विचार

विपद्को त्यो क्षण

जुरेमा २०७१ साउन १७ गते गएको पहिरोका कारण १४५ जनाको ज्यान गयो, २२ जना घाइते भए, ३१९ परिवार बिस्थापीत हुन पुगे । यति ठूलो पहिरोको मार बेहोरेको सिन्धुपाल्चोकले त्यसको ठीक एक वर्षपछि २०७२ को महाभूकम्पका कारण झण्डै ४००० हजार मानिस गुमाउनुप¥यो । करिब २८ अरब रुपियाँ बराबरको क्षति सहन बाध्य भयो । जुगल गाउँपालिका वडा नं. २ लिदीमा २०७७ साउन ३० गते गएको पहिराले फेरि ३३ जनाको मृत्यु भयो भने १७२ परिवार बिस्थापित भए । २०७७ साउन १९ गते मेलम्ची बजारमा गएको पहिराले ८ जनाको ज्यान लियो ।

२०७१ सालयता पहिरो र नदी कटानबाट मात्र भएको क्षति हेर्ने हो भने पनि २०५ जनाको मृत्यु भएको छ, ३७ जना घाइते र ७५० परिवार विस्थापीत भएका छन् । हालसम्मको सर्वेक्षणले ७० भन्दा बढी स्थान ‘रेड जोन’ मा छन् । अझै कति ठाउँको त अध्ययन हुनै बाँकी छ । यो तथ्याङ्कलाई मात्र आधार मान्दा पनि सिन्धुपाल्चोकले अझ धेरै विपत्ति सामना गर्नुपर्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ । सिन्धुपाल्चोक भूकम्पीय दृष्टिले प्रभावित जिल्ला हो । भूकम्प कहिले आउँछ भन्ने कुरा कोही कसैले अनुमान गर्न सक्दैन । २०७२ मा सबैभन्दा बढी जोखिम बेहोरेको सिन्धुपाल्चोकले फेरि पनि थप सजगता अपनाउन सकेन भने तुलनात्मकरूपमा बढी क्षति बेहोर्नुपर्ने हुन्छ नै ।

यतिबेला महाभूकम्प र त्यसबाट उत्पन्न परिस्थितिको याद आइरहेको छ । २०७२ वैशाख १२ गते १२ बजे म सिन्धुपाल्चोकको हेलम्बुमा पर्ने मेलम्ची घ्याङस्थित एक विद्यालयको खुला चौरमा थिएँ । त्यो दिन ४ जना छोराछोरी पनि सँगै थिए । त्यसो त त्यतिबेला हामी करिब ३०० जना अभिभावक र विद्यार्थी बाहिरबाट त्यहाँ गएका थियौँ । उक्त दिन प्रवेश परीक्षा भएकाले हामी त्यहाँ गएका थियौँ । बच्चाहरू परीक्षामा सामेल भएपछि म प्र.अ. पूर्ण गौतमसँग गफिँदै थिएँ चौरमा । हेलम्बु क्षेत्रलाई शैक्षिक हब बनाउने विषयमा केन्द्रित थियो वार्ता । केही समयको वातचितपछि पूर्ण सर परीक्षा हलभित्र प्रवेश गर्नुभयो । म भने नजिकको पसलमा चिया पिउन गएँ ।

फर्केर आइ पुनः चौरमै बसेको थिएँ । एकैछिनमा घुमिरहेको घट्टमाथि बसेको अनुभूति भयो । आफू बसेको धरती पूरै घुम्यो । छिनमा उचाल्ने, छिनमा पछार्ने हुन थाल्यो । यत्तिकैमा मेरो आँखा मेलम्ची घ्याङको गाउँ बस्तीमा पुगेछ । हेर्दाहेर्दै सबैभन्दा पहिला गाउँको माझमा रहेको घ्याङ भत्कियो । त्यसपछि घरहरू मेलैसँग भत्कन थाले । करिब १० मिनेटभित्र सबैजसो संरचना ध्वस्त भए । विद्यालयको भवन गल्र्यामगुर्लुम ढल्यो । परीक्षामा सामेल विद्यार्थीहरू झ्याल र ढोकाबाट बाहिर निस्किए चिच्याउँदै  ।

