विचार

कोभिड खोप प्राथमिकीकरणको नैतिकता

अमेरिकासहित केही अन्य देशमा वञ्चितीकरण परेका र विभिन्न जातीय समूहको सरदर आयु अन्य समूहको भन्दा कम छ । उनीहरू कोभिड–१९ का कारण अरूभन्दा बढी मृत्युको जोखिममा छन् । यस्तो बेला जनसंख्यागत यो समूहलाई खोप उपलबध गराउन नीतिनिर्माताले विशेष व्यवस्था गर्न आवश्यक देखिएको छ ।

विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भइसकेको छ । यो बेला नीतिनिर्माताहरू खोपलाई यथाशीघ्र र समान हिसाबले कसरी वितरण गर्ने भन्नेमा लागेका छन् । स्वास्थ्यकर्मीले सबैभन्दा पहिला खोप पाउनुपर्छ भन्नेमा सबैको एकमत छ । किनभने संक्रमित बिरामीलाई जोगाउन उनीहरूको भूमिका अग्रणी र महत्वपूर्ण छ । तर त्यसपछि खोपमा कसलाई प्राथमिकता दिने विषय भने विवादमुक्त छैन ।

एउटा महत्वपूर्ण विषय के हो भने युवाको तुलनामा ६५ वर्ष उमेरभन्दा माथिको समूह कोभिड–१९ का कारण हुने मृत्युको अत्यधिक जोखिममा हुन्छ । ७५ वर्ष उमेर नाघेका व्यक्तिका लागि यो जोखिम झन् बढी हुन्छ । यसैगरी अर्काे पक्ष के हो भने अमेरिकालगायत विभिन्न देशमा सीमान्त र अल्पसंख्यक जातीय समूहको औसत आयु अन्यको तुलनामा कम छ । ६५ वर्ष उमेरमाथिको जनसंख्यामा उनीहरूको उपस्थिति कम छ । यस्तो अवस्थामा ६५ वर्ष उमेरमाथिका लागि मात्र प्राथमिकता दिने हो भने समग्र जनसंख्याको तुलनामा यी अल्पसंख्यकले कम खोप पाउनेछन् । अन्य हिसाबले पछाडि परेका समूहलाई खोपमा पनि वञ्चिती अनुचित हुनेछ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का जनस्वास्थ्य अधिकृत काथलिन डोलिङ यो विषय सम्बोधन गर्न फरक विधि अवलम्बन गर्नुपर्ने ठान्छिन् । 

स्वास्थ्यकर्मीले सबैभन्दा पहिला खोप पाउनुपर्छ भन्नेमा सबैको एकमत छ किनभने संक्रमितलाई जोगाउन उनीहरूको भूमिका अग्रणी र महत्वपूर्ण हुन्छ । 

सिडिसी सल्लाहकार समूहका लागि तयार गरेको प्रस्तुतिमा उनले ६५ वर्ष उमेर नाघेको ५ करोड ३० लाख जनसंख्याभन्दा पहिला ८ करोड ७० लाख जनसंख्या रहेको अत्यावश्यक कामदारलाई पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख गरेकी छिन् । यसो गर्दा शून्य दशमलब ५ प्रतिशतदेखि ६ दशमलब ५ प्रतिशतसम्म मृत्यु दर बढ्न सक्ने भए पनि यो रणनीति सही हुने उनको तर्क छ । त्यसो त खोपले कोभिड–१९ रोकथाम गर्छ, मानिसलाई संक्रमित हुनबाट जोगाउँछ अथवा भाइरस प्रसारण हुनबाट रोक्छ भन्ने विषयमा अझै निक्र्योल हुन सकेको छैन ।

अमेरिकामा वृद्धवृद्धा अत्यधिक श्वेत वर्णका भएका कारण उनीहरूले खोप पाउन कुर्नुपर्ने नीति बनाउँदा पनि जीवनको क्षति हुनेछ । तर त्यसले वञ्चितीकरणमा परेका जातीय समूहलाई पर्ने असमानताको स्थितिलाई रोक्नेछ । यसो भनिरहँदा अर्काे महत्वपूर्ण कुराको पनि ख्याल गर्नुपर्छ । त्यो हो ६५ वर्षभन्दा माथिको उमेर समूहमा यिनीहरूको कम प्रतिनिधित्व रहनेभन्दा पनि कोभिड–१९ का कारण मृत्यु हुनेमा यो समूहको संख्या अत्यधिक छ । त्यसैले विभिन्न टिप्पणीकारले अत्यावश्यक सेवामा कार्यरत कामदारलाई प्राथमिकता दिँदा यो अल्पसंख्यकलाई फेरि घाटा हुने बताएका छन् । यसो गर्दा अन्ततः यो अल्पसंख्यकको मृत्यु दर बढ्न जान्छ ।

