विचार

नयाँ महादेवको खोजी

हिजोआज भारतीय टेलिभिजन च्यानल लाइफ ओकेबाट पौराणिक कथामा आधारित धार्मिक सिरियल महादेव प्रशारण भइरहेको छ। यो सिरियलको कथा अद्भूत छ र महान् तपस्वी महादेवका लीला खण्ड-खण्डमा प्रशारित भइरहेका छन्। अरु कुरा छाडेर एउटै कुरामा मात्र ध्यान केन्द्रित गर्ने हो भने यस सिरियलमा महादेव एक त्यस्ता केन्द्रीय पात्र हुन, जसप्रति देवता, असुर र मनुष्यको समान श्रद्धाभाव छ। सबैको आस्था र सम्मानको धरोहरका रुपमा महादेव छन्। देवताका रक्षक, असुरहरुका शक्तिका स्रोत र मनुष्य जातिको संरक्षकका रुपमा महादेव सर्वव्यापी छन्। संहार, क्षमा, करुणा र प्रेमका प्रतीक महादेव सबैका लागि उत्तिकै पुजनीय आराध्यदेवका रुपमा देखिन्छन्। ब्रह्मा र विष्णुसमेत अनेक संकटमा उनकै आराधना गर्छन्। यो साँच्चै नै विलक्षण र अभूतपूर्व छ। र, आजको नेपालको राजनीतिमा पनि यो सिरियलका मुख्य पात्र महादेवको सान्दर्भिकताको खोजी हुन थालेको छ । संसारलाई विनाशबाट जोगाउने, धर्मको रक्षा गर्दै पाप र अपराधको समूल अन्त्य गर्ने, जाति-जातिबीचको हिंसात्मक द्वन्द्व समाप्त गर्ने र शान्त एवं समुन्नत संसार निर्माण गर्ने महादेवको भूमिका हाम्रा निम्ति अनुकरणीय र आवश्यक छ। राष्ट्र अन्तहीन द्वन्द्वमा अग्रसर भइरहेका बेला को होला त्यस्तो नयाँ महादेव? जसले देश र जनताको रक्षा गर्न सकोस्। जातीय, धार्मिक एवं क्षेत्रीय सद्भाव कायम राख्दै सदियौंदेखि एकता र भातृत्वमा बाँधिएको नेपाललाई सग्लोरुपमा नयाँ पुस्तालाई हस्तान्तरण गर्न सकियोस्। आज नेपाली जनता त्यस्तो पात्र खोजीमा छन, जो सबै नेपालीका लागि सर्वमान्य होस्। झिनो आशा बोकेर राजनीतिक दलभित्र र बाहिर सबैतिर यस्तो खोजी कार्य जारी छ।

विवादास्पद पात्र

१७ हजारभन्दा बढी निर्दोष नेपाली जनताको न्यान गएको जनयुद्धबाट सिंहदरवारको यात्रा निश्चित गरेका माओवादी नेता पुष्पकमल दाहाल 'प्रचण्ड' यतिबेला नेपाली राजनीतिका सर्वाधिक विवादास्पद पात्रका रुपमा देखिएका छन्। के बोल्न हुने र के नहुने, के गर्न हुने र के नहुने भन्ने कुरामा विवेक गुमाइसकेका यी पात्र महादेव सिरियलका असुरराज 'तारकासुर' का नयाँ संस्करणका रुपमा देखिएका छन्। २०६३ सालको युगान्तकारी राजनीतिक परिवर्तनले राष्ट्रिय राजनीतिमा स्थापित भएका यी पात्रले सही बाटो समाउन सकेको भए नेपाली समाजले केही समयसम्म नेतृत्वको संकट झेल्नुपर्ने थिएन शायद। तर अनपेक्षितरुपमा प्राप्त सत्ताको उन्मादमा यिनले प्रदर्शन गरेका अपरिपक्वता र केटौलेपनले नेपाली राजनीतिलाई संकटग्रस्त बनाउँदै लग्यो। हुँदाहुँदा आजको विकराल एवम् कहालीलाग्दो संकटको परिस्थिति उत्पन्न भयो।

राष्ट्रिय राजनीतिको वागडोर आफ्नो हातमा लिएपछि सबै दल खासगरी नेपाली कांग्रेस र एमालेलगायत्का दललाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा कुनै स्पष्ट राजनीतिक चरित्र नभएका सत्तालोलुप तराई केन्द्रित दललाई काँध हालेर अघि बढ्ने उनको चरित्र निकै सन्दिग्ध र टीठलाग्दो देखिन्छ। नदी तर्ने स्पष्ट पुल हुँदाहुँदै केराको दाम्चोमा बसेर पानीमा हाम फाल्ने प्रचण्डले राम्रोसँग बुझ्नुपर्छ- दाम्चोको जात अक्सर चिप्लने प्रकृतिको हुन्छ। जति समात्न खोजे पनि आखिर फुत्किन्छ नै। त्यसपछिको विलापको के अर्थ? पश्चाताप गर्दै हारगुहार गर्नुको के अर्थ? के उनी अरु दल खासगरी मुख्य सहयात्रीलाई तल्लो स्तरमा गाली गर्दै हिँडेर लक्ष्यमा पुग्लान् त? तथाकथित गठवन्धन निर्माण गरेर शान्ति र संविधानको डुङ्गा किनारा लाग्छ त? त्यसैले उनमा अब नयाँ महादेव बन्ने सम्भावना लगभग समाप्त भएको छ।