मैले लिएर गएका चार जनामध्ये एक नानी भने निस्किएकी देखिएन । चारैतर्फ खोजतलास भयो तर पनि सम्पर्क हुन सकेन । भत्किएको पर्खालले पुरेको शंका भएर म ढुंगाहरू पल्टाउँदै नानी खोज्दै थिएँ । पर्खाल लडिरहेको थियो तर पनि म भने त्यसको पर्वाह नगरी ढुंगा पन्छाउँदै खोज्न लागेको देखेर विद्यालयका स्वयंसेवकलगायतका साथीहरूले सहयोग गर्न थाल्नुभयो । हामीले ढुंगा झिक्न थालेपछि मसिनो आवाज आयो । कसैले माथिबाट खस्दै गरेको ढुंगा थाम्ने त कसैले ढुंगा पन्छाउँदै खोजी गर्न थाल्यौँ । केहि ढुंगा झिकेपछि लामो लामो कपाल फेला प¥यो । खोज्दै जाँदा एक नानी भेटियो । उसको तल अर्को र फेरि अर्को गर्दै पाँच जनालाई सकुशल त्यहाँबाट झिकियो । तर त्यहाँ छोपिएका पाँचै जना नानी मैले खोजी गरेकोमध्ये थिइनन् । पछि थाहा भयो कि उनी त केहीछिनअघि नै सकुशल निस्किसकेकी रहिछिन् ।

हेर्दाहेर्दै त्यहाँ एउटा सुन्दर बस्ती सकियो । बस्तीसँगै हामी बसेको ठाउँ वरपर ठूलाठूला सुक्खा पहिरा जान थाले, छारो र धुलो उडेर गाउँ ढाक्यो । मानिस रुन÷कराउन थाले । गाई भैँसीहरू केही बाहिर निस्किए । केही भने त्यहीँ थिचिएर मरे । त्यसपछि हावा हुरी चल्न र पानीको वर्षा हुन थाल्यो । लेकको चिसो त्यसमा पनि पानीको वर्षाले मुटु काम्न थाल्यो, सबै घर भत्किएकाले ओत लाग्ने ठाउँ भएन । जहाँ उभियो त्यही ठाउँ भासिन थाल्यो । चौरहरू पनि चिरा चिरा परेकाले उभिने ठाउँसमेत थिएन । टेलिफोनका टावरहरूले काम गर्न छाडे । घरबाट आएको फोनमा सञ्चैँ छौँ भन्न त सकियो तर पनि घरतिर के छ भनेर सोध्न सक्ने अवस्थाचाहिँ रहेन ।

तरकारी उत्पादनका लागि दुईवटा प्लास्टिकका टनेल केही समयअघि बनाइएको रहेछ । त्यही टनेलभित्र बसेर रात कटायौँ । भोलिपल्ट बिहान उठेर सबै जना हिँड्ने तयारीमा लाग्यौँ । दुर्भाग्यबस भतिज अपिलको खुट्टा मर्कियो । ऊ मोटो भएकाले बोकेर आठ नौ घण्टाको बाटो पार गर्न सक्ने सम्भावना पनि थिएन । मैले त्यहीँ बस्ने निर्णय गरेँ तर साथीहरूले साथ छाड्नु भएन । ‘गाँस छोड्नु साथ नछोड्नू भन्छन्, हामी तपाईँलाई छाड्दैनौँ’ भनेपछि हामी पनि सँगै फर्कने निधो गर्यौँ । सबै जनाले पालैपालो भतिजलाई बोकेर पाँच कि.मि. जति तल पर्ने नाकोतेसम्म ल्यायौँ । त्यसपछि बलजफ्ती हिँडाउन थालियो । केही समयको हिँडाइपछि खुट्टा सुनिन थाल्यो । बीच बाटोमा आफू र बाबु बसेर अरूलाई घर पठाउने निर्णय गरेँ तर बस्न सम्भव भएन । सबैका घर÷गोठ भत्किएका, मान्छे मरेका अवस्था थियो । निरन्तर ठूला ठूला पराकम्पहरू गई नै रहेका थिए ।

यत्तिकैमा भत्किएर धराप जस्तो भएको पाटीमा बस्न खोजियो । बास बस्ने ठाउँमा पनि बाघ÷भालुको डर हुन्छ भनेपछि त्यहाँबाट पनि अगाडि बढ्यौँ । त्यसपछि पाच, सात कि.मि. जति हिँडेर ककनीमा पुग्यौँ । त्यहाँ पचासौँ परिवार एकै ठाउँमा जम्मा भएर पाल टाँगेर बसेका थिए । हामी सबैलाई खाने बस्ने व्यवस्था गर्छौँ, यहीँ बस्नुहोस्, तल निकै खतरा छ भन्नुभयो । ठाउँ साँघुरो भएकाले उहाँहरूको आतिथ्यतामा चिया पिएर त्यहाँबाट पनि अगाडि बढ्यौँ । पहाडहरू सबै सिलौटामा मुला थिचेजस्तो थिलथिलो भएको थियो तर पनि बाटोका डोब पहिल्याउँदै हामी किउल पुग्यौँ ।

किउल बगरमा आइपुग्दा बाटोका निशानहरूसमेत थिएनन् । सुक्खा पहिरो आइरहेकाले खोला तर्नुपर्ने भयो । सबै केटाकेटीलाई खोला तारेपछि म एक्लै खोलामा पसेँ । भूकम्पपछि खोला÷खोल्साहरू सबै बढेका थिए । तर त्यो कुराको हेक्का नराखी खोलामा पस्दा मलाई बगायो । मैले लगाएका सबै कपडामा पानी भरिएकाले शरीर भारी भएको थियो, जसका कारण उठ्न सकिन । सन्जोगले एक जना साथीले देखेर मलाई समात्नुभयो र बाँच्न सकेँ  । त्यसपछि त्यहाँबाट तीन कि.मि. जति अघि बढेपछि किउल भुमेश्वरी पुग्यौँ । त्यहाँ पुग्दा टोलबासीहरू जम्मा भएर लासहरू ओसार्दैै थिए । एउटै टोलमा नौ जना मरेकाले लास ओसार्ने र घाटमा लगेर जलाउने कुरा पनि निकै कठिन थियो तर पनि अविचलित भएर कोही लास जलाउन, दाउरा ओसार्दै थिए भने कोही तन्ना र सिरकको खोलमा लासहरू बोक्दै थिए । हामीले त्यो घटनामा पनि साथ दिन सकेनौँ । बालबालिका भोक र थकानमा भएकाले हामीले त्यहाँ बसेर सहयोग गर्न सक्ने अवस्था थिएन ।

त्यहाँबाट दुई कि.मि. जति अगाडि बढेपछि हामी चनौटे पुग्यौंँ ।  चनौटे बजारका घर सबै भत्किएका थिए । बजारका मानिस जम्मा भएर बसोबासका लागि खेतमा जस्ताको अस्थायी टहरो बनाउँदै थिए । त्यहाँबाट पनि हामी पाँच कि.मि. जति अगाडि बढेर तालामाराङस्थित घर भएको ठाउँमा आइपुग्यौँ । त्यसपछि गाउँमा भएको मानवीय क्षतिबारे सोधपुछ गर्यौँ । घर/परिवारका सदस्य सबै सकुशल भएको सुनेपछि घर भत्किएको देखेर पनि कुनै चिन्ता लागेन । हामी पुग्दा सबै छिमेकी जम्मा भएर कुखुराको टहरोमा बसिरहेका थिए । घरहरू भत्किए पनि अन्नपात र कपडा केही नभएकाले सबैले आ(आफ्ना घरबाट झिकेर ल्यायौँ । आ-आफ्ना घरबाट ल्याएको खानेकुरा पालैपालो खान थाल्यौँ । बजारका ढलान घरहरू नभत्किएकाले दाल चामल किन्न कठिन भएन । खाना पकाउने भाँडाकुँडा र लत्ता कपडाको समस्या हाम्रा लागि खासै थिएन तर सबैको अवस्था हाम्रो जस्तो नभएर कैयन्को घर पूरै ध्वस्त भएको थियो । जसका कारण खाने अन्नपात र भाँडाकँुडा सबै नष्ट भएका थिए । तर पनि सामूहिकरूपमा बसोबास गर्दा तत्कालका लागि भने उनीहरूका समस्या पनि सजिलै टरेको थियो ।

