विचार

महामारीमा बुढ्यौली

सन्दर्भ: ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

बोलीचालीको भाषामा ‘ज्येष्ठ नागरिक’ भन्नाले प्रौढावस्था पार गरेर निश्चित उमेरमा पुगेका व्यक्ति भन्ने बुझिन्छ। उमेरका आधारमा व्यक्तिलाई ज्येष्ठ नागरिक मान्ने चलन संसारका प्रायः सबै मुलुकमा छ। तर, ज्येष्ठ नागरिक निर्धारण गर्ने प्रमुख आधार उमेर मात्र होइन।

बेलायतले सन् १८७५ मा ‘फ्रेन्डली सोसाइटिज एक्ट’ जारी गरी ५० वर्षपछिको कुनै पनि उमेरका मानिसलाई वृद्ध भनी परिभाषित गरेको थियो। यो नै वृद्धलाई परिभाषित गर्ने पहिलो प्रयास थियो भन्न सकिन्छ। बेलायतमा हाल सेवा निवृित्त हुने उमेर ६५ वर्ष तोकिएको छ।

जसरी ज्येष्ठ नागरिकको सर्वमान्य परिभाषा पाउन कठिन छ, त्यसरी नै मुलुकपिच्छे ज्येष्ठ नागरिक निर्धारण गर्ने उमेरमा पनि विविधता देखिन्छ। विकसित देशमा ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मान्ने चलन छ भने संयुक्त राष्ट्र संघले ६० वर्ष उमेर पूरा भएका व्यक्तिलाई ज्येष्ठ नागरिक मानेकोे छ। विश्वका धेरै देशमा कामबाट अवकाश दिइने उमेरलाई नै ज्येष्ठ नागरिक निर्धारण गर्ने अभ्यास रहेको छ। यसरी ज्येष्ठ नागरिक निर्धारण गर्दा सम्बन्धित देशको आर्थिक, सामाजिक अवस्थालाई समेत अध्ययन गरी निर्धारण गरिएको देखिन्छ।

नेपालमा निवृत्तभरण पाउने उमेरको सम्बन्धमा एकरूपता रहेको पाइँदैन। तसर्थ हालसम्मको अभ्यास अनुसार संवैधानिक अंगका पदाधिकारीको हकमा ६५ वर्षमा सेवा निवृत्त हुने व्यवस्था गरिएको छ भने न्यायाधीशको उमेरको हद तल्लो अदालतका लागि ६३ र सर्वोच्च अदालतका लागि ६५ वर्ष कायम गरिएको छ। प्राध्यापकहरू ६२ वर्षमा अवकाश प्राप्त गर्छन् भने शिक्षकहरू ६० वर्षमा अवकाश पाउँछन्। निजामती कर्मचारीले ५८ वर्षमा अवकाश पाउने व्यवस्था रहेको छ भने सैनिक र दुवै प्रहरी संगठनको अवकाशको उमेर पदीय रूपमा फरक–फरक रहेको देखिन्छ। २०६३ सालमा जारी गरिएको ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ ले भने ६० वर्ष उमेर पुगेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक भनेर मानेको छ।

संयुक्त राष्ट्र संघको बडापत्रको प्रस्तावनामै आधारभूत मानव अधिकारप्रति प्रतिबद्धता जाहेर गर्दै अधिकतम स्वतन्त्रताका लागि सामाजिक उन्नति र असल जीवनस्तरको प्रवद्र्धन गर्न संयुक्त राष्ट्र संघको स्थापना भएको उल्लेख छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै व्यक्तिलाई बिनाभेदभाव घोषणापत्रमा उल्लिखित अधिकार प्राप्त हुने कुरा उल्लेख गर्दै धारा २५ (१) ले ज्येष्ठ नागरिकमा समेत जीविकोपार्जनका लागि सामाजिक सुरक्षाको अधिकार हुने व्यवस्था गरिएको छ।

