विचार

नारी स्वतन्त्रताको पर्व तिज

हरेक वर्ष भाद्र शुक्लपक्ष तृतियाका दिन महिलाहरूले हरितालिका तिजको व्रत वस्ने गर्छन्। विशेष गरेर हिन्दू महिलाले यो व्रत बस्छन्। महिलाका लागि यो व्रत सबैभन्दा उत्तम व्रतका रूपमा लिइन्छ। यो व्रतले महिलालाई अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिएको छ। विवाह भइसकेका महिलाले आफ्ना पतिको सुख, समृद्धि र दीर्घायुका लागि र आफ्नो सौभाग्यका लागि पनि यो व्रत बस्छन्। त्यस्तै विवाह नभइसकेका महिलाले भने आफूले चिताए जस्तै राम्रो र असल पति पाइयोस् भन्ने उद्देश्यले यो व्रत बस्छन्।  

यो दिन रातो सारीमा सजिएर हुलमा हुल महिला पशुपति र विभिन्न स्थानका शिव मन्दिरमा पूजा गर्न जान्छन्। त्यहीँ बाटोघाटोमा नै नाचेर गाएर रमाइलो पनि गर्छन्। यो दिन महिलाले एक किसिमले स्वच्छन्दरूपमा निर्धक्क भएर नाच्ने र आ–आफ्ना मनका कुरा पोखेर गीत गाउने गर्छन्। एक किसिमले यो दिन भनेको महिला स्वतन्त्रताको एउटा प्रदर्शन पनि हो। त्यसैले यो दिन महिलाले ब्रतआदि गतिविधिमा संलग्न भएको दृश्य रोचक देखिन्छ।  

यो तिजको व्रत बस्ने र महादेवको पूजा गर्ने सन्दर्भमा देशैभर विभिन्न स्थानमा रहेका महादेवको मन्दिरमा महिलाले मेला भर्ने, गाउने, नाच्ने गरेर रमाइलो गर्दै अत्यन्तै श्रद्धा भक्तिपूर्वक पूजा गरिरहेका हुन्छन्। यो दिन दिनभर व्रत बसेर महादेवको पूजा गरेर रातमा पनि महादेव र पार्वतीको बालुवाको मूर्ति बनाएर विशेषरूपमा पूजा गर्छन्। यो व्रत गर्नाले पति दीर्घजीवनको फल पाइन्छ भनी शास्त्रमा उल्लेख छ। यो व्रत बस्नुअघि अघिल्लो दिनमा विवाहित चेलीवेटीहरू माइतीमा गई तिजको दर खाने भनी रातभर विभिन्न किसिमका मीठामीठा पकवान बनाइ त्यसका साथै विभिन्न किसिमका मिठाइ पनि खाने गर्छन्। तिजको व्रत बस्ने दिन सरकारले पनि महिलालाई मात्र सार्वजनिक बिदा दिने गरेको छ।  

यो हरितालिका तिजबारे पौराणिक कथाअनुसार परापूर्वकालमा नैमिषारण्य क्षेत्रमा सौनकादि अठासी हजार ऋषिले एउटा भव्य गोष्ठी आयोजना गरे। सोही गोष्ठीमा प्रमुख अतिथिका रूपमा सूतजीलाई आमन्त्रण गरियो। आमन्त्रण स्वीकार गरी सूतजी उक्त गोष्ठीमा भाग लिन आउनुभयो। त्यहाँ भएका सबै ऋषिले सूतजीलाई हरितालिका तिजको व्रतबारे बताइदिन अनुरोध गरेकाले सूतजीले सर्वप्रथम मंगलाचरण गर्दै महादेव र पार्वतीलाई स्मरण गरेर नमस्कार गर्दै कथा भन्ने क्रममा उहाँले यो कथा सबैभन्दा पहिला महादेवले पार्वतीलाई बताउनुभएको हो भन्नुभयो।  

भक्तिभावले यो व्रतको कथा सुनेर  व्रत गरेमा सबै पापले मुक्त भई सात जन्मसम्म राजश्री, ऐश्वर्य भोग गर्न पाइन्छ र अखण्ड सौभाग्यवती होइन्छ, भन्ने शास्त्रमा उल्लेख छ।

