको समाजलाई ? यसै विषयमा सुदूर पश्चिमकै एकजना पण्डित परिवारसँग जिज्ञासा राख्दा त्यहाँ पनि अढाई वर्ष भन्दा माथिका छोरा वा छोरी जोसुकैको मृत्यु भएमा पनि अग्निसंस्कार नै गर्ने परम्परा रहेको, अविवाहित छोरीको आशौच बुबा आमालाई ३ दिनमात्र लाग्ने भए तापनि १० दिनसम्म एक छाक खाएर बस्ने परम्परा रहेको जानकारीमा आयो। हुन त स्मृति, पुराण, धर्मशास्त्र सबै मानवनिर्मित हुन् र यी सब शक्तिशालीले आफ्नो अनुकूल तयार पारेका र त्यसरी नै व्याख्या गरिँदै आएका कुरा हुन्। त्यसै पनि छोरी वा स्त्रीहरूलाई त्यति महत्वमा नराखिने सुदूर पश्चिमको समाजमा भागरथी जस्ता हुर्केका छोरी मर्दा खाल्टोमा पुर्नु कुनै अनौठो नहोला कि ? सुनिन्छ, सुदूर पश्चिमतिर यदि व्रतबन्ध नगरेको छोरा मरेमा मरेपछि पनि उसलाई कुशको जनै लगाइदिएर ‘कर्म चलेको’ बनाइ उसको विधिपूर्वक काजकिरिया गरिन्छ। 

एकातिर धार्मिक परम्परा र संस्कारलाई पनि निरन्तरता दिँदै जाने अर्कोतिर छोरा र छोरीमा संस्कारजन्य विभेद पनि कायम गर्दै जाने कारणले गर्दा पनि हिन्दु धर्म र परम्पराप्रति औँला ठडिने क्रम बढ्दो छ। 

यता पश्चिम पहाडतिरको मृत्युसंस्कार अलि परिस्कृत रहेको देखिन्छ। परिवर्तित समय र परिवेशअनुसार अहिले अविवाहित कन्याको मृत्यु भएमा उसको विधिपूर्वक ‘अग्नि संस्कार’ गरी बाबुआमाले नै किरिया गर्ने चलन भएको बताउँनुहुन्छ बाग्लुङका पण्डित मुकुन्दप्रसाद उपाध्याय। धार्मिक परम्परा र संस्कारमा पूर्वी नेपाल अझ परिस्कृत र अग्रगामी रहेको र मृत्युसंस्कारमा स्त्री र पुरुषमा खासै विभेद नरहेको पाइन्छ। कुनै पनि परम्परा र संस्कार कत्तिको परिस्कृत र समयसापेक्ष हुँदै गएको छ भन्ने कुरा त्यो समाजको सोच कसरी अगाडि बढिरहेको छ भन्ने कुरामा निर्भर गर्छ। सामाजिक र व्यक्तिगत सोचमा परिवर्तन नआएको समाजलाई आज पनि गरुड पुराण र मनुस्मृतिले नै डोर्‍याइरहेको हुन्छ।  

मनुस्मृति तथा गरुड पुराणले स्त्रीको उपनयन नहुने हुँदा स्त्री र शुद्रलाई एउटै कोटिमा राखी यिनको किरिया नहुने उल्लेख गरेको पाइन्छ। गरुड पुराण त यही मनुस्मृतिकै अर्को रूप भने पनि हुन्छ। गरुड पुराणले ‘पाखण्डी, स्वेच्छाचारी, गर्भ पतन गराएकी, पतिसँग द्रोह गर्ने, मदिरापान गर्ने स्त्रीको किरिया नगर्ने’ भनेको छ। मनुस्मृतिले अकाल मृत्यु भएका, आत्महत्या भएका र रजस्वला भएकी स्त्रीको मृत्यु भएमा किरिया गर्नुहुँदैन भनेको छ। तर पुर्वी नेपालका ज्योतिष पण्डित भीम गुरागाईँ भन्नुहुन्छ– यस्तो अवस्थामा मृत्यु भएकालाई त उनीहरूको मोक्षका निम्ति झन राम्रोसँग विधिपूर्वक नै दाहसंस्कार गरी काजकिरिया गर्नुपर्छ नत्र तिनको आत्मा भड्किरहन्छ।  

