विचार

इमरान खानको कोलम्बो–यात्रा

दक्षिण एसियाली मुलुक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोभिड–१९ महामारीको बेलामा पनि अर्को दक्षिण एसियाली मुलुक श्रीलङ्काको यही फागुन ११ र १२ गते श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षको निमन्त्रणामा भ्रमण गरेका छन्। प्रधानमन्त्री खानलाई श्रीलङ्का भ्रमणका लागि भारतले आफ्नो वायु–सीमा प्रयोग गर्ने अनुमति दिएर पाकिस्तानप्रति आफ्नो सदासयता प्रकट गरेको छ।

पाकिस्तान–भारत तनावपूर्ण सम्बन्धका कारण एकअर्का मुलुकको आकाश निषेधित छ। जसले गर्दा दुवै देश लामो समुद्री आकाश–मार्ग प्रयोग गरी उडान गर्न बाध्य छन्। यसले गर्दा अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनिहरूको व्ययभार थपिएको छ। त्यसैले पाकिस्तानले आफ्ना प्रधानमन्त्रीको इस्लामावाद–कोलम्बो सोझो उडानका लागि भारतसँग अनुमति लिनुपरेको हो।  

पाकिस्तान र श्रीलङ्काको सम्बन्ध इतिहासदेखिनै अत्यन्त घनिष्ठ रहेको छ । १९४० को दशकमा द आल सिलोन मुस्लिम लिग (एसिएमएल) को  नेतृत्व चिरपरिचित मुस्लिम नेता टिबी जयाले  गरेका थिए । यसैबेला एसिएमएलले खुलेर पाकिस्तान आन्दोलनको समर्थन गरेको थियो।

हाल नेपाल सार्कको अध्यक्षका साथसाथै सार्क सचिवालय पनि काठमाडौँमै भएका कारण सार्क प्रक्रियालाई अगाडि बढाउने मूल दायित्व नेपालको हो।

दुवै मुलुक ब्रिटिस शासनबाट स्वतन्त्र भएपश्चात्त दुवै मुलुकको सम्बन्ध झन् झन् कसिलो हुँदै गयो। र, १९५० को दशकमा आइपुग्दा पाकिस्तान र  श्रीलङ्का दुवै अमेरिकाको नेतृत्व भएको कम्युनिस्ट विरोधी खेमामा थिए। जब श्रीलङ्का प्रधानमन्त्री श्रीमाओ भण्डारनायकेको कार्यकालमा सोभियत संघ र चीनको पक्षमा गयो त्यतिबेलापनि दुवै देशले निकटको सम्बन्ध बनाइराखे। यहाँसम्मकि श्रीमाओ भण्डारनायकेले बंगलादेश मुक्ति संग्रामका बेला पाकिस्तानी हवाईजहाजहरूलाई कोलम्बोमा १७४ पटक तेल हाल्ने अनुमति दिएको थियो। जबकि त्यतिबेला भारतले पाकिस्तानी विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा उड़ान गर्नबाट रोक लगाएको थियो । त्यतिबेला श्रीलङ्काले भारतको विरोधलाई समेत सुनेको थिएन। यसपश्चात्त १९९० को दशकमा पाकिस्तान–श्रीलङ्का सम्बन्ध झन् झन् झांगिदै गयो। जतिबेला पश्चिमी मुलुकका देश र भारतले तामिल विद्रोहीहरूसँगको लडाइँमा हतियारको आपूर्ति रोके त्यतिबेला पाकिस्तान खुलेर अघिआएर श्रीलङ्कालाई हतियारको आपूर्ति गर्‍यो । श्रीङ्काको तामिल–सरकार युद्धमा पाकिस्तानी पायलटहरूले श्रीलङ्काको वायुसेनालाई प्रशिक्षणसमेत दिएका थिए । तामिलविरुद्ध युद्ध अपराधको विषयमापनि पाकिस्तानले सदैव श्रीलङ्काकै सहायता गर्‍यो । सन् २००० देखि २००९ सम्म जतिबेला श्रीलङ्का तामिल विद्रोहीसँग लड्न व्यस्त थियो त्यतिबेलापनि पाकिस्तान र श्रीलङ्का धेरै नजिक थिए। सन् २००० मा युद्धग्रस्त जाफ्नामा अड्किएका श्रीलङ्काली सेनालाई पाकिस्तानी एयर फोर्सले उद्धार गरेको थियो।