विकसित देशमा ६५ वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मान्ने चलन छ भने संयुक्त राष्ट्र संघले ६० वर्ष उमेर पूरा भएका व्यक्तिलाई ज्येष्ठ नागरिक मानेकोे छ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा १० मा ‘प्रत्येक व्यक्तिले उपभोग गर्न पाउने सामाजिक सुरक्षाको अधिकारलाई राज्यले यथोचित सम्बोधन गर्नुपर्ने’ व्यवस्था छ। सन् १९९१ को डिसेम्बर १६ मा संयुक्त राष्ट्र संघको महासभाले ‘संयुक्त राष्ट्र संघीय वृद्धवृद्धासम्बन्धी सिद्धान्तहरू’ पारित गर्दै सदस्य राष्ट्रलाई देहायका सिद्धान्तलाई आफ्नो राष्ट्रिय कार्यक्रममा समावेश गर्न निर्देशित गरेको छ ः क) स्वतन्त्रता। ख) सहभागिता। ग) हेरविचार। घ) आत्म परिपूर्ति। ङ) सम्मान आदि छन्। साथै संयुक्त राष्ट्र महासंघले मानव अधिकारको वर्गीकरण गरी ज्येष्ठ नागरिकको अधिकारलाई गम्भीरतापूर्वक हेर्न उत्प्रेरित गरेको देखिन्छ।

ज्येष्ठ नागरिकको भूमिकालाई नेपालको कानुन प्रणालीले महत्व प्रदान गरेको देखिन्छ। घरको सबैभन्दा वरिष्ठ सदस्य वा ज्येष्ठ नै घरमूली हुने कारण पनि परिवारमा उसको सम्मान रहेको पाइन्छ। ज्येष्ठ नागरिकको हित र कल्याणसम्बन्धी नेपालको लामो अभ्यास रहेको छ। वि.सं. १९२७ मा पञ्चदेवलमा दरबारबाट अवकाश पाउने कर्मचारीलाई सिदा वितरण गरिएको इतिहास पाइन्छ। वि.सं. १९७६ मा पाठशालाको स्थापना भएको देखिन्छ। वि.सं. २०३४ मा पशुपतिमा वृद्धाश्रमको स्थापना भएको देखिन्छ। ज्येष्ठहरूको हित र कल्याणका लागि सरकारी तथा कतिपय गैरसरकारी एवं निजी क्षेत्रबाट पनि प्रयास भएको देखिन्छ।

नेपालमा २०५८ को जनगणना अनुसार, ६० वर्ष उमेर पूरा भएका ८.१३ प्रतिशत थिए। वृद्धावस्थाका कारण शारीरिक रूपले सक्रिय श्रम अभ्यास गर्न सकिँदैन। यस्तो अवस्थाका व्यक्तिलाई स्वास्थ्य स्याहार र आराम आवश्यक हुन्छ। ६० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि रहेको हाम्रो देशमा गरिबीको पीडा ज्येष्ठ नागरिकले व्यहोरिरहेका छन्। त्यसमा पनि क्रमशः सानो परिवारको अवधारणाले गर्दा शारीरिक श्रम गर्न नसक्ने ज्येष्ठ नागरिक परिवारबाट छुट्टिएर एक्लै बस्न बाध्य छन्।

ज्येष्ठ नागरिक हुनु भनेको केवल शारीरिक अवस्थाले शिथिल रूपमा रहेको अवस्था मात्र नभएर उनीहरू परम्परागत ज्ञान र अनुभवका स्रोत हुन्। केवल शारीरिक रूपमा ज्येष्ठ नागरिक अन्यसरह काम गर्न नसक्ने मात्र हुन्। उनीहरू आफ्नो स्वास्थ्य र क्षमता अनुकूलको काम गर्न सक्छन्, त्यसैले उनीहरूको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न सकिएमा नयाँ पुस्तालाई राम्रो मार्ग निर्देशन प्राप्त गर्ने आधार बन्न सक्ने हुन्छ।

यतिबेला संसारमा ६० वर्ष माथिका मानिसको संख्या झन्डै ७० करोड छ। सन् २०५० सम्म यो संख्या बढेर दुई अर्ब पुग्ने अनुमान गरिएको छ। यो तथ्यांकले मानिसको ध्यान निकै तानेको छ र भविष्यमा आउन सक्ने समस्यालाई सम्बोधन गर्न विविध पहल सुरु गरिएका छन्।