पारस्करगृह्यसूत्रलगायत अन्य विभिन्न धर्मसूत्रहरूमा द्विजकन्या (ब्राह्मण, क्षेत्रीय कन्या) हरूको उपनयन हुने कुरा उल्लेख भएको पाइन्छ। तर यसरी धर्मशास्त्रमै उल्लेख भएको ‘कन्याको पनि उपनयन हुने कुरा’ लाई समाजले किन र के कारणले त्याग्दै आयो र कन्याको उपनयन हुने शास्त्रवचन र परम्परालाई बेवास्ता गरियो ? पहिले पहिले छोरीलाई दश वर्षभित्रै विवाह गरि पठाइन्थ्यो र विवाहपछि उसको कर्म चल्ने हुँदा उपनयनको आवश्यकता थिएन तर अहिले बीस बाइस वर्षसम्म पनि छोरीको विवाह नहुने र उपनयन पनि नहुने भएकाले यस अवधिमा यदि कुनै छोरीको मृत्यु भएमा उसको अन्तिम संस्कार कस्तो हुने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। वैदिक युगमा स्त्री र पुरुषमा संस्कारजन्य विभेद नभए तापनि वैदिक युगको अन्त्यसँगै समाज जब सामन्ती युगमा प्रवेश ग¥यो र त्यही सामन्ती प्रथाको पक्षपोषण गर्ने क्रममा पुरुषहरू मालिक हुँदै गए र स्त्रीहरूलाई शुद्र र दासको कोटीमा राखिँदै शास्त्रले दिएका अधिकारलाई पन्छाएर छोरा र छोरीमा विभेदको खाडल फैलाउँदै जान थालियो।  

वैदिक परम्पराअनुसार गरिने बिहेमा बाबुआमाले बल्ल छोरीको ‘कर्म’ चलाइदिन्छन् र एक किसिमको ‘श्राद्ध’ नै गरी गोत्रसमेत परिवर्तन गरेर किरिया नै सारिदिन्छन् र अब ऊ मरी भने बल्ल किरिया पाउँछे, पिण्डपानी पाउँछे। नत्र छोरीले बिहे नै नगरी बस्छु भनी भने वा जीवनभर अविवाहित नै रही भने उसले हिन्दु परम्पराअनुसार मरेपछि पिण्डपानी पनि पाउँदिन। हिन्दु धर्मशास्त्रले मानिस मरेपछि उसको विधिपूर्वक अन्तिम संस्कार गरेर मात्र ऊ प्रेतयोनीबाट मुक्त हुन्छ, नत्र उसको आत्मा भड्किरहन्छ भनेको छ। के छोरीहरूको आत्मा भड्किँदैन ? कि उनीहरूको आत्मा नै हुँदैन ? उनीहरूको अग्निसंस्कार र किरिया किन नहुने ? आज छोरीहरू पनि छोरासरह बाबुआमाको सम्पत्तिका हकदार बनेका छन्। भोलि अविवाहित रहेर बाबुआमाको हेरचाह गरेर बस्ने छोरीको अन्तिम संस्कार हुँदै नहुने हो या भागरथीहरूलाई जस्तै नदीको बगर खोस्रेर पुरिदिने ?  

एकातिर धार्मिक परम्परा र संस्कारलाई पनि निरन्तरता दिँदै जाने, अर्कोतिर छोरा र छोरीमा संस्कारजन्य विभेद पनि कायम गर्दै जाने कारणले गर्दा पनि हिन्दु धर्म र परम्पराप्रति औँला ठडिने क्रम बढ्दो छ। बदलिँदो युगअनुसार आज छोरासरह छोरीहरूले पनि समान कानुनी अधिकार पाएका छन्, समान आर्थिक, राजनीतिक र सामाजिक अधिकारका लागि छोरीहरू लडेर महत्वपूर्ण उपलब्धि हासिल गरिरहेका छन्। तर धार्मिक र संस्कारजन्य अधिकारका निम्ति छोरीहरूले अझै सशक्त लडाइँ लड्नु आवश्यक देखिएको छ। ‘छोरी’ भएकैमा भ्रुण अवस्थामै मारिन्छे छोरी। जन्मँदै ‘छोरी’ हुनुको कारण अपहेलित बन्छे। बिहे नहुँदै मरी भने छोरी हुनुकै कारण किरिया पाउँदिन छोरीले।  

मध्ययुगीन सामन्तवादी समाजदेखि नै स्त्रीलाई मानिस नै नगन्ने संकीर्ण र सामन्ती सोचलाई मूल मन्त्र ठान्दै आएको एउटा वर्गले मूल वैदिक शास्त्रको अपव्याख्या गरेर विभिन्न धार्मिक संस्कारमा छोरा र छोरीमा विभेद सिर्जना गरिदिनाले आज हिन्दु परम्परामाथि आक्रमण हुन थालेको हो। अतः हिन्दु संस्कार जोगाउन र निरन्तरता दिनका लागि अबका शास्त्रज्ञ पण्डितहरूले संस्कारहरूको समयसापेक्ष व्याख्या गरी मानवीय तथा समतामूलक व्यवहार गर्न समाजलाई प्रेरित गर्नु जरुरी रहेको मत उपाध्याय र गुरागाईँ दुवैको छ ।

प्रकाशित: १० चैत्र २०७७ ०५:५८ मंगलबार

विचार छोरीलाई अन्तिम संस्कारमा पनि विभेद