प्राकृतिक सौन्दर्यले अत्यन्तै आकर्षक भइरहेको स्थान जहाँ विभिन्न किसिमका पशुपन्छी नाचिरहन्छन्, जहाँ देवता र गन्धर्व आदि बिहार गरिरहन्छन्, अनि वैदुर्य मणि जस्ता माणिकादि रत्नले सुशोभित भइरहेको छ जहाँ अग्ला अग्ला पहाड, पर्वत र हिमगंगा बगिरहेका छन्, त्यस्तो आकर्षक स्थान पर्वतमा जन्म भएकी पार्वतीले बच्चै बेलादेखि महादेव पति पाउँ भनी कष्टपूर्ण कठोर तपस्या गरिरहेकी देखेर पिता हिमालय पर्वत अत्यन्तै चिन्तित भई आफ्नी पुत्रीलाई विवाह गरी दिनुप¥यो भनी चिन्ता लिन थाले। यस्तो बेलामा ब्रह्माका पुत्र सबै धर्मशास्त्र बुझेका नारदमुनिले पार्वतीको दर्शन गर्नुप¥यो भनी हिमालय पर्वत आइपुग्नुभयो। नारदमुनि आउनुभएको देखी हिमालयले स्वागत÷सत्कार गर्दै अर्घको जलले पूजा गरेर आसनमा बसाइ हजुर के कामका लागि पाल्नु भो, हजुरको दर्शन गर्न पाएर हामीले भाग्यमानी ठान्यौँ भनी विन्ति गरे। हिमालयको यस्ता कुरा सुनेपछि नारदमुनि भन्छन– मलाई यहाँ विष्णु भगवानले पठाउनुभएको हो। तपाईँकी पुत्री विष्णु भगवानलाई दिँदा राम्रो हुन्छ। किनभने भगवान विष्णुको बराबर ब्रह्मा, महादेव र अन्य देवता कोही छैनन्। त्यसैले तपाईँले आफ्नी पुत्री पार्वती विष्णु भगवानलाई दिनुहोस्। नारदका यस्ता कुरा सुनेर हिमालय अति नै हर्षित हुन्छन्। नारद तत्कालै त्यहाँबाट अन्तध्र्यान भई विष्णुकहाँ पुगेर हजुरको काम सिद्ध भयो भन्छन्।  

यता हिमालय पर्वतले आफ्नी पुत्रीलाई मैले तिम्रो विवाह विष्णु भगवानसँग गर्ने वचन दिएर आइसकेँ। अब तिम्रो विवाह विष्णुसँग नै हुन्छ भनिदिन्छन्। पिताजीको यस्तो कुरा सुन्नेबित्तिकै पार्वती मुर्छा पर्छिन्। पछि होसमा आएपछि पार्वतीले आफ्ना सखीहरूलाई भन्छिन्– ‘म महादेवबाहेक अरू कोहीसँग विवाह गर्दिन बरु प्राण त्यागिदिन्छु।’ यस्तो प्रतीज्ञा सुनेर सखीहरूले पार्वतीलाई भगाइ लान्छन। हिमालयले आफ्नी पुत्री भागेकी कुरा थाहा पाइ खोजी गर्न थाल्छन्। पुत्री कतै नभेटिएकाले हिमालयले आफ्नी पुत्रीलाई बाघ, भालु आदि जनावरले खाइसक्यो होला भन्ने ठान्छन्।  

उता लुकाउन लगेका सखीहरूले पार्वतीलाई जंगलमा लगी राख्छन्। बाघ, भालु, सिंह, सर्पहरू धेरै भएको घनघोर जंगलमा खोलाछेउको गुफामा बसी पार्वतीले बालुवाको शिवलिङ्ग बनाएर भाद्र शुक्लपक्ष हस्ता नक्षत्र युक्त तृतियाका दिन व्रत बसी महादेवको पूजा गर्छिन्। पार्वतीले गरेको व्रतको प्रभावले महादेवको आसन डग्मगाउँछ। अनि महादेव आइ दर्शन दिएर के वर माग्ने हो माग भन्दा पार्वतीले हजुर नै मेरो पति होइबक्सियोस् भन्छिन्। महादेव पनि तथास्तु भनी वरदान दिएर कैलाशमा फर्की जान्छन्। पार्वतीले सखीहरूसँगै मिलेर व्रत विसर्जन गर्छिन्। हिमालय पनि त्यहीँ आफ्नी पुत्री खोज्दै खोज्दै आइपुग्छन्। अनि पार्वतीले पिता हिमालयलाई भन्छिन्– ‘मेरो महादेवसँग विवाह गरिदिने हो भने मात्र म फर्किने छु नत्र म आउँदिन बरु यहीँ बसिरहन्छु भन्छिन्।’ पुत्रीको कुरा सुनेर हिमालयले महादेवसँगै विवाह गरिदिने वाचा गर्दै पार्वतीलाई घरमा लगेर महादेवसँगै विवाह गरिदिन्छन्।

यही व्रतको प्रभावले पार्वतीले महादेव पति पाएकीले यो व्रतको अत्यन्तै धेरै महत्व भएको मानिन्छ। भक्तिभावले यो व्रतको कथा सुनेर  व्रत गरेमा सबै पापले मुक्त भई सात जन्मसम्म राजश्री, ऐश्वर्य भोग गर्न पाइन्छ र अखण्ड सौभाग्यवती होइन्छ भन्ने शास्त्रमा उल्लेख छ। 

प्रकाशित: ५ भाद्र २०७७ ०५:१८ शुक्रबार

नारी स्वतन्त्रता तिज