१९९० डिसेम्बर १४ मा राष्ट्रसंघीय महासभाद्वारा अक्टोबर १ लाई वार्षिक रूपमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउन घोषणा गरिएको थियो। संसारभरिका ज्येष्ठ नागरिकका लागि यो दिन आफैँमा विशेष दिन हो। सञ्चार जगत्ले पनि यस दिन यसबारे सामग्री प्रकाशन गर्ने गरेको देखिन्छ। यस प्रकारका अन्तर्वार्ता दिनेहरूमा अधिकांश त ज्येष्ठ नागरिकसँग परिचित र निकटमा रहेका नै पाइन्छ। तिनीहरूको समाजमा प्रभाव पनि राम्रै छ। विद्यालयहरू, सार्वजनिक संस्थाहरू र कार्यालयहरूले पनि ज्येष्ठ नागरिकको इज्जत र भलाइका कार्यक्रम घोषणाका लागि यस दिनलाई उपयोग गरेका छन्। विश्व स्वास्थ्य संगठनले यस दिवसलाई उत्सवका रूपमा मनाउन र दिवसबारे सक्रियताका साथ जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निभाइरहेको छ। यतिबेला संसारमा ६० वर्ष माथिका मानिसको संख्या झन्डै ७० करोड छ। सन् २०५० सम्म यो संख्या बढेर दुई अर्ब पुग्ने अनुमान गरिएको छ। यो तथ्यांकले मानिसको ध्यान निकै तानेको छ र भविष्यमा आउन सक्ने समस्यालाई सम्बोधन गर्नका लागि विविध पहल सुरु गरिएका छन्।

यस वर्ष सन् २०२० को सन्दर्भमा, हाल विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ को प्रभावको असरबाट नेपाल मात्र अक्षुतो रहने कुरै भएन। हालको स्थितिमा ज्येष्ठ नागरिकलाई सुरक्षित राख्नु र उनीहरूको जीवनलाई सहज र मर्यादित बनाउनु पनि हाम्रो सामु चुनौतीपूर्ण देखिएको छ।

अहिलेको विषम परिस्थिति (कोभिड–१९ महामारी र भौतिक दूरी) लाई दृष्टिगत गर्दा भर्चुअल कार्यक्रमबाहेक अरू कुनै विकल्प नरहेको देखियो। यसै तथ्यलाई दृष्टिगत गरी यस वर्षको अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टुबरको उपलक्ष्यमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ। जसमध्ये स्थानीय सरकार, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरू तथा नीति निर्माण तहका उच्च पदस्थ अधिकारीहरूबीच भर्चुअल कार्यक्रम हुने छ। अतः यस कार्यक्रमको छलफल तथा अन्र्तक्रियाबाट प्राप्त सुझावले ज्येष्ठ नागरिकका लागि भविष्यमा ठोस कार्यक्रम सञ्चालन गर्नमा सहयोगी सिद्ध हुने नै छ भन्ने विश्वास लिएका छौँ।

यो ३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘महामारीमा बुढ्यौली र उमेरका कारण ज्येष्ठ नागरिकलाई गरिने हाम्रो सम्बोधनले परिवर्तन ल्याउँछ।’ यो नारालाई सार्थकता दिन पनि हामी सरोकारवाला निकाय संवेदनशील भएर उनीहरूको जीवन सहज र सम्मानित बनाउन लागिपर्नुपर्ने हुन्छ।

ज्येष्ठ नागरिकको मानव अधिकारप्रति मात्र समर्पित एक मात्र राष्ट्रसंघीय प्रक्रिया हो, ओपेन इन्डेड वर्किङ ग्रुप (खुला छलफल)। आफ्नो पूर्ण कार्य सत्रका लागि वर्षको एकपटक ओइडब्लुजीको बैठक बस्छ। राष्ट्रसंघमा सरकारहरूलाई बोलाएर ज्येष्ठ नागरिकको अधिकार अनुमोदनका लागि र अन्य आवश्यक विषयमा छलफल हुने गर्छ। यसको ११औँ सत्रको कार्यक्रम नै दुई वर्षका लागि हटाइएको छ। जसबाट आफ्नो अधिकारका लागि भाग लिनबाट ज्येष्ठ नागरिकहरू वञ्चित भएका छन्।
महासचिव, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ

प्रकाशित: १५ आश्विन २०७७ ०४:१५ बिहीबार

महामारीमा बुढ्यौली अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस