विचार

दिगो विकासमा सीमसार क्षेत्रको भूमिका

सन्दर्भ : विश्व सीमसार दिवस

सीमसार भनेको के हो ?  

बाह्रै महिना पानीले ढाकेको वा ओसिलो दलदल भएको क्षेत्रलाई सीमसार क्षेत्र भनिन्छ । यो क्षेत्र पानीले ढाकेको वा रसिलो घाँसे मैदान वा दलदल क्षेत्रको रूपमा रहेको हुन्छ । यो स्थलीय र जलीय क्षेत्रको संगमस्थल हो जुन धर्तीकै सबै भन्दा महत्वपूर्ण पारिस्थितिकीय प्रणाली हो । यस क्षेत्रले मानव समाजलाई चाहिने अत्यावश्यक वातावरणीय सेवाहरू प्रदान गरिरहको हुन्छ । सीमसार क्षेत्र महत्वपूर्ण जैविक समुदायको आश्रयस्थलका रूपमा रहेको हुन्छ भने सीमसार क्षेत्रको नजिक बसोबास गर्ने जनसंख्याका लागि पर्याप्त मात्रामा वातावरणीय सन्तुलनसहितका आर्थिक विकासका अवसरहरू सिर्जना गरेको हुन्छ । आधुनिक भौतिक विकास र चरम पुँजीवादका कारण सीमसार क्षेत्र अतिक्रमित हुँदै जाँदा महत्वपूर्ण पारिस्थितिकीय प्रणालीहरू लोप हुँदा सयौँ जलचर पनि लोप भएका छन् । मानव अतिक्रमणबाट यी क्षेत्रलाई संरक्षण गर्न र सीमसार क्षेत्रको दिगो सदुपयोग तथा संरक्षणका लागि सन् १९७१, २ फेब्रुवरीमा इरानको रामसार भन्ने सहरमा सम्मेलनमार्फत सीमसार सन्धि अनुबन्धन गरियो । सीमसार संरक्षण कति महत्वपूर्ण छ भन्ने कुरा सुरुमा १८ देशले अनुबन्धन गरेको सन्धि हाल १६९ राष्ट्रले अनुबन्धन गरेको तथ्यबाट प्रमाणित हुन्छ । 

सीमसार क्षेत्रहरू धर्तीका सबै भन्दा ठूला कार्बन भण्डार हुन । यी क्षेत्रले जैविक विविधता र प्रकृतिको अनुपम सौन्दर्यको संरक्षण तथा सम्वद्र्धनमा योगदान दिएका छन् । 

रामसार सम्मेलनका अनुसार, विश्वमा ४२ प्रकारका सीमसार छन् । नेपालमा ताल, नदी, पोखरी, जलाशय, सिँचित धान खेत र घोल गरेर ६ प्रकारका सीमसार छन् । नेपालमा सीमसार क्षेत्रले करिव ५.५७ प्रतिशत क्षेत्रफल ओगटेको छ । नेपालको पारिस्थितिकीय प्रणालीमा यो अत्यन्तै महत्वपूर्ण क्षेत्र हो जसले स्थानीय समुदायलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा वातावरणीय, सामाजिक, सांस्कृतिक तथा आर्थिक अवसरहरू उपलब्ध गराएको छ । नेपालले सीमसार क्षेत्रहरूलाई संरक्षण गर्नका लागि सन् १९८७ को अप्रिलमा रामसार महासन्धिमा हस्ताक्षर गरेको हो । हालसम्म पोखराका ९ वटा ताल समेटेको लेक क्लस्टरसहित १० वटा सीमसार क्षेत्र घोषणा गरिएको छ ।    

सीमसार क्षेत्रले वनस्पतिको विविधतामा महत्वपूर्ण भूमिका खेलेको छ । एक अध्ययनअनुसार करिव २५ प्रतिशत बिरुवा र २६ स्थानीय प्रजाति सीमसार क्षेत्रमा पाइन्छन् । सीमसार क्षेत्रहरू खेतीयोग्य केही जंगली प्रजातिहरूको उत्पत्तिस्थल पनि हुन् । नेपालको सीमसार क्षेत्रमा पाँच प्रकारका जंगली धान प्रजाति पाइन्छन् । सीमसार क्षेत्रहरू खाना, स्वच्छ पानी र वंशानुगत निरन्तरताका स्रोत हुन् । नेपालको सन्दर्भमा कृषि क्षेत्रको उत्पदकत्व वृद्धि गर्नमा सीमसार क्षेत्रको महत्वपूर्ण योगदान छ । सीमसार क्षेत्रहरू माछालगायतका खाद्यान्न उत्पादनका समेत स्रोतका रूपमा छन् । यसका अतिरिक्त सीमसार क्षेत्रहरू धार्मिक, सांस्कृतिक तथा मनोरञ्जन क्षेत्रका रूपमा पनि छन् ।  