उपरोक्त कारणहरूले गर्दा पाकिस्तान–श्रीलङ्का सम्बन्ध अत्यन्त घनिष्ठ छ । त्यसैलै प्रधानमन्त्री इमरान खानले आफ्नो २०२१ को पहिलो विदेश–यात्राको प्रारम्भ श्रीलङ्काबाट गरेका हुन्। मंगलबार विदेशमन्त्री शाह मेहमुद कुरेसी, पर्यटनमन्त्री जुल्फी बुखारी, वाणिज्यमन्त्री र लगानी बोर्डका अध्यक्ष आतिफ बुखारीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलका साथ कोलम्बो पुगेका प्रधानमन्त्री खानलाई श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजपक्षले बण्डारनायके अन्तर्राष्ट्रिय विमानस्थलमा रातो गलैँचाले भव्य स्वागत गरे।

सोही दिन प्रधानमन्त्री राजपक्षसँग भएको द्विपक्षीय वार्ताको क्रममा प्रधानमन्त्री खानले भने–‘विश्वमा कोभिड–१९ महामारीका बीच कहीँ पनि यात्रागर्न अत्यन्त कठिन भएको छ। र, सबै महत्वपूर्ण कामहरू भर्चुअल माध्यमबाट भइरहेको बेलामा पनि हामीले श्रीलङ्कासँग प्रत्यक्ष कुराकानी गर्ने निर्णय गर्‍यौँ । र, हामी पाकिस्तान–श्रीलङ्का मित्रताको कदर गर्छौँ ।

प्रत्युत्तरमा समकक्षी राजपक्षले भने–पाकिस्तान, श्रीलङ्काको अत्यन्त महत्वपूर्ण द्विपक्षीय साझेदार मुलुक हो। र,श्रीलङ्का पाकिस्तानलाई अत्यन्त नजिकको वास्तविक र असल मित्र ठान्छ। पाकिस्तानले जहिलेपनि श्रीलङ्काको आपत्विपत्मा साथ दिएको छ। हामी पाकिस्तानको अटल सहयोगका लागि जहिले पनि कृतज्ञ रहनेछौँ । विशेषगरी त्यतिबेला जब म राष्ट्रपति थिएँ र हामी खतरनाक आतंकवादी संगठन (तामिल) सँग लडिरहेका थियौँ । त्यसलाई हामीले मे २००९ मा पूर्णरूपेण जरैदेखि निर्मूल गर्यौँ ।

बुधबार प्रधानमन्त्री खानको भ्रमणको अन्त्यमा प्रकाशित विज्ञप्तिमा क्षेत्रीय विषयबारे भनिएको छ–‘दुवै मुलुक सार्कको चार्टर, सिद्धान्त र उद्देश्यमा आफ्नो प्रतिबद्धता पुनः प्रकट गर्छौँ र सदस्यराष्ट्रहरूलाई यस क्षेत्रका जनताको भलाइका लागि अवरुद्ध सार्क प्रक्रियालाई अगाडि बढाउन आह्वान गर्छौँ ।

हाल नेपाल सार्कको अध्यक्षका साथसाथै सार्क सचिवालय पनि काठमाडौँमै भएका कारण सार्क प्रक्रियालाई अगाडि बढाउने मूल दायित्व नेपालको हो। सबैलाई थाहा भएकै कुरा हो भारत–पाकिस्तान कटुतापूर्ण सम्बन्धका कारण सार्क प्रक्रिया अवरुद्ध भएको छ। दुवै मुलुक (भारत–पाकिस्तान) ले यस क्षेत्रका जनताको भलाइ र शान्तिका खातिर सार्क प्रक्रियालाई अघि बढाउनु आवश्यक छ।

प्रकाशित: १४ फाल्गुन २०७७ ०६:३७ शुक्रबार

विचार इमरान खानको कोलम्बो–यात्रा