‘यहाँ भएको कुनै एउटा घरमा हाम्रा राजा पनि बस्यारछन्’– एक चरणको खानपिन सकाएर बार्दलीमा बसेका बेला उनले भने।
जाम्बियामा ? त्यो पनि हाम्रा राजा आएर बसेको ठाउँ ? मेरो र विष्णुजीको कान ठाडा भए।
‘हो नि, यहाँका स्थानीयको भनाइमा यो मुलुंगोसी भिलेजकप्लेक्स सन् १९७० मा असंलग्न राष्ट्रहरूको सम्मेलन गर्दा बनाइएको हो, अन्य राष्ट्रबाट आउने राष्ट्र प्रमुखहरूका लागि’‘ विदुर खनाल अंकलले भने।
सन् १९७० को सेप्टेम्बर ८ देखि १० सम्म जाम्बियाको लुसाकामा असंलग्न राष्ट्रहरूको तेस्रो सम्मेलन भएको थियो।पचपन्न राष्ट्रको सहभागिता रहेको यस सम्मेलनमा आधाजसो राष्ट्रका प्रमुखले सहभागिता जनाएको दस्तावेजमा उल्लेख छ।
उम्दा सुरक्षा घेराभित्र रहेको यो ठाउँ पक्कै पनि विशेष उद्देश्यले बनाएको भन्ने भान त हामीलाई गेटमा पुग्दानै लागेको थियो। जाम्बियाको राजधानी लुसाकाको बढिजसो विदेशीको बसोबास हुने यस ठाउँमा विदुर अंकल बस्न लागेको पनि आधा दशक भइसकेछ।
नेपालीप्रति विश्वास
फेब्रुअरीको अन्तिम साता अफ्रिकन महादेशको जाम्बिया पुगेपछि हामीले भेटेको पहिलो व्यक्ति हुन् विदुर खनाल, बरुण जाम्बिया कम्पनीका प्रोडक्सन निर्देशक। जसले सत्तरीको दशकमा रसिया गएर प्रोडक्सन इन्जिनियर पढे। पेप्सीलगायतको पेयपदार्थ उत्पादन गर्ने कम्पनीको खाद्य गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी उनको काँधमा छ। केही समय नेपाल, भारत हुँदै अफ्रिका बसेका उनको करिब दुई दशक पुग्यो। जाम्बिया बसेको मात्रै बाह्र वर्ष। त्यो भन्दा अगाडि केही वर्ष मोजाम्बिक र तान्जानिया बसे।
युवासम्बन्धी तालिमका लागि नेपालबाट मसँगै सहकर्मी सुनिता तिवारी र विष्णु शर्मा जाम्बिया उडेका थियौँ। जाम्बिया उड्नुअघि म युगान्डा बस्दा चिनजान भएका रमेश कँडेललाई लुसाकामा कोही नेपाली भए सम्पर्क गराइदिन भनेको थिएँ। उनले पठाएकोमध्ये पहिलो नाम विदुर अंकलको थियो। ह्वाट्सअपमा सन्देश पठाएको केही मिनेटमानै खनाल अंकलको फोन आयो र सोही दिन भेट्न पनि आए। उनले दिएका सुझाव र सल्लाहले हाम्रो दुई हप्ते जाम्बिया बसाइलाई सहज बनायो।
खनाल अंकल जाम्बिया आउँदा नेपाली नगन्य संख्यामा थिए। ‘कहिलेकाहीँ त नेपाली बोल्नै नपाएर हैरान हुन्थ्यो’, नेपाल छाडेपछि पहिलोपटक भेटेको नेपाली परिकारको स्वाद लिँदै गर्दा उनले विगत सम्झिए–त्यसैले जे÷जसरी हुन्छ नेपालीलाई बटुलेर नेपाल समाजको भेटघाट सुरु गरेँ।
अहिले पनि उनलाई जाम्बियाका कुन कुन ठाउँमा नेपाली छन् भन्ने नाम र सख्ंयामात्र होइन, को÷को एक्लै छन्, को परिवारसँग बस्छन् भन्नेसमेत थाहा रहेछ। उनले नै जाम्बियामा गैरआवासीय नेपाली संघ पनि स्थापना गरेजसको संरक्षक हाल उनै छन्।विदुर अंकलसहितका नेपालीले नेपालकी पहिलो महिला सभामुख ओनसरी घर्तीलगायत सभासद्को टोलीलाई जाम्बिया भ्रमणमा सहजीकरण गरेको थियो। जुन टोलीलेविदुर अंकलको फ्याक्ट्री पनि भ्रमण गरेका थिए।‘हामी नेपाली चाडबाडमा भेला हुने गर्छौँ, दसैँमा चाहिँ म आफ्नैमा सबैलाई बोलाउँछु। बडो रमाइलो लाग्छ’– उनले सुनाए।जाम्बिया आएका नेपालीलाई अप्ठ्यारो पर्दा उनको परिवार सधैँ अघि सर्ने रहेछ सहयोग गर्न।