सीमसार क्षेत्रहरू दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने महत्वपूर्ण स्रोत हुन । जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन एवम् समावेशी आर्थिक विकास गर्न र मानव सभ्यताको स्तरोन्नतिका लागि सीमसार क्षेत्रहरू अत्यावश्यक स्रोत हुन् । सीमसार क्षेत्रहरूले वनस्पतिहरू, पशुपक्षीहरू र आर्थिक विकासको आधारका रूपमा रहेका कृषि, पशुपालन तथा मानव जगतलाई स्वच्छ पानी आपूर्ति गर्छन् । सीमसार क्षेत्रहरू नदी र तालका किनारहरूको संरक्षण गरी बस्ती र सहरलाई सुरक्षित राख्छन् । सीमसार क्षेत्रहरू धर्तीका सबै भन्दा ठूला कार्बन भण्डार हुन । यी क्षेत्रले जैविक विविधता र प्रकृतिको अनुपम सौन्दर्यको संरक्षण तथा सम्वद्र्धनमा योगदान दिएका छन् । रामसार सम्मेलनको चौथो रणनीतिक योजना (२०१६ देखि २०२४) ले ४ वटा लक्ष्य र १९ वटा विशिष्ठ लक्ष्यहरू निर्धारण गरेको छ जुन दिगो विकास लक्ष्य प्राप्तिका लागि प्रत्यक्ष सहयोगी छन् ।  

सीमसारका समस्या

नेपालको सन्दर्भमा सीमसार क्षेत्रहरू भौगोलिक र वातावरणीय दृष्टिकोणका अलावा दैनिक जीवनका लागि पनि महत्वपूर्ण प्राकृतिक स्रोत हुन् । सीमसार क्षेत्रको महत्वबारे नीति निर्माता, राजनीतिज्ञहरू र सञ्चारकर्मीहरूको प्राथमिकतामा नपर्दा र विद्यालय तहदेखि विश्वविद्यालयसम्मको अध्ययन अध्ययापनमा पनि निकै कम महत्व दिएका कारण सीमसार क्षेत्रबारे सर्वसाधारण नागरिकलाई यसको बहुआयामिक महत्वबारे निकै कम जानकारी छ । कमजोर कानुन र भएका कानुनको पनि अप्रभावकारी कार्यान्वयनका कारण जिम्मेवार निकायहरू नै सीमसार क्षेत्रको संरक्षण तथा विकासमा मौन छन् । राज्यको पुनर्संरचनापश्चात सीमसार क्षेत्रहरूको संरक्षण तथा विकासको मुख्य जिम्मेवारी कसको हो भन्ने अन्योलले पनि सीमसार क्षेत्र अलपत्र परेको छ ।  

नियमित व्यवस्थापनका अभावले सीमसार क्षेत्रहरूमा मिचाहा वनस्पति प्रजातिहरूले तालको सौन्दर्य र स्वरूपमा संकट आएको छ । अत्यधिक भूक्षयका कारण तालहरूको क्षेत्रफल घट्दो अवस्थामा छन् । अनियन्त्रित भूक्षयका कारण दलदलहरू पुरिने र बसोबास क्षेत्रमा परिणत भइरहेका छन् जसले गर्दा यस क्षेत्रमा भएका जलचर तथा वनस्पतिहरू लोप भइरहेका छन् । मानिसका बानी व्यवहार तथा गलत क्रियाकलापले अत्यधिक रासायनिक तथा विषादीहरूको प्रयोगलाई यस क्षेत्रमा निकासका रूपमा प्रयोग गर्दा यहाँ जलचर तथा वनस्पतिमाथि नकारात्मक प्रभाव परेको छ भने यस क्षेत्रको गुणस्तर ह्रास भएर गएको छ ।  