घरभित्र रहेका मालसामान, जो भूकम्पबाट बचेका थिए ती सबै छिमेकी मिलेर पालैपालो झिक्न थाल्यौँ । धनी, गरिब, सधैँ मीठोमसिनो खाने र हुँदा मात्र खानेहरुको भान्छा पनि एउटै भयो । त्यहाँ कुनैखालका असमानता रहेनन् । दाजुभाइ, भाउजू, बुहारीलगायतका छरछिमेकीबीचका सानातिना विवाद आफैँ मेटिन थाले । सहर बजारमा पनि यो अवस्था आयो, धनी गरिब उँचो निचो, जातजाति, धर्मबीचका असमानताका रेखा मेटिए । सात तलाका घर हुनेहरू पनि पराकम्पको निरन्तरताले गर्दा घरभित्र बस्न सकेनन् । घर नहुने र भएर पनि भत्किएकाहरू सबै पाल टाँगेर एकै ठाउँमा बस्नुपर्ने अवस्था आयो । धनीको खानपान, उठबस र गरिबको जीवन यापनमा भिन्नता रहेन । करिब एक हप्तासम्म यो अवस्था कायम रह्यो ।

दोस्रो हप्ताबाट गैरसरकारी संस्थाहरूले खाद्यान्न, कपडा र भाँडाकुडाँ बाँडन थाले । गाउँका प्रतिनिधिहरूको सहजीकरण समिति बनाएर राहत वितरण गर्न थालियो । वितरण गर्दा दुर्गम र निकै अभाव भएकालाई प्राथमिकतामा राखेर बाँड्ने नियम बनाएका थियौँ । त्यसपछि राहतको खोजीमा मान्छे जुट्न थाले । बसाइ सँगै भए पनि आफूले ल्याएको राहत आफ्नो छुट्टै ठाउँमा राख्ने, त्रिपालको खात लगाएर सुत्ने, भाँडाकुँडा थुपार्ने चलनको सुरुवात हुन थाल्यो । अब बिस्तारै/बिस्तारै राहतको खेती सप्रन थाल्यो । राहत लिएर थुपारेका सामानहरू राख्ने ठाउँ अभाव हुन थाल्यो । त्यसपछि फेरि लोभलालच बढ्यो र विवादको जन्म हुँदै गयो ।

त्यसपछि क्रमशः एकपछि अर्को परिवार अस्थायी टहरा बनाउँदै छुट्टी भिन्न हुन थाले । केही समयपछिबाट गैससहरूबीच राहत ल्याउने कुराको होड चल्न थाल्यो । त्यसपछि त झनै भूकम्पपीडितहरू पनि राहत जम्मा गर्ने दौडमा लाग्न थाले । खेतबारी खनजोत गर्ने र खेतीपाती लगाउने भन्दा राहतको धन्दामा मानिसको ध्यान जान थाल्यो । यसबाट कृषि उत्पादनमा समेत असर परेको देखियो ।

प्रकाशित: १३ भाद्र २०७७ १०:३९ शनिबार

विपद्को त्यो क्षण