शान्त छ जाम्बिया
हामी जाम्बिया पुगेको जानकारी पाएपछि गैरआवासीय नेपाली संघ जाम्बियाका अध्यक्ष प्रमोद शर्मा र सञ्जीत थापा अर्को साँझ आइपुगे। दुई जना जापानबाट सवारीसाधन निर्यात गरी बिक्री वितरण गर्ने पेसामा आबद्ध छन्। एउटा सिंगो कम्पनीचलाउँछन् उनीहरू। तीन दर्जन भन्दा बढी जाम्बियनलाई रोजगारी पनि दिएका रहेछन्।
‘परिवारसहित यहाँ बस्न गाह्रो हुन्न?’–शर्मा परिवारले दिएका खानपिन निम्ताका बेला विष्णुले सोधे।
फिसिक्क हाँस्दै प्रमोदले भने–‘कहाँ हुनु? यहाँ सजिलो छ, सुुरक्षित छ र मौसम पनि एकदम राम्रो छ।
‘अफ्रिका जाने भनेपछि धेरैले जिब्रो काड्छन्। औधी गर्मी, खान÷लाउन पनि नपाउने ठाउँ, लुटपाट होला भन्ठान्ने धेरै छन्।’ प्रमोदले थपे– तर सत्यता त्यस्तो छैन। यहाँ व्यापार गर्नका लागि राम्रो वातावरण छ।
‘आफू नमरी स्वर्ग देखिन्न भनेझैँ रैछ अफ्रिका। हाम्रो देशमा भन्दा धेरै हरियाली, राम्रा बाटा र ट्राफिक अनुशासन।’ प्रमोदजीका कुरा सुनेर पहिलोपटक अफ्रिकन देश पुगेका विष्णु पनिअचम्म मान्दै थिए। पहिलोपटक नै अफ्रिका पुगेकी सुनिताले पनि जिब्रो काट्दै थपिन्– साँच्चिकै हाम्रो सोचाइ र मिडियामा देखाइने जस्तो मात्र होइन रैछ अफ्रिका।
विदुर अंकलका अनुसार अफ्रिकामा काम गर्न सहज छ। अढाइ लाख डलरमा व्यापार गर्न सरकारले अनुमति दिन्छ। कसैलाई चन्दा, दान दिनुपर्ने वा कुनै ग्याङ आएर असुली गर्ला भन्ने चिन्ता पनि रहेनछ।जाम्बियामा अहिले पनि दशभन्दा बढी नेपाली परिवार बस्छन्। सबै विभिन्न कम्पनीमा राम्रो जिम्मेवारीमा छन्। खाडी मुलुक जस्तो नेपालीहेपिएर बस्नुपरेको छैन। गैर आवासीय नेपाली संगठन पनि सक्रिय छ। संगठनले जनवरीको अन्तिम साता दक्षिण अफ्रिकाका लागि नेपालका कार्यबाहक राजदूत घनश्याम लम्साललाई सहभागी गराई नेपाल भ्रमण वर्षको कार्यक्रम पनि गरेको थियो।
जाम्बियाको आकर्षण
फेब्रुअरी अन्तिम साता हामी भिक्टोरिया फल्स जाने भयौँ। जाम्बिया र जिम्बाब्वेको सिमानामा रहेको लिभिङस्टोन सहर नजिकको फल्स हेर्न बर्सेनि हजारौँ पर्यटक जान्छन्। लुसाकाबाट करिब चार सय पचासी किलोमिटर टाढा रहेको झरना साँच्चिकै मनमोहक छ। बेलाबेलामा लाग्ने दुईवटा इन्द्रेणीले साँच्चिकै रोमाञ्चित बनाउँदोरहेछ।
हामी फर्कने दिन एयरपोर्टसम्मै पु-याउन आएका विदुर अंकल र अन्टीलाई अंगालो हाल्दैसुनिताको मुखबाट निस्केको वाक्य मेरो मानसपटलमा अहिले पनि झल्झल्ती आइरहेको छ–जाम्बियामा नेपालीलाई भेटेर यतिसम्मको माया पाइएला भन्ने कल्पना पनि गरेकी थिइन्।
प्रकाशित: २९ श्रावण २०७७ ०५:२४ बिहीबार