माओवादी प्रकोपका मुक्तिकर्ता

साँच्चै नै सन्त अथवा तपस्वी जस्ता देखिने कांग्रेस सभापति सुशील कोइरालाले आफूले आफंैलाई चिन्न सकेको पाइँदैन। महावली हनुमानलाई अरुले नै उनको शक्ति बोध गराइदिएजस्तो कोइरालालाई पनि उनको शक्ति बोध गराइदिनुपर्ने भएको छ। संसारिक देखिए पनि लगभग असंसारिक व्यक्ति कोइराला नेपालको राजनीतिमा त्यागको प्रतिमूर्ति जस्ता लाग्छन्। घर, परिवार सम्पत्ति, पद, प्रतिष्ठा र अवसर सबै परित्याग गर्न सक्ने आन्तरिक क्षमता भएका कोइराला आफूसँग भएको अपार पुँजी पहिल्याउन असमर्थ देखिन्छन्। नेपाली राजनीतिमा देखिएका अधिकांश विकृतिबाट टाढै रहेका यी पात्र किन सक्दैनन् नेपाली जनतालाई आह्वान गर्न? अनैतिकता, बेइमानी, दुराचार र भ्रष्टाचार जस्ता विकृतिले गँाजेको नेपालको राजनीति र यसलाई मलजल गर्ने प्रवृत्तिहरुविरुद्ध किन गर्दैनन् शंखघोष?
पौराणिक महादेवले सांसारिक माया, मोहबाट आफूलाई पृथक राख्दाराख्दै पनि तत्कालीन समाजको अथक प्रयत्न र अनुरोध शिरोधार्य गरी सांसारिक जीवनमा प्रवेश गरे र संसारलाई असुरहरुको प्रकोपबाट बचाए। आज हामीलाई पनि त्यस्तै महादेव चाहिएको छ र त्यो सम्भावना कोइरालामा देखिन्छ। माओवादी प्रकोपबाट नेपाललाई बचाउन कञ्चन चरित्र भएको राजनीतिक पात्र आवश्यक छ। त्यो कञ्चनता र निष्कलंकता कोइरालामा विद्यमान छ। तर उनलाई आफ्नो शक्तिको आभास भएजस्तो नलाग्नु आश्चर्यको विषय बनेको छ। समय वेगवान छ, रोकिँदैन। अवसरले ढोका सधंैभरी ढक्ढकाउँदैन। २००७ सालमा बीपीले अवसर छोप्नुभो, २०४६ सालमा गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईले र २०६३ मा गिरिजा प्रसाद कोइरालाले। अब फेरि नियतिले सुशील कोइरालालाई नेपाली राजनीतिको मियो बनेर राष्ट्र र समाजको दियो बन्ने ऐतिहासिक अवसर प्राप्त भएको छ।

माओवादी बहुलठ्ठीपनको उपचारक
२०४६ सालको लोकतान्त्रिक संविधानका निर्माता र २०६३ सालको जनआन्दोलनका प्रमुख नेतामध्येका एक माधवकुमार नेपाल अनेकानेक कमी/कमजोरीका बाबजुद राष्ट्र र जनताले आशा गरेका नेतामध्ये पर्छन्। राजनीतिमा नैतिकताको उच्च स्थान हुनुपर्छ भन्ने मान्यतासमेत अंगिकार गर्दै आएका नेपाल राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमै छन्। एमालेको आन्तरिक राजनीतिबाट केही माथि उठ्न खोजेका यी नेताले थोरै महानता देखाउने हो भने नयाँ महादेव बन्ने सम्भावना छ। कांग्रेससँग सहकार्य गर्ने र सँगसँगै माओवादी भेट्न लखनउ र सिलिगुढी पुग्ने नेपाल यदाकदा सहकार्य छाडेर किनारा पनि लाग्ने गरेका छन्। यो उनको ठूलो कमजोरी हो। यो कमजोरी हटाएर अघि बढ्ने हो भने उनमा केही सम्भावना बाँकी छन्। उनले ताकेको प्रधानमन्त्री पद पाइसके र आफ्नो दलको सर्वोच्च जिम्मेवारी पनि निर्वाह गरिसके। संविधान सभा निर्वाचनमा पराजित भएपछि नैतिकताका आधारमा दलको सर्वोच्च पद त्याग गर्नु र आफ्नो पार्टीको आठौँ महाधिवेशनमा अध्यक्षको प्रत्याशी नहुनु उनको उदाहरणीय काम हो। तसर्थ राष्ट्र संकटमा परेको यस घडीमा माओवादीको बहुलठ्ठीपनलाई उनकै शालिनताले चुनौती दिनसक्छ र डोर्याटउन पनि सक्छ। तर यो काम भावनामा बगेर होइन, ठोस र वस्तुगत धरातलमा उभिएर दृढतापूर्वक सम्पन्न गर्नुपर्छ। ढीलो नगरी उनले राजनीतिक अग्रसरता लिनुपर्छ।

नेपाललाई माओवादी असुरराजबाट जोगाउनु आजको आवश्यकता हो। राष्ट्रलाई उदाहरणीय नेतृत्व दिने धमास दिँदै हिँडेका वर्तमान कामचलाउ प्रधानमन्त्री बावुराम भट्टराई पूर्णरुपले नाङ्गिएपछि पनि आफू विभिन्न आभूषणले युक्त छु भन्ने भ्रममा छन्। उनको सत्ता जति लम्बियो, राष्ट्रले त्यति नै ज्यादा संकट झेल्नुपर्ने निश्चित छ। त्यसैलै पनि सबै नेपाली जनतालाई संगठित गरेर सबै दर्शन, विचार र दृष्टिकोण भएका राजनीतिक दललाई एउटै बाटोमा हिँडाउन सक्ने नयाँ नेता अर्थात् नयाँ महादेव आजको राष्ट्रिय आवश्यकता हो।

प्रकाशित: ६ भाद्र २०६९ ००:३२ बुधबार