सबै भन्दा दुर्भाग्य त के भएको छ भने राजनीतिक शक्ति र प्रभावका आधारमा समाजका टाठाबाठा र अगुवाहरूकै नेतृत्वमा सीमसार क्षेत्रहरूलाई अवैध तरिकाले निजी सम्पत्तिका रूपमा दर्ता गरी भोगचाल गरिएको छ । सीमसार क्षेत्रमाथि भएका कृत्रिम तथा प्राकृतिक विपद्हरूका कारण यस क्षेत्रमा प्रदूषण बढेको छ भने समाजमा यसको नकारात्मक असर परेका छन् । पोखराको लेक क्लस्टरका रूपमा रहेका तालहहरूमा कुत्सित मनसायले तालको जमिन निजी जमिनका रूपमा दर्ता गरिएको छ । फेवा ताल वरिपरि घुम्न जाँदा २२ वटा स्थानमा निजी तथा सरकारी आवासहरूवाट ढल विसर्जन गरिएको देख्न सकिन्छ । फेवा ताल संरक्षणको नाममा रातदिन फलाक्दा पनि नथाक्नेहरूलाई फेवातालमा भइरहेको यो कुरूप व्यवहारले नछुनु सीमसार संरक्षणमा हदैसम्मको बेइमानी हो । फेवातालमा यस वरिपरिका बासिन्दाहरू र जिम्मेवार निकायहरूले गरेको दुव्र्यवहार अत्यन्तै निन्दनीय छ र अन्ततोगत्वा यसको मूल्य यहाँको पर्यटन व्यवसाय र भावी पुस्ताले नै चुकाउनुपर्ने देखिन्छ । अनियन्त्रितरूपमा फिर्के खोलाको प्रदूषण तथा ढल विसर्जनले फेवातालको पारिस्थितिकीय प्रणाली र सौन्दर्यमा परेको नकारात्मक असर त्यहाँ घुम्न जाने हरकोहीका नांगा आँखाले देख्न सकिन्छ । फेवाका अलावा अन्य ८ तालको संरक्षणको मुद्दा पनि स्थानीय, प्रदेश, संघ तथा स्थानीय नागरिकको प्राथमिकतामा नपर्दा व्यवस्थितरूपमा संरक्षण गतिविधिहरू सञ्चालन गर्न चुनौती छ ।  

नेपाल सरकारका प्रतिबद्धता  

नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धताअनुरूप यहाँका सीमसार क्षेत्रहरूको संरक्षण तथा सम्वद्र्धनमा अत्यधिक चासो दिएर ऐन तथा कानुनहरू तर्जुमा गरेको भए पनि ती ऐन तथा कानुन कार्यान्वयन एकदम फितलो हुँदा यहाँका सीमसार क्षेत्रहरू नाजुक अवस्थामा छन् । सीमसारको संरक्षण तथा व्यवस्थापनमा स्थानीय नागरिकहरू तथा संघ/संस्थाको भूमिका न्यून छ । सीमसार क्षेत्रको संकटबाट सबै भन्दा बढी स्थानीय नागरिकलाई समस्या उत्पन्न हुने हुँदा यस क्षेत्रका नागरिकहरूले सीमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन विशेष चासो राख्नुपर्छ । स्थानीय सरकार स्थानीय नागरिकको सबै भन्दा नजिकको सरकार भएको र स्थानीय वातावरण संरक्षणको प्रमुख जिम्मेवार निकाय भएकाले स्थानीय सरकारले नागरिकलाई सहभागी गराएर विशेष नीतिसहित कार्यक्रमहरू तर्जुमा गर्नुपर्छ । यो विषयवस्तु नयाँ भएका कारण स्थानीय सञ्चारमाध्यमहरूले नागरिकलाई सुसूचित गराउन तथा सरकारहरू र अन्य जिम्मेवार निकायहरूलाई जवाफदेही बनाउन नियमितरूपमा विषयहरू उठान गरी नै रहनुपर्छ । नेपालका पर्यटन केन्द्रहरू प्रायः सीमसार क्षेत्रको वरिपरि भएका कारण पर्यटन व्यवसायीहरूले यी क्षेत्रको संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ भने पर्यटन व्यवसायीका कुनै पनि गतिविधिहरूले यस क्षेत्रलाई हानि गर्न हुँदैन । नीति निर्माताले समयानुकूल नीतिहरूलाइ परिमार्जन गरेर तर्जुमा गरिएका नीति तथा कार्यक्रमहरू सफलपूर्वक कार्यान्वयन हुने वातावरण निर्माण गर्नुपर्छ । अन्तर्राष्ट्रिय सीमसार दिवसको अवसरमा यस क्षेत्रको संरक्षण र दिगो विकासमा सबैको ध्यान पुगोस् ।

(उपाध्यक्ष– सहरी योजना आयोग, पोखरा महानगरपालिका)

प्रकाशित: २० माघ २०७७ ०३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App