सिडिसी सल्लाहकार समूहले सबै ‘अत्यावश्यक सेवा’ मा कार्यरत कामदारलाई प्राथमिकता दिनुपर्ने सुझाव स्वीकार गरेन तर यो समूहलाई ‘अग्रपंक्तिमा काम गर्ने कामदार’ भन्ने परिभाषा दिएर यो समूहको कुल जनसंख्यालाई ३ करोडमा सीमित पार्ने निर्णय गरेको छ । यो समूहमा शिक्षक, ग्रोसरी स्टोरका कामदार तथा आपत्कालीन सेवामा कार्यरत कामदारलाई राखिएको छ । यसैगरी सल्लाहकार समूहले ७५ वर्ष उमेरमाथिका लागि समान प्राथमिकता दिनुपर्ने सिफारिस गरेको छ । यसले गर्दा सबैभन्दा बढी जोखिममा रहेका समूह र अग्रपंक्तिमा रहेर अथवा नरहेर अत्यावश्यक सेवा क्षेत्रका कामदारलाई कसलाई प्राथमिकता दिने विषयमा बीचको बाटो खोजिएको छ । अग्रपंक्तिमा रहेर काम गर्नेलाई सुरक्षित राख्नैपर्छ । यो हिसाबले ७५ वर्ष उमेरभन्दा माथिलाई पनि उत्तिकै प्राथमिकता दिनु भनेको समग्रमा कम जनसंख्या र अल्पसंख्यकका पनि कम सदस्यको मृत्यु दर कम हुनु हो । त्यसो त अल्पसंख्यकलाई समेट्ने दिशामा दिइने सिडिसीका सुझाव बाध्यकारी हुँदैनन् । विभिन्न राज्यले यो विषयमा आफैँले निर्णय गर्न सक्छन् । इलिनोइ डेपार्टमेन्ट अफ पब्लिक हेल्थका निर्देशक गोजी इजिकेका अनुसार जातीय हिसाबले बहुसंख्यक श्वेतलाई गरिएको व्यवस्था भन्दा अल्पसंख्यकको उपचारका लागि फरक निर्देशिका रहेकाले त्यति ठूलो समस्या पर्ने छैन । उनले प्रोस्टेट क्यान्सरको उपचारको उदाहरण दिँदै भनिन्, ‘यो रोग श्वेत अमेरिकी भन्दा अफ्रिकन अमेरिकीमा अत्यधिक रहने हुँदा पहिला अफ्रिकन अमेरिकीलाई परीक्षण गरिन्छ ।’ यहाँ भन्न खोजिएको के हो भने परीक्षण गर्न आवश्यक र जोखिममा रहेकालाई पहिलो प्राथमिकता दिनुपर्छ ।

अमेरिकाले अहिलेको खोपको प्राथमिकतालाई नै जारी राख्ने र जोखिममा रहेका वर्गलाई समान उपचारको अवसर दिने हो भने नीतिनिर्माताले ७५ वर्ष उमेर माथिकालाई हुने जोखिम जस्तै अफ्रिकी अमेरिकन, ल्याटिन अमेरिकी, आदिवासी अमेरिकीको कुन उमेर समूह बढी जोखिममा छन्, त्यो निक्र्याेल गर्नुपर्छ र तद्नुरूप प्राथमिकता तोक्नुपर्छ । यसले समग्र परिदृश्यलाई कसरी प्रभाव पार्छ भनेर हामीसँग पर्याप्त तथ्यांक नहोला तर ७२ वर्षका अफ्रिकन अमेरिकी खोपका लागि योग्य हुन सक्छ जबकि ७४ वर्षको श्वेत वर्णको अमेरिकी अयोग्य हुन सक्छ । यसो गर्दा कतिपयले जातीयता उल्ट्याएको (रिभर्स रेसिज्म) को आरोप पनि लगाउलान् तर त्यो सही होइन । व्यक्तिगत प्रमाणको अभावमा भाइरसको जोखिम आकलन गर्न नश्ललाई मापदण्ड बनाइएको छ । तर कुनै पनि नश्लीय र जातिगत समूहले समग्र समुदायको जनसंख्याको अनुपातमा खोप पाउनुपर्छ भन्ने निर्देशक सिद्धान्तको अभाव छ । यो नैतिकताको हिसाबले पनि सही होइन । हाम्रो प्रमुख उद्देश्य बढी भन्दा बढी जीवनको रक्षा गर्ने हुनुपर्छ ।

(विभिन्न किताबका लेखक पिटर सिंगर प्रिन्सटन विश्वविद्यालयका प्राध्यापक हुन् । उनको यो आलेख प्रोजेक्ट सिन्डिकेटबाट लिइएको हो ।)

प्रकाशित: १५ माघ २०७७ ०३:३८ बिहीबार

कोभिड खोप प्राथमिकीकरणको